menu

ताजा समाचार

सम्पादकीय : यसकारण निर्वाचन वहिष्कार

नयाँ जनवादी क्रान्तिको पक्षमा लाग्नेले अनेक बाहना र नाममा संसदवादी चुनावमा सहभागी हुने होइन, वैचारिक, साङ्गठनिक र प्राविधिक तयारीमा लाग्नुपर्छ र  त्यसैअनुरूप जनमत निर्माण गर्नुपर्छ भन्ने अठोट ‘जनमेल’  परिवारको रहेको छ । र यसले  यसैअनुरूप रचनाहरू पनि प्रकाशित गर्दैआएको छ   । यसै अर्थमा अहिले भैरहेको  निर्वाचनलाई 'जनमेल परिवार' ले बहिष्कार गरेको छ । संसदवादी चुनावमा सहभागी भएर नयाँ जनवादी क्रान्तिको मोडल तयार हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन र विप्लववादी अराजकतावाद र “अज्ञात समूह” का नाममा भइरहेका रहस्यमय गतिविधिप्रति पनि हाम्रो सहमति छैन । चुनाव वहिष्कार अभियानलाई वैचारिक तथा राजनीतिक चेतनाको अभिवृत्ति तथा जनमत निर्माण गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा ‘जनमेल’ विश्वास गर्छ । यसलाई मूल कार्यदिशासम्बद्ध एउटा कार्यनीतिक शृङ्खलागत कडीका रूपमा जोडेर अघि बढाउनुपर्छ भन्ने कुरामा ‘जनमेल’ विश्वास गर्छ । वहिष्कारलाई वैचारिक-राजनीतिक  तयारीका रूपमा अघि बढाउनुपर्छ भन्ने 'जनमेल' को ठहर छ ।

अराजकतावादीहरू बर्खाको खहरेझैँ डाङ्डाङ डुङ्डुङ गरेर, होहल्ला गरेर ध्यानाकर्षण गराउन चाहन्छन्, उनीहरूसित दीर्घकालीन योजना हुँदैन । तत्काल के गर्दा फाइदा हुन्छ, त्यसैमा हुन्छन  उनीहरू हुन्छन्-यो एक किसिमको उपभोक्तावादी चरित्र हो  ।  थोरै प्राप्तिका लागि धेरै नोक्सान गर्नु परे पनि तयार हुन्छन् अराजकतावादीहरू । कम प्राप्तिका लागि अधिक बलिदानका लागि पनि उनीहरू तयार हुन्छन् । जे गर्दा चर्चामा आइन्छ, त्यही गर्छन् ।  उपयोगका नाममा उपयोगवाद र बहिष्कारका नाममा अराजकतावाद दुबैको गन्तव्य वैचारिक तथा सांगठनिक दृष्टिले विसर्जन हो  ।

झट्ट हेर्दा उपयोगवाद भन्दा अराजकतावाद बढी खतराजस्तो लागे पनि सारतत्वमा  दुवैले यथास्थिलाई नै बल पुर्याउने हुनाले नयाँ जनवादी क्रान्तिका लागि दुवै  घातक छन् । राजनीतिक परिचय र कार्यनीतिक शृङ्खलागत कडीका रूपमा नआएका अराजकतावादी गतिविधि र रहस्यवादी डाङ्डाङ डुङ्डुङ  क्रान्तिकारीहरूमाथि दमनको बहाना नबन्ला भन्न सकिंदैन । क्रान्तिकारीहरू “पोलिटिक्स इन कमान्ड” का आधारमा नयाँ जनवादी क्रान्तिको शृङ्खलागत कडीहरूको तयारी गर्छन् । उनीहरू कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छन् ।

भिडियो फिचरview all