menu

ताजा समाचार

प्रचण्डद्वारा राष्ट्रघातको शृंखला जारी

 काठमाडौँ,कत्तिक २२, भुइँचालोको कहरका बीच भारतीय नाकाबन्दीको पीडासहेर राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएको नेपाल र नेपाली जनताविरुद्ध जाने र मुलुकलाई भुटानीकरण र फिजीकरणतर्फ लैजाने सर्तमा भारतीय विस्तारवादले सिंहदरवारमा नियुक्त गरेको पुष्पकमल दाहाल ऊर्फ प्रचण्डले भर्खरै आफ्नो पहिलो होमवर्क सम्पन्न गरेका छन् । तराई र मधेसको नाममा भारतीय विस्तारवादको कारिन्दा बन्दै आएका भारतीय विस्तारवादका केही राष्ट्रद्रोही दलालहरूलाई अगाडि सारेर नेपाली जनताको ठूलो हिस्सालाई भोकभोकै मार्न र राष्टिय स्वाधीनतालाई दिल्लीको निगाहमा राख्न लगाइएको नाकाबन्दीको समय चीनले असली मित्रका रूपमा गरेको सहयोग र दीर्घकालीन महत्वका विकास निर्माण र पारवाहनजस्ता योजनाहरूलाई लिएर ‘प्रभाव बढेको’ भन्दै आत्तिएका भारतीय विस्तारवाद र त्यसका नेपाली दलालहरू चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्ध गर्न र ती सबै योजना सम्बन्धी समझदारी र सहमतिलाई व्यावहारिक रूपमा खारेज गर्न षड्यन्त्रका अनेक तानाबाना बुनिरहेका थिए । बफादार पात्रका रूपमा प्रचण्डको नियुक्ति यसै उद्देश्यका लागि  गरिएको थियो र २५ बुँदे सहमति र प्रणव मुखर्जीको भ्रमणको शैलीमार्फत प्रचण्डले त्यसलाई साकारा रूप दिएका छन् ।

 चीनसित गरेका समझदारी अघोषित रूपमा व्यवहारद्वारा खारेज गरेपछि अब प्रचण्ड दोस्रो होम वर्कमा लागेका छन् र यस क्रममा उनी भारतबाट आएर भारतकै लागि काम गरिरहेका भारतीय नागरिकहरूलाई अङ्गीकृत नागरिक बनाएर  नेपालको महत्वपूर्ण र उच्च राजनीतिक पदमा पुर्याउने अर्थात् फिजी बनाउने चाँजोपाँजोमा लागेका छन् । भारत सन् १९५० को सन्धीलाई नयाँ आवरणमा प्रयोग गर्न चाहन्छ र गरिरहेको छ । परराष्ट्र, जलस्रोत र रक्षा उसका चासोका विषय हुन् र यसका लागि सिंहदरवारमा बढीभन्दा बढी उसका कारिन्दाहरू पठाएर नयाँ सिक्किम बनाउन चाहन्छ । दिल्ली पुगेर आएलगत्तै विमलेन्द्र निधीले काठमाडौँ-निजगढ फास्ट ट्रयाक  भारतलाई दिने योजना अधि सारेका थिए र त्यसको तीव्र विरोध भएपछि त्यो अघि  बढेको छैन, भारतलाई नदिने हो भने बरु नबनोस् भन्नेमा प्रचण्ड सरकार छ भन्ने कुरा प्रस्ट छ ।
 
प्रचण्डको दोस्रो होम वर्क नीतिनियम विधान आदिइत्यादि मिलाएर भारतीयलाई नेपालको राजनीतिक उच्च ओहदामा पुर्याउने भारतीय योजनाको आदेश पालनासित जोडिएको छ । उनले पेस गर्न लागेको बिधेयकको  मस्यौदाको ६ नम्बर बुँदामा लेखिएको छ: ''नेपालको संविधानको धारा २८९ उपधारा (१) को सट्टा देहायको उपधारा (१) राखिएको छः– (१) यस संविधानबमोजिम नियुक्त हुने संबैधानिक पदहरूमा बंशज र जन्मका नाताले नेपालको नागरिक भएको ब्यक्ति वा अंगीकृत नागरिकता प्राप्त गरी कम्तीमा दस वर्ष नेपालमा बसोवास गरेको ब्यक्ति मात्र नियुक्तिको लागि योग्य मानिनेछ ।"

संसद्मा पेश हुन लागेको विधेयकको जनस्तरमै विरोध हुन् थालेपछि अहिले प्रचण्ड आदिआदि भनेर कुतर्क गरिरहेका छन् । उनकै नेतृत्वमा संशोधन प्रस्ताव तयार हुने र आफू त्यसमा सहमत नभएको र हुन नसक्ने भनेर उनले फेरि जनताका सामु झूठो बोलेर थप अपराध गरेका छन् । खासगरेर सेरबहादुर देउबा प्रधानमन्त्री हुँदा भारतीयलाई निर्बाधरूपमा नागरिकता दिएर नेपाललाई फिजीकरण गराउन थालिएको प्रक्रिया, अब राज्यको सर्बोच्च अङ्गमा भारतीय नागरिकलाई तैनाथ गराउने र मुलुकको समग्र ताल्चासाँचो दिल्लीलाई बुझाउने  चाँजोमाजोमा पुगेको छ । यो निकै खतरनाक योजनाबद्धता हो र यसका लागि सबैभन्दा इमानदार पात्र बनेर प्रचण्ड अघि सरेका छन् । आफूलाई भारतीय मालिकले सिंहदरवारमा नियुक्त गरेको र उसको इच्छा पूरा गर्नु आफनो कर्तव्य हो भनेर सामान्य जनताले समेत बुझ्ने गरी प्रचण्डले स्वामीभक्ति देखाएका छन् ।
 
एकातिर भारतीय चाहनाअनुरूप काम गर्न/गराउन प्रचण्डका लागि संसदीय गणितको सङ्ख्या पुर्याउन  सहयोग गर्ने देउबा भारत पुगेर नेपालको राष्ट्रिय नीतिविपरीत चीन विरोधी गतिविधिमा सक्रिय हुनु  र अर्कोतिर प्रचण्ड नेपाललाई भारतको नयाँ प्रान्त बनाउन सक्रिय हुनुले राष्ट्रिय स्वाधीनता र स्वाभिमानताको प्रश्न गम्भीर बनेको छ । नेपालको राष्ट्रिय स्वाधीनतासित सम्बद्ध समग्र असमान सन्धिहरू खारेज गर्नुपर्छ भनेर चौतर्फी रूपमा आवाज उठिरहेको बेला यस किसिमको स्थिति साँच्चिकै चुनौतिपूर्ण स्थिति हो र यसका लागि मुलुकले नयाँ किसिमको धु्रवीकरणको माग गर्नु स्वाभाविक छ ।

यस किसिमको परिस्थितिबीच राष्ट्रिय स्वाधीनताप्रति बढी सजग र संवेदनशील क्रान्तिकारी शक्तिहरू अग्रपङ्क्तिमा उभिनुपर्ने स्वतःसिद्ध छ । अहिलेको स्थिति क्रान्तिकारी शक्तिहरूका लागि चुनौती पनि हो र अवसर पनि । प्रचण्डलाई गोटी बनाएर राष्ट्रिय स्वाधीनतामाथि गरिएको प्रहार, माओवादको आवरणमा गर्न थालिएको राष्ट्रघाती र जनघाती कार्यक्रमको निसाना सारतः सिङ्गो माओवादी आन्दोलनमाथि  हो भन्ने कुरामा हामी सबै प्रस्ट हुनु आवश्यक छ । जनताका आँखामा माओवाद पदावली र माओवादीहरूलाई वाद्नाम  गराउने साम्रज्यवादी-विस्तारवादी योजनाबद्धताको अन्तिम निसाना क्रान्तिकारी माओवादीहरू हुन् भन्ने कुरामा हामी सबै प्रस्ट हुनु आवश्यक छ ।
भिडियो फिचरview all