menu

ताजा समाचार

दीर्घकालीन जनयुद्ध नै आजको विश्व क्रान्तिको बाटो हो : माओवादी पार्टी, फ्रान्स

माओवादी क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्टिय केन्द्र निर्माण अभियानको सक्रिय सदस्य माओवादी पार्टी,  फ्रान्सले अक्टोबर क्रान्तिको शतवार्षिकीका  सन्दर्भमा लामो वक्तव्य जारी गरेको छ । वक्तव्यमा आजको दिनमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादलाई आआफ्नो मुलुकको विशिष्टतामा लागु गर्दै दीर्घकालीन जनयुद्धको बाटोमा अघि बढ्नु हो भनेको छ ।

पहिले फ्रान्सेली भाषामा प्रकाशित र पछि अङ्ग्रेजीमा प्रकाशित “अक्टोबर क्रान्तिको शतवार्षिकी : फेरि रातो झण्डा माथि उठाऔँ” शीर्षकको यस वक्तव्यलाई विषयप्रवेशसहित “अब फेरि एक पल्ट हामीले फेरि सर्वहारा क्रान्तिको झण्डा उठाउनै पर्छ”, “अक्टोबर क्रान्तिको महान् विरासत”, “ आज मार्क्सवादी हुनु भनेको मार्क्सवादी-लेनिनवादी-माओवादी हुनु हो” शीर्षकमा विभाजित गरी व्याख्या गरिएको छ ।

प्रारम्भमा मार्क्सवाद र पेरिस कम्युनको ऐतिहासिक महत्व र त्यसको विरासतको सङ्क्षिप्त चर्चा गर्दै अक्टोबर क्रान्तिको महत्व र त्यसको निरन्तरतामा अघि बढेको चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको चर्चा गरिएको छ । यसमा भनिएको छ  :

अक्टोबर क्रान्तिको महत्व हिजो सन् १९१७ मा जति थियो अहिले १०० वर्षपछि सन् २०१७ मा झन् बढेको छ । अक्टोबर क्रान्तिबाट अन्तर्राष्ट्रिय सर्वहाराले थुप्रै महत्वपूर्ण पाठहरू सिकेको छ र यो आज पनि उत्तिकै सान्दर्भिक छ । त्यसैले अक्टोबर क्रान्तिलाई बितेको युगको सम्झनाको मोहका रूपमा मात्र लिनु हुँदैन,  न त बितेको समयको लोगगीतको रूपमा यसलाई सीमित गर्नु उचित हुन्छ । अक्टोबर क्रान्तिका मूल्यलाई दृढताका साथ आत्मसात गरी  आजको जीवनसित जोडेर सर्वहाराको सेवामा लगाउनु पर्छ —यो भनेको समाजवादी क्रान्तिका लागि लड्नु हो । त्यसैले अक्टोबर क्रान्ति मनाउनु भनेको रुसको विशिष्टतामा भएको क्रान्तिलाई सार्वभौम महत्वसित जोड्नु हो । हरेक सर्वहारा क्रान्तिमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि आवश्यक पर्ने सान्दर्भिक शिक्षाहरू हुने गर्छन् र अक्टोबर क्रान्तिले चिनियाँ नयाँ जनवादी क्रान्तिका साथ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका लागि पनि महत्वपूर्ण शिक्षा प्रदान गर्यो  ।

“अब फेरि एकपल्ट हामीले फेरि सर्वहारा क्रान्तिको झण्डा उठाउनै पर्छ” शीर्षकमा समकालीन विश्वको विश्लेषण गर्दै क्रान्तिको आवश्यकता र औचित्यमाथि प्रकाश पारिएको छ ।  यसमा   वर्तमानमा नयाँ किसिमको अक्टोबर क्रान्तिको आवश्यकता र महत्वको सान्दर्भिकतामा जोड दिइएको छ ।

 “अक्टोबर क्रान्तिको महान् विरासत” अन्तर्गतको विषयवस्तुलाई ‘क्रान्तिलाई निर्देशन गर्ने पार्टी’, ‘सर्वहाराको अधिनायकत्व र समाजवादको निर्माण, ‘संशोधनवाद’ र अवसरवाद विरुद्धको सङ्घर्ष’, ‘संशोधनवाद र अवसरवादका विरुद्ध र महिला मुक्तिको पक्षमा सङ्घर्ष’ उपशीर्षकमा विभाजित गरी व्याख्या गरिएको छ । यो अंश वक्तव्यको महत्वपूर्ण खण्ड हो ।
 
अन्तिम   शीर्षक “आज   मार्क्सवादी हुनु भनेको मार्क्सवादी-लेनिनवादी-माओवादी हुनु हो” रहेको छ । यसमा कोही आफूलाई आज मार्क्सवादी भनेर भन्न रुचाउँछ भने ऊ मार्क्सवादी-लेनिनवादी-माओवादी हुनु पनि जरुरी छ । अर्थात् मार्क्सवाद-लेनिनवाद-माओवाद नमान्नेहरू तथा  नस्वीकार्नेहरू आजका दिनमा मार्क्सवादी हुन सक्तैनन् भन्ने  यस शीर्षकको निष्कर्ष छ ।
 
तल यसको अनुवाद प्रस्तुत गरिएको छ :
....................................................................................................

आज मार्क्सवादी हुनु भनेको मार्क्सवादी-लेनिनवादी-माओवादी हुनु हो !

आजको क्रान्तिको मार्गदर्शनका लागि अक्टोबर क्रान्तिको विरासत कति बहुमूल्य छ भन्ने कुरा हामीले माथिको अध्ययनबाट थाहा पायौँ  । संशोधनवादीहरू तथा अवसरवादीहरू, ती महान् सिद्धान्तहरू विशिष्ट अवस्था र विशेष ऐतिहासिक परिस्थितिका उपज थिए भन्ने ढाँट कुरा गर्दै सशस्त्र सङ्घर्ष, सर्वहाराको अधिनायकत्व अथवा जनवादी केन्द्रीयताको अवधारणालाई हमेसा पन्छाउँछन् र  अक्टोबर क्रान्तिको विरासतबाट आफूलाई के चाहिएको छ, त्यो मात्रै आफ्नो किसिमले टिप्ने गर्छन् । क्रान्तिकारीहरू भने यसको विरासतको आधारभुत पक्षलाई ग्रहण गर्दै यसलाई आजको विशिष्टताअनुसार आफ्नो मुलुकमा लागु गर्दै समाजवादी क्रान्तिलाई अघि बढाउन खोज्छन् । रसियाली क्रान्तिले देखाएका  सारभूत पक्षलाई ग्रहण गर्दै चीनमा माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले पहिले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्यो र अनि समाजवादी निर्माणको सङ्घर्षमा सर्वहारा वर्गलाई महत्वपूर्ण विजय प्राप्त गर्ने दिशामा अघि बढायो । यसैक्रममा, मार्क्सवादका आधारभूत प्रस्थापनमा लेनिनले पुर्याएको योगदानलाई थप विकसित र समृद्ध पार्दै मार्क्सवादको तेस्रो चरण माओवादलाई स्थापित गर्यो  ।

मार्क्सवादमा नयाँ योगदानका लागि माओको नेतृत्वमा भएको नयाँ जनवादी क्रान्ति,रुसमा पुँजीवादको स्थापनाबाट शिक्षा लिएर चीनमा पुँजीवादको पुनर्स्थापना नहोस् भन्ने उद्देश्यका साथ माओको नेतृत्वमा चलाइएको चिनियाँ महान् सर्वहारा क्रान्तिको भूमिकालाई पनि लिनुपर्छ । साथै राजनीतिक अर्थशास्त्र   र अन्तर्राष्ट्रिय सर्वहाराका लागि दीर्घकालीन जनयुद्धको सैन्य रणनीतिमा माओले पुर्याएको योगदानप्रति ध्यान दिनु जरूरी छ ।

आज कुनै पनि मार्क्सवादीले माओवाद, लेनिनवादपछि मार्क्सवादमा भएको विकास र तेस्रो चरणको मार्क्सवाद हो भन्ने कुरा अस्वीकार गर्न सक्तैन । कसैले पनि इतिहासलाई लेनिनवादमै सीमित राख्दै त्यसपछिका दिनमा केही पनि भएन भनेर ढाँट कुरा गर्नु हुँदैन ।  यस किसिमको व्यवहार गर्नु भनेको मार्क्सवाद होइन, संशोधनवादको अभ्यास गर्नु हो । आजको समयमा मार्क्सवादी हुनु, लेनिनवादी हुनुको अर्थ हो माओवादी हुनु । मार्क्सवाद र  लेनिनवादसित जोडिएको माओको विरासतलाई आत्मसात नगरीकन कसैले पनि लेनिनको विरासतलाई आत्मसात गरेको छ भनेर भन्न सकिँदैन  । आज मार्क्सवादी हुन, कम्युनिस्ट हुन,  मार्क्सवादी-लेनिनवादी-माओवादी हुनु जरूरी छ ।

 आजको दिनमा  अक्टोबर क्रान्तिको बाटोमा अगाडि बढ्नु भनेको आआफनो मुलकमा क्रान्तिको तयारी गर्नु हो, हाम्रो समयको मार्क्सवादलाई लागु गर्नका लागि नयाँ ढङ्गको पार्टी निर्माण गर्नु हो, त्यो भनेको माओवाद हो र सर्वहारा वर्गको सार्वभौम रणनीतिक मूल्ययुक्त दीर्घकालीन जनयुद्ध हो । आज अक्टोबर क्रान्तिको बाटोमा अघि बढिरहेका प्रमुख पार्टीहरू भनेका जनयुद्धको नेतृत्व गरिरहेका भारत, फिलिपिन्स, टर्की र पेरूका कम्युनिस्ट पार्टीहरू हुन्  । यी तिनै क्रान्तिकारीहरू हुन्, जसले आआफ्नो मुलुकमा मार्क्सवाद-लेनिनवाद-माओवादले सुसज्जित जुझारु पार्टी निर्माण गरेर क्रान्तिकारी सेनाका साथ आफनो देशको विशिष्टतामा दीर्घकालीन जनयुद्धलाई अघि बढाइरहेका छन् ।

फ्रान्समा अक्टोबर क्रान्तिले देखाएको बाटोमा अघि बढ्नु भनेको दीर्घकालीन जनयुद्धलाई अघि बढाउन व्यापक सहभागिताका साथ माओवादी कम्युनिस्ट पार्टी, फ्रान्सलाई बलियो बनाउनु हो ।

.....................................................................................................

तलको नाराका साथ वक्तव्यको अन्त्य गरिएको छ :

अक्टोबर क्रान्तिको शतवार्षिकी :  जिन्दावाद !
मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद !

०००



भिडियो फिचरview all