menu

ताजा समाचार

हराएको डायरीको एउटा पन्ना : चुनवाङ बैठक, 'युद्धभूमिबाट फर्किँदा' र अन्तर्कथाहरू

अन्तर्राष्ट्रिय क्षेत्रमा रिमसम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्गठनहरूले पनि प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल यताउता गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थापन गरेपछि, क्रान्तिकारी धारवालाको बहुमतलाई पटना पक्राउ प्रकरणबाट मिलान गरिसकेपछि राहतको लामो सास फेरेर आयोजित गरिएको चुनवाङ बैठकमा विचार र सङ्गठनमा बाबुरामले भनेअनुसार गएपछि रुवावासीको घतलाग्दो ऐतिहासिक नाटक मञ्चन भयो । दिल्लीमा म्याडमहरूले कपाल लुछालुछ गरेको घटना पनि बिर्सिने कुरा स्वत: हुने नै भयो । त्यसपछि  एरिस्टोटलको विरेचन सिद्धान्तका झैँ सबै विरेचित भए र “रूपान्तरण” को नयाँ अभियान आरम्भ भयो । यही महान् रूपान्तरणपछि नयाँ जनवादी गणतन्त्रको स्थानमा “लोकतान्त्रिक गणतन्त्र” मा जाने महान् विचार  संश्लेषित भयो ।

यसका लागि केन्द्रीय आधारक्षेत्र, त्यसमा पनि रोल्पाको चित्त बुझाउनु आवश्यक थियो । सबैभन्दा पहिले सधैं खटरपटर परिरहने कमरेड अनन्त र बिप्लवबीच तालमेल मिलाउनु आवश्यक थियो । दुवै तीव्र महत्त्वाकांक्षी, यसै परे प्रचण्डपछिको  म नै हुँ भन्ने ( शान्ति प्रक्रियापछि दुवै बाबुरामले मन पराएका पात्र भए- यो कुरा बाबुरामले खरिपाटी बैठकपछि  'कान्तिपुर' दैनिकमा भनेका छन्, त्यसमा गंगा श्रेष्ठको नाम पनि मन पर्ने पात्रमा छ । ) खालका । कमरेड किरणको व्यवस्थापनसँगै  अनन्त पूर्वको बागडोर समाल्न पूर्वी कमान्डमा तैनाथ गरिए र सोझा दिवाकर, विप्लवले सधैँ कचकच गरेर हैरान पारिएका  दिवाकरलाई पश्चिम ठेलेर विप्लवले स्यायी समितिको हकदारसहित आधारइलाकीय कमान्डको जिम्मेवारी पाउनु स्वाभाविक थियो  । चाँजोपाँजो मिलाउने क्रममा बाबुरामका मान्छे एक तह नझर्ने, तर अरूले क्रान्तिकारी स्पिरिट देखाउँदै एक तह तल झर्नुपर्ने भयो, अर्को 'क्रमभङ्ग' अभियान चलाइयो  । यस अभियानपछि अब पोलिटब्युरोमा पनि रूपान्तरित प्रचण्ड-बाबुरामको बहुमत हुने भयो र केन्द्रीय समितिमा पनि उनीहरूकै बहुमत हुने भयो । अलिकति रुकुमले असन्तुष्टि जनायो । प्रचण्डले “ममाथि बम प्रहार गर्न खोजिएको थियो, फुयुज पारिदिएँ” भनेर बैठकमै उदघोष गरे । ज-जसले असन्तुष्टी जनाए, ती किनारा लागे  मिहिन पाराले । प्रभाकरलाई त धेरैपल्ट कान समातेर उठबस गर्न लगाइयो । कसैको हिम्मत थिएन “महान् रूपान्तरणप्रति प्रश्न गर्ने ! यसको विरुद्ध जानु भनेको हेडक्वाटरको विरुद्ध, जनयुद्धको विरुद्ध, महान् एकताको विरुद्ध जानुहुन्थ्यो  । महान् एकता, महान् रूपान्तरण, एकता-सङ्घर्ष-रूपान्तरणको ऐतिहासिकताका साथ पार्टी बैठक समापन भएको घोषणा गरियो ।

लेखक-कलाकारलाई यो महान् रूपान्तरणलाई व्यवहारमा उतार्न निर्देशन थियो । अलिअलि कस्तोकस्तो लागे पनि गहिरो गरी बुझिएको स्थिति थिएन । सबै होमियौं '' लोकतान्त्रिक गणतन्त्र' को अभियान : जिन्दावाद भन्दै ! कति गहकिलो इमान्दारी !

बैठक समापनको भोलिपल्ट सहिद परिवारसित भेटघाट गर्ने कार्यक्रम थियो । चुनवाङ वरिपरिका सहिद मात्रै भेट्ने सन्दर्भ  थियो । उनीहरूलाई एक किसिमले कोचिङ गरिएको थियो : “पार्टी फुट्ने भयो भनेर हामी बडो पीडामा थियौँ, सहिदको रगत खेर जान्छ कि भन्ने लागेको थियो... पार्टी एकताबद्ध भएको सुन्दा खुसी लाग्यो ।” प्रचण्डले पनि कृत्रिम किसिमले गला भरिएको जस्तो पारे, रुन लागेजस्तो अभिनय गरेर सहिद परिवारलाई मख्ख पारे । “हामी दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्न लागिरहेछौँ, कमरेडहरू धोका हुने छैन हामी एकताबद्ध छौँ”  भने । पार्टीले नयाँ जनवादी क्रान्ति छाडेर बुर्जुवा बहुदलीय व्यवस्था लोकतान्त्रिक गणतन्त्रको दिशा तय गरेको निर्णय चाहिँ सहिद परिवारलाई सुनाएनन् उनले । भित्री गाँठी कुरा त उनले धेरैलाई सुनाएनन् । केन्द्रीय समितिका सदस्यलाई पनि सुनाएनन् । कार्यनीतिमा मात्र नभएर रणनीतिक उद्देश्यमा नै  दिल्लीमा सम्झौता भैसकेको  कुरा त झन् सुनाएनन् । सबै कुरा दिल्लीमा तय भएर उतै रुवावासी र महान् रूपान्तरणको एक चरण समाप्त गरेर यता नाटक मन्चन गरिएको मात्रै रहेछ भन्ने कुरा १२ बुँदेपछि थाहा भयो । 

सहिद परिवारको भेटघाटको नाटक दृश्य सम्पन्न गरेपछि केन्द्रीय सदस्यहरूले सामूहिक फोटो खिच्ने कार्यक्रम पनि सम्पन्न भयो । अब सबै कमरेडलाई क्रान्तिकारी भाव र उत्साह दिन 'सामना परिवार'  र आधारइलाकीय 'प्रतिरोध' सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम देखाउने भनियो ।  कार्यक्रम बैठकस्थलभन्दा अलिमाथि सम्म ठाउँमा गर्ने निधोसहित कलाकारहरू त्यसको तयारीमा लागे र कपडाले बेरेर काम चलाउ मंच बनाए ।

भखैरै खारा मोर्चाको असफलताको पीडा थियो । प्रचण्ड स्वयमले   कमान्ड गरेको यो मोर्चामा सारै ठूलो नोक्सानी भएको थियो । तयारी प्रशिक्षण टेप नै दुस्मनको हात परेको थियो । असफलताको एउटा कारण बाबुरामले सबै कुरा दुस्मनसम्म पुर्याउनु थियो भने, अर्को कारण युद्ध मोर्चामा आन्तरिक  तालमेलको अभाव र केही मात्रामा रुकुम-रोल्पा अहमको पनि समस्या थियो । यो जित्ताजित्तै हारेको मोर्चा थियो । कमरेड जित गुमाउनुको गणेशपुर मोर्चापछि असाध्यै पीडा गराउने मोर्चा थियो खारा मोर्चा । गणेशपुर मोर्चाको पनि सही किसिमले समीक्षा भएको छैन, गर्नु आवश्यक छ । अब खोतल्नु पर्छ ।

अहिले कलाकार विद्रोही कमरेडको जीवनसाथी बन्नुभएको दीपा कमरेडको बसाइ सानी छोरीका कारण पाख्रिन दाइ-भाउजूका साथ हुन्थ्यो–अभिभावकको भूमिकामा उहाँहरू हुनुहुन्थ्यो । दीपाको जीवनसाथी कमरेड प्रशान्त खारा मोर्चामा सहिद हुनुभयो । पाख्रिन दाजुभाउजूसितै बसेकी दीपा र सानी छोरीको पीडालाई पाख्रिन दाइले नजिकैबाट बोध गरेर सामान्यीकरण गर्नुभयो र तयार पार्नुभयो :  “युद्धभूमिबाट फर्किँदा” । भर्खरै साथी गुमाएकी दीपाका लागि त्यो अभिनय गर्नु साच्चिकै पीडादायी थियो । तर उनले गरिन् । त्यो अपेराले त्यति सारो प्रभावित पार्नुका पछाडि विषयवस्तुको गाम्भीर्य त थियो नै, दीपाको सजीव अभिनय  पनि थियो । पूर्वीय साहित्य सिद्धान्तमा  रस सिद्धान्तले भनेझैं  रसनिष्पत्तिको सामान्यीकरण भएको थियो त्यहाँ । सबै रुनु स्वभाविक थियो । यो चाहिँ असली रुवाइ थियो- चुनवाङ बैठकको जस्तो रुवाइ होइन  ।  सो कार्यक्रमका प्रस्तुतिहरू सबै प्रभावकारी थिए । अपेरासँगै बहुचर्चित बनेको अर्को गीत कमरेड विद्रोहीले गाउनुभएको गीत “टुटफुटका कुरा नगर” भन्ने थियो । यो गीत पनि तत्कालीन पृष्टभूमिसित सम्बद्ध थियो । माथि दुस्मनको हवाइजहाज  निगरानीका लागि चक्करमारिरहेको अवस्था र अचानक बदली भएर पानी पर्लाजस्तो मौसममा गरिएको त्यो कार्यक्रम साँच्चिकै  ऐतिहासिक थियो ।

यो समग्र कार्यक्रमको अडियो-भिडियोको सम्पादनका साथ तयार पारेर वितरण गर्ने जिम्मा पूर्णघर्तीलाई दिइएको थियो । उनलाई सास्कृतिक मोर्चाको  यस विभागको जिम्मेवारी पनि थियो । उनले यो काम प्रचण्डपुत्र प्रकाशको बाहुलीको सहयोगमा सम्पन्न गरे भन्ने थाहा भयो  ।  तर सो कार्यक्रमको अडियो र भिडियोमा उनले त्यति प्रभावकारी अपेरा “युद्धभूमिबाट फर्किँदा” का  सर्जक  खुसीराम पाख्रिनको एक झलक अनुहार देखाउनु आवश्यक ठानेनन्,  उदघोषकको आवाज र अनुहार पनि  गायब पारेछन् -गजबको सम्पादन गरेछन्  ।  सो कार्यक्रमको सञ्चालन त्यतिबेरका सांस्कृतिक मोर्चाका केन्द्रीय महासचिव   ऋषिराज बरालले गरेका थिए ।

पूर्णकी श्रीमती सीता आचार्यको अहङ्कारी स्वभावका कारण पाख्रिन दाइ, त्यति सारो उनलाई मन पराउनुहुन्न्थ्यो । त्यसैले कमरेड दीपाले अभिनय गरेको सो अपेराको गीत ''लड्नैपर्छ यो युद्ध तिमीले ..." एलिना कमरेडले गाएकी थिइन् ।  पछि सो अपेराको नयाँ सुटिङ गरेर नयाँ भिजुअल बनाइएको  पाइयो ।  पहिलेकोमा  प्राविधिक केही समस्या भए पनि पहिलेको जस्तो मिठास र मौलिकता पछिल्लोमा पाइएन । पछिल्लोमा कृत्रिमताको बोध हुन्छ-नाटकीय  ।

पार्टीभित्र जनयुद्धलाई विसजर्न गर्ने तारतम्य मिलाइसकिएको रहेछ । तलकालाई थाहा हुने कुरा भएन । सांस्कृतिक मोर्चाले आफ्नो कमान्डरको निर्देशन नमान्ने कुरै थिएन । प्रचण्डबाबुरामले सबै भारतलाई बुझाइसकेका रहेछन् भन्ने कुरा हामी इमान्दार भनौंदालाई थाहै भएन । हामीहरू त “लड्नैपर्छ यो अन्तिम युद्ध तिमीले” भनेर प्रचण्डप्रति आशावादी र विश्वस्त बनिरहेका थियौं  । कति गहकिलो इमानदारी है !
 
नेपालको माओवादी आन्दोलन अहिले जेजस्तो भए पनि हिजोका दिनमा यसले विश्वको ध्यान खिचेको थियो, नेपाली उत्पीडित जनतामा आशा र विश्वास जगाएको थियो  । होमिएका थिए मान्छे— “मरे सहिद, बाँचे संसार” भनेर ।  माओवादी आन्दोलनका पक्षमा जनमत निर्माण गर्न अग्रीम भूमिका खेल्ने र  त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न र आवश्यक पर्दा एक हातमा कलम र एक हातमा बन्दुक लिएर युद्ध मोर्चामा लामबद्ध हुन तछाडमछाड गर्ने इतिहास हो माओवादी सांस्कृतिक मोर्चाको इतिहास । बलिदानको गौरवमय इतिहास निर्माण गर्न लेखककलाकारको अहम् भूमिका  छ । कृष्ण सेन, हर्षबहादुर शाही, चुनु गुरुङ, शिव श्रेष्ठ, शारदा श्रेष्ठ, च्याङ्वा लामा, डि कौडिन्य, रोहित कोइराला लगायत थुप्रैको बलिदानीपूर्ण इतिहासको अर्को नाम हो माओवादी सांस्कृतिक मोर्चा । यो उदात्तपूर्ण  र गौरवमय इतिहासका संवाहकहरूको सम्मान गर्नु आवश्यक छ । सम्मान गर्न सिकौं ।

अहिले विभिन्न कारणबस विभिन्न समूहमा विभाजित भएका भए पनि र सबैका आआफ्ना सीमा र समस्या भए पनि, कोही क्रन्तिचेतले उत्प्रेरित भएर र कोही वाध्यात्मक किसिमले भए पनि  हिजोका ती अप्ठयारा र आँधीमय दिनमा युद्ध मोर्चामा होमिएर माओवादी आन्दोलनलाई सांस्कृतिक मोर्चाका तर्फबाट वैचारिक तथा भौतिक किसिमले ऊर्जावान बनाउने खुसीराम पाख्रिन, ऋषिराज बराल, मणि थापा, माइला लामा,  ईश्वरचन्द्र ज्ञवाली, रोशन जनकपुरीलगायतका सांस्कृतिक कर्मीहरूको  योगदानको कदर गर्नु आवश्यक छ । यी घरपरिवार सबै कुरा छाडेर युद्ध मोर्चामा होमिएका स्रष्टाहरू हुन् भनेर हामीले बुझ्नु आवश्यक छ । युद्धमा नहिंडे पनि त्यो भन्दा गहकिलो गरी कलम चलाउने पूर्ण विरामलाई नेपालको माओवादी सांस्कृतिक आन्दोलनमा कसरी बिर्सन सकिएला र ! यी सबै पौरखी हातहरूको इतिहासलाई लत्याएर अहिले राम्रो, वैज्ञानिक र उन्नत इतिहास लेख्छु भनेर कसैले पनि अहंकार नगरे  हुन्छ । प्रतिभाको निर्माण गर्ने कुरा निकै गारो छ -हुल्लड़बाजहरूलाई थाहा हुँदैन ।

हामीले हाम्रा नेताहरूलाई असाध्यै विश्वास गर्यौं  । धोका देलान् भनेर सोच्ता पनि सोचनौँ । पार्टीले  “रणनीतिक आक्रमण” को चरण घोषणा गरेको बेलामा ढाडमा टेकेर टाउकोमा अन्तिम प्रहार गर्ने भनाइप्रति विश्वस्त नहुने कुरा पनि भएन । हामी त भेडा बनेछौँ, दन्त्य कथामा सुन्दर युवतीको मोहमा लट्ठिएर कुनै युवक भेडा बनेर पछिपछि लागेझैं  । जब ब्युंझियौं,  समय अर्कै, स्थिति अर्कै भइसकेको थियो । हेर्दै खाइहालौँ जस्तो लाग्ने  लड्डुमा विष मिसाइएको रहेछ भन्ने कुरा हामीलाई थाहै भएन । “ढाडमा टेकेर टाउकोमा  हान्ने ” को अर्थ त अर्कै रहेछ  ।  हामीले अर्थ लगाउन सकेनौँ/ जानेनौं  । यस्तै रहेछ ''ऐतिहासिक " चुनवाङ बैठक , साँच्चीकै जादुमय !

थाहा भएन । पाउन सकिएन । वास्तवमा हामी चुनवाङ बैठकबाटै विभाजित भइसकेका रहेछौँ । गजबको रहेछ चुनवाङ बैठक   ।  यो त स्लो प्वाइजन पो रहेछ, पछि मात्रै थाहा हुने-सुक्तैगएर सास मात्रै बाँकी भएपछि थाहा पाउने ।

(लेखकको अनुरोधमा हामीले उहाँको नाम यस लेखमा राखेनौं ।)
०००

भिडियो फिचरview all