menu

ताजा समाचार

फेरि पनि चर्चा “अज्ञात समूह” को 'आतङ्क' को

भर्खरै “अज्ञात समूह” सित जोडिएर देशका विभिन्न भागबाट समाचार आएका छन् :
रौतहटमा वामगठबन्धनको बैठकलगत्तै टाइम बम विष्फोट, ११ घाइते, तीनको अवस्था गम्भीर, भोजपुरको कुलुङमा प्रहरी र “अज्ञात समूह” बीच गोली हानाहान, तनहुँमा काङ्ग्रेस नेता पोडेललाई लक्षित गरी बम प्रहार, कार्यकर्ता चढेको बस र जिपलाई लक्षित गरी ओखलढुङ्गामा बम प्रहार ।


हाम्रा कतिपय पाठक, शुभचिन्तक तथा अन्य व्यक्तिहरूले अहिले “अज्ञात समूह" ले गरेको डाङडाङ डुङ्डुङका बारेमा ‘जनमेल’ को धारणा के हो ? यस्ता गतिविधिप्रति समर्थन हो कि विरोध हो भनेर प्रश्न सोधेको र जिज्ञासा राखेको पाइन्छ । कतिपयले आक्रोस पनि पोख्ने गरेको पाइन्छ  । साँच्चै हो, यतिखेर चारैतिर “अज्ञात समूह” को ‘आतङ्क' व्याप्त छ र यसैको चर्चा छ ।

आसन्न चुनाव वहिष्कारको घोषणा अन्य पार्टीहरूले पनि गरेको भए पनि नेकपा-विप्लवले चुनावको खारेजी भनेको छ र योसित जोडिएर विभिन्न किसिमका गतिविधि पनि भइरहेको पाइन्छ । मतपत्र कब्जा गर्ने, च्यात्नेजस्ता कार्यको जानकारी यससित सम्बद्ध माध्यमहरूले दिइरहेका छन् । जस्तो इ–रातोखबर लेख्छ :  “नेकपाले चुनाव खारेजी अभियान सशक्त बनाउँदै लगेको छ । यसैबीच सल्यानमा बाम गठबन्धनको निर्वाचन प्रचार सामाग्री खोसेर जलाइएको छ ।" तर, प्राविधिक किसिमका गतिविधिहरू बम-गोली, माइन तथा एम्बुससित सम्बद्ध घटनाबारे यससित सम्बद्ध माध्यमहरूले आधिकारिक रूपमा केही पनि बोलेका छैनन् । यस्ता घटनाको जिम्मा कसैले लिएको छैन ।

रोल्पामा वर्षमान पुनमाथि, रुकुमका जनार्दन शर्मा ‘प्रभाकर’ माथि, भोजपुरमा शेरधन राईमाथि तथा नुवाकोटमा रामशरण महतमाथि, तनहुँमा रामचन्द पौड्यालमाथि आक्रमणहरू तथा रौतहटको घटना “अज्ञात समूह” द्वारा घटाइएका घटना बनेका छन् । नेकपा-विप्लवले निर्वाचन खारेज भनेकाले यी घटना पनि उसैले घटाएको भन्ने अडकलमा कतिपयले समाचार बनाएका छन् । खास समूहले खास घटना आफूले गरेको भनेर नभनेसम्म अमुक समूहले गरेको भनेर किटानका साथ भन्न सकिँदैन  । यस्ता घटनाहरू खास राजनीतिक शक्तिले गरेको हुनसक्छ, हिन्दूवादी-राजावादीहरूको काम पनि हुनसक्छ, भारतीय विस्तारवादको योजनामा भएको घटना पनि हुनसक्छ र सरकारकै योजना र अगुवाइमा भएको घटना पनि हुनसक्छ । अझ, नुवाकोटमा घटनालगत्तै रामशरण महतले ''सो घटना विप्लव समूहले घटाएको होइन, ‘वाम गठबन्धन” का उमेदवारले घटाएको" भन्नुले केही प्रश्न उठाएको छ ।  यसरी ठाडै अमुकले होइन, अमुकले भन्ने आधार के हो ? केका आधारमा उनले यसो भन्न सके ? यसमा आशङ्का गर्नु स्वाभाविक छ । आक्रमण कांग्रेस उमेदवारका विरुद्ध भन्दा “वामगठबन्धन” माथि बढी भएकाले पनि प्रश्नहरू बढी उठेका छन् । “विप्लव समूहले होइन” भन्नुमा रामशरण महतको भयग्रस्त मानसिकताले काम गरेको छ, अथवा उनलाई थाहा भएर यसो भनेका हुन् भन्ने कुरामा प्रश्न उठ्नु/उठाउनु स्वाभाविक हुन्छ ।

यसरी प्रस्टताका साथ नआएको घटनाको प्रकृतिलाई रहस्यमय र आशङ्कायुक्त भन्नुपर्ने हुन्छ । सशस्त्र सङ्घर्षं घोषणा नगरेको नेकपा-विप्लवले यस्ता घटनाहरू गरेको हो भने पनि उसले इमानदारीपूर्वक प्रस्ट पार्नुपर्ने हुन्छ । सशस्त्र सङ्घर्षं घोषणा नगरेको अवस्थामा चुनाव वहिष्कारको सान्दर्भिकता र सार्थकता बढी वैचारिक तथा राजनीतिक चेतना र जनमत निर्माणको प्राप्तिमा निहित हुन्छ । अहिलेको ''अज्ञात समूह" को गतिविधि फौजी किसिमको छ । वास्तवमा  “अज्ञात समूह” को ‘आतङ्क’ र रामशरण महतको “अभिव्यक्ति” दुवै रहस्यमय बनेका छन् ।

 “अज्ञात समूह” को सम्बन्ध यदि  राजनीतिक शक्तिसित छ र  यो  जनताको पक्षधर शक्ति हो भने यसले क्रान्तिकारी स्पिरिट र परिचयका   साथ आउनुपर्ने हुन्छ, यही नै मार्क्सवादी मूल्य र नैतिकता हो  । अन्यथा ''अज्ञात समूह" भनेको  मुलुकमा बबण्डर, अन्यौल र अराजकता फैलाएर विदेशीका लागि खेल्ने वातावरण बनाउन सक्रिय कुनै निर्देशित रहस्यमय समूह रहेछ भन्नुपर्ने हुन्छ । खासगरेर तराईमा भारतीय विस्तारवाद र त्यसका  दलालहरूले धमिलो पानीमा माछा मर्ने सम्भावना प्रवल हुन्छ ।  रहस्यमय गतिविधिलाई क्रान्तिकारीहरूले समर्थन गर्ने कुरै आउँदैन । कुनै राजनीतिक शक्ति जिम्मेवारी लिएर आयो भने त्यसैअनुरुप धारणा बनाउने कुरा हुन्छन, अहिलेलाई यसको पक्षमा उभिने स्थिति आउँदैन, यसमा प्रस्ट हुनु आवश्यक छ ।

अब मुलुकमा कोही पनि यो व्यवस्थाका विरद्ध जान सक्ने शक्ति छैन  भनेर वर्तमान प्रतिक्रिया सत्ताधारीहरूले भनिरहेको अवस्थामा यो “अज्ञात समूह” ले जसरी तरबर खेलाइरहेको छ, यो चाहिँ चाखलाग्दै छ । “अज्ञात समूह” का गतिविधिहरू अघि सारेर फासिवादी अभ्यासका साथ क्रान्तिकारीहरूमाथि दमनको आधार सरकारले नबनाओस् भनेर खबरदारी गर्नु पनि यतिबेर एकदमै जरूरी छ । “अज्ञात समूह” माथि कारबाहीका नाममा समग्र रूपमै मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरूमाथि दमन अभियान नचल्ला भन्न सकिँदैन । यस अर्थमा नेपाली क्रान्तिका पक्षधरहरूमा यतिखेर खबरदारी र चनाखोपन दुवैको  आवश्यकता  छ ।
 
जनमेल टिप्पणीकार
भिडियो फिचरview all