menu

ताजा समाचार

चुनाव खारेजी, साहित्यकारहरू र राज्यआतङ्क

चुनाव खारेजीको अभियानसित जोडेर नेकपा-विप्लवका थुप्रै कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । र  यसक्रममा पत्रकारहरूलगायत सो पार्टीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ सम्बद्ध कलाकारहरू तथा  लेखक पनि पक्राउ परेका छन् । हिजो मात्रै ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ महासचिव खेम थपलिया पक्राउ परेका छन् । यसको लेखन तथा पत्रकारिताको क्षेत्रबाट तीव्र विरोध भएको छ । कतिपयले  नेकपा-विप्लवको योजनासित सम्बद्ध भएर उनले खारेजीका लागि आह्वान गरेकाले पक्राउका विरुद्ध  होहल्ला गर्नुको अर्थ छैन भनेको पनि सुनियो । वास्तवमा यस किसिमको भनाइ सरासर फासिवादी चिन्तनको उपज हो ।

खास सांस्कृतिक मोर्चाका महासचिवका नाताले सो मोर्चाको धारणा बाहिर ल्याउनु स्वाभाविक छ ।  सो मोर्चाले  “अज्ञात समूह” आफू नै हो भनेको पनि छैन र बम पड्काउ र गोली हान पनि भनेको छैन । सामान्य रूपमा खारेजीको आह्वान गरेको छ । यो संविधान आफूलाई समाजवादोन्मुख भन्छ । अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकार मान्छ । चुनावमा भाग लिने तथा मतदान गर्ने स्वतन्त्रता छ भने चुनावमा सहभागी नहुने  मतदान नगर्ने पनि स्वतन्त्रता छ ।  सरकारले अघि सारेको चुनावमा सहभागी हुन चाहन्न भनेको भरमा सहभागी नभएकै भरमा कसैलाई अपराधी ठान्न  मिल्दैन, संविधानले यसो गर्न दिँदैन । चुनावमा सहभागी नहोऔँ भनेकै आधारमा कसैले शान्तिसुरक्षामा अवरोध पुर्यायो भन्ने प्रश्न उठ्न सक्तैन । चुनावका नाममा राष्ट्रघाती अपराधी र हत्याराहरू सम्मानित हुने र राष्ट्रिय स्वाधीनता र जनतन्त्रका पक्षमा कलम चलाउनेहरू हिरासत र जेल बस्तुपर्ने स्थितिलाई लोकतान्त्रिक स्थिति होइन, फासिवादी स्थिति भन्नुपर्ने हुन्छ ।
 
खेम थपलिया उनी सम्बद्ध प्रगतिशील लेखक सङ्घले हरेक महिनाको पहिलो शुक्रबार हुने कार्यक्रममा दिनभरि प्रलेस कार्यालयमा छन् । उनको हातमा कलम छ र बढी भए कम्युटरको माउस छ, रिमोट कन्ट्रोल होइन ।  । रामशरण महतलाई एम्बुस गर्न उनी प्रेसर कुकर बोकेर ककनीमा लुकेको पनि देखिँदैन । उनको हातमा बम छैन र गोली पनि छैन । राजनीतिक रूपमा अमुक पार्टीको कार्यकर्ता भएकाले  पक्राउ गरिएको हो भने पनि विप्लवको पार्टीलाई सरकारले अहिलेसम्म आतङ्कवादी घोषणा गरेर प्रतिबन्ध लगगाउको थाहा छैन र मुलुकमा सङ्कटकाल घोषणा गरेको अवस्था पनि होइन । खास घटनामा संलग्न भएको अवस्थामा ‘रेड ह्यान्ड’ उनी समातिएको अवस्था पनि होइन । उनी मालेमाप्रति प्रतिबद्ध  स्थापित र स्रष्टा हुन् । यसो हुनु उनको अपराध होइन । यो देशलाई माया गर्ने र  उत्पीडित जनताको पक्षमा आवाज उठाउने कलमजीवीमाथि सत्ताआतङ्क थोपर्ने र दमन र धरपकड गर्ने कार्य फासिवादी सत्ताले मात्र गर्छ  ।
 
अहिले मुलुकमा सङ्कटकाल लागेका छैन ।  सरकारले अमुक पार्टीलाई प्रतिबन्धित गरेको छैन । कुनै खास पार्टीप्रति समर्थनभाव दर्शाएकै भरमा,  चुनाव बहिष्कार गरौँ भनेर आह्वान गरेकै आधारमा अपराधीको व्यवहार गर्न मिल्दैन । यस्तो बेला बोल्नुपर्छ, राज्यआतङ्कको विरोध गर्नुपर्छ । यो अमुक व्यक्तिको कुरा होइन बौद्धिक-सांस्कृतिक क्षेत्रले अँगाल्नुपर्ने दायित्वबोधको कुरा हो । हामी लेखक तथा बौद्धिक क्षेत्रले कुन पात्र र कुन समूहको भनेर प्रश्न उठाउनु भन्दा अमुकको पक्षधरता कतापट्टी छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । उसको सेवा उत्पीडित  जनता  र राष्ट्रिय स्वाधीनताका पक्षमा छ भने उसको पक्षमा दरिलो गरी उभिनुपर्छ । यस अर्थमा मार्क्सवादी लेखक खेम थपलियाको गिरफ्तारीको विरोध र रिहाइका पक्षमा आवाज उठाउनु हाम्रो दायित्वभित्र पर्छ ।

जनमेल टिप्पणीकार

भिडियो फिचरview all