menu

ताजा समाचार

राज्यसत्ताबाहेक अरू सबै भ्रम हो : ९ओटा माओवादी पार्टीहरूको संयुक्त घोषणा

समाजवादी महान् अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा ९ओटा ल्याटिन अमेरिकी मार्क्सवादी-लेनिनवादी- माओवादी पार्टी तथा सङ्गठनहरूले संयुक्त वक्तव्य जारी गर्दै मार्क्सवाद-लेनिनवाद-माओवाद, मूलतः माओवाद र जनयुद्धको पक्षमा दृढताका साथ उभिन आह्वान गरेका छन् ।
 
“सत्ताबाहेक अरू सबै भ्रम हो ! विश्वका सर्वहाराहरू एकजुट होऔँ !” शीर्षकमा जारी उक्त संयुक्त वक्तव्य अक्टोबर क्रान्तिसम्बन्धी स्टालिनको महत्वपूर्ण कथनबाट आरम्भ गरिएको छ । लामो सो वक्तव्यमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ आआफनो मुलुकको विशिष्टतामा मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित नयाँ ढङ्गको पार्टी निर्माण गरेर नयाँ जनवादी तथा समाजवादी क्रान्तिको तयारी गर्नु हो भनिएको छ ।

त्यसैगरी वक्तव्यमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ लेनिनपछि ट्रट्स्कीवादका साथै सवैखाले अवसरवादका विरुद्ध लडेर समाजवादको झण्डालाई अघि बढाउने स्टालिनको पनि सम्झना गर्नु हो र  लेनिन र स्टालिनले कोरेको समाजवादको बाटोलाई चिनियाँ समाजको विशिष्टतामा लागु गर्ने माओको ऐतिहासिक योगदानको सम्मान तथा आत्मसातीकरण गर्नु पनि हो भनिएको छ ।

 साथै वक्तव्यमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ भारतका जनताको नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सवको सम्झना गर्नु हो र पेरू, भारत, टर्की र फिलिपिन्समा चलिरहेका जनयुद्धप्रति एैक्यबद्धता जनाउनु हो भनिएको छ । त्यस्तै वक्तव्यमा आजको सन्दर्भमा अक्टोबर क्रान्ति दिवस मनाउनुको अर्थ हिजोका संशोधनवादीहरूका विरुद्ध मात्र नभएर आजको विश्वक्रान्तिलाई संशोधनवादी दिशा दिन उद्यत् अभाकियनवाद र प्रचण्डपथवादीहरूका विरुद्ध पनि सङ्घर्ष गर्नु हो भनिएको छ । वक्तव्यमा आजीवन कारावास जीवन भोगिरहनुभएको कमरेड गोन्जालोको रिहाइ तथा जीवन रक्षका लागि आवाज उठाउनु मालेमावादीहरूको दायित्व हो भनिएको छ ।
 
खास गरेर मार्क्सवाद-लेनिनवाद-माओवाद प्रधानतः माओवादलाई दरोसित आत्मसात गरी आआफ्नो मुलुकको विशेषतामा नयाँ ढङ्गको पार्टीको निर्माण गरेर क्रान्तिको तयारी लागौँ भनेर वक्तव्यमा जोड दिइएको छ ।
 
 वक्तव्यको अन्त्यमा “महान् समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकी : जिन्दावाद !” ,“मार्क्सवाद-लेनिनवाद-माओवाद मूलतः माओवाद : जिन्दावाद !”,  “अध्यक्ष गोन्जालोको जीवनको प्रतिरक्षा गरौँ !” , “नक्सलबाडी जनविद्रोहको ५० औँ वार्षिकोत्सव जिन्दावाद !”, “साम्यवाद नआउन्जेलसम्म जनयुद्ध जारी राखौँ ।” जस्ता नाराहरू राखिएका छन् ।
 
अङ्ग्रेजीमा नोभेम्बर १२ मा प्रकाशित सो वक्तव्यमा निम्न पार्टी तथा सङ्गठनहरू सहभागी रहेका छन् ।

 १.कम्युनिस्ट पार्टी अफ पेरू, २.कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन), ३.कम्युनिस्ट रेड फ्ल्याग (एफआरजी), ४.कमिटी फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी अस्ट्रिया, ५. रेड फ्याक्सन अफ दि कम्युनिस्ट पार्टी अफ चिली, ६. कम्युनिस्ट पार्टी अफ इक्वेडर-रेड सन, ७.माक्र्सिस्ट-लेनिनिस्ट-माओइस्ट रिभोलुस्नरी फ्रन्ट अफ दि पिपुल अफ बोलिभिया, ८.माओइस्ट अर्गनाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बिया र ९. करेन्ट अफ दि पिपुल रेड सन-मेक्सिको

भिडियो फिचरview all