menu

ताजा समाचार

जमेको पोखरी भत्काउन अलिअलि 'अराजक' हुनैपर्छ

ऋषिराज बराल

जनमेल' मा लेख्न थालेको एक वर्ष भएछ ।

अहिले यही ने मेरो मोर्चा बनेको छ । आर्थिक पक्ष राम्रै भए पनि कर्पोरेट माध्यमहरूमा शब्दचयन र आयतनको सीमामा खुम्चिनु पर्ने र कमरेडहरूले खोलेका  पसलहरूमा उनीहरूको मात्रै 'हनुमान चालिसा' गाउनुपर्ने बाध्यताले मलाई नयाँ किसिमले सोच्न बाध्य गरायो ।

समयले भन्यो—कम्युनिस्ट आन्दोलनका नाममा हुनथालेका व्यापारव्यवसाय र विभ्रमीकरणका विरुद्ध उभिने एउटा दरिलो माध्यमको आवश्यकता छ । कालोलाई रातो भनेर चटक देखाइरहेका चटकेहरूका सामु मार्क्सवाद-लेनिनवाद-माओवादको झण्डा बोकेर सत्य र सुन्दरको संवहन गर्ने कुरा चुनौतीपूर्ण भए पनि यतिखेर यो झण्डा बोक्नु इतिहासले सुम्पेको दायित्व हो भन्ने लाग्यो र म ‘जनमेल’ सित गाँसिएँ ।  यो एक वर्षमा  मैले कोको बाट केके “उपहार” पाएँ, त्यतातिर नजाऔँ । सबै समालेर राखेको छु मभित्रको ‘ड्रपबक्स’ मा । तर मालेमाको झण्डा बोकेर कोको केके धन्धामा लागेका रहेछन् भन्ने कुराको जानकारी चाहिँ राम्रोसित भएको छ । थुप्रैथुप्रै मान्छेहरू विस्तारै आफ्नो सही स्वरूपमा आइरहेका छन् । तिनका खुट्टा म राम्रोसित देख्न थालेको छु र मेराविरुद्ध बन्चरो उज्याउनेको अनुहार पनि प्रस्टसित देखिरहेको  छु  ।
 
‘जनमेल’ जनताको खेतबारी हो, भुरेटाकुरे राजारजौटाहरूको मौजा होइन । लेखिदिए पुग्ने, व्यवहारमा जानु नपर्ने, दराजमा थन्क्याउने दस्ताबेज  पनि होइन 'जनमेल' । मार्क्सवादसित कतै मेल नखाने तिनका छेउ न टुप्पाका बुझाइ र व्यवहारमा ताली पिटिदेओस् भन्ने चाहन्छन् तिनीहरू । नाङ्गै हिँड्दा पनि  तिनको सुन्दरताको बखान गरिदेओस् भन्ने चाहन्छन् तिनीहरू । यो टिप्पणीकार कुरूपलाई सुन्दर भनेर अभिलेखीकरण गर्न सक्तैन । खरबारीमा आगो लागेको बेला खरको सिरानी हालेर कसरी पो मस्त निदाउन सकिएला र कमरेड ! चारैतिर युद्धको नगरा बजेको बेला कसरी पो गाँजामा लट्ठिएर आफूलाई सिध्याउन सकिएला र !

आफ्नैहरू विरुद्ध नलडी, आफ्नै विरुद्ध नलडी क्रान्ति सम्पन्न भएको इतिहास छैन । साँच्चै हो, अग्लो ठाउँमा उभिएर खबरदारी गर्नुपर्ने बेलामा  कमरेडहरू ! म “कान्छाले कान्छीलाई लग्यो बनको बाटो लालटिन बालेर” भन्ने गीत लेख्न र गाउन सक्ने स्थितिमा छैन । गजबको स्थिति भोगिरेको छु म यतिबेर । माओले आफ्ना दस्ताबेजमा थुप्रै ठाउँ ज्वारभाटा पदावलीको प्रयोग गर्नुभएको छ । यसलाई वहाँले दक्षिणपन्थी प्रवाह, पार्टीमा विचलनवादी चलखेलका सन्दर्भमा प्रयोग गर्नुभएको पाइन्छ । ज्वारभाटाका विरुद्ध विद्रोह गर्नु अपराध होइन भन्नुभएको छ । पार्टी कब्जा गरेको दक्षिणपन्थी गुटका विरुद्धको विद्रोहको अर्को नाम थियो—“ज्वारभाटाको विरुद्ध विद्रोह” । यो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका लागि जनमत निर्माणको नारा थियो ।

स्टालिनको मृत्युपछि माओले रूसमा जे देख्नुभयो, चिनियाँ कम्युनिस्ट पार्टीभित्र जे भोग्नुभयो, त्यसलाई वहाँले ज्वारभाटाको सज्ञा दिनुभयो । एक हिसाबले वहाँलाई विश्वकम्युनिस्ट आन्दोलनबाट एक्ल्याउन खोजिएको थियो, गलत साबित गर्न खोजिएको थियो । तर वहाँले चिनियाँ जनताको साथ लिएर महान् बहसमार्फत मार्क्सवाद-लेनिनवाद र क्रान्तिको झण्डा माथि उचाल्नुभयो । ज्वारभाटाको विरुद्ध उभिनुभयो । हावाहुन्डरी आएको बेला सत्य झुठो हुने र झुठो सत्य हुने किसिमको अवस्था आउँदो रहेछ । सुन्दर कुरूप र कुरूप सुन्दर बन्ने र देखिने खतरा बन्दो रहेछ ।  जनतालाई भ्रम दिन थरीथरीका कलाहीन नाटक मञ्चन गरिँदा रहेछन् । तर, खास अवस्थामा सत्य एक्लो पर्यो  भन्दैमा सत्य झुठ बन्न सक्तैन ।

परन्तु, अचम्म भोगिरहेछ यतिबेर नेपाल ।
 
अहिले हामीले दक्षिणपन्थी विचलन र आत्मसमर्पणवादी प्रवृत्तिलाई दर्शाउन “हावाहुन्डरी” पदावली प्रयोग गर्ने गरेका छौँ । प्रतिक्रियावादी कित्तामा गइसकेकाहरू अहिले वाम भएका छन्, तिनीहरू नामी कम्युनिस्ट भएका छन्, बनाइएका छन्  । तिनका मुखपत्रहरू मात्र होइन, नाम चलेका भनिएका माध्यमहरू पनि “वाम गठबन्धन”, “कम्युनिस्ट गठबन्धन”, “कम्युनिस्टहरूको एकता” “आगामी सरकार कम्युनिस्टको सरकार” जस्ता पदावलीले भरिएका पाइन्छन् ।  कम्युनिस्ट आदर्श र मूल्यबाट टाढा पुगेकाहरू, त्यसविरुद्ध गद्दारी गरेकाहरू चाहिँ असली कम्युनिस्ट र जो सही अर्थमा कम्युनिस्ट झण्डा  बोकेर मुक्तिको लडाइँ लडिरहेका छन्, ती चाहिँ कम्युनिस्ट नै होइनन्, ती त हराइसके  जस्तो स्थिति बनेको छ, बनाइएको छ–यतिबेर नेपालमा । हावाहुन्डरीले उल्टो स्थिति बनाएको छ—कुरूपलाई सुन्दर र सुन्दरलाई कुरूप  ।

 स्टालिनको मृत्यपछि माओले सत्यका लागि लड्नुपरेको भित्री र बाहिरी लडाइँ अवश्य पनि निकै सकसपूर्ण थियो होला । त्यहाँका जनताका साथमा माओ हुनुहुन्थ्यो । पार्टी कब्जा गरेर बसेका दक्षिणपन्थीहरूका विरुद्ध  “बिग पोस्टर” का  साथ सडकमा निस्केर उहाँले उद्घोष गर्नु भयो : “बमवार्ड दि हेडक्वार्टर” ।

यता भने करिबकरिब नेतृत्त्वविहीनको स्थितिजस्तो छ  ।

अचम्म छ हामीकहाँ । जो सत्यको पक्षमा उभिन्छ, मूल्य, आदर्श र नैतिकताको पक्षमा उभिन्छ र जो एक्लै भए पनि झन्डा बोकेर ज्वारभाटाका विरुद्ध उभिन्छ,  हावाहुन्डरी र आँधीबेहरी विपरीत धारको सामना गर्न सडकमा निस्कन्छ, ऊ अराजक कहलिन्छ र उसका विरूद्ध ढुङ्गामुढा बर्सिन्छन्, त्यो पनि क्रान्तिकारी भनाउँदाहरूबाट । कतिपय सन्दर्भमा त रङ छुट्याउन गारो परेको स्थिति छ र हुन्छ । असाधारण मनोबल र दृढ इच्छाशक्ति नभएको मान्छेलाई निकै गारो छ सत्यको पक्षमा उभिन—ज्वारभाटा छिचोल्न निकै गारो छ । कालोलाई कालो भन्नु अपराध हुन्छ  । हनुमान चलिसाका संवाहकहरू नाङ्गिँदै जाइलाग्छन्—चरित्रहत्याको औजार लिएर ।

अमुक पार्टीबाट अमुक नेताहरू अमुक पार्टीमा प्रवेश गरे भनेर आजभोलि हरेक दिनजसो समाचार सुनिने गर्छ । प्रतिक्रियावादी पार्टीबाट क्रान्तिकारी भनिने पार्टीमा प्रवेश हुनेबित्तिकै अमुकहरू रातारात कामरेड बन्छन्, उनीहरूलाई सैद्धान्तिक-वैचारिक प्रशिक्षणको आवश्यकता पर्दैन, उनीहरूलाई सदस्यता वापतको परीक्षणकाल  पनि पर्दैन–स्वतः कमरेड हुन्छन् उनीहरू । अनि क्रान्तिकारी भनिएको पार्टीबाट कुनै पात्र दक्षिणपन्थी पार्टीमा प्रवेश गर्छ भने ५ मिनेटअघिको  महान् कमरेड ५ मिनेटपछि गद्दार कमरेडमा फेरिन्छ । गल्तीकमजोरी हावाहुन्डरीको पछि लाग्नेको मात्रै हो अथवा उसलाई क्रान्तिप्रति विश्वस्त पार्न नसक्ने, विश्वास दिलाउन नसक्ने पार्टी र नेतामा पनि छ भनेर कहिल्यै समीक्षा हुँदैन र गरिँदैन । “राजाले गल्ती गर्दैन” भनेझैँ नेताले गल्ती गर्दैन भनेजस्तो गरिन्छ । मेरो कलम यस्तै विडम्बनामाथि औँला ठड्याउँछ । जति ठूलो टाउको त्यति ठूलो प्रहारमा विश्वास गर्छ मेरो कलम ।  अनि उनीहरू भन्छन् : ऋषिराज बरालको कलमले अराजकता ओकल्छ । कहिले चेत्लान् यिनीहरूले, कठै !

विसङ्गतिका जेजे पक्ष लेखकले देख्छ, सबै  लेख्छ, पत्रकारले देख्छ लिपिबद्ध गर्छ । तर देखेको र भोगेको सबै  सत्यतथ्य लेख्न  गारो छ । अलिकति साहशी र अलिकति अराजक बन्नैपर्ने हुन्छ सत्य लेख्न । त्यसमा पनि बाहिरका विसङ्गतिभन्दा भित्रका विसङ्गति देखाउने काम गारो हुन्छ, चुनौतीपूर्ण र निकै जोखिमपूर्ण पनि । बाहिरका दुस्मन त दुस्मन भइहाले, तिनलाई चिन्न सजिलो छ र तिनीहरूसितको सङ्घर्ष पनि आमनेसामनेको हुन्छ ।  समस्या त भित्रकै हुन्छ । तपाईँ अलिकति पनि  आलोचनात्मक हुनुभयो भने तिनले तपाईँमाथि बन्चरो उज्याउन थाल्छन् । सत्य लेखेवापत, सत्यको उजागर गरेवापत यो टिप्पणकारले यताका दिनमा विप्लव र बैद्य समूहका कार्यकर्ताबाट पाएको व्यवहार हेर्ने हो भने दुस्मनको भन्दा कम छैन । सत्य लेखेवापत, गल्ती औँल्याएवापत विप्लवका कार्यकर्ताले मलाई फेसबुकमा धेरैपल्ट भौतिक कारबाही गरेका छन् ।

 ‘जनमेल’ मा अघिल्लो हप्ता “संसदीय चुनाव : कतै रुवावासी,  कतै भागाभाग र कतै कालोझण्डा” शीर्षकमा एउटा लेख लेखेको थिएँ । “बुद्धिजीवीले  पनि यस्तो लेख लेख्ने ?” भनेर क्रान्तिकारी माओवादीका एक जना ''ठूलै नेता" ले उत्तेजित हुँदै भने । कस्तो हुन्छ होला बुद्धिजीवीले लेख्ने लेख भन्ने पनि लाग्यो-सायद ''ओम जयजगदीश हरे !" होला  ।   सरसरती लेख पढेँ । त्यहाँ त्यस्तो उत्तेजित हुनुपर्ने कुरा भेटिन मैले  । दोहोर्याएर पढेँ :

“नेकपा ( क्रान्तिकारी माओवादी) मा उमेदवारको समस्या प्रस्ट  हुन्छ र अस्तित्व देखाउने नाममा मात्र उमेदवारी दिएको कुरा झन् प्रस्ट हुन्छ । एउटा दैनिक पत्रिकाले “गत स्थानीय निर्वाचनमा गाविस प्रमुखमा एक भोट ल्याउनेले पनि  देजमोका तर्फबाट जनप्रतिनिधिसभाका लागि नाम दर्ता गरे” भनेर समाचार बनाउनुले पनि नेकपा (क्रान्तिकारी माओवादी) को सङ्गठनात्मक यथार्थको बोध गर्न सकिन्छ  ।  वरिष्ट नेताहरू उमेद्वार बन्ने भनेर पोखरा सम्मेलनमा कार्यकर्ताको चित्त बुझाउन खोजे पनि  वरिष्ठ भनिएका र नाम चलेका  चन्द्रप्रसाद गजुरेल, परिथापा , रामसिँह श्रीस, हरिभक्त कँडेल लगायतको कतै  उमेदवारमा नाम नदेखिनुले सो पार्टीको संगठनात्मक अवस्था, चुनावी स्थिति र परिणामको आकलन गर्न सकिन्छ । नेताहरू स्वयंलाई जितिन्छ भन्ने विश्वास नभएको अवस्थामा  आउने परिणाम पनि प्रस्ट छ ।आफ्नै भण्डाफोर हुनुबाहेक अरू केही हात लाग्ने स्थिति छैन ।"

माथिको भनाइ  सत्यभन्दा बाहिर छैन ।

बुद्धिजीवी भनेका आलोचनात्मक चेत भएका,  विवेक, चेतना र तर्कमा विश्वास गर्ने प्राणी हुन् भन्ने मेरो धारणा छ र झन् मार्क्सवादी बुद्धिजीवीमा त यी नभई नहुने गुण हुन् ।  बुद्धिजीवी नामधारी लठुवाहरूले 'हनुमान चालिसा' लेखेर र गाएर आफ्नो भूमिका  निर्बाह गर्लान्, तर मार्क्सवादी बुद्धिजीवी हुनु भनेको आलोचनात्मक चेत ,इमानदार र स्वाभिमानी हुनु हो । माओले त पार्टीमा बुद्धिजीवीलाई बढीभन्दा बढी भर्ना गर, विरोधीहरूसित वैचारिक लडाइँ लड्न बुद्धिजीवीहरूको पल्टन बनाऊ भन्नुभएको थियो र मैले बुझेको बुद्धिजीवीको परिभाषा पनि यस्तै थियो । हामीकहाँ त सही अर्थको बुद्धिजीवी भनेपछि नेताहरू आतंकित हुन्छन् , तर्क भनेपछि भयभित हुन्छन्। ती कमरेड “बुद्धिजीवीले  त्यसरी लेख्ने हो” भनेर उत्तेजित भएपछि बुद्धिजीवीहरू मात्र होइन, अलिकति तर्क र बौद्धिक किसिमले सोच्ने नेता तथा कार्यकर्ताहरूले किन एकपछि अर्को गरेर सो पार्टी छोडेका रहेछन् भन्ने प्रश्नको उत्तरचाहिँ मैले पाएको छु ।
 
थोरै मात्र हुने रहेछन् ज्वारभाटा र हावाहुन्डरीका विरुद्ध उभिनेहरू । हावाहुन्डरीका विरुद्ध माओले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चलाउनुभयो । युरोपमा खास गरेर फ्रान्समा  सात्र, सिमोन द बुआ, मिसेल  फुकोहरू निस्के सडकमा । चोम्स्कीले भियतनाममाथि अमेरिकी युद्धक विरुद्ध उठ्न बुद्धिजीवीलाई आह्वान गरे । युरो-कम्युनिज्मले मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको  विसर्जनका लागि बाटो बनाइदियो । मौका खोजिरहेको साम्राज्यवादले ‘अन्त्यको सिद्धान्त” अगाडि सारेर “उत्तर” अवधारणाको भूमण्डलीकरणको अभियान चलायो ।  राजनीतिक पार्टीहरूले विसर्जनवादको अभ्यास गरिरहेका बेला लेखक, समालोचक,  प्राध्यापक, पत्रकार आदि  बौद्धिक क्षेत्रले मार्क्सवादको पक्षमा र “उत्तरवाद” का विरुद्धको मोर्चाको अगुवाइ गरे । युरोपमा राजनीतिक नेताहरूले विसर्जनको स्थितिमा पुर्याएको मार्क्सवादलाई बुद्धिजीवीले बचाएको कुरालाई हाम्रा क्रान्तिकारी भनौँदाहरूले खै कहिले आत्मसात गर्लान् ! आइएनजिओमा काम गर्ने  विदेशी कारिन्दा र नेताको गाडीमा पेट्रोल हालिदिने पात्रलाई  बुद्धिजीवीको पगरी गुताइदिएपछि, यो भन्दा ठूलो विडम्बना अरू के हुन्छ !

अहिले योजनाबद्ध  र षड्यन्त्रपूर्ण किसिमले नेपालको माओवादी आन्दोलनलाई सिध्याउन लागिएको छ । हिजो जनयुद्ध सिध्याएझैँ नेपालबाट माओवादी आन्दोलनलाई समाप्त पार्न अहिले अर्को षडयन्त्र चलिरहेछ  । सामान्य वामपन्थी चरित्र नभएका तत्वहरूलाई एकताबद्ध गराएर कम्युनिस्ट भनेका यिनै हुन् भनेर माओवादी आन्दोलनसित सम्बद्ध सङ्गठन र कार्यकर्ताको पलायनताको अभियान चलाएर आन्दोलनको  अस्तित्व समाप्त पार्न खोजिँदैन । यतिबेर क्रान्तिकारी भनिएका पार्टीहरूमा सैद्धान्तिक-वैचारिक तथा व्यावहारिक क्षेत्रमा जुन किसिमको गम्भीरताबोधको आवश्यकता थियो , यो समयको आवश्यकता थियो, त्यो देखिन सकेन। एक थरी ''उत्तरवादी'' शून्यवादको सिकार बनेका छन् भने अर्का थरी अकर्मण्यतावादको  । वास्तवमा क्रान्तिकारी भनिनेहरूभित्र पनि विसर्जनको डरलाग्दो स्थिति-सङ्केत समयले गरेको  छ ।  यस्तो बेला क्रान्तिकारी विचारको झण्डा बोकेर बौद्धिक क्षेत्र उभिन्छ भने, बुद्धिजीवीहरू उभिन्छन् भने, यो उत्तेजित हुने कुरा होइन, गम्भीरताबोध गर्ने कुरा हो, हातेमालो गर्ने कुरा हो । तर नेताहरू कतै  मेरै शरीर गनाएको त होइन ? मेरै शरीरमा कतै फोहोर लागेको त छैन भनेर आफूतिर हेर्ने पक्षमा छैनन् । बरु अरूको टाउकोमा थुक्नमा गर्व गर्छन्  ।

मार्क्सवादको पक्षमा कलम चलाउनु भनेको आफैँमा एउटा युद्धको मोर्चामा सामेल हुनु हो । समयले नयाँ “बसन्ते गर्जन” को माग गरेको छ, विडम्बना, कमरेडहरू हनुमान चालिसाको माग गर्छन् । यस्तो बेला ऋषिराज बराल अलिकति अराजक हुनुमै गर्व गर्छ । जमेको पोखरी भत्काउन अलिअलि अराजक हुनैपर्छ । बरालभन्दा बरालको कलम झन् अराजक छ । बारुद खान्छ र आगो ओकल्छ ।
 
कमरेडहरू ! लडाइँको मोर्चा खुलेको बेला मलाई “कान्छाले कान्छीलाई लग्यो बनको बाटो लालटिन बालेर” गीत  गाउन नभन्नुस् । मबाट 'हनुमान चालिसा' को पनि आशा नगर्नुस् ।  मेरो सामु मतिर हेरेर रातो लालटिन बोकेको मान्छे उभिएको छ । प्रस्ट भन्छु, त्यो पनि अलिअलि अराजक छ-जनयुद्धको रेखाचित्र खल्तीमा बोकेर हिंडेको छ  ।

०००


भिडियो फिचरview all