menu

ताजा समाचार

जनकपुरमा अक्टोबर क्रान्ति समारोह सम्पन्न

अक्टोबर-क्रान्ति तथा बोल्सेभिक क्रान्तिको नामले स्थापित, महान् लेनिनको नेतृत्त्वमा सम्पन्न  सन् १९१७ को रूसी क्रान्तिको १०० वर्ष पूरा भएको अवसरमा विश्वव्यापी रूपमा मनाउन थालिएको अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम  नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाउने क्रम जारी छ  ।

यसै क्रममा मार्क्सवादी लेखक तथा चिन्तक रोशन जनकपुरीको संयोजकत्वमा गठित 'अक्टोबर क्रान्ति शताब्दी समारोह आयोजक समिति'  ले यही कात्तिक २३ गते जनकपुरमा अक्टोबर-क्रान्ति शताब्दी समारोह कार्यक्रम  भव्यताका साथ सम्पन्न गरेको छ । मार्क्सवाद तथा सामाजको क्रान्तिकारी रूपान्तरणप्रति आस्था राख्ने जनकपुरका बुद्धिजीवी, लेखक, पत्रकार तथा सामाजिक कार्यकर्ता  लगायतका व्यक्त्तित्त्वहरू सम्मिलित र उपस्थित सो कार्यक्रम आयोजक समितिका संयोजक रोशन जनकपुरीको अध्यक्षता तथा  पुराना वामपन्थी नेता कमरेड गौतम ढुंगेलको उदघोषणमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा प्रा.डा. सुरेन्द्र लाभ, नेपाल कम्युनिस्ट  पार्टी (क्रान्तिकारी माओवादी) का नेता शीतल कर्ण, नेकपा एमालेका नेता कामेश्वर महतो, देशभक्त जनगणतान्त्रिक मोर्चा धनुषाको संयोजक नन्दकुमार झा, अधिवक्ता किशोरी साह, रामानन्द नारायण सिंह, नेता विपती मण्डल, रामचन्द्र दास, युवा राजिवरञ्जन झा, सुमित कर्ण, नबल मण्डल, शम्भु यादव, अधिवक्ता दिपक केसी र मदन अधिकारी लगायतले अक्टोबर क्रान्तिका सम्बन्धमा आआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै  प्रा.डा. सुरेन्द्र लाभले देशमा वैचारिक सङ्घर्षको अभावले गर्दा आन्दोलन टुक्राटुक्रामा विभाजित भएकोले वर्तमान समयसम्म  समाजवादी आन्दोलनले सफलता  प्राप्त गर्न  नसकेको बताउनुभयो ।

त्यस्तै नेपाल कम्युनिस्ट  पार्टी (क्रान्तिकारी माओवादी) का नेता शीतल कर्णले नेपालमा माओवादीले गरेको जनयुद्धको दुरुपयोग भएकाले क्रान्तिकारी शक्तिहरुलाई एकजुट भई क्रान्तिका निमित्त जुट्न आवश्यक रहेको बताउनु भयो भने निवर्तमान सांसद्  शितल झाले नेपाली कम्युनिस्ट आन्दोलनको  विभिन्न चरणको आन्दोलनको चर्चा गर्नुभयो ।

त्यस्तै अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिका संयोजक रोशन जनकपुरीले वर्तमान शासक वर्गले पुजीवाद व्यवस्थामार्फत निषेधात्मक नियतले अधिनायकवादी शासन गर्दै गरेकाले सर्वहारा अधिनायकत्वको विरोध गर्नको कुनै तुक नरहेको बताउनु भयो । समाज बदल्नलाई शोषित उत्पिडित, दलित, मजदुर, किसान वर्ग लगायतकाहरू एकत्रित भई अघि नबढेसम्म सामन्ती शासक वर्गले भ्रम छरी गलतरूपमा प्रचार गरिरहने कुरा पनि उहाँले बताउनुभयो ।
 
कार्यक्रममा उठेका कतिपय संदर्भप्रति प्रकाश पार्दै अक्टोबर क्रान्ति वर्ष दिनभरि नै विभिन्न तरिकाले मनाउँदै जाने  र समाजवादी आन्दोलनको 'स्कूलिङ्ग' को पाटोमा योगदान दिनेगरी यो अभियानलाई विकास गरिने कुरा पनि कार्यक्रमका संयोजक रोशन जनकपुरीले  जानकारी दिनुभयो ।

(जनकपुरबाट किरण कर्ण)
भिडियो फिचरview all