menu

ताजा समाचार

भाकपा (माओवादी) का महासचिब कमरेड गणपतिको ठाउँमा कमरेड बसबराजले जिम्मेवारी लिएको हल्ला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को फेब्रवरी २०१७ को केन्द्रीय समितिको बैठकका निर्णयहरूलाई लिएर भारतीय शासक वर्गको नजिक रहेका, खासगरेर कर्पोरेट मिडियाहरूले विभिन्न किसिमका अडकलबाजी गरेर भ्रम र अन्योल फिँजाएको  कुरा समाचारको भाषा र अभिव्यक्तिको शैलीबाट थाहा पाउन सकिन्छ । सो बैठकपछि पार्टीले आफ्नो वैचारिक मुखपत्र पिपुल्स वारमा कार्यकर्तालाई सैद्धान्तिक तथा वैचारिक प्रशिक्षण दिने हेतुले महत्त्वपूर्ण सामग्रीहरू प्रकाशन गर्नुका साथै पार्टीले यताका वर्षहरूमा भोग्ग्नुपरेका वैचारिक-साङ्गठनिक  समस्या तथा उपलब्धीहरूसित जोडिएका सामग्रीहरू पनि प्रकाशित गरेको छ । यसमध्ये एउटा सामगी पार्टीका बृद्ध, अशक्त र बिरामी कमरेडहरूका बारेमा पनि छ ।  ''अन भेटरन कमरेड्स अफ दि पार्टी" भनेर विशेष निर्णयमा ( janamel.com ले “भाकपा (माओवादी ) भन्छ, वृद्ध र काम गर्न नसक्ने कमरेडहरूले मूल जिम्मेवारी छोड्नुस्” शीर्षकमा यो समाचार प्रकाशित गरिसकेको छ।) वृद्ध र काम गर्न नसक्ने कमरेडहरूले मूल जिम्मेवारी छोड्न आह्वान गर्दै भनिएको छ :

''शारिरीक र मानसिक सीमाहरू भएका कमरेडहरू, जो आफनो जिम्मेवारीलाई आआफ्नो कमिटीमा ठीक ढङगले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूले क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध बृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौँ  । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो  निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनुहुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैँले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैँ तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि  वर्गसङ्घर्षको महत्वलाई आत्मसात गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान  शोषण(उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाजको रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।"

यस किसिमको निर्णयलाई लिएर फासिवादी मोदी सरकारका माध्यमहरूलगायत कर्पोरेट माध्यमहरूले होहल्ला  र टिप्पणी गरेर अनेक थरी भ्रम उत्पन्न गरेको  पढ्न पाइन्छ । पिपुल्स वारको प्रकाशनपछि उनीहरूले “गणपतिले नेतृत्व हस्तान्तर गरे, माओवादीहरू यताका दिनमा कमजोर भएका छन् , थुप्रै  नेता तथा कार्यकर्ताले आत्मसमर्पण गरेको, उत्तराधिकारीको समस्या, उत्तर र दक्षिण (आन्ध्र क्षेत्र र बिहारबङ्गाल क्षेत्र) बीच खटरपटर परेको, नयाँ र पुराना कार्यकर्ता तथा तल्लो जात र माथिल्लो जातका कार्यकर्ताहरूबीच असमझदारी बढेको ” आदिआदि टिप्प्णी गरेर भ्रम फिँजाएको  पाइँन्छ । क्रान्तिकारी पार्टीभित्र अनेक किसिमका  भ्रम फिँजाएर पार्टीलाई कमजोर पार्ने प्रयास गर्न खोज्नु प्रतिक्रियावादीहरूको सार्वभौम नीति भएकाले हिजोका दिनदेखि नै उनीहरूले यसो गर्दैआएका हुन् तापनि  अहिले यो सन्दर्भलाई  बढी उचालेका र उछालेका छन् ।

भारतीय प्रतिक्रियावादी माध्यमहरूले उमेर र बिरामीका कारण पार्टीको मूल नेता कमरेड गणपतिले नेतृत्वको जिम्मेवारी अर्कैलाई दिएको कुरालाई  बढी प्रचारित गरेका छन् । “६८ वर्षीय  मुप्पाल्ला लक्ष्मण राव ‘गणपति’ डायबिटिज र वाथको बिमारी भएकाले र हिँडडुल र उपचारको स्थितिलाई ध्यानमा राख्दै पार्टीले उनको ठाउँमा नम्बाला केशव राव ‘बसवराज’ लाई महासचिव बनाएको छ”, भनेर उनीहरूले प्रचार गरेका छन् ।
 
सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर भाकपा (माओवादी) ले  महासचिवको नामबाट  एकदमै कम वक्तव्य बाहिर ल्याउने गरेको पाइन्छ । वक्तव्यहरू कि त केन्द्रीय समितिका नाममा, कि त केन्द्रीय प्रवक्ता 'अभय' का नाममा सार्वजनिक हुने गरेका छन् । त्यसैगरी सुरक्षा र स्थितिको विशिष्टतालाई ध्यानमा राखेर  जोनल प्रवक्ताका नाममा वक्तव्य प्रकाशित हुनेगरेको पाइन्छ । मार्च २०१६ मा प्रकाशित ऐतिहासिक आलेखका रूपमा चर्चित आह्वान “ सेलिब्रेट दि फिफ्टिथ एनिभर्सरिज अफ दि ग्रेट प्रोलेटरियन कल्चरल रिभोलुसन (जिपिसिआर) एन्ड दि हिस्टोरिक नक्सलबारी आर्मड अपराइजिङ, सेन्टेनरी अफ दि अर्थ-सेकिङ  रसियन सोसियलिस्ट रिभोलुसन एन्ड दि  बाइसेन्टेनरी  अफ दि बर्थ अफ दि ग्रेट टिचर अफ इन्टन्र्यास्नल प्रोलेटरियट कार्ल मार्क्स  विथ रिचोलुस्नरी इन्थुसियाइज्म एन्ड स्पिरिट’, अर्थात् ,'''चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवारी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू,  पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र अन्तर्राष्ट्रिय सर्वहाराका महान् गुरु  कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ मनाऔँ !"  (यो महत्त्वपूर्ण आलेखको अनुवाद वेबसाइट ‘दि नेक्स फ्रन्ट डट कम र विचारप्रधान पत्रिका पैकेला असार-साउन २०७३ मा पढ्न सकिन्छ ।) पछि कमरेड गणपतिका नामबाट अन्य कुनै पनि वक्तव्य तथा अन्तर्वार्ताहरू प्रकाशमा आएको पाइएको छैन ।

कमरेड गणपतिको टिम भनेको नक्सलबाडी आन्दोलनको विरासतसित जोडिएको 'भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार’ को टिम हो । यो तेलङ्गना आन्दोलनदेखिको इतिहास बोकेको र विचार र अनुभवले खारिएको टिम हो । यसलाई ऐकेडेमिक दृष्टिले पनि निकै समृद्ध टिम मानिन्छ । सन् २००४ मा बिहार-बङ्गालमा सक्रिय एमसिसीसित यसको  एकता भएपछि निर्माण भएको भाकपा (माओवादी) को महासचिवको रूपमा कमरेड गणपति रहनुभएको हो ।  यसका केन्द्रीय समितिका पोलिटब्युरो तहका र कमरेड गणपतिपछि नेतृत्वको लाइनमा रहेका कमरेड चेरिकुरी राजकुमार ‘आजाद’ को सन् २०१० मा र अर्का प्रवक्ता कमरेड मलौजा कोटेश्वर राव ‘किसनजी’ को २०११ म हत्या  भएको थियो र वरिष्ठ कमरेडहरू कमरेड अजिथ, कोबाध गान्धी, बच्चाप्रसाद सिंह, वाराणसी सुब्रमन्ह्यम, अभिताव बाग्छी, पुलेन्दु मुखर्जी प्रमोद मिश्रलगायतका कमरेडहरू भारतका विभिन्न जेलमा हुनुहुन्छ । यही अवस्थालाई हेरेर कर्पोरेट  माध्यमहरूले गणपतिपछि पार्टीको जिम्मेवारी ६२ वर्षीय केन्द्रीय सैन्य आयोगका प्रमुख नम्बाला केशव राव  'बसवराज'लाई दिएको कुराको टिप्पणी गरेको हुनसक्छ  । कमरेड बसबराज भाकपा (माओवादी)  पार्टी निर्माणदेखि नै सो पार्टीका  केन्द्रीय सदस्य  र हाल पोलिटब्युरो सदस्य रहेको कुरा पनि माध्यमहरूले जनाएका छन् ।
 
पत्रपत्रिकाहरूले गणपति वैचारिक र अध्ययनशील व्यक्ति भएका र वर्तमान महासचिव चाहिं फौजी रणनीतिका योजनाकार भएको भन्दै बसबराजको हातमा मूल नेतृत्व आएपछि माओवादी पार्टीमा  फौजी लाइन हाबी हुन  सक्ने टिप्पणी गरेका छन् भने कतिपय पत्रिकाले चाहिं सरकारी गुप्तचर एजेन्सी र इन्टेलिजेन्स अधिकारीको स्रोत उल्लेख गर्दै ''पार्टीका  अन्य वृद्ध र बिरामी नेताले बिदा  लिएका भए पनि गणपतिले बिदा लिने अथवा लिएको कुरा सही नहुन सक्छ" भनेको भनेर पनि समाचार प्रकाशित गरेका छन् ।

पिपुल्स वारमा प्रकाशित निर्णय र पक्राउ परेका कतिपय नेताहरूका भनाइलाई लिएर सरकारी पक्ष र सरकारी माध्यमहरूले महासचिव गणपतिको जिम्मेवारी बसबराजले लिएको अनुमान गरेर  समाचार र टिप्पणी प्रकाशित गरे पनि पार्टीले आधिकारिक रूपमा यसबारे केही भनेको छैन र यसका शुभचिन्तक बुद्धिजीवीहरू  तथा माध्यमहरूले पनि यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
 
‘अपरेसन ग्रिन हन्ट- २०१७’  अन्तर्गत माओवादीहरूमाथि दमन र आतङ्क अभियान चलाइरहेको वर्तमान फासिवादी मोदी सरकार आगामी आम निर्वाचनलाई ध्यानमा राखेर  माओवादीका विरुद्ध सैन्य, प्रचारात्मक र मनोवैज्ञानिक सबै थरी आतङ्क चलाइरहेको छ र  अहिले उसले फिँजाएको हल्ला पनि यसैको उपज हो भन्न सकिन्छ । भ्रम फिंजाएर  फासिवादी सरकार माओवादी कार्यकर्ता, उत्पीडित मुक्तिकामी जनता र शुभचिन्तकहरूको आत्मबल र मनोबल कमजोर पार्ने  षड्यन्त्र गरिरहेको छ भन्ने  टिप्पणी माओवादी आन्दोलनका शुभचिन्तकहरूको रहेको छ ।
०००

भिडियो फिचरview all