menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ‘अपिल’ द्वारा पार्टी परित्यागको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य  भक्तराज थापाले आफ्नो फेसबुकमार्फत आजका मितिदेखि सो पार्टी छाडेको घोषणा  गर्नुभएको छ । पार्टीमा कमरेड 'अपिल' नामले स्थापित भक्तराज थापा जनयुद्धका घाइते कमरेड हुनुहुन्छ । वहाँ सो पार्टीकी पूर्व केन्द्रीय सदस्य कमरेड वृन्दा मगरको जीवनसाथी पनि हुनुहुन्छ । घाइतेहरूको उपचार गराउने क्रममा सिन्धुपाल्चोकको ठोकर्पामा हेलिकप्टरबाट दु्स्मनले गरेको आक्रमणमा २२ जना घाइते हुनुभएको मध्ये उहाँ पनि एकजना हुनुहुन्थ्यो । त्यतिबेर उहाँ बेथान ब्रिगेडको  कमान्डर हुनुहुन्थ्यो ।  कमरेड थापा रामेछाप निवासी हुनुहुन्छ र वहाँ ‘पूर्व जनमुक्ति सेनाको संस्थाको उपाध्यक्ष पनि हुनुभएको थियो ।

पार्टीले आफूभन्दा कनिष्ठलाई पहिले नै केन्द्रीय सदस्य दिए पनि पार्टीमा इमानदारीपूर्वक लागिरहनुभएको कमरेड अपिल पार्टीको भूमिकाका साथै आफूप्रति गरेको व्यवहारप्रति  सन्तुष्ट हुनुहुन्थेन । पोखरा सम्मेलनले अशक्त, वृद्ध र एकै घरका दुई जना पार्टी सदस्य भएका तर दुवै सक्रिय हुन नसक्ने स्थितिमा रहेका कमरेडहरूको सक्रियता र भूमिकालाई ध्यानमा राखेर स्वैच्छिक किसिमले केन्द्रीय जिम्मेवारीबाट हट्न आह्वान गरेको थियो ।
 
यसैक्रममा कमरेड 'अपिल ' र कमरेड वृन्दा मगरले आपसी सल्लाह गरेर एक जना मात्र सक्रिय हुने निर्णय गरी  कमरेड वृन्दामगरले केन्द्रीय जिम्मेवारी छोड्ने र कमरेड अपिल मात्रै केन्द्रमा रहने भन्ने पारिवारिक निर्णय भएको कुरा पार्टीलाई जानकारी गराइएको थियो भनेर भनियो  । एक जना केन्द्रीय कमरेडका अनुसार घाइते कमरेड अपिलले केन्द्रीय जिम्मेवारी छाड्ने र कमरेड वृन्दा मगरले केन्द्रीय जिम्मेवारी लिने भन्ने पार्टीको चाहना भए पनि पारिवारिक निर्णय उल्टो आएको कुराप्रति पार्टीले चित्त बुझाएको  थिएन । कमरेड वृन्दा मगरले कानुनको पढाई पूरा गर्नु भएको छ र हाल सो पार्टीको भक्तपुरको जिल्ला इन्चार्ज हुनुहुन्छ ।

पार्टी परित्याग गर्ने कमरेड अपिलको फेसबुक अभिव्यक्तिमा पार्टी त्याग्नुको व्यहोरा प्रस्टताका साथ नआएर “आजका मितिबाट नेकपा (क्रान्तिकारी माओवादी) बाट अलग रहने निर्णय गरेको छु " मात्र भनिएको छ  ।  उहाँलाई पार्टीले देजमोको समानुपातिकको सूचीमा दोस्रो नम्बरमा राखेको छ । उहाँले पोखरामा चुनाव खारेज र पार्टीको नाम नेकपा (माओवादी) राख्नुपर्ने पक्षमा आफूलाई उभ्याउनु भएको भन्ने कुरा सहभागीहरूले जनाएका छन् ।
 
'जनमेल' ले उहाँसित सम्पर्क गर्दा ''
''सम्मेलअघिको केस बैठकमा आफूले चुनावमा भागलिनु हुँदैन भनेको, सम्मेलनमा पनि बहिष्कारमा  जानुपर्छ भनेको रआफू ३६ वर्षको भए पनि घाइते भएकाले केन्द्रीय जिम्माबाट हट्छु भनेको हो , आफूलाई जे मन लाग्छ नेताहरूले  त्यही गर्ने, अनि मलाई भन्ने"  भन्नुभयो । ''कुरा क्रान्तिको गर्ने अनि  बाटो संसदीय चुनावको हिंड्ने कसरी हुन्छ ? आफू कतै नजाने, तर दुईचार नेताका भरमा पार्टी  चल्नेवाला छैन"  पनि अपिलले भन्नुभयो । 

श्रीमानले  पार्टी छाडेपछि तथा पार्टी फेरेपछि श्रीमती कमरेडले पनि त्यसै गर्ने गरिएको हाम्रो  पितृसत्तात्मक साम्यवादी आन्दोलनमा कमरेड वृन्दा मगरबाट कस्तो निर्णय आउँछ, हेर्न बाँकी छ । वैचारिक छलफल नगर्ने र विकल्प तयार पारेर पार्टी परित्याग गर्ने परिपाटी माओवादी आन्दोलनमा  चलेको अवस्थामा कमरेड अपिलले लिने बाटोको बारेमा पनि प्रश्न र जिज्ञासा हुनु स्वाभाविक छ र उहाँले पलायनाताको बाटो  नलिनुहोस् भन्ने कामना गर्न सकिन्छ ।

भिडियो फिचरview all