menu

ताजा समाचार

जनयुद्धका योद्धा ढुङ्गेल पक्राउको सर्वत्र निन्दा

अन्ततः जनयुद्धका एकजना योद्धा  बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । चुनावको तयारी चलिरहेको समयमा भएको यो पक्राउ प्रकरणलाई लिएर थरीथरीका टिप्पणी र प्रतिक्रियाहरू आएका छन् । यो पक्राउ षड्यन्त्रमूलक छ र बदनियतपूर्ण छ भनेर माओवादी राजनीतिका समर्थक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत चिन्ता र आक्रोस पोखेका छन् ।  प्रचण्ड समूहकी प्रवक्ता पम्फा भुसालले भने अदालतको फैसला सबैले मान्नुपर्छ भनेर पक्राउको स्वागत गरेकी छन्  ।  युद्धकालीन सबै मुद्दा सत्य निरूपण आयोगभित्र पर्ने हुनाले यसरी चुनावको मुखमा पक्राउ गर्ने कार्य चुनाव विथोल्ने र मुलुकलाई अराजतकतातर्फ धकेल्ने कार्य हो भनेर कतिपय कानुनविद तथा राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

दसबर्से जनयुद्धको समयमा  भएका घटना दुई थरी शक्तिबीचको सङ्घर्षका घटना हुन् र तिनलाई खास व्यक्तिसित जोडेर गरिने फैसला अथवा पक्राउ प्रक्रिया आफैँमा बदनियतपूर्ण कार्य हो । हामी यसकोघोर  निन्दा तथा भ्रत्र्सना गर्छौँ । यो घटनाले थुप्रैथुप्रै अर्थ  र सन्दर्भ बोकेको छ र सम्भावित स्थितिको बोध गराउँछ  । वास्तवमा  बालकृष्ण ढुङ्गेल प्रक्राउ प्रकरणले थुप्रैथुप्रै  कुराको सङ्केत गर्छ । कानुनीसँगसँगै सङ्घर्षका कार्यक्रमहरूबाट मात्रै समस्याले निकास पाउन सक्छ र यसका लागि चौतर्फी दबाब सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।

यसैबीच कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी)  र नेकपा-विप्लवले पक्राउको निन्दा तथा भर्त्सना गर्दै अविलम्ब रिहाइको माग गरेका छन्  ।
 
बालकृष्ण ढुंगेल पक्राउपछि सामाजिक संजालमा आएका प्रतिक्रियाहरू यसप्रकार छन् :

डा. ऋषिराज बराल, लेखक तथा मार्क्सवादी चिन्तक :

बालकृष्णको सन्दर्भ आरम्भ मात्र हो, विषयप्रवेश । यो एक्लै आएको छैन । यस यथार्थलाई सबैले बुझ्नु आवश्यक छ  । यो खतरनाक संकेत हो । यसले हामीलाई विगततिर हेर्न र आगामी दिनका वारेमा सोच्न बाध्य गराउँछ ।

रोशन जनकपुरी, लेखक तथा मार्क्सवादी चिन्तक :

मनाङ्गे खुलेआम संसदमा चुनाव लडदै । गणतन्त्र ल्याउने ढुङ्गेल जेलमा । मैना सुनुवारसंगै जनयुद्ध कालमा सरकारी हिरासतमा निर्मम यातना दिएर मारिएका जनताका छोरा छोरीका हत्याराहरु खुलेआम घुम्दैछन, बढुआ खाँदै छन् र चुनाव लडदैछन् ।
 
विनोद दाहाल, नेकपा (माओवादी) पुनर्गठन अभियन्ता :

नेतृत्व नै बिचलित भएको बर्तमानमा उनी केकस्ता भए वा छन् यो दोस्रो बिषय हो ! महान् जनयुद्ध नै महादोष देखेर वर्गबैरीले थुनेका सहयोद्धालाई जेल फोरेर निकाल्ने जिम्मेवारी थपियो ! यो पुरा गर्नेछौं, वालकृष्ण कमरेड ! धैर्य गर्नुस् ! फेरि युद्ध शुरुभयो, बृहत शान्ति संझौता भत्कियो ! साङ्केतिक भाषा बुझ्ने जो कोहिले सजिलै बुझ्न सक्छ !

यादव देवकोटा , पत्रकार तथा राजनीतिक विश्लेषक :

पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा प्रक्रियासमेत मिचेर नियुक्त गरिएका प्रकाश अर्याल आइजिपी छन् । दाहाल र उनको पार्टीले नैतिकताको बजारु व्याख्या ओकलेर प्रधानमन्त्रीमा विराजमान गराइएका शेरबहादुर देउवा प्रधानमन्त्री छन् । माओवादी केन्द्रका १७ थान मन्त्री झण्डा हल्लाएर सरकारमै छन् । बलकृष्ण ढुङ्गेल यही बेला पक्राउ परेका छन् । माओवादी केन्द्रले जिम्मा लिनु पर्दैन वालकृष्ण ढुङ्गेलको गिरफ्तारीको ? यसमा बजारु नैतिकता आर्कषित हुनुपर्दैन ?

अभियान मंच मासिक पत्रिका :

जनयुद्धका एक योद्धा वालकृष्ण ढुङ्गेललाई बाम गठबन्धनले हतोत्साही बनेको देउवा सरकारले गिरफ्तार गरेको छ ! शेरचनको हत्या, अदालत, निर्वाचन आयोग सबैलाई प्रयोग गर्दै चुनाव टार्दै बरू युद्ध रोज्दै आएको देउवा सरकारले यो अर्को हतियार प्रयोग गरेको हो ! यसपछि हत्याकाण्ड मार्फत सैनिक निकाल्ने, संकटकाल घोषणा, सैनिकलाई शासन आदि मार्फत माघ ७ को समयावदी मार्फत संकटमा पुर्याउने काम त अझै बाँकि नै छ ! मानिसहरू अनुमान लगाउँदैछन् कि कत्लेआम मार्फत माओवादको विउसमेत उन्मुलन गर्ने साम्ज्यवादी-विस्तारवादी योजना पनि देउवामार्फत नै पुरा गर्दैछन् ! देशको अस्तित्व नै नामेट नपारञ्जेल उनीहरू सक्रिय नै भैराख्ने छन् ! यो प्रतिक्रियावादी चाल विरुद्ध जनयुद्धको बाटो लाग्नुको बिकल्प जनतासँग छैन, हुँदैन पनि ! प्रचण्डपन्थीहरूको अवशरवाद बालकृष्ण ढुङ्गेलको गिरफ्तारिसँगै अन्त्य भएको छ ! माओवादी आन्दोलनको पुनर्गठनको विकल्प सर्वहारा वर्ग, स्रमजिवी क्रान्तिकारीका सामु छैन !

भिडियो फिचरview all