menu

ताजा समाचार

यस्तो रहेछ नेकपा (क्रान्तिकारी माओवादी) प्रति अमेरिकी माओवादीहरूको अपेक्षा

(अमेरिकामा कम्युनिस्ट पार्टीहरूको कुरा गर्दा एउटा संशोधनवादी पार्टी 'कम्युनिस्ट पार्टी अफ युयसए' र अर्को बब अभाकियनको नेतृत्वमा रहेको 'आरसिपी, अमेरिका' बढी चिनिएका पार्टीहरू हुन् । अमेरिकामा ट्रट्स्कीवादी पार्टीको पनि  बौद्धिक क्षेत्रमा  प्रभाव छ । तर पछिल्लो चरणमा  अमेरिकामा संशोधनवादी पार्टीहरू तथा ट्रट्स्कीवादी पार्टीहरूबाट सम्बन्ध विच्छेद गरेर माओवादी समूह र रेड गार्ड समूहहरू बनाउने लहर नै चलेको देखिन्छ । यताको १ वर्षमा ओटा विभिन्न राज्यहरूमा माओवादी समूह बनाउने काममा निकै तीव्रता देखिन्छ, १५/१६ ओटा यस्ता समूहहरू  बनेका छन् । यी कति टिकाउ होलान् अथवा भोलिका  दिनमा कसरी जालान्, पछि नै थाहा होला । तर यो लहर निकै उत्साहजनक छ । यस्तै २०१५ मा गठन भएको  पार्टी हो: न्यु कम्युनिस्ट पार्टी (लाइजन कमिटी) । यसको घोषणापत्रमा मालेमावाद नै आजको विश्वको क्रान्तिको पथप्रदर्शक सिद्धान्त हो भनेर जोड दिइएको छ ।

तल 'न्यु कम्युनिस्ट पार्टी (लाइजन कमिटी, युयसए )' को संदेश प्रस्तुत गरिएको छ  । पुरानो भए पनि यो सान्दर्भिक छ । यसबाट अमेरिकी माओवादीहरूले नेपालको माओवादी जनयुद्धलाई कसरी हेरेका रहेछन्, जनयुद्धप्रति  प्रचण्ड-बाबुरामले गद्दारी गरेपछि उनीहरूको केकस्तो प्रतिक्रिया रहेछ र उनीहरू विरुद्ध दुई लाइन सङ्घर्ष गरेर नेकपा -माओवादी निर्माण गर्ने कमरेडहरूसित के अपेक्षा रहेछ भन्ने कुरा थाहा हुन्छ । वास्तवमा यो चिठीले  अमेरिकी माओवादीहरूको मात्र नभएर नेपालको माओवादी आन्दोलनप्रति चिन्ता र चिन्तन गर्ने विश्वभरिका उत्पीडित जनताको प्रतिनिधित्व गर्छ । यस्तो आशा र विश्वाश गर्नेहरूलाई नेकपा-माओवादी अहिले नेकपा (क्रान्तिकारी माओवादी) ले के-कस्तो विश्वास दियो भन्ने कुरा चाहिं सोचनीय छ-मननीय छ  ।)

...................................................................................................................................................................

नेपाल कम्युनिस्ट पार्टी-माओवादीलाई मार्क्सवादी-लेनिनवादी-माओवादी सम्पर्क कमिटी (अमेरिका) को ऐक्यबद्धता तथा अभिवादन !


कमरेडहरू,
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कमरेडहरूले प्रचण्ड-बाबुराम संशोधनवादी गुटविरुद्धको लामो सङ्घर्षपछि नेपालमा बाँकी रहेको क्रान्तिको कार्यभार सम्पन्न क्रान्तिकारी पार्टी निर्माण गर्नुभएको कुरा थाहा पाउँदा हामी एकदमै उत्साहित तथा हर्षित भएका छौँ । प्रचण्ड-बाबुराम संशोधनवादी गुटले नेपालको क्रान्तिकारी जनयुद्धलाई सखाप मात्र पारेको नभई उनीहरूले विसर्जनवादी गद्दारीद्वारा सिङ्गो क्रान्तिकारी आन्दोलनलाई दिग्भ्रमित पारेका छन् । नेपालमा यो संशोधनवादी गुटले जनमुक्ति सेनालाई दुस्मनका सामु आत्मसपर्ण गराउने प्रयास गर्दै  योद्धा कमरेडहरूका हतियार खोसेर उनीहरूलाई नजरबन्दको स्थितिमा राखेर प्रतिक्रियावादी सत्तासित जनमुक्ति सेनाको विघटनको सम्झौता गर्यो । अहिले ज्ञानेन्द्रको सामन्ती राजसंस्था हटे पनि, सत्तासङ्कट यथावत छ र सिङ्गो नेपाल निरन्तर रूपमा भारतीय षड्यन्त्रको चपेटामा पर्दैगएको छ ।

मुलुकमा सरकार-सङ्कटको स्थितिमा प्रचण्ड-बाबुराम गुट संसदीय फोहोरमैलामा हाम फालेको छ र उनीहरूको उद्देश्य अरू केही नभएर संविधान सभा गराउनु र मन्त्री पद हत्यायाउनुबोह अरू केही छैन । राज्यसत्ता कब्जा गर्नुको सट्टा उनीहरूले  क्रान्तिकारी पार्टीलाई तपाईँहरूको मुलुकको प्रतिक्रियावादी शासक वर्गको सेवामा लगाए । हामीले माथि  भनेझैँ यस किसिमको गद्दारीले सिङ्गो आन्दोलनलाई दिग्भ्रमित पारेको छ । यस किसिमको परिवर्तनले विश्वभरिका मार्क्सवादी-लेनिनवादी-माओवादी कमरेडहरूलाई दिग्भ्रमित मात्र पारेको छैन, यसले संशोधनवादी प्रचारका लागि नयाँ किसिमले ठाउँ पनि बनाइदिएको छ । पहिलेदेखि संशोधनवादको अभ्यास गरिरहेका विभिन्न पार्टी र गुटहरूका लागि समग्र मार्क्सवादी-लेनिनवादी-माओवादी आन्दोलनका विरुद्ध कुप्रचार गर्ने मौका मिलेको छ : “हेर्नुस् ! तपाईँहरूका कामरेडहरूसमेत यथार्थवादी भएका छन् र अहिले उनीहरूले सम्झौता गरेका छन् । तपाईँहरू पनि उनीहरूजस्तै व्यवहारवादी हुनुहोस् ।"
कमरेडहरू,

अन्तर्राष्ट्रिय मार्क्सवादी-लेनिनवादी-माओवादी आन्दोलनले नेपालतर्फ हेरेको थियो, जहाँ उत्प्रेरणा र अगुवाइका  रूपमा क्रान्तिको झन्डा विश्वको सर्वोच्च शिखरमा फहराएको थियो, तर प्रचण्ड-बाबुरामको संशोधनवादी गुटले क्रान्तिलाई आत्मसमर्पणमा पुर्याएर सिध्याउने प्रयास गरेका कारण सिङ्गो आन्दोलनको मुटु नै हल्लिएको थियो भनेर भन्नु झुठो हुँदैन होला । आजको हाम्रो कम्युनिस्ट आन्दोलनमा अन्तर्राष्ट्रिय स्तरमा प्रचण्ड-बाबुरामको संशोधनवादी गुटविरुद्ध तपाईँहरूको नेतृत्वमा भइरहेको सङ्घर्षमा हामी पनि तपाईँहरूलाई साथ दिन चाहन्छौँ । खास कुरा के हो भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा यस किसिमको संशोधनवादको विकास कसरी भयो, कसरी सिङ्गो पार्टीलाई  यसले नियन्त्रण गर्न सक्यो र आजको नेपाली क्रान्तिको सही दिशा के हो भनेर हामीले अबका दिनमा वैचारिक रूपबाट हाम्रो दिमाग खियाउनै पर्ने हुन्छ । साथसाथै हामीले सिङ्गो हाम्रो आन्दोलनलाई प्रभावित पार्ने यस किसिमको संशोधनवादको अन्तर्राष्ट्रिय आयामका बारेमा पनि अध्ययन-अनुसन्धान गर्नु आवश्यक छ  ।

हामीले अभाकियनको संशोधनवादी राजनीतिक लाइनका विरुद्धमा अन्तर्राष्ट्रिय स्तरमै सङ्घर्ष गर्नु आवश्यक छ ।  केही वर्षदेखि आरसिपी, अमेरिकाको “न्यु सिन्थेसिस” प्रचण्ड-बाबुराम गुटको भन्दा भिन्न रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ । यताका वर्षहरूमा आरसिपी, अमेरिकाले अभाकियनको “न्यु सिन्थेसिस” नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने एक मात्र बाटो हो भनेर दाबी गर्दैआएको छ ।  हामी के दाबी गर्छौँ भने अभाकियनको “न्यु सिन्थेसिस” अरू केही नभएर धुवाँको मुस्लो हो र आमुल मानवतावादी निम्नबुर्जुवा राजनीतिक मुकुन्डो मात्र हो, जसले सर्वहारा क्रान्ति र वैज्ञानिक क्रान्तिको आवश्यकताको बद्ख्वाइँ गर्छ । हामी अमेरिकामा रहेका माओवादीहरूले हाम्रो आन्दोलनको अन्तर्राष्ट्रिय तहमा देखिने यसको स्वरूपका सम्बन्धमा मात्र नभई आरसिपी, अमेरिकाको प्रभाव रहेको क्षेत्र जहाँ यसको अवसरवादी व्यवहारले आन्दोलनलाई  कमजोर पारेको छ, यस किसिमको संशोधनवादका विरुद्ध सङ्घर्ष गर्नु पनि हाम्रो कर्तव्य भएको छ ।

कमरेडहरू,
 हामीहरू नयाँ ढङ्गको पार्टी निर्माणको दिशामा अघि बढिरहेका छौँ । क्रान्तिका लागि पार्टी, एउटा यस्तो पार्टी जुन मार्क्सवाद-लेनिनवाद-माओवादको वैज्ञानिक सिद्धान्तले सुसज्जित भएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सहभागी हुनेछ, यस्तो पार्टी जसले लाखौँ जुझारु सर्वहाराको नेतृत्व गर्दै अमेरिकी साम्राज्यवादका विरुद्ध धावा बोल्नेछ र विश्वभरिका कमरेडहरूलाई सहयोग पुर्याउनेछ । हामी त्यस्तो पार्टीको निर्माणमा लागेका छौँ । आरसिपी, अमेरिकाका अभाकियनको संशोधनवादी र उत्तर-माओवादी संशोधनवादी अन्य प्रवृत्तिहरूका बाबजुद यस किसिमको पार्टी निर्माणका लागि आत्मगत तथा वस्तुगत स्थिति अमेरिकामा सम्भव छ । हामीलाई विश्वास छ, कमरेडहरू केही समयपछि हामी नयाँ पार्टी निर्माणको हाम्रो प्रगतिबारे हामी तपाईँहरूलाई अवगत गराउनेछौँ, विश्वक्रान्ति सम्पन्न गर्न र जनयुद्धको विराशत र सहिदहरूको रगतबाट जन्मेको तपाईँहरूको पार्टीका प्रयासहरूलाई सहयोग पुर्याउन हामी नयाँ ढङ्गको पार्टी निर्माण गर्नेछौँ ।

 प्रचण्ड-बाबुराम गुट : मुर्दावाद !
सबैखाले  उत्तर-माओवादी संशोधनवाद :  मुर्दावाद !
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : जिन्दावाद !


जनवरी १५, २०१३
भिडियो फिचरview all