menu

ताजा समाचार

लाल झण्डाको विरुद्ध लाल झन्डा

ऋषिराज बराल
अहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ । माओवादका विरोधीहरू संसद्वादी ‘माओवादीहरू’ लाई मोडरेट भनेर फुर्क्याइरहेका हुन्छन्, र उता क्रान्तिकारी तप्काभित्र पनि अनेक किसिमले चलखेल गरिरहेका हुन्छन्  । अनि सुरु हुन्छ लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग । अन्ततः बदनाम हुने भनेको चाहिँ माओवादी पदावली र माओवादी आन्दोलन नै हो ।
नैतिक बलको अभाव र आत्मग्लानीले भरिएको प्रचण्डको कान्तिहीन अनुहारले  सबै  कुरा खुलस्त पार्छ । तर उनमा बाबुरामको जति पनि इमानदारी देखिएन । अब यो माओवादी पदावलीको थप बदनाम नगर्न प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यूसित मेरो विनम्र अनुरोध छ ।  प्रचण्डलाई बधाइ दिन कमरेड किरण प्रधानमन्त्री कार्यालय जानु भएको भन्ने समाचार सुनियो । कमरेड किरणले माओवादी नाम परित्याग गर्न प्रचण्डलाई अनुरोध गर्नुभएको भए, त्यो भेटघाट साँच्चिकै सार्थक हुन्थ्यो ।
यतिखेर नेपालको माओवादी आन्दोलन लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोगशाला बनेको छ एकातिर प्रचण्डले लिएको बाटो नै सही बाटो हो, त्यही नै सब थोक हो र त्यहाँ सबै कुरा पाइन्छको वातारण तयार पारी माओवादी आन्दोलनमा विद्यमान क्रान्तिकारी धारलाई सिध्याउन भित्र र बाहिरबाट  परिपञ्च मिलाउन खोजिएको छ , अनि अर्कोतिर माओवादी आन्दोलन भनेको भारतीय र पश्चिमा शक्तिहरूले चलाएको आन्दोलन हो भनेर सूचना भूमण्डलीकरणमार्फत जनतामाझ निरन्तर भ्रम फिँजाइएको छ । पात्रहरूमा रहेका कमजोरी तथा खास घटनासन्दर्भलाई समातेर सिङ्गो माओवादी आन्दोलन विरुद्ध जनमत तयार पार्न लागिएको छ । वर्गसङ्घर्ष र जनताको मोर्चाबाट माओवादी आन्दोलनलाई पर धकेल्ने तारतम्य मिलाइँदैछ भन्ने कुरा प्रस्ट छ ।
जुनसुकै धर्म होस्, धर्म अफिम नै हो भन्ने कुरामा विवाद छैन । कम्युनिस्टहरू धर्मनिरपेक्षताको पक्षमा हुन्छन्, तर, जनतामाथि यसका नाममा बलजफ्ती गर्नु उचित ठान्दैनन् । एकातिर धर्मले आवेग उत्पन्न गर्छ/गराउँछ, अर्कोतिर जे छ सबै ठीक छ भनेर मान्छेलाई जीवन र जगत्बाट  निस्पृह पारेर सामाजिक सरोकारबाट विमुख तुल्याउँछ । कम्युनिस्टले  विरोध  गर्ने भनेको धर्मका नाममा गरिने शोषण, विग्रह, वितण्डा, विद्वेश, विखण्डन हो ।  यतिखेर आफूलाई राजावादी, हिन्दूवादी अझ राष्ट्रवादी भन्ने एकथरीहरू, नरेन्द्र मोदीले ज्ञानेन्द्रलाई सिंहासनमा राखिदिऊन र हिन्दूवादी मुलुकको घोषणा गरिदिऊँन् भनेर चोविसै घन्टा माध्यमहरूमार्फत ‘पूजापाठ’ गरिरहेका छन् । यस कामका लागि उनीहरूले सबैभन्दा बढी माओवादीहरूलाई बाधक देखेका छन् । यसका लागि उनीहरू एकसूत्रीय नारासहित सिङ्गो माओवादी आन्दोलन, दस बर्से जनयुद्ध क्रिस्चियन मिसिनरीको योजनामा चलेको, यसका लागि माओवादीले यति करोड र उति करोड लिएको जस्ता कुतर्क गर्दै योजनाबद्ध किसिमले माओवादीहरूका विरुद्ध जनतामा भ्रम फिँजाइरहेका छन् । अर्थात् उनीहरू भारतीय उत्पीडित जनतामाथि आतङ्क मच्चाइरहेको संस्था आरयसयसको नेपाली भूमिका खेलिरहेका छन् ।
सत्य हो, पछिल्ला दिनमा नेपालमा क्रिस्चियन धर्म र यसका अवाञ्छित गतिविधिहरूको विस्तार  भएको छ, अनेक प्रलोभनमार्फत क्रिस्चियन धर्मको विस्तार गरिन थालिएको छ । आफूलाई मन परेको धर्म र संस्कृति अवलम्बन गर्ने कुरामा विवाद नभए पनि यसका नाममा गरिने अवाञ्च्छित गतिविधि मान्य छैन र हुँदैन ।  यसलाई त राज्यले नीतिनियम बनाएर व्यवस्थित गर्ने हो । साम्राज्यवादी योजनाबद्धतालाई एकातिर पन्छाएर एक थरी मान्छेहरू निरन्तर माओवादी आन्दोलाई जसरी बदनाम  गरिरहेका छन्, यसले थुप्रै प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । नेपाली जनयुद्धप्रति प्रचण्ड–बाबुरामले गद्दारी गरेकै हुन् र बादलहरूले आन्दोलनलाई धोका दिएकै हुन् । यसको वैचारिक चिरफार गर्ने कुरामा विवाद छैन । तर जसरी सिङ्गो जनयुद्ध र माओवादी आन्दोलनलाई बदनाम गर्न क्रिस्चियन अभियानसित जोडेर कथाकुथुङ्ग्री बुनिएको छ, यो भ्रत्सनायोग्य छ । विडम्बनाको विषय के छ भने आफूलाई विश्वकै सबैभन्दा खाँटी क्रान्तिकारी भन्ने विप्लव माओवादी समूहसित सम्बद्ध एउटा अनलाइन नै प्रचण्डको विरोध गर्ने नाममा सिङ्गो जनयुद्ध र माओवादी आन्दोलनविरुद्ध कथिएका यस्ता कथाकुथुङ्ग्रीलाई, जागिर नै खाएझैँ गरी गौरवका साथ प्रचारित गरिरहेको छ । यसैलाई भन्छन् लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग । जानीनजानी उनीहरू साम्राज्यवादी योजनाको अङ्ग बनेका छन् ।
लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग साम्राज्यवादको पछिल्लो योजना हो । खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि उनीहरूले यसलाई व्यवहारमा प्रयोग गरे । स्टालिनको मृत्यु, युरो–कम्युनिज्मको नारा र माओको मृत्युपछि उत्पन्न सङ्कटले यस परियोजनालाई  सहयोग पुर्यायो । नव–उदारवादी योजनाबद्धताका साथै सूचनाविभ्रम,  वित्तीय पुँजीको भूमण्डलीकरण, सैन्य फासिवाद र लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोगमार्फत कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न  र साम्राज्यवादलाई ऊर्जा दिने योजनाको थालनी  गरियो  । आइएनजिओको भूमिकालाई पनि नयाँ किसिमले सक्रिय बनाइयो । यसैक्रममा आयो “उत्तर” अवधारणा । सन् असीको दशकमा “कम्युनिस्ट आन्दोलन भनेको प्रगतिको महाख्यान हो र यसको अन्त्य भयो भनेर ल्योतार्डले यस किसिमको धारणा अघि सारे । कम्युनिस्ट आन्दोलनका विरुद्ध सशक्तता लड्नुमा नै हाम्रो विजय निश्चित छ भनियो  । “उत्तरवाद” लाई समामाजिक जीवनको हरेक क्षेत्रमा लागू गरियो ।   अनि उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद, उत्तरमार्क्सवाद, उत्तरओपनिवेशिकतावाद र उत्तरसाम्राज्यवादजस्ता थरीथरीका “उत्तरवादी” धारणाहरू देखापरे । ”उत्तर” सिद्धान्तको आधार नित्सेको शून्यवादी दर्शन हो र यसको सारतत्व,   “सबै कुराको अन्त्य” भयो भन्ने हो ।  अर्थात् हिजो थियो, अब छैन भन्ने हो ।  ज्ञानप्रशारण कालदेखिका सबै मूल्यहरू काम नलाग्ने भनेर वर्गसङ्घर्षद्वारा मानव समाजले आर्जन गरेको प्राप्तिलाई खारेज गरियो । मार्क्सवादको मात्र अन्त्यको कुरा नगरेर आफ्नो स्वार्थअनुरूप उपनिवेशवाद र साम्राज्यवादको  पनि अन्त्य भयो, यो उत्तर भयो र यसका विरुद्ध आन्दोलन गर्नुको आवश्यकता र औचित्य छैन भन्ने विचारलाई भूमण्डलीकरण गरियो । जतिबेर उत्तरउपनिवेशवाद र उत्तरसाम्राज्यवादलाई सही साबित गर्न पेन्टागनका थिङ्कट्याङ्कहरू लागेका थिए, इराक, अफगानिस्तान लगायत लिबियामाथि अमेरिकी हमला  जारी थियो  ।  उत्तरमार्क्सवादी नाम पाएका हार्ड र नेग्रीहरू अब अमेरिका साम्राज्यवादी छैन भनेर उत्तरसाम्राज्यवादको वकालत गर्नथाले ।  ध्यान दिनुपर्ने कुरा के छ भने यस काममा एक कालखण्डमा मार्क्सवादसित जोडिएका बुद्धिजीवीहरू नै अग्र पङ्क्तिमा थिए, जो पछि अमेरिकी सरकार र पेन्टागनका सल्लाहकार बनेका थिए । यो पनि लाल झन्डाका विरुद्ध लाल झन्डाको प्रयोग थियो ।
प्रचण्डको कुरा छाडौँ, लाल झन्डाको विरुद्ध लाल झन्डाको विरोधको माध्यम आफूलाई ‘क्रान्तिकारी’  भन्नेहरूसमेत बन्नथालेका आधारहरू प्रकाशमा आउन थालेका छन् । भर्खरै नेकपा, माओवादीका नेता विप्लवले आफ्नो पार्टीको  दस्ताबेजमा “उत्तरवादी” धारणाको वकालत गर्दै “अबको समय उत्तरसाम्राज्यवादी” भनेर  ठोकुवा गरेका छन् । उनले जानेर भने कि नजानी भने, प्रचण्ड किरणले क्रान्ति गरेनन् भनेर क्रान्तिमा हिँडेका त्यत्रो नेतालाई “जाबो मार्क्सवाद” र “उत्तर” अवधारणाबारे सामान्य ज्ञान रहेनछ भन्नु ‘दुस्साहस’  नै हुनेछ । सामान्य टिप्पणी गर्दा मात्र पनि ‘क्रान्तिकारी जङ्क र पङ्कहरू’ बाट भर्खरै पनि मैले गोली खानुपर्ने धम्की पाइसकेको छु । एक थरीलाई संसद्वाद अर्थात् “उत्तर–मार्क्सवाद” मा फसाएर र अर्काथरीलाई क्रान्तिकारी आवरणमा “चल्तापुर्जा” बनाएर साम्राज्यवादले नेपालको माओवादी आन्दोलनलाई  कतै नयाँ प्रयोगशाला बनाउन त लागेको छैन ? भनेर प्रश्न उठ्नु स्वाभाविक छ । नत्र भने विप्लव समूहका दस्ताबेजहरू ह्वाइट हाउसका सल्लाहकार, “इतिहासको अन्त्य” पुस्तकका लेखक फ्रान्सिस फुकोयामाको प्रशंसाले भरिने थिएनन् होलान् । कति कुशलताका साथ साम्राज्यवादले लाल झन्डाको विरुद्ध लाल झन्डाको प्रयोग गर्छ !
नेपालको माओवादी आन्दोलन यतिबेर नेताहरूमा आएको वैचारिक विचलन र विग्रहको सिकार भएको छ  । साथै प्रचण्ड, बाबुराम र अहिले विप्वलवको स्थिति हेर्दा साम्राज्यवाद विभिन्न कोणबाट टुक्राटुक्रामा माओवादी आन्दोलनलाई प्रयोगशाला  बनाइरहेको  त छैन ? एकैचोटि ‘उत्तर–मार्क्सवाद’ र ‘उत्तर–साम्राज्यवाद’ को प्रयोग गरिरहेको त छैन ? भनेर आशङ्का गर्नुपर्ने अवस्था  पनि देखापरेको छ । सिके राउतहरू पेन्टागन छाडेर त्यसै तराई पसेका छैनन् र मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यसै भएको छैन । हिजो विप्लवको रहस्यमय वहिर्गमन र अहिले बादलको ”एकता नौटङ्की” लाई सामान्य परिघटनाका रूपमा लिन मिल्दैन । किन अशोक मेहताहरू कमरेड किरणविरुद्ध जाइलाग्छन् र माओवादीको वीउ पनि राख्दिन भन्ने राकेश सुद र भारतीय संस्थापन पक्षका प्रगतिशील प्रतिनिधि भनिने आनन्दस्वरूप बर्मा बाबुराम र विप्लवको प्रशंसामा आकाशपातल जोड्छन् भन्ने कुरालाई पनि गम्भीरताका साथ लिनु आवश्यक छ ।
यस्तो बेला सबैको ध्यान कमरेड किरणतिर जानु स्वाभाविक छ । नेकपा (क्रान्तिकारी माओवादी) का पछिल्ला निर्णयले केही आशा पनि जगाएको छ । माओवादी आन्दोलन  कमजोर भएको छ, तर यो समाप्त भएको  छैन l यसमा कसैले पनि खुसी नमनाए हुन्छ । प्रश्न माओवादी आन्दोलनको मात्र होइन, प्रश्न मुलुकलाई साम्राज्यवादी–विस्तारवादी प्रयोगशाला हुनबाट कसरी जोगाउने भन्ने हो । यो सबैको साझा चिन्ता र चिन्तनको विषय हुनुपर्छ ।

भिडियो फिचरview all