menu

ताजा समाचार

जुम्ला

राजबहादुर कुँवर

जुम्ला !
भ्रष्टचारी बाबुको घरलाई उडाउन
माइन बोकेको कुनै छापामार भेटिएको छैन
कालो बजारिया बाबुको व्यापार जलाउन
सलाईको काँटी बोकेको कुनै भिमदत्त भेटिएको छैन ।

जुम्ला !
सित्तैमा बाँडिएको चामल परेवालाई चारो दिएर
कोदोको थुक्पा खाइरहेको किसान भेटिएको छैन
डाबर कम्पनीको महको डिब्बा नदीमा बगाएर
मौरीको नयाँ घार ताछिरहेको रुदाने भेटिएको छैन।
 
जुम्ला !
मृत घोडाहरूको सम्झनामा शोक काब्य लेखिरहेका बीच
देश बोकेर दौड्ने नयाँ घोडा भेटिएको छैन
आयातित नाइक ब्रान्डको जुत्ता छोडेर
दोचामा पहाड उक्लिरहेको होचि मिन्ह भेटिएको छैन ।

जुम्ला !  
आफूलाई मुक्त गर्न बोकेका बन्दुकहरूको लिलामीपश्चात्
अन्तिम युद्धकोे कुनै नयाँ प्लेकार्ड भेटिएको छैन
सिंहदरवार चक्कर काटिरहेका भूतपूर्व छापामारसँग
घामको पहाड गुन्जाउने चेको उन्मुक्त हाँसो भेटिएको छैन ।

जुम्ला !  
आँसुको तिला पिएर जिइरहेका कायरहरूको भीडमा
थवाङको दुन्दुभीलाई स्वागत गरिरहेको वसन्त भेटिएको छैन
अज्ञात सहिदको लासजस्तै अलपत्र मुलुकको रक्षार्थ
आफ्नो छातीलाई ढाल बनाइरहेको स्पार्टाकस भेटिएको छैन ।

जुम्ला ! म खोजिरहेछु
त्यो भिमदत्त
त्यो रुदाने
त्यो होचिमिन्ह
त्यो चे ग्वेभारा
त्यो स्पार्टाकस ।
०००

भिडियो फिचरview all