menu

ताजा समाचार

राजकुमार कुँवरसहित १० जनाले नेकपा (क्रान्तिकारी माओवादी) केसको जिम्मेवारी त्यागे

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पोखरा सम्मेलनमा सङ्गठनात्मक क्षेत्रमा गरेको निर्णयपछि सो पार्टीको केन्द्रीय जिम्मेवारी त्याग गर्नेको सङ्ख्या १० पुगेको छ । सम्मेलनले केन्द्रीय सदस्य हुनका लागि ५ ओटा आधारहरू: सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनैपर्ने, एनजिओ/आइनजिओमा संग्लग्न हुनु नहुने, पार्टीले जहाँ खटायो, त्यहाँ जानैपर्ने, १० वर्ष निरन्तर कम्युनिस्ट   आन्दोलनमा  सक्रिय भएको हुनुपर्ने र वैचारिक, राजनीतिक  तथा सांगठनिक  स्पष्टता हुनैपर्ने जस्ता आधारहरू अघि सारेको थियो ।

सम्मेलन शत्रमा कतिपयले कार्यदिशामा चित्त नबुझेर र कतिपयले चुनावमा भाग लिने नीतिप्रति असमति जाहेर गरेर र कतिपय पूर्णकालीन हुन नसक्ने भनेर ४५ जनाले हात उठाए पनि पार्टी नै रित्तिने स्थिति हुने देखेर ६ महिनाभित्र यो निर्णयलाई  व्यवस्थापन गर्ने नीति अघि सारिएको थियो । तर श्रीमान-श्रीमती दुवै पूर्णकालीन हुन नसक्ने, जागिर छोड्न नसक्ने, काठमाडौँ छाडेर अन्यत्र जान नसक्नेहरू तथा एनजिओ-आइएनजिओमा काम गर्नेहरू र अध्ययनचिन्तनमा लाग्ने भनेर प्रस्ताव राख्ने १० जनाले भने केन्द्रीय समितिबाट पोखरा बैठकबाट बिदा पाएका थिए ।

एनजिओ-आइएनजिओको  कुरा गर्दा इच्छुक प्रतिष्ठान र भक्तबहादुर प्रतिष्ठानको कुरा उठे पनि ती पार्टीसम्बद्ध  संस्था भएकाले  तिनमा  सो नियम लागु नगरिएको भनिएको थियो  । परि थापा समूहबाट आएका एकजना एनजिओकर्मीका साथै बुद्धिजीवी मञ्चका अध्यक्षको आइएनजिओ संलग्नता र त्रिविका एक जना प्राध्यापकको पेसा र पूर्णकालीनताका  बारेमा पनि प्रश्न उठेको थियो । उमेर र बिरामीका कारण पार्टी काममा समय दिन नसक्ने, सक्रिय हुन नसक्ने र दिनभरि फेसबुकमा रमाउनेहरूका बारेमा पनि सम्मेलनमा  सहभागीहरूले प्रश्न उठाएको र होल टाइमरको परिभाषा प्रस्ट हुनुपर्ने कुरामा  पनि सम्मेलनमा कुरा उठेको कुरा सहभागी एक जना प्रतिनिधिले बताएका छन् ।
 
यसैबीच पोलिट ब्युरो सदस्य हर्कबहादुर शाहीले पनि उमेर र बिरामीका कारण पार्टीको जिम्मेवारीबाट बिदा मागेको कुरा थाहा हुनआएको छ ।
 
पोखराबाट बिदा पाउने  केसहरूमा बद्री बजगाईँ, राजकुमार कुवँर, अम्बिका रेग्मी, जयन्ती लुइँटेल, बृन्दा मगर, शिवराम यादब, दीपक शाहीलगायतका  रहेका छन् । केसबाट बिदा लिए पनि अन्य जिम्मेवारी यथावत रहने छ । पोखरामा केसबाट मात्रै बिदा लिने र अन्य जिम्मेवारी यथावत राख्ने भने पनि शिवराम यादवले भने आफू नेकपा (क्रान्तिकारी माओवादी) को कुनै पनि पदमा नरहेको र पार्टी परित्याग गरेको कुरा फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।  वास्तवमा क्रान्तिकारी स्पिरिट भनेको तल झर्ने होइन, समस्या हल गर्दै पूर्ण सक्रियताका साथ काममा लाग्छु भन्ने हो र पार्टीले पनि काममा लाग्ने/लगाउने  वातावरण बनाउनु हो । यो  आन्दोलनका लागि शुभसंकेत होइन । यो पछाडि फर्काइ हो ।

राजकुमा कुँवरले चाहिँ विभिन्न कारणबस २/४ महिना आफू भौतिक रूपमा सक्रिय हुने स्थिति नरहेकाले केसको जिम्मेवारीबाट हटेर जनयुद्धको इतिहास, जनयुद्धका सहिदको इतिहास  लेख्ने भनेर बिदा लिएको कुरा थाहा हुनआएको छ ।
 
चुनावमा सहभागी हुने निर्णयप्रति फरक मत दर्ता गर्ने प्रदेश नं १, ५ र ७ का १० ओटा जिल्लाका सेक्रेटरी तथा कतिपय जिल्लाका सदस्यहरूले चुनावभरि निस्क्रिय रहने र त्यसपछि कार्यदिशाका सन्दर्भमा वैचारिक सङ्घर्ष चलाउने  भनेको कुरा कुरा पनि थाहा हुनआएको छ । यो पक्षले सम्मेलनमा आफूहरूले चुनावको विषयलाई लिएर मात्रै फरक मत दर्ता गराए पनि मूल समस्या कार्यदिशाकै हो र अबको वैचारिक सङ्घर्ष यसैमा केन्द्रित हुने कुरा बताएको छ ।

उमेर र अन्य कारणले पार्टीका लागि समय र श्रम दिन नसक्नेहरूलाई बिदा दिने र  अन्य जिम्मेवारी दिने, युवाहरू तथा इमानदारीपूर्वक पार्टी काममा लागेका तलका नेता तथा कार्यकर्ताहरूलाई अवसर दिने कुरा सही  हो  । पोखरा सम्मेलनको यो स्पिरिट स्वागतयोग्य छ । कतिपय कार्यकर्ताका भनाइमा ''दस्ताबेजको स्पिरिट राम्रो भए पनि समस्या माथि नै छ र शुद्धीकरण माथिबाटै हुनपर्छ , नेतृत्त्व-टिममा रहेका चुनाववादी- मिलेरावादीहरूबाटै  शुद्धीकरण नगर्ने हो भने दुईचार केस हटेर केही हुनेवाला छैन ।"

त्यस्तै अर्थ न बर्थका सल्लाहकारको जमात  सङ्गठन लागि बोझ भएको र सम्मेलनले यसलाई हटाउने निर्णय गरेकोले  यसलाई कडाइका साथ लागु गर्नुपर्ने कुरा पनि के.स.को जिम्मेवारीबाट हटेका एक जनाले बताएका छन् ।
 
शुद्धीकरण अभियान राम्रो भए पनि यसले कतिपय सन्दर्भमा व्यावहारिक जटिलता पनि ल्याउन सक्छ । पछिल्लो पुस्तामा देखिएको दार्शनिक, सैद्धान्तिक, वैचारिक ज्ञानको अभाव,  अध्ययन-चिन्तनप्रति अरूचि, फेसबुके प्रवृत्ति र आन्दोलनलाई व्यक्तिगत चाहना र कामना पूरा गर्ने माध्यम  र संगठनलाई आर्थिक उत्प्रेरणाको माध्यम ठान्ने प्रवृत्तिलाई प्रशिक्षण र सही स्कुलिङद्वारा निर्देशित र नियन्त्रित गर्न सकिएन भने पछिका दिनमा विचार र नेतृत्वको प्रश्न झन् जटिल बन्ने पनि हुनसक्छ । यो कुरा विप्लव समूहमा देखिएको वर्तमान स्थितिबाट पनि बोध गर्न सकिन्छ ।

शुद्धीकरण आभियान राम्रो र आवश्यक भए पनि आवश्यकता र स्वतन्त्रताको द्वन्द्वात्मकता अनुसार भएन भने यसको कुनै अर्थ नरहने कुरा पनि प्रस्ट छ । कार्यदिशाको प्रश्न त छँदैछ, सङ्गठनात्मक  समस्या झन् जटिल छ  । माथि नै प्रतिक्रियावादी चुनाव भनेपछि हुरुक्क हुनेहरूको जमघट भएको नेकपा (क्रान्तिकारी माओवादी) ले अघिसारेको ५ ओटा बुँदाको स्वागत गर्न सकिए पनि माथिकै समस्या हल नगरी तल मात्र चलाइएका  शुद्धीकरण अभियानले गुणात्मक फल दिने आशा भने कमै गर्न सकिन्छ ।
०००

भिडियो फिचरview all