menu

ताजा समाचार

भाकपा (माओवादी)को महत्वपूर्ण प्रकाशनः ‘पिपुल्स वार’

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्ना गतिविधिहरू तथा वैचारिक निर्णयहरू आम जनतासम्म पुर्याउन उपलब्ध हुन सकेजति तथा उपयोग गर्न सकेजति सबै थरी माध्यमहरू, छापा, अनलाइन तथा श्रव्यदृश्यात्मक माध्यमहरूको प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता माध्यमहरू खासगरेर अङ्ग्रेजी, हिन्दी र तेलगुमा प्रकाशित हुनेगरेका छन् । तेलगु तथा हिन्दीमा प्रकाशित हुने प्रकाशनहरू पार्टीको विशेष क्षेत्रहरूसित सम्बद्ध छन् भने केन्द्रीय तहबाट प्रकाशित हुने प्रकाशनहरू चाहिँ अङ्ग्रेजीमा छन् । नियमित प्रकाशनबाहेक पार्टीले विशेष समयमा विशेष प्रकाशन पनि प्रकाशित गर्ने गरेको  पाइन्छ ।

सन् २००४मा भएको एकताप्रक्रियापछि पार्टीको नाम भाकपा (माओवादी) नामाङ्कित गरिएको थियो ।  पार्टी गठनको दश वर्षको विशेष अवसरमा भाकपा (माओवादी) ले सन् २०१४ मा केही विशेष सामग्रीहरूको सङ्कलन पिपुल्स वार  प्रकाशित गरेको थियो । यसरी प्रकाशन गरिने सामग्रीहरू क्षेत्रीय तथा केन्द्रीय तह दुवै तहबाट प्रकाशित हुने गरेका छन् । केही महिनाअघि भारतीय माओवादी पार्टीको ‘पश्चिम घाट विशेष जोनल कमिटी’ ले कम्युनिस्ट नामको अङ्ग्रेजी प्रकाशन प्रकाशित गरेको थियो । प्रकाशनको क्षेत्रमा केन्द्रपछि आन्ध्र-ओडिसा र तेलङ्ना क्षेत्र बढी सक्रिय भएको पाइन्छ । अन्य भाषाको तुलनामा तेलगुमा माओवादी समर्थक माध्यमहरूको सङ्ख्या बढी रहेको पाइन्छ ।
 
प्रभात हिन्दी तथा तेलगुमा, क्रान्ति तेलगुमा, प्रजाविमुक्ति तेलगुमा जनसङ्ग्राम हिन्दीमा प्रकाशित भएका पाइन्छन् । यी सबै क्षेत्रीय स्तरमा समयमसमयमा प्रकाशित भइरहेका प्रकाशनहरू हुन् । केन्द्रीय स्तरमा चाहिँ सैद्धान्तिक तथा  वैचारिक सामग्रीहरूको प्रकाशनका रूपमा पिपुल्स वार रहेको छ र पार्टीका गतिविधि, लेखरचनाहरू खासगरेर मुखपत्रका रूपमा पिपुल्स मार्च प्रकाशित हुने गरेको छ । यता पछिल्लोपटक सन् २०१५ पछि पिपुल्स मार्च को प्रकाशन भएको पाइएको छैन र आवश्यकताअनुसार प्रकाशित हुने पिपुल्स वार केही महिनाअघि अर्थात् मार्च २०१७ मा प्रकाशित भएको छ ।

विश्वका माओवादीहरूले  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति ५० वर्ष पुगेको, नक्सलबाडी किसान आन्दोलन ५० वर्ष पुगेको, अक्टोबर क्रान्तिको शतवार्षिकी  तथा मार्क्सको जन्मको २०० वर्ष पुगेको सन्दर्भलाई लिएर सन् २०१६ देखि २०१८ सम्म विशेष कार्यक्रमहरू गर्ने निर्णय गरेअनुसार भाकपा (माओवादी) ले पनि  विशेष महत्वका साथ यी कार्यक्रमहरू गरिरहेको छ । भर्खरै हैदरावादमा नक्सलबाडी आन्दोलनसम्बन्धी २५ ओटा विशेष शीर्षकमा केन्द्रित भएर कार्यक्रम भएको थियो ।

पिपुल्स वारको २०१४ को अङ्क भाकपा (माओवादी) को दश वर्षको राजनीतिक, वैचारिक तथा फौजी  गतिविधिसित सम्बद्ध दस्ताबेजहरूको सङ्कलन थियो भने यो २०१७ को अङ्क चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्बद्ध चिनियाँ तथा भारतीय दस्ताबेजहरूको सङ्कलनको रूपमा आएको  छ ।

यसमा ५ ओटा खण्ड छन्, जसमा : १)‘श्रद्धाञ्जली’, २) ‘सम्पादकीय’ ३) ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सम्बन्धमा भाकपा –माओवादी) को धारणा’, ४) ‘माओ र चिनियाँ कम्युनिस्ट पार्टीले सांस्कृतिक क्रान्तिका सम्बन्धमा गरेका निर्णयहरू’ र ५) ‘भारतीय कम्युनिस्ट पार्टी माओवादीका निर्णय तथा परिपत्रहरू’ समाविष्ट छन् ।

तेस्रो खण्डका रचनाहरूले सिङ्गो चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको  भारत तथा विश्ववायपी रूपमा पारेको प्रभाव र त्यसको महत्वमाथि प्रकाश पारेका छन् । चौथो खण्डका रचनामा चिनियाँ कम्युनिस्ट पार्टीको सांस्कृतिक क्रान्तिसम्बन्धी निर्णय, 'सोरबुँदे सर्कुलर', पेकिङ रिभ्युको सम्पादकीय समाविष्ट छन् । त्यसैगरी पाँचौँ खण्डका सामग्रीले ‘भारतीय कम्युनिस्ट पार्टी माओवादीका पछिल्ला नीतिनिर्णयका बारेमा जानकारी दिन्छन् ।

महत्वपूर्ण र  ऐतिहासिक सामग्री अध्ययनका दृष्टिले मात्र नभएर भाकपा (माओवादी) का पछिल्ला नीतिनिर्णयहरूको जानकारीका दृष्टिले पनि यो विशेष अङ्क विशेष नै छ र क्रान्तिकारी भन्ने/भनिने  नेता तथा कार्यकर्ताहरूले यसमा सङ्कलित रचनाहरूको  गम्भीरतापूर्वक  अध्ययन गर्नु जरुरी छ । ‘जनमेल’ ले आवश्यकता र समयअनुकूलतामा यसका रचनाहरू अनुवाद गरेर पाठकसमक्ष पुर्याउने छ  ।
०००

भिडियो फिचरview all