menu

ताजा समाचार

आख्यान क्षेत्रमा ‘बर्की नम्बर १३९९९’

अनिल शर्मा
नेपालको प्रगतिवादी आख्यान क्षेत्रमा डा. ऋषिराज बरालको अलग चिनारी छ । विगतका बलिदानलाई वर्तमानका प्रतिरोध आन्दोलनहरूसँग जोड्नु उनको लेखनको मुख्य विशेषता हो । अर्कोतिर वर्तमानमा चलिरहेको जनप्रतिरोधका स्वरहरूमा अक्सिजन भर्नु उनको अर्को वर्गीय इमानको पक्ष हो । वैचारिक बहसमा तटस्थ बस्नु वा बीचमा उभिनु भनेको विचौलिया प्रवृत्ति हो । राजनीतिमा मध्यपन्थ र व्यापारमा विचौलिया एउटै मनोविज्ञानबाट सिर्जित प्रवृत्तिहरू हुन् । त्यसैले होला भन्ने गर्छन् जिब्रो नचपाईकन लेख्नु नै प्रभावकारिता छ । भनिन्छ, ‘नो रिजर्भेसन इज गुड राइटिङ’ । बरालको लेखनबाट सकारात्मक र नकारात्मक दुबै कोणबाट मानिसहरू अत्यधिक प्रभावित हुने गर्छन् । तिखो, प्रभावकारी र सम्प्रेषणीय लेखनका कारण उनका पाठकहरू अनुमान गरिएभन्दा धेरै छन् । अत्यधिक पाठक हुनुका कारण प्रतिध्रुवीय घेराजत्तिकै आफ्नै घेरामा पनि एकपछि अर्को भूकम्पीय धक्का महसुस भइरहन्छ । लेखकीय इमान र निशाना निश्चित दिशा र पक्षमा हुन्छ कि चौतर्फी हुनुपर्छ ? यो बहस चलिरहेको छ ।

आफ्ना दर्जनौँ कृतिहरूको लहरमा भर्खरै उनको नयाँ कथासङ्ग्रह बर्की नम्बर १३९९९ पाठकसम्म पुगेको छ । अव्यक्त पीडा अर्थात् व्यक्त नगरिएका र व्यक्त गर्न नसकिएका कथा-व्यथाको वाणी उनका कथाको विशेषता हो । सहिद बेपत्ता, घाइते, पद्दलित उनका प्रतिनिधि पात्र र प्रवृत्तिका रूपमा उदाएका छन् । कथाको आमुखमै उनी लेख्छन् “शान्ति–प्रक्रियामा आएपछिको मेरो पहिलो अनुभव बडो पीडादायी रह्यो । सबैका छोराछोरी, बाआमा, दाजुभाइ सबै रमाउँदै र खुसी हुँदै घर आए तर ती घरहरू जसका परिवारका सदस्यहरू बेपत्ता परिवारका सदस्यहरूले बलिदानको इतिहास रचे, ती परिवारहरू जसका सदस्यहरू बेपत्ता पारिएका थिए, त्यहाँ खुसी थिएन ।” यो शान्तिप्रक्रियापछिको एउटा अँध्यारो पाटो थियो । बेपत्ता र सहिद परिवारले आफन्त गुमाउनुको पीडाका बीचमा स्वतन्त्रताका अभियन्ता हुनुको गर्वानुभूति गर्नुपथ्र्यो तर अपमान थपियो । उनीहरूसँग एकताकाका नायकहरूबारे अपराधीसँगको जस्तो व्यवहार गरियो ।कवि पूर्णविरामले त्यसप्रकारको सन्दर्भलाई ‘बेबिलोनका ऊँट’ सँग तुलना गरेका थिए । पीरामिडहरू निर्माणको काम सकेपछि सहरबाट लखेटिएका बेबिलोनका ऊँटहरूको दशा व्यहोर्न बाध्य पारिएका छन्– बलिदानका महागाथाका अभियन्ताहरू । उनका कथाहरूले त्यसप्रकारका चहराइरहेका घाउमा मलहमपट्टी गरेका छन् । उनी लेखकीयमै कटु यथार्थ भन्छन्, ‘शान्तिप्रक्रिया’ सँगै आदर्श र मूल्यहरूमा स्खलन देखिन थाल्यो । एकथरीका लागि युद्धमा लडेका इमानदार योद्धाहरू पराइ हुन थाले । क्रान्तिको कुरा गर्नेहरू घाँडो हुन थाले । पार्टी ठूलो बनाउने नाममा, समयअनुसार चल्ने नाममा, विजातीय तत्वहरू पार्टीमा भरिन थाले । उनका कथाहरू पढ्दै जाँदा पाठकका अगाडि डिलाराम आचार्य, सूर्यबहादुर सेन, ‘वली’, रामकुमार शर्माजस्ता कुरूप पात्रहरू आँखा अगाडि नाच्न आइपुग्छन् । ती पात्रहरूको प्रवेश क्रान्तिकारी प्रवृत्ति र पात्रहरूका विरुद्ध थियो । क्रान्तिकारी प्रवृत्ति र पात्रका विरुद्ध लड्न आएका प्रतिध्रुवीय मोर्चाका सिपाही थिए उनीहरू । त्यो प्रवेश होइन, घुसपैठ थियो । त्यो भियतनाममा अमेरिकी सेनाको घुसपैठजस्तै अनैतिक अतिक्रमण थियो ।

त्यसैले जनसमरका नायक नै विभीषण बनेको अवस्थामा त्यसका विरुद्ध समेत विद्रोह अनिवार्य छ । लेखक बराल आत्मसमर्पण गर्न होइन, लड्न जन्मेका हुन् । “क्रान्तिप्रति गद्दारी गरिएको कुरा सबैका सामु प्रस्ट छ । कलम बिसाउने बेला भएको छैन । बन्दुक बिसाउने बेला भएको छैन” उनी भन्छन् । आज एकथरी जनसमरका अभियन्ताहरू थकित, गलित, निरास देखिन्छन् । उनीहरू कलमकै मृत्यु भएको ठान्छन् । लेख्नुको मूल्य नभएको ठान्छन् । त्यसप्रकारको विशेषको अवस्थामा कवि ब्रेख्तले भनेका थिए :

के अँध्यारो रातमा पनि लेखिन्छ ?
हो, अँध्यारोमा पनि
अँध्यारोकै विरोधमा
लेखिनेछ ।


हिजो सौन्दर्यको पक्षमा लेखिएको थियो । आज कुरूपता प्रधान बनेर आएको छ । यो कुरूपताको उदय अस्थायी मृत्युञ्जयी यथार्थ हो । तसर्थ, यो अँध्यारो समयमा कवि ब्रेख्तले भनेझैँ अँध्यारोको विरुद्ध कलम चल्नुपर्छ । कुरूपताका विरुद्ध बन्दुक दाग्नुपर्छ; जसरी कवि ब्रेख्तले अँध्यारोको विरोधमा निशाना साँधेका थिए । त्यसैले त आख्यानकार बराल भन्छन्, “एकपटक कलममा बारुद भर्ने बेला आएको छ ।” हो, आज कलममा आँसु भर्ने होइन, बारुद भर्नैपर्ने भएको छ ।

बरालको नयाँ आख्यान बर्की नम्बर १३९९९ले कवि तथा लेखक महाश्वेता देवीको हजार चौरासी कि आमाको सम्झना गराउँछ, जसमा १३ वटा कथाहरू सङ्गृहीत छन् । उनका कथाहरूमध्ये ‘थुप्रै बिन्देसरहरू’ सबैभन्दा सुन्दर कथा हो । समकालीन आवश्यकताबोध, पेचिलो बहस, हुल हुज्जत गरेर भीडले छोपिएको यथार्थ र लोकतन्त्रको नाममा, परिचयको राजनीतिले चपरीमुनि पुरिएको यथार्थलाई यो कथाले उधिनेर रङ्गमञ्चमा उतारेको छ । यो कथाको मर्मलाई तराईका खेत–खलिहानमा पु¥याउन आवश्यक देखिन्छ । ‘अविनास अविनासहरू’ अर्को सुन्दर कथा हो । त्यसो त यो सङ्ग्रहमा सङ्ग्रहीत सबै कथाहरूले पाठकलाई ताजगीपन अनुभूत गराउँछन् ।

सङ्कलित कथाहरूमध्ये ‘अकथ्य' कथाले जनताको मनोविज्ञानलाई नयाँ कोणबाट उठाउन खोजेको छ । भौतिक रूपमा अभाव छ । मानसिक रूपमा पीडा छ । सम्मान छैन, क्रान्तिको सपना नालीमा फालिएको छ । यस्तो अवस्थामा सहरमा बोलाएर खादा र फूलले छोपिदिएर के हुन्छ ? हृदय झन् दुःख्छ । नेता, कार्यकर्ताहरू उनीहरूको दैलोमा जानुपर्छ । फूल र खादा होइन, क्रान्तिको उपहार चाहन्छन् उनीहरू । पञ्चायतीकालमा अथवा राणाकालमा बडा हाकिमको चाकरी गरेझैँ भएको छ । सार उही छ, रूप मात्रै भिन्न छ । सहर पसेका राजधानी बदल्न पुगेकाहरू उतै हराएपछि सहरप्रति नै बलिदान गरेको तप्कामा निराशा छ । सहिद आमा भन्छिन्, ‘छोडिदेऊ कामरेड ! मलाई ठूलो सहर लाने कुरा नगर । बरु मलाई मेरो बूढाको फोटो ठूलो पारेर ल्याइदेऊ ।’ हिजो विकास, बन्दुक, नेता, बैठक सबै गाउँमा हुन्थे । आज गाउँमा मोटर जान्न, चामल जान्न र नेताहरू पनि जाँदैनन् । त्यसले बलिदानका अभियन्ताहरू दुःखी छन् । आख्यानकार बरालले त्यसलाई सुन्दर वाणी दिएका छन् ।

आख्यानकार बरालका लेखनमा समय समयमा आग्रह–पूर्वाहग्रहपूर्ण अभिव्यक्त हुन्छन् । त्यसले उनको लेखनमा केही ‘रोडब्रेकर’ को भूमिका खेल्ने गर्दछ । ‘अकथ्य ' कथा की आमाले भाषण गर्न आउँदैन । आकाश पातल जोड्न आउँदैन भनेकी छन् । पात्रको चेतनास्तर र शब्दको प्रयोग पात्रको चेतनास्तर र परिवेशअनुसारको छैन । लेखकले आफ्नो आग्रहलाई थोपरेको अनुभूत हुन्छ । लेख्न बस्दा लेखकले राजनीतिक परिवेशका तत्कालीन अस्थायी र कम महत्वपूर्ण विषयमा आफूलाई पृथक राख्न आवश्यक छ ।

 सङ्गृहीत कथाहरूमध्ये ‘क्यान्टोनमेन्ट नम्बर ०३७३०’ ले नेपालको कथित शान्ति प्रक्रिया शिविर, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनलगायतका राजनीतिक विषयलाई विषयीका रूपमा पस्केको छ । नेपालको शान्तिप्रक्रियामा अनमिनले अपराधपूर्ण भूमिका खेलेको थियो । हामीले औपचारिक रूपमा नै उसलाई त्यो आरोप लगाएका छौँ । त्यो नेपाली जनताको आरोप हो । समाज परिवर्तनमा सबैभन्दा धेरै भूमिका र बलिदान गरेको पङ्क्तिलाई बन्दुक खोसेर, अपमानित गरेर लखेट्ने अनमिनप्रति हाम्रो गम्भीर आरोप छ ।

प्रचण्ड-बाबुरामले गरेको गद्दारीको भारी बोक्न जनता वाध्य छैनन् । अनमिनले नेपालमा शान्ति होइन, भयानक द्वन्द्वको बीजारोपण गरेर गएको छ । त्यसकारण कथामा एकजना जनमुक्ति सेनाको योद्धा भन्छन्, “यो अनमिनको टोली पनि अमेरिकी दलाल हो । ''डलर खान र जासुसी गर्न यहाँ बसेका हुन् ।” धेरैले बोल्न नसकेको र साहित्यमा प्रवेश नै नपाएको कटु यथार्थ हो यो । आज उपभोक्तावाद चरम अवस्थामा छ तर लेखन–सिर्जनको कार्य राजनीतिले ऊर्जा दिन नसकेका कारण धर्मराएको छ । राजनीतिमा व्यक्त उपभोक्तावादप्रति कटाक्ष गर्दै प्राध्यापक राजेन्द्र सुवेदी “राजनीति धनियाको खेती होइन । टोल फेर्ने, बसाइ सर्नेहरू नै हस्तक्षेपकारी भूमिकामा छन्” भन्छन् । बरालको कथा ‘टिकारामहरू’ त्यही प्रसङ्गमा केन्द्रित कथा हो । क्षणक्षणमा उही विषय नयाँ भएर आउनु नै सिर्जनात्मक विशेषता हो । बरालका कथामा जनयुद्धका सपना नयाँ भएर सिर्जना गरिएका छन् । यथार्थलाई कलाद्वारा प्रस्तुति गर्नु साहित्यिक मूल्य हो । बराल त्यसमा कतिपय अवस्थामा विचलित देखिन्छन् । समालोचक दयाराम श्रेष्ठले बरालका कथालाई ‘जनमुक्ति सेनाका ड्रामाहरूको संयोजन’ भनेका छन् । उनका कथामा त्यसको केन्द्रीय भावबोध गर्न सकिन्छ ।

बरालको लेखन कला र वस्तु (सार रूप) दुबै दृष्टिले सवल छन् । यो उनको पछिल्लो आठौँ कृति हो । कथाहरू कालक्रमिक रूपले लामो समयदेखिका छन् । मूलतः जनसमरको आदर्शीकरण र सौन्दर्यकरणमा मुखरित छन् । केही कथाहरूले परिचयको राजनीति र पछिल्लो समयको विद्रूप मुखौटो च्यात्ने साहस गरेका छन् । यो आख्यानात्मक कृति नेपाली प्रगतिवादी साहित्यको पछिल्लो उपलब्धि हो ।

(समकालीन साहित्य र संस्कृतिबाट )
भिडियो फिचरview all