menu

ताजा समाचार

सांस्कृतिक आन्दोलन: पुच्छरवाद विरुद्ध वैचारिक सङ्घर्ष

डा. ऋषिराज बराल
''कलाकारहरूलाई भ्रष्ट पार्न खोज्ने शक्तिहरू यति बलिया र कुटिल छन्, असाधारण आत्मबल भएकाले मात्र तिनको विरोध गर्ने आँट गर्छ । समाचारपत्रहरू, नाँचघर, सिनेमा तथा जनसाधारणमा बढी चलेका पत्रपत्रिकाहरू सबैले चेतन–अवचेतनरूपमा वास्तविक कलाका विरुद्ध विभ्रम फैलाउने तथा त्यसलाई नोक्सान पुर्याउने कार्यमा सहयोग पुर्याइरहेका हुन्छन् ।" जर्ज लुकास

मार्क्सवादी कलाचिन्तक लुकासले एउटा इमानदार लेखकलाई कसरी सत्ताले भ्रष्ट पार्छ र कसरी  सूचना विभ्रममार्फत असली कलालाई ध्वस्त पार्छ भनेको पनि ६ दशकभन्दा बढी हुन लागेछ । लुकासले यस किसिमको अभिव्यक्ति दिएका बेला आजको जस्तो सूचना प्रविधि, सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादको जगजगी थिएन र आजको जस्तो साइबर संस्कृतिको मन्द विषको विस्तार पनि भइसकेको थिएन । सैद्धान्तिक तहमा लुकासले जे कुरा भनेका थिए देशकाल सापेक्षतामा हामी अहिले पनि त्यही कुरा भोगिरहेका छौँ । हामीले यतिबेर फ्रायडवाद, भोगवाद, शून्यवाद, विसर्जनवाद र मूल्यहीनताको डरलाग्दो स्थिति देखिरहेका छौँ/ भोगिरहेका छौँ  । “यो भएन” भनेर हामी कराइरहेका छौँ, तर जानीनजानी त्यसैलाई गलबन्दी पनि बनाइरहेका छौँ ।  ‘उत्तरवाद’ का विविध रूपहरू अहिले मार्क्सवादी आन्दोलन, आजको सन्दर्भमा भन्दा माओवादी आन्दोलनलाई ध्वस्त पार्न विभिन्न मोर्चामा सक्रिय छन् । यतिबेर मार्क्सवादका विरुद्ध साम्राज्यवादले बन्दुक, सूचना र संस्कृतिको संयुक्त मोर्चा खोलेको छ र यसले सबैभन्दा बढी प्रहार मूल्यबोध र सौन्दर्यचेतनामाथि गरेको छ । फासिवादका संवाहकहरूलाई थाहा छ, बन्दुक नै चाहिँदैन मान्छेलाई जिउँदोलास बनाउन, मान्छेभित्रको जुझारुपनलाई मार्न यी दुई कुरालाई मारिदिए पुग्छ ।
 
प्रख्यात मार्क्सवादी चिन्तक प्राध्यापक जेम्स पेट्रासले कम्प्युटर प्रविधिसित जोडिएको सन्दर्भ नेट/इन्टर्नेट अर्थात् साइबर संस्कृतिको प्रभावलाई लिएर आफ्नो रचना ‘डेस्कटप मिलिट्यान्टस’ मा डेस्कटप लडाकुहरूलाई सही ढङ्गले काममा लगाउन सकियो भने हामीले लडिरहेको लडाइँमा तिनले ठूलो सहयोग पुर्याउन सक्छन्, अन्यथा तिनले हामीलाई नै सिध्याउँछन् भनेका छन् । यी डेस्कटप लडाकुहरूको कमान्ड उत्पीडित जनताका हातमा छैन भन्ने कुरा पनि हामीलाई थाहा छ । जनतालाई टुक्राटुक्रामा विभाजित गरेर, घुन बनेर यसले हामीलाई भित्रभित्रै खोक्रो पारिसकेको छ । मन्द विषका रूपमा धेरथोर तलदेखि माथिसम्म यसले सबैलाई आक्रान्त पारेको छ ।

साम्राज्यवादले गर्छ, सकेसम्म गर्छ, यो उसको ‘धर्म’ र कर्म हो । हामी कहाँनेरी चुक्यौँ ? प्रश्न यहीँनेर छ । यसको उत्तर विचार र राजनीति मूलतः राजनीतिबाट नै खोज्नुपर्ने हुन्छ । वर्तमानबाट मात्र खोजेर पुग्दैन, इतिहासतिर पनि फर्किनुपर्ने हुन्छ । आन्दोलनमा मात्र खोजेर पुग्दैन, पात्रहरूसम्म पुग्नुपर्ने हुन्छ । प्रधान पक्ष राजनीति नै हो, उसको कमान्ड नै प्रधान हुन्छ, सबै कुराको निर्णय राजनीतिले गर्छ भनेपछि यसका हर्ताकर्ताहरूले आफूलाई पानीमाथिको ओभानो ठान्ने स्थिति छैन र हुँदैन । जब वैचारिक विचलन, गुटवाद,  प्रभाववाद र  क्षेत्रीयतावाद हाबी हुन्छ, विकृतिको आरम्भ यहीँबाट हुन्छ । योग्य र सक्षमहरू किनारामा पर्छन् र क्षमताहीन आसेपासेहरू हर्ताकर्ता बन्छन् । त्यसपछि हुने भनेको ओरालो लाग्नुको अविराम यात्रा नै हो । त्यसैले परिस्थितिको हवाला दिएर यान्त्रिक निष्कर्ष निकाल्ने र आफ्नो कमजोरीलाई लुकाउने स्थिति छैन । प्रत्यक्षवाद होइन, यहाँ द्वन्द्ववाद आवश्यक छ, कोम्ते होइन, मार्क्सलाई समात्नु आवश्यक छ  । प्रश्न फेरि पनि उठ्छ यस किसिमको भताभुङ्गको  स्थितिमा हाम्रो सचेतन पक्षको  भूमिका कस्तो रह्यो ? हामी कहाँनेरी उभियौँ ? जटिलता यहीँनेर छ ।  राजनीतिक आन्दोलन र यसका हर्ताकर्ताहरूलाई देखाएर हामी पनि भाग्न सक्तैनौँ । नेतृत्वमा रहेकाहरू बढी जिम्मेवार होलान्, तर धेरथोर हामी सबै जिम्मेवार छौँ । उत्तर खोज्न सबैभन्दा पहिले हामीले आफू उभिएको धरातल नियाल्नुपर्ने हुन्छ ।
 
उपभोक्तावादको दलदल र ‘फेसबुके’ राजनीतिको मायाजालले राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनलाई खोक्रो र जीर्ण पार्न थालेको छ । गम्भीर लेखन ओझेलमा परेको छ र केही खास पत्रिकाका टिप्पणी र चियापसलका उडन्ते गफहरू कृति र लेखकको स्तरीयता मापनका आधार बनेका छन् । सर्जक र सिर्जना दुवै हराएका छन् र ‘घोस्ट राइटिङ’ नामको भाडाको लेखन मौलाउन थालेको छ । उपभोक्तावादी प्रचारआतङ्कले कुरूपलाई सुन्दर बनाएको छ र हीनलाई उदात्त । रङ खुइलिएकाहरू त्यही नै सत्य हो भनेर  कुदनु स्वाभाविक छ, उनीहरूले त्यसैमा जीवन देखेका छन् । तर आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत मरिमेटेर उनीहरूको पछि कुद्नु भनेको उदेकलाग्दो स्थिति हो ।

 यस्तो अवस्थामा विचारको  महत्त्व हिजोको भन्दा आज झन् बढेको छ र राजनीतिक तथा सांस्कृतिक आन्दोलनले एउटा निमर्म वैचारिक सङ्घर्षको माग गरेको  छ । गतिशील योजनाबद्धता आजको आवश्यकता हो । लेखन र व्यवहार दुवै क्षेत्रमा योजनाबद्ध वैचारिक सङ्घर्ष र व्यावहारिक गतिशीलताबिना यो कार्य सम्भव छैन । यो कार्य नयाँपुराना प्रतिक्रियावादीहरूसितमोर्चाबद्ध भएर अथवा उनीहरूसित हातेमालो गरेर होइन, क्रान्तिकारीहरूको स्वतन्त्र धार निर्माण गरेर मात्र सम्भव छ । राजनीति, विचार र सांस्कृतिक आन्दोलनले जबसम्म मालेमावादी क्रान्तिकारी  धारको निर्माण गरेर सबै थरी अवसरवादका विरुद्धको वैचारिक सङ्घर्षलाई अगाडि बढाउन सक्तैन, तबसम्म एक वा अर्को प्रकारले आन्दोलन यथास्थितिवादको पुच्छर हुनुमा सीमित हुन्छ । पुच्छरवाद आजको जटिल समस्या हो । पुच्छरवाद अवसरवादको अर्को नाम हो । यो शक्तिपूजक प्रवृत्तिको द्योतक हो । यो एक किसिमको आत्मसमर्पणवाद नै हो । ‘विशिष्ट स्थिति’ का नाममा अहिले क्रान्तिकारी धारका भनिने तप्काहरू पनि ‘प्रगतिशीलता’ को आवरणमा यथास्थितिवादको पक्षपोषण गरिरहेकाहरूको मुख्यालयमा विलीन भएका छन् । यो निकै पीडादायी तर, गम्भीर स्थितिको सङ्केतसूचक हो ।
 
यसका लागि आफैँभित्र, आफ्नै घरपरिवारभित्रैबाट वैचारिक सङ्घर्ष अर्थात् वर्गसङ्घर्ष चलाउनु आवश्यक छ । उपयोग र प्रयोगका नाममा नयाँपुराना प्रतिक्रियावादीहरूसितको उठबस र लसपसले क्रान्तिकारी भनाउँदाहरूको रङ पनि खुइलिसकेको छ । विरासतका रूपमा थुप्रै प्रदूषणहरू हाम्रो आङभरि टाँसिएका छन् । यथास्थितिवादीहरूसितको सरसङ्गत त्याग्न पनि नसक्ने र क्रान्तिकारी पनि हुनुपर्ने लालसा, प्रचारमोह र व्यक्तिवादी चरम  महत्त्त्वाकाङ्क्षाले ‘गुहु र गोबर’ छुट्याउन नसक्ने स्थितिमा हामीलाई पुर्याएको छ । अहिले पुच्छरवाद र अकर्मण्यतावादको छालमा क्रान्तिकारी दिशा छायाँमा परेको छ । जब सांस्कृतिक आन्दोलनको बागडोर भ्रष्टाचारले डामिएका द्रव्यपिसाचहरू र विश्वविद्यालयका ‘इमानदार जागिरेहरू’ को हातमा पर्छ, आन्दोलन वाथग्रस्त हुनु स्वाभाविक छ । यस्तोबेला आत्मसमर्पणवाद मात्र होइन, ‘क्रान्तिकारी रूपवादी’ प्रवृत्तिहरू पनि मौलाउन थाल्छन् । यो समस्या अहिले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक आन्दोलनमा पनि जटिल बन्दैगएको छ ।

 माओवादको ट्रेडमार्क राखेर ‘उत्तर-मार्क्सवाद’ को व्यापार चलाउन लागिएको बेला ‘प्राज्ञिक मार्क्सवाद’ को अभ्यासमार्फत मार्क्सवादको भ्रष्टीकरण हुन थालेका प्रमाणहरू पनि सतहमा आएका छन् । यस कार्यमा विश्वविद्यालयका कथित विद्वान प्राडाहरूको भूमिका अग्रपङ्क्तिमा देखापरेको छ । माओवादका नाममा माओवादकै भ्रष्टीकरण संस्थागत हुन थालेको छ  माओवादी हुनुको नाममा लाभांश लिने र माओवादमाथि नै बन्चरो उज्याउने गजबको परिदृश्य देखिन्छ त्यहाँ । प्रगतिशीलताको आवरणमा वर्तमान यथास्थिति सत्ता, यसको विधि र नीतिलाई स्वीकारेर यसबाट नै सबै कुरा हुन्छ भनेर जसले प्रतिबद्धता जनाएका छन्, ती खुला छन्, तिनीहरू विरुद्धको सङ्घर्ष पनि प्रस्ट नै हुन्छ–सोझै ।  तर,  आफूलाई फरक र क्रान्तिकारी माओवादी सांस्कृतिक धारको सांस्कृतिककर्मी भन्नेहरू जसरी यथास्थितिवादीहरूको छातामुनि उभिएर आफ्नो अस्तित्व खोजिरहेका छन् र क्रान्तिकारी हुनुको गर्व पनि गरिरहेका छन्, यो बडो विडम्बनापूर्ण छ । अरूलाई पुच्छरवादी भन्न हामी जति हतारिएका हुन्छौँ, आफू कतै त्यसै डुङ्गामा सयर गरिरहेका त छैनौँ भनेर समीक्षावलोकन गर्नु चाहिँ आवश्यक ठान्दैनौँ । यो विडम्बनापूर्ण मात्र नभएर पीडादायी पनि छ । यस किसिमको प्रवृत्ति नै क्रान्तिकारी स्वतन्त्र धारको प्रमुख दुस्मन हो । पुच्छरवादले आफूमा विश्वास गर्दैन । दार्शनिक तहमा यो विसर्जनवाद नै हो ।  परिचित विरोधीले उठाएको विरोधको झन्डाभन्दा लाल झन्डाका साथ उभिएको विरोधी बढी खतरनाक हुन्छ ।

चाहे घोषित रूपमै ‘उत्तर-मार्क्सवादी  पहिचानवाद’ को कुरा गर्नेहरू हुन्, चाहे ‘क्रान्तिकारी रूपवादीहरू’ हुन्, चाहे मार्क्सवाद “सम्यक” हुन नसकेका कारण यसमा अपूर्णता देख्ने ‘प्राज्ञिक मार्क्सवाद’ का प्रवक्ताहरू हुन्, मात्रा फरक होला सारतत्त्वका  दृष्टिले तिनीहरू एकै ठाउँमा उभिएका छन् । सार सारतत्त्वका  दृष्टिले ती एउटै मोर्चामा आबद्ध छन् । यस किसिमको प्रवृत्तिले सांस्कृतिक आन्दोलनमा वर्गीय प्रश्नलाई ओझेलमा पारेको छ र निवर्गीयताको यात्राका लागि आधार र पृष्ठभूमि तयार पार्न खोजेको छ । यसले क्रान्तिकारीहरूको आफ्नो  धार निर्माणमा मात्र होइन, क्रान्तिकारीहरूबीच संयुक्त मोर्चा निर्माणमा पनि अवरोध पुर्याएको छ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनका अगुवाहरूले गम्भीरतापूर्वक यसतर्फ ध्यान दिनु आवश्यक छ । यसका लागि सबैभन्दा पहिलो कार्य भनेको पुच्छरवादबाट सम्बन्ध विच्छेद नै हो ।

आज विश्वमा माओवादको प्रभाव निरन्तर रूपमा विस्तारित हुँदो छ र नयाँ माओवादी पार्टीहरू गठन हुने र गर्ने कार्य जारी छ । माओवादी जनयुद्धले हाम्रै छिमेकी मुलुक भारतमा प्रतिक्रियावादी सत्तालाई हायलकायल पारिरहेको छ ।  तर विडम्बनाको विषय के छ भने एकसमयमा मालेमाको पक्षमा दृढताका साथ उभिएका कतिपय पार्टीहरू साम्राज्यवादीहरूको भाषालाई आफनो भाषामा ढाल्दै विश्वकम्युनिस्ट आन्दोलनको पहिलो चरण सकियो भन्दै अब मार्क्सवाद-लेनिनवाद-माओवादबाट क्रान्ति सम्पन्न हुन सक्तैन भनेर ‘नयाँ संश्लेषण’ को वकालत गरिरहेका छन् । यस्तो बुझाइको वकालत गर्नेहरूले पेरिस कम्युनदेखि आजसम्मको क्रान्तिकारी इतिहासलाई नै खारेज गरेका छन् । यथार्थतः तिनले  विसर्जनवादको वकालत गरिरहेका छन् । यो विसर्जनवादी रोग भाइरस बनेर विस्तारित हुँदो छ र यसको हावाले नेपालको माओवादी आन्दोलनलाई पनि छुन थालेको आभास हुन थालेको छ ।  त्यसैले मालेमाको    महत्त्व र मूल्यबोधको प्रश्न आज झन् टडकारो बनेको छ । मालेमाको पक्षमा दृढताका साथ उभिएर चलाइने वैचारिक सङ्घर्षबाट मात्र यो मूल्यबोधलाई आत्मसात गर्न सकिन्छ । र यो अभियानमा सांस्कृतिक मोर्चा र कर्मीहरूले नै अग्रिम मोर्चा समाल्नुपर्ने हुन्छ । यहाँ सचेतन पक्षको भूमिका अपरिहार्य छ ।

 ‘प्रचण्ड एन्ड कम्पनी’ ले नेपालको जनयुद्ध र नेपाली जनता, अन्ततः विश्वकम्युनिस्ट आन्दोलनप्रति  नै गद्दारी गरे पनि अभाकियनवादीहरूले कम्युनिस्ट मेनिफेस्टो, पेरिस कम्युनदेखि यताको सम्पूर्ण इतिहासलाई खारेज गरे पनि हामी गर्वका साथ भन्छौँ : पेरिस कम्युनका सिद्धान्तहरू अमर छन् ! हामी कम्युनिस्ट मेनिफेस्टोले निर्माण गरेको आधारभूत वैचारिक जगमा उभिएर पेरिस कम्युन, रूसी अक्टोबर क्रान्ति, चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् दसबर्से नेपाली जनयुद्धबाट ऊर्जा लिएर मालेमाको पक्षमा दृढताका साथ उभिएर नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुमा गौरव गर्छौँ ।  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्यहरूलाई अगाडि राखेर हामी दृढताका साथ भन्छौँ—क्रान्तिलाई दरोसित समातौँ ।

पुच्छरवाद आफ्ना कमीकमजोरी र अकर्मण्यता लुकाउने सबैभन्दा सहज तरिका हो । यो आफूलाई सुरक्षित राखने विश्रामस्थल हो, जहाँ तपाईँ सहजै ‘क्रान्तिकारी’ पनि हुन सक्नुहुन्छ र ‘वस्तुवादी’ पनि । केन्याई मार्क्सवादी लेखक तथा चिन्तक न्गुगी वा थ्योङ्गोले आफ्नो देशका लेखकलाई आह्वान गर्दै भनेका छन् : बाटो यही मात्रै हो कि तपाईँ लेख्नुस् र सबै कुरा ब्यहोर्न जोखिम उठाउनोस् । जोखिम उठाउनबाट बच्न  खोज्नुहुन्छ भने तपाईँलाई आफू लेखक हुँ भन्ने हक छैन ।”  आजको मूल कुरा नै यही हो । प्रश्न मुठभेडको मोर्चामा सामेल हुने हो कि होइन भन्ने हो । यसका लागि हामी सबैभन्दा पहिले आफैँ विरुद्ध, आफ्नैहरू विरुद्ध उभिनुपर्ने हुन्छ । क्रान्तिका दुस्मन समाजमा मात्र होइन, तपाईँहाम्रै दिलदिमागमा पनि छन्, हाम्रै ‘घरपरिवार’ भित्र छन्  । यस सन्दर्भमा हामीले प्रस्टताका साथ ‘उदारवादको विरोध गरौँ’ भन्नैपर्ने हुन्छ र क्रान्तिकारीहरूको आफ्नै स्वतन्त्र धारको विकासका लागि वैचारिक-राजनीतिक र व्यावहारिक सङ्घर्षलाई अघि बढाउनुपर्ने हुन्छ । क्रान्तिकारीताका नाममा हामी टापुका बासिन्दा बन्नुपर्छ भन्ने होइन, तर साझाका नाममा आफ्नो वैचारिक पहिचान नै गुमाएर हामी अँध्यारो सुरुङको यात्री पनि हुन सक्तैनौँ ।

सांस्कृतिक आन्दोलनमा क्रान्तिकारी सांस्कृतिक कर्मीहरूबीच साझा मोर्चा र सहकार्य आजको आवश्यकता हो । परन्तु, विडम्बनाको विषय के छ भने हामीकहाँ साझा मोर्चा त के सहकार्यको संस्कृति पनि विकास हुन सकेन । अलिकति पनि फरक मत राख्नेबित्तिकै अहिँष्णु बन्ने र निषेधात्मक द्वन्द्ववाद लागू गर्ने प्रवृत्ति हाम्रो संस्कृति बनेको छ । रङ खुइलिएकाहरूसित हार्दिकता र विचारले नजिक रहेकाहरूसित दुस्मनीपूर्ण व्यवहार गजबको संस्कृतिबीच हामी छौँ । राजनीतिले हुर्काएको यो रोगबाट तपाईँहामी सबै आक्रान्त छौँ । मार्क्सवादका विरोधीहरू बन्चरो लिएर हामीमाथि प्रहार गरिरहेका छन्, संशोधनवादीहरू ‘साझा’ नामको गाँजामा लट्ठ पारेर हामीलाई कौडा खेलाइरहेका छन् । वर्गसङ्घर्षको लामो इतिहासबाट आर्जित सम्पति गुम्न लागेको स्थिति छ , गुमिसकेको छ भन्दा पनि हुन्छ ।  तर, हामीमा सचेतता पनि छैन, गम्भीरता पनि छैन । हामी अहम्को प्रतिस्पर्धामा रुमलिइरहेका छौँ र मख्ख परेका छौँ—एक्लाएक्लै । त्यसैले साहसका साथ हामीले भन्नैपर्ने हुन्छ—अकर्मण्यतावाद : मूर्दावाद ! ‘क्रान्तिकारी रूपवाद’ :  मूर्दावाद ! नयाँ जनवादी सांस्कृतिक आन्दोलन जिन्दावाद !

समयले हामीलाई कलममा बारुद भर्न आह्वान गरेको छ, तर हामी हाम्रा विरोधीहरूलाई, मार्क्सवादका दुस्मनहरूलाई ‘फूलले प्रहार’ गरिरहेका छौँ । समयले हामीलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेको छ, तर हामी ‘एक्ले वीर’ हुनुमा गर्व गरिरहेका छौँ । कस्तो नमज्जाको अनुभूति  ! साँच्चै हो, बाहिरभन्दा आफैँ विरुद्ध, आफ्नैहरू विरुद्ध लडिने लडाइँ निकै जटिल हुन्छ ।  तर आँधीबेहरीका बीच सङ्घर्ष गरेर नै क्रान्तिकारीहरूले विचार र व्यवहारको अग्रगामीता प्राप्त गर्छन् भन्ने कुरामा चाहिँ हामी प्रस्ट हुनैपर्छ । यसको पहिलो सर्त भनेको आत्मसङ्घर्ष नै हो । हामीले प्रतिबद्धताका साथ घोषणा गर्नैपर्ने हुन्छ : पुच्छरवाद : मुर्दावाद !  मार्क्सवाद-लेनिनवाद- माओवाद जिन्दावाद ! यहाँ माओका भनाइ  प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु : यदि हामी पहाड चढ्ने साहस गर्छौं भने यस धरतीमा गाह्रो भन्ने कुनै कुरा छैन ।
 सत्य यही हो र बाटो पनि यही नै हो । र यसको आरम्भ हामीले पुच्छरवाद विरुद्धको अभियानबाट गर्नुपर्छ ।
 
०००
भिडियो फिचरview all