menu

ताजा समाचार

संसदीय चुनावमा भाग लिने निर्णयले बैद्य समूहमा निरासा,कार्यकर्ताका असन्तुष्टि छताछुल्ल

पार्टीभित्रको वैचारिक-राजनीतिक-साङ्गठनिक तथा कार्यदिशासम्बन्धी समस्याहरूलाई सम्मेलनमार्फत हल गर्ने भनेर यही असोज २१  देखि २५ सम्मका लागि सम्मेलनको मिति तोकेर दस्ताबेजको छलफलमा लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को बिहिबार बसेको बैठकले सोही पार्टीका नेता चन्द्रप्रसाद गजुरेलको नेतृत्वमा रहेको  र निर्वाचन आयोगमा दर्ता भएको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’,  मार्फत आगामी संसदीय चुनावमा  भाग लिने निर्णय गरेको कुरा सो पार्टीसम्बद्ध एउटा अनलाइनले जनाएको छ । साथै यो निर्णयले पार्टीभित्रका कतिपय कार्यकर्ताहरूमा निरासा तथा असन्तुष्टि बढेको कुरा उनीहरूले फेसबुकमार्फत व्यक्त गरेको भनाइबाट अवगत गर्न सकिन्छ ।

जनतासँग प्रत्यक्षरूपले जोडिने, पार्टीको नीति, योजना तथा वैचारिक पक्षलाई जनतासम्म पुर्याउन सहज हुने, सङ्गठनात्मक स्थिति बुझ्न तथा विस्तार गर्न अनुकूल हुने हुँदा स्थानीय निर्वाचनमा सहभागी हुनु सही छ भन्ने निर्णयसहित स्थानीय चुनावमा सहभागी भएको सो समूहको चुनावी परिणाम एकदमै दयनीय थियो र यसले उल्टै कार्यकर्तामा निरासा उत्पन्न  गरेको अवस्था थियो  ।  यस किसिमको स्थितिमा  प्रादेशिक तथा केन्द्रीय  निर्वाचनमा भाग लिनु भनेको  चुनावी परिणाम र वैचारिक पक्ष दुवै दृष्टिले घातक हुने विचार कार्यकर्ताले व्यक्त गर्नथालेका छन् । राष्ट्रिय भेलामा निर्माण गरिएको मोर्चाको आवश्यकतालाई  क्रान्तिका तीन जादुगरी हतियारका रूपमा व्याख्या गरिएको थियो र अहिले त्यसलाई चुनावी मोर्चामा परिणत गरेपछि कार्यकर्तामा आक्रोस उत्पन्न हुनुका साथै अन्य पार्टीहरूसित एकताका लागि  बैद्य समूहले देखाएको सक्रियताप्रति  पनि प्रश्न उठेको छ ।
 
पछिल्ला दिनमा पार्टीगत रूपमा खस्कँदैगएर विसर्जनको स्थितिमा पुगेको स्थिति र एमालेले समेत सहकार्यका लागि अरुचि देखाएपछि  सङ्कटमा परेको मोहनविक्रम समूहसित नेकपा (क्रान्तिकारी माओवादी) को एकताका लागि प्रयास भइरहेको भनेर स्वयं बैद्यले भनिरहेको भए   पनि  अधिकांश कार्यकर्ताहरूले जनयुद्ध र माओवाद विरोधीहरूसित होइन, नेकपा विप्लव समूहसित एकता गर्नुपर्छ भनेर जोड दिइरहेको स्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) को संसदीय चुनावमा भाग लिने निर्णयले नेकपा विप्लव समूहसितको एकताको ढोका बन्द हुनुको साथै पार्टी अन्ततः प्रचण्डकै बाटोमा पुग्ने पो हो कि भन्ने  चिन्ता पनि कतिपय कार्यकर्ताहरूले गरेको पाइन्छ । 

यताका दिनमा नेकपा (क्रान्तिकारी माओवादी) ले नेकपा–विप्लव समूहका कमीकमजोरी औल्याउँदै “आआफ्ना कमी र कमजोरी सच्याएर एकतामा आउन" आह्वान गरेको छ । परन्तु नेकपा–विप्लव समूहका एकजना पोलिटब्युरो नेताका भनाइअनुसार : “एकताको कुरा पनि गर्ने र आन्तरिक रूपबाट विवादका विषयहरू उठाउनुको साटो सार्वजनिक रूपमा उछित्तो खनेर अभिव्यक्ति दिने र संसदीय चुनावमा सहभागी हुने कुराले नेकपा (क्रान्तिकारी माओवादी ) ले एकता होइन, दुरीलाई नै बढाएको छ र सो समूहले गरेको  एकताको चर्चा आफ्ना असन्तुष्ट कार्यकर्तालाई भ्रममा पारेर थुमथुम्याउने मेलो मात्र  हो ।” नेकपा (क्रान्तिकारी माओवादी) को प्रकाशन माओवादी’मा प्रकाशित मोहन बैद्यको लेखप्रति  नेकपा–विप्लव समूहको बढी असन्तुष्टि रहेको देखिन्छ ।

मालेमा , नयाँ जनवादी क्रान्ति, सशस्त्र सङ्घर्ष भन्दै संसदीय चुनावमा भाग लिंदैआएको भारतको विनोद मिश्रको नेतृत्त्वमा रहेको भारतीय कम्युनिस्ट पार्टी  (लिबरेसन) लगायतका गुटहरूको अस्तित्त्वसङ्कटको  स्थिति र नेपालमा मोहन विक्रम समूहको विसर्जनको  स्थिति आँखासामु हुँदा पनि बैद्य समूहले अनेक तर्क वितर्कका साथ संसदीय चुनावमा भाग लिनुलाई सो समूहका कार्यकर्ताहरू मात्र नभई त्यसप्रति सकारात्मक भाव राख्ने, त्यसले सही दिशा अँगालोस् र अघि बढोस् भन्ने चाहना राख्ने शुभचिन्तकहरूलाई पनि  निरास तुल्याउनु स्वाभाविक छ ।
 
यसैबीच संसदीय चुनावमा भाग लिने निर्णयसँगै चुनावमा नै  जाने हो भने प्रचण्डको पार्टीमा  किन नजाने भनेर एक थरी कार्यकर्ताहरूले प्रचण्ड समूहसित सम्पर्क बढाउन थालेको र कतिपयले चाहिँ विप्लव समूहसित सम्पर्क बढाउन थालेको कुरा पनि चर्चाको विषय बनेको  छ । कतिपयले चाहिँ आगामी सम्मेलनमा संसदीय चुनावमा भाग लिने निर्णय उल्टाउनुपर्छ  भन्ने गरेको पनि पाइन्छ ।

जे होस् , वर्तमान संविधानलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वीकारेर संसदीय चुनावमा भाग लिने र यो संविधान र यसअन्तर्गत हुने सबै खाले चुनावलाई खारेज गर्ने कित्तामा नेपालको वामपन्थी राजनीति कित्ताबद्ध भएर विस्तारै ध्रुवीकृत हुनथालेको संकेत चाहिं  समयले  गरेको  छ ।

भिडियो फिचरview all