menu

ताजा समाचार

माओवादीहरूको एकतासम्बन्धी पछिल्लो स्थिति

यतिखेर विभिन्न सञ्चारमाध्यमहरू त्यसमा पनि बैद्य समूह तथा विप्लव समूह भनेर बढी चिनिने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका माध्यमहरूमा दुई समूहबीचको एकताको सन्दर्भले निकै ठाउँ पाउने गरेको छ । बैद्य तथा विप्लव दुवैले आफूहरूबीच एकता हुन सक्ने सम्भावनाका अभिव्यक्तिहरू प्रकट गरेको पाइन्छ । अझ यो सन्दर्भलाई बैद्य समूहले बढी महत्त्व दिएको देखिन्छ । मुलुकमा बढ्दो फासिवादी व्यवहार तथा साम्राज्यवाद र विस्तारवादको बढ्दो हस्तक्षेपका कारण विचार र मुद्दा मिल्नेहरूसित सहकार्य तथा एकताका आधार खोज्नु आवश्यक छ र यसमा खास व्यक्ति तथा खास सङ्गठनले अगुवाइ गर्छ भने त्यसलाई सकारात्मक रूपमा लिएर सो प्रयासलाई सफल तुल्याउन आआफ्नो स्थानबाट सहयोग पुर्याउनु  सही कदम ठहर्छ ।

राष्ट्रिय स्वाधीनता तथा जनजीविकाका सन्दर्भको आयाम व्यापक हुने हुँदा यसमा बढीभन्दा बढी समेटिन सक्ने तथा समेट्ने प्रयास हुन्छ र गर्नुपर्छ, तर पार्टी एकता फरक कामकुरा हो । यो हतारोमा तथा आवेगमा आएर अथवा खास व्यक्तिको स्वार्थमा आधारित भएर गर्ने कार्य होइन । यसका लागि पहिलो र प्रधान पक्ष वैचारिक तथा राजनीतिक प्रस्टता हो ।  यसमा इतिहासबाट पनि शिक्षा लिनु आवश्यक हुन्छ ।
 
सरसरती हेर्दा ‘माओवादीहरू’ एक हुने कुरा उठ्छन् । प्रचण्डको नेतृत्वमा रहेको माकेले राष्ट्रिय आत्मसमर्पणवादसहितको प्रतिक्रियावादीकरणको कोर्स पूरा गरिसकेको कारण उसित पार्टी एकताको के कुरै छाडौं, तत्काल कुनै पनि क्षेत्रमा सहकार्य हुने सम्भावना देखिँदैन । यस्तो अवस्थामा सहकार्यको प्राथमिकता तथा पार्टी एकताको कुरा आउँदा मोहन बैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र नेत्रविक्रमले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी अगाडि आउनु स्वावाभाविक हुन्छ ।

फूट र विभाजनका थुप्रै शृङ्ला पार गरेको नेकपा (क्रान्तिकारी माओवादी ) आफ्नो राष्ट्रिय सम्मेलनमा जुटेको छ । अहिले सम्मेलनसम्बन्धी दस्ताबेज पनि चर्चाको विषय बनेको स्थिति छ । क्रान्तिकारी कार्यदिशा तय गरेर व्यवहारमा अघि बढ्न आम कायकर्ता तथा शुभचिन्तकहरूबाट दबाब आइरहेको अवस्थामा सो पार्टीभित्रकै एक थरीले पार्टीलाई पछाडि फर्काउन गरेको प्रयासको सन्दर्भ पनि अहिले चर्चाको विषय बनेको छ ।  यस्तो अवस्थामा सो पार्टीले सम्मेलनअघि सापेक्षित मात्रामा रहेका क्रान्तिकारीहरूसित एकताको आह्वान गर्नु तथा यसका लागि आधारहरू निर्माणको थालनी गर्नुलाई सही  र सान्दर्भिक निर्णय भन्नुपर्छ । बैद्य समूहले  आफ्नो सम्मेलनको दस्ताबेजमा “विभिन्न रूपमा छितरिएर रहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई ध्रुवीकृत तथा एकताबद्ध तुल्याउने” भनेको छ । यसलाई  समयको आवश्यकताको रूपमा लिन सकिन्छ । को हुन सच्चा कम्युनिस्टहरू भन्ने कुरामा बहस हुन सक्छ तापनि यो आह्वानलाई प्रयासको थालनीको आधारका रूपमा लिएर स्वागत गर्नु सही बुझाइ हुन्छ । 

बैद्य समूह र विप्लव समूहबीचको सह कार्य तथा एकताको सन्दर्भ अहिलेको तातो चर्चाको सन्दर्भ हो र बैद्य समूहले यसलाई  पहिलो प्राथमिकतामा  राखेको कुरा सो समूहको आधिकारिक प्रकाशन माओवादी  ( १२ : २०७४ भाद्र, पृ.७–१५) मा प्रकाशित पार्टी अध्यक्ष कमरेड किरणको आलेख ‘नेकपा-विप्लव समूह : एक सङ्क्षिप्त अध्ययन’ बाट अवगत गर्न सकिन्छ ।

यसमा उठाइएका कुरा नयाँ होइनन् । विप्लव समूहले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेदेखि सो समूहका दस्ताबेजहरू र उसका गतिविधिलाई लिएर क्रान्तिकारी मार्क्सवादीहरूले उठाउँदै आएका कुरा हुन् । अहिले नेकपा (क्रान्तिकारी माआवादी) ले यसलाई  समयसन्दर्भसित जोडेर व्यवस्थित किसिमले प्रकाशमा ल्याएको छ । विप्लव समूहप्रति  हिजो नेकपा (क्रान्तिकारी माआवादी) व्यक्त गरेका धारणा यथावत रहेको भन्दै लेखको पृष्ठभूमिको सन्दर्भलाई यसरी प्रस्तुत गरिएको छ :

“सो समूहको बहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको प्रथम राष्ट्रिय भेलामा पारित राजनीतिक प्रतिवेदनमा भनिएको थियो ‘हामीले विप्लव समूहमा देखापरेका चिन्तन तथा प्रवृत्तिलाई वामरुपमा अभिव्यक्त दक्षिणपन्थी विचलनका रूपमा नामाङ्कन गर्नुपर्दछ ।’ (नेकपा-माओवादीका दस्ताबेजहरू पृ. २२, आन्तरिक प्रकशन विभाग, २०७१ माघ) । सो प्रस्तावमा विप्लव समूह दर्शनको क्षेत्रमा निषेधात्मक द्वन्द्ववाद, अनुभववाद तथा सारसङ्ग्रहवादको भासमा फँसेको, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा त्यसले मजदुर किसान वर्गको भूमिकालाई गौण स्थानमा राखी मध्यम वर्गको भूमिकामाथि विशेष जोड दिएको एवम् त्यसमा साम्राज्यवाद–विस्तारवाद परस्तताका लक्षणहरू देखिएको र समाजवादको क्षेत्रमा त्यसले अराजकतावादी व्यक्तिवाद तथा पश्चगामी शक्तिसितको सत्तासाझेदारी आदि मान्यता अँगालेको भनेर उल्लेख गरिएको थियो ।”


अहिले विप्लव समूहको आठौँ महाधिवेशनका दस्ताबेजको अध्ययन गरेर बैद्य समूहले विप्लव समूहका  सबल तथा दुर्बल पक्षहरूको सारसङ्क्षेप तयार पारेको छ । आलेखमा नकारात्मक तथा सकारात्मक पक्ष नभनेर पदावलीको चयनमा पनि ध्यान दिइएको देखिन्छ । विषयवस्तुलाई ‘विषयप्रवेश’, ‘अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सन्दर्भ’. ‘दर्शनसम्बन्धी प्रश्न, ‘उत्तर–साम्राज्यवाद सम्बन्धी प्रश्न’, ‘कार्यदिशा, नीति र कार्यक्रम’, ‘सबल तथा दुर्बल पक्ष’ र ‘निष्कर्ष’ उपशीर्षकमा प्रस्ट पारिएको छ । विप्लव समूहका कमजोर पक्षलाई यसरी संश्लेषण गरिएको छ :

“मार्क्सद्वारा प्रस्तुत विश्वलाई बदल्नु मुख्य काम हो भन्ने मान्यतालाई संशोधन गर्नु, विपरीतहरूको एकत्वको नियमलाई पार्टी भित्रीजीवनमा लागु हुँदैन भन्नु, लेनिनद्वारा परिभाषित साम्राज्यवाद सम्बन्धी विश्लेषणलाई पुरानो भयो भनेर परित्याग गर्नु तथा उत्तर-साम्राज्यवाद पदलाई स्वीकार्नु, स्तालिनको अतिमा गएर मूल्याङ्कन गर्नु तथा माओको अत्यन्तै न्यूनीकरण गर्नु, कार्यदिशा, नीति तथा कार्यक्रममा सारसङ्ग्रहवादको सहारा लिनु र नयाँ बन्ने धुनमा मार्क्स , लेनिन तथा माओ समयसन्दर्भबाट टाढिए भन्दैजानु –विप्लव समूहका मूल विशेषता बन्नगएका छन् ।

लामो समयदेखि विप्लव समूहले सत्तासाझेदारीका कुरा गर्दैआएको थियो र अहिले पनि यदाकदा त्यसको चर्चा सुनिन्छ । वास्तविकता के हो, त्यसवारे विप्लव समूहले स्पष्ट पारेको देखिँदैन । यी सबै कुरामाथि गहिरिएर ध्यानदिँदा के अड्कल काट्न सकिन्छ भने यस समूहले मार्क्सवाद-लेनिनवाद-माओवादलाई परित्याग गरी उत्तर मार्क्सवादको बाटो पकड्ने सम्भावना छ । तर, त्यसो हुन नपाओस्, विप्लव समूह स्वयम् सचेत एवम् सतर्क रहन जरुरी छ ।

यसरी समग्रमा हेर्दा यस समूहमा सबल पक्ष कमजोर र दुर्बल पक्ष बलवान बन्दैगएका देखिन्छन् । हिजो हामीले यस समूहलाई रूपमा वाम र सारमा दक्षिणपन्थी विचलनमा फँसेको भनेर मूल्याङ्कन गरेका थियौँ । अहिले यस समूहले आफ्नो यात्रालाई रूप र सार दुवै दृष्टिले दक्षिणपन्थी विचलनवादतर्फ अत्यन्तै तीव्रता प्रदान गर्दैगइरहेको देखापर्दछ ।”


आलेखमा विप्लव समूहमा सबल पक्षभन्दा दुर्बल पक्षको आधिक्य भएको र सो समूहले दुर्बल पक्ष सच्याएर र एकताबद्ध भएर अघि बढ्ने वातावरण बनाओस् भन्ने कामनाका साथै ठोस सुझाव पनि दिइएको छ । ‘निष्कर्ष’ मा सो आलेखमा भनिएको छ :

“सबैभन्दा पहिलो कुरा त आज साम्राज्यवादी तथा विभिन्न खाले प्रतिकृयावादी शक्तिहरूद्वारा सर्वहारा वर्गसहित सम्पूर्ण उत्पीडित जनसमुदाय तथा देशमाथि शोषण, उत्पीडन तथा दमनका प्रक्रियालाई तीव्रता दिने काम हुँदैआएको छ । यसैगरी अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि दक्षिणपन्थी अवसरवाद निकै प्रभावी बन्दैगएको छ । यस प्रकारको स्थितिमा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउनु एक ऐतिहासिक आवश्यकता बन्नगएको छ ।

दोस्रो, समग्र कम्युनिस्ट आन्दोलन र क्रान्तिको हितमाथि विशेष ध्यान दिँदै नेकपाप्रति हामीले भौतिकवादी द्वन्द्ववादी ढङ्गले सोच्नु पर्दछ । तदनुरूप एकातिर त्यस समूहमा विद्यमान दुर्बल पक्षहरूको विरोधमा वैचारिक सङ्घर्ष चलाउनु पर्दछ भने अर्कोतिर सबल पक्षहरूलाई सकारात्मक ढङ्गले ग्रहण गर्दै त्यससित एकताका सम्भावना तथा आधार पनि खोज्दै जानुपर्दछ ।

अन्ततः, नेकपामा रहेका नेतृत्वसहितका सम्पूर्ण कमरेडहरूले यो बेला आफूमा विद्यमान दुर्बल पक्षका विरुद्ध सङ्घर्ष गर्ने तथा तिनलाई हटाउने र सबल पक्षलाई अझै विकसित तुलयाउँदै जानेतर्फ विशेष प्रयत्न गर्नुपर्दछ । इतिहासले कसैसित पनि लामो प्रतीक्षा गर्न जान्दैन । अब हामीले देश, जनता, क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद तथा मार्क्सवाद-लेनिनवाद-माओवादलाई विशेष रूपमा मनन गर्दै र आ-आफ्ना कमी तथा कमजोरीलाई सच्याई क्रान्तिकारी ढङ्गले रूपान्तरित हुँदै एकताबद्ध बन्ने दिशामा गम्भीरतापूर्वक सोच्न र ठोस पाइला चाल्न नितान्त जरुरी छ ।”


 यो निकै सकारात्मक पक्ष हो । यहाँ आत्मालोचनाको स्पिरिटसहित एकताको भाव प्रधान बनेको छ । “ अब हामीले देश, जनता, क्रान्ति, सर्वहारा अन्तर्राष्ट्रियतावाद तथा मार्क्सवाद-लेनिनवाद-माओवादलाई विशेष रूपमा मनन गर्दै र आ-आफ्ना कमी तथा कमजोरीलाई सच्याई क्रान्तिकारी ढङ्गले रूपान्तरित हुँदै एकताबद्ध बन्ने दिशामा गम्भीरतापूर्वक सोच्न र ठोस पाइला चाल्न नितान्त जरुरी छ ।” भनेर जसरी भनिएको छ यो निकै महत्वपूर्ण, वस्तुवादी र क्रान्तिकारी उद्देश्य र स्पिरिटपूर्ण भनाइ हो । द्वन्द्वात्मक भौतिकवादको जगमा उभिएर क्रान्तिकारी मूल्यका साथ माथिको भनाइको स्वागत गर्नु आवश्यक छ । “आ-आफ्ना कमी तथा कमजोरीलाई सच्याई क्रान्तिकारी ढङ्गले रूपान्तरित हुँदै” भन्ने भनाइ निकै अर्थपूर्ण र सारगर्भित छ ।  यही नै “छितरिएर रहेका समूह तथा व्यक्तिहरू” समेटिनका लागि एउटा आधारबिन्दु  बन्न सक्छ । यो जिम्मेवारीबोधका साथ आएको अभिव्यक्ति हो भने व्यवहारमा यसको परिणामको खोजी गर्नु स्वाभाविक हुन्छ ।

विप्लव समूहले “आ-आफ्ना कमी तथा कमजोरीलाई सच्याई क्रान्तिकारी ढङ्गले रूपान्तरित हुँदै”भन्ने भनाइलाई कसरी हेर्छ तथा बुझ्छ, यसका लागि पर्खिनुपर्ने हुन्छ । विप्लब समूह नेपाली क्रान्तिप्रति साँच्चिकै इमान्दार रहेको छ भने  उत्तेजना, आवेग र आक्रोस र व्यक्तिकेन्द्रित भएर होइन, तर्क, विवेक र आवश्यकता आधारमा निर्णय गर्न समयले उसलाई आव्हान गरेको छ । यो मालेमाका पक्षधर सबैले गम्भीरतापूर्वक सोच्ने विषय हो ।  हामीलाई लाग्छ, समयले क्रान्तिकारी  माओवादीहरूका सामु  अवसर र चुनौती दुवै उभ्याएको छ ।

जनमेल डेस्क
०००




भिडियो फिचरview all