menu

ताजा समाचार

नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले सेप्टेम्बर ९देखि ११ अर्थात् यही भदौ २४/२५ मा ‘भारतीय समाजमा नक्सलबाडी आन्दोलनले पारेको प्रभाव र चुनौतीहरू’ शीर्षकमा एउटा विचारगोष्ठीको आयोजना गरेको छ । हैदरावादमा हुनलागेको सो कार्यक्रममा प्रोफेसर अमित भट्टाचार्य, प्रो. हरगोपाल, वेणुगोपल, कल्याण राव, आनन्द तेल्तुम्ड़े, कन्चनकुमार, सुखबिन्दर, सीमा आजाद लगायतका व्यक्तित्त्वहरूले २५ ओटा कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । यहाँ सोही सन्दर्भमा 'विरसम' ले जारी गरेको अपिलको अनुवाद प्रस्तुत गरिएको छ ।)
..................................................................................................

'भारतीय समाजमा नक्सलबाडी आन्दोलनले पारेको प्रभाव र चुनौतीहरू' बारे सेमिनार: विरसम

वसन्तका झैँ क्रान्ति फुल्यो र बसन्ते गर्जनझैँ सशस्त्र सङ्घर्ष आरम्भ भयो ।  पचास वर्षअघिको त्यो बसन्ते गर्जन, वास्तवमा आजका पुस्ताका लागि अचम्म लाग्दो नै छ । जनताको इतिहासमा वसन्त आएझैँ कति काव्यात्मक थियो नक्सलबाडी आन्दोलनको आगमन ? त्यतिबेलाको चिनियाँ कम्युनिस्ट पार्टीले यसलाई भारतीय क्रान्तिको आकासमा बसन्ते गर्जन भनेर उल्लेख गरेको थियो ।  सबैले मुलुकको दुर्गम क्षेत्रमा रहेका पहाडका आदिवासीहरूले वसन्तको मौसममा विद्रोहका लागि हतियार उठाएको सामान्य घटनाका रूपमा यसलाई बुझेका थिए । नक्सलबाडी आन्दोलन धरतीको तहबाट उठेको हतियारबद्ध आन्दोलनको व्यवहारिक थालनी मात्र थिएन, बरु एउटा महान् भावनात्मक शक्ति पनि थियो । यसैकारण यसले जङ्गलमा मात्रै वसन्त ल्याएन, यसले हामीहरूमाझ कल्पनाशिलता, सपना, धैर्य, बुद्धि र सिर्जनशीलता पनि ल्यायो ।

 क्रान्ति साँच्चिकै एउटा भव्य विचार हो । यो महान् आत्मविश्वासले भरिएको हुन्छ । यो यस्तो महान् सपना हो, जसमा टाउको छिनालिए पनि आँखामा त्यो सपना बाँचिरहेको हुन्छ । त्यसैले नक्सलबाडी आन्दोलनको आरम्भपछि विचार, दृढता र उद्देश्यहरू सबै कुरामा नवीनता थियो  । नक्सलबाडीले जनतालाई कसरी इतिहासको निर्माण गर्ने भन्ने कुराको नयाँ बाटोको दिशाबोध गरायो । भविष्यको सपना देखिरहेका कविहरूलाई साहित्यिका माध्यमबाट अघि बढ्ने रक्तिम बाटो देखायो । जनताको राजनीतिक निर्णयका साथ आरम्भ भएको क्रान्तिको वसन्तले हजारौँ सहिदको रगतबाट जुझारु शक्तिको निर्माण गर्यो । अहिले त्यही वसन्तको सुवास दण्डकारण्यलगायत मुलुकको समग्र क्षेत्र, त्यसमा पनि आदिवासी भूमिमा फैलिएको छ ।

कस्तो सिर्जनशील यथार्थ हो यो ? जस्तोसुकै हर्ष र पीडाको स्थिति किन नहोस्, सुन्दर भविष्यका लागि जनता किन यसरी आफ्नो  टाउको गुमाउन तत्पर छन् ?  के यो हृदयको गहिराइबाट प्रस्फुटित भएको ऐतिहासिक सच्चाइ होइन र ? पचास वर्ष । इतिहास यी वर्षहरूमा कतिवटा परीक्षणबाट गुज्रियो ? भित्र र बाहिर थुप्रै सङ्कटहरू, थुप्रै आँसुका भेलहरू—तर पनि नक्सलबाडीले सबै कुरा सह्यो र जाग्रत भइरह्यो ।  कतिपयले भन्नेगरेका छन् : “सबै कुरा समाप्त भयो”, “अब केही पनि हुँदैन”, “क्रान्तिकारी गितिविधि भन्ने कुरा अब पुरानो भइसक्यो”,  "एउटा दियो मात्रै छ”, आदि आदि । तर नक्सलबाडी एउटा ऐतिहासिक शक्ति हो, जसले सबै यस्ता गफाडीहरूका टिप्पणी र निष्कर्षहरूलाई रछ्यानमा फ्यालिदिएको छ  ।  आफ्नो ५० वर्षे यात्रामा यसले यस्ता थोत्रा गफहरूलाई अर्थहीन साबित गरिदिएको छ  । लामो समयदेखि यसले विभिन्न किसिमका लडाइँहरूलाई झेल्दै आइरहेको छ । वास्तवमा नक्सलबाडी  आन्दोलनको समयभन्दा अहिले यसले आर्जन गरेको प्रतिरोधात्मक शक्ति अझ मजबुत छ । नक्सलबाडी निरन्तर आफ्नो विजयको यात्रामा छ भन्ने कुरा पहिले नै साबित भइसकेको छ । यसका गतिविधिहरू, योसित रहेको जनसमर्थनको ऊर्जाका साथै, शक्तिशाली विचारधाराले यसको शक्ति र सामथ्र्यलाई प्रस्तुत गरिरहेको छ ।
सबै संसद्वादी पार्टीहरू, ती सबै शक्तिहरू जो भोटलाई विजयका लागि आधार मान्दछन्,  र ती सबैहरू,  जो सामाजिक मुक्ति हासिल गर्न ब्यालेटको समीकरण र उपयोगमा जोड दिन्छन्, एउटा कित्तामा छन्, र   नक्सलबाडी मात्र विपल्पमा अर्को कित्तामा उभिएको  छ । सबैभन्दा सचेत मानवीय सम्बन्धसित सम्बद्ध वैकल्पिक विचार र राज्यव्यवस्था सञ्चालन गर्न आवश्यक वस्तुगत विधि र नियमहरू माओवादी विचार र दृष्टिकोणमा मात्र विद्यमान छ । यिनलाई सम्भव भएसम्म जहाँ पनि व्यवहारमा लागु गर्न सकिन्छ ।

५० वर्षमा नक्सलबाडी आन्दोलनले के गर्यो र भनेर प्रश्न गर्नेहरू पनि छन् । अवश्य, यस किसिमको प्रश्न सोधिनु आवश्यक छ । तर प्रश्न पूर्वाग्रह र हियाउने किसिमले नभएर जनताको दृष्किोणबाट सोधिनु आवश्यक छ । विद्रोहको एउटा सानो झिल्कोबाट आरम्भ भएर नक्सलबाडी सबै क्षेत्र, सबै तह र तप्कामा विकल्पका रूपमा विकसित भयो र शक्तिशाली बन्दैगयो र गइरहेको छ । यो नै नक्सलबाडीको उपलब्धि हो ।
यसै भएर नै यसको उपस्थितिको ५०औँ वार्षिकोत्सव मनाउन लागिरहेका छौँ । के यत्ति मात्रै हो त ?  अहँ, नक्सलबाडीको प्रभाव र उपलब्धि मात्रै छैन, योसित थुप्रै चुनौतीहरू पनि छन् । नक्सलबाडीलाई समाज बदल्ने कुरा र वर्षौँदेखि समाजमा जरा गाडेर बसेको सामाजिक तथा सांस्कृतिक पक्षको स्थानमा नयाँ निर्माण गर्ने काम कति जटिल र अप्ठ्यारो छ भन्ने कुरा थाहा छ, यसको अर्थ नक्सलबाडी आन्दोलन आफ्ना दुस्मनहरूलाई राम्रोसित जान्दछ भन्ने हो । यति मात्र नभएर, आज उसले नजानेका कतिपय कुरालाई पनि जान्दैजान्छ, भोलिको बारेमा पनि जान्दछ । यो नक्सलबाडी आन्दोलनको राजनीतिक  विशेषता हो ।

 ‘विप्लव रचयियातला सङ्गम’ (विरसम : रिभोलुस्नरी राइटर्स एसोसिएसन)  पनि यो कुरा जान्दछ । विरसमलाई नक्सलबाडीको स्थिति, यसको विकास, यसले खानुपरेको धक्का, यसका चुनौतीहरू र योसित जोडिएका बहसहरू सबै कुरा थाहा छ । विरसमले नक्सलबाडी आन्दोलन यो भूमिमा कसरी क्रान्तिकारी शक्तिका रूपमा अघि बढिरहेको छ भन्ने कुरालाई व्याख्या गरिरहेको छ, जानकारी गराइरहेको छ,  यसको वैचारिकीकरण गरिरहेको छ । वास्तवमा नक्सलबाडीबाट प्रेरणा लिएर विरसमले आफ्नो सिर्जनात्मक  क्षमताको अभिवृद्धि गरिरहेको छ ।

 यसले नक्सलबाडीलाई कलाको उच्च रूपमा पुनर्सिजन गर्ने प्रयास गरिरहेको छ । साँच्चै हो, नक्सलबाडी आफैँसित महान् कलात्मक ऊर्जा छ । नक्सलबाडी आन्दोलनको पक्षमा उभिनु भनेको आफैंमा एउटा महान् कलात्मक अनुभव हो । यसै अर्थमा सबै क्रान्तिकारी लेखनले क्रान्तिकारी भावावेगलाई उच्च बुझाइ र दृष्टिकोणका साथ प्रकाशमा ल्याउँछन् । अनि विरसमले नक्लसबाडी आन्दोलनको पचासौँ वार्षिकोत्सवको यो ऐतिहासिक अवसरमा त्यो उदात्तता र दृष्टिकोणलाई कसरी प्रकट नगरी  रहन सक्ला र  ? यो सेमिनार त्यही प्रस्तुतिको एउटा अंश हो । यो सेमिनार नक्सलबाडी आन्दोलनले पारेको प्रभाव र उपलब्धिको जानकारी दिन र नक्सलबाडी आन्दोलनले सामना गर्नुपरेका चुनोतीबारे निर्भीकतापूर्वक छलफल गर्न आयोजना गरिएको हो । कृपया पया यसमा सहभागी बनौँ ।

क्रान्तिकारी लेखक सङ्घ यो सेमिनारमा सहभागी हुन तपाईँहरू सबैलाई आमन्त्रण गर्दछ ।

अनु : जनमेल


भिडियो फिचरview all