menu

ताजा समाचार

देउवाको राष्ट्रघाती चरित्रको चौतर्फी भत्र्सना

मुलुक बाढीपहिरो र अन्य थुप्रै समस्याले जेलिएको र दोक्लाम विवादले छिमेकीहरूबीच पनि सम्बन्ध सुमधुर नभएको अवस्थामा भारत भ्रमणमा जानु उचित नहुने भनेर देशभित्र उठेको आवाजलाई लत्याउँदै भारत भ्रमणमा जाने निधो गरेका शेरबहादुर देउवालाई भ्रमणअघि राष्ट्रलाई अप्ठेरो पर्ने र  मुलुकको सार्वभौम सत्ता तथा गरिमामा आँच आउने कुनै पनि किसिमको सहमति तथा सम्झौता नगर्न विभिन्न वाम समूहहरू, बौद्धिक समुदाय तथा सचेत नागरिकले खबरदारी गरेका थिए । परन्तु, ठीक उल्टो  मुलुको गरिमामा आँच आउने र शीर निहुरिने खालको  व्यवहार देखाएर र मुलुकको हितविपरीत सम्झौता  गरेर देउवाले आफ्नो राष्ट्रघाती-जनघाती चरित्र सबैका सामु प्रस्तुत गरेका छन्  ।  नेपाली काङ्ग्रेस भनेको भारतीय विस्तारवादको दलाल रास्ट्रघाती पार्टी हो र यसका नेताहरूको काम नेपालको भन्दा भारतको हितमा समर्पित हुनु हो भन्ने कुरालाई अन्ततः शेरबहादुर देउवाले पनि प्रमाणित गरेका छन् ।

यो भन्दाअघिको भ्रमणमा २५ बुँदे सहमति गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको भूमिकालाई भारतीय दूतावासको हैसियतमा पुर्याएका थिए र अन्तर्राष्ट्रिय मामिलामा नेपाललाई भारतीय विस्तारवादको छातामुनि राख्न लम्पसार परेका थिए । पुष्पकमल दाहालका झैं देउवाले पनि  संविधान संशोधनका सम्बन्धमा सार्वजनिक रूपमा  जसरी मोदीका सामु प्रभुभक्ति देखाए, यसबाट नेपालको सार्वभौम सत्ताको खिल्ली उड्नुका साथै नेपालीको शीर निहुरिएको स्थिति उत्पन्न भएको छ । देउबाको अभिव्यक्ति र स्थिति मालिकका सामु गल्ती गर्ने नोकरले माफी मागेसरहको देखियो । मुलुकको शीर निहुरिने यस किसिमको कार्यको चोतर्फी निन्दा र भत्र्सना हुनु स्वाभाविक थियो र भयो पनि ।
आफ्नु इच्छाअनुसार नेपाल नचलेको भनेर नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने र नेपालको सार्वभौम सत्तामाथि धावा बोल्ने भारतीय विस्तारवादलाई ‘राष्ट्रसङ्घीय सुरक्षा परिषद्’ को सदस्यमा समर्थन गर्ने समझदारी गरेर देउवाले दलालीको अर्को उदाहरण प्रस्तुत गरेका छन् । यो नेपाली जनतामाथिको अर्को अपराध हो ।

त्यसैगरी नेपालका लागि असान्दर्भिक देखिएको र भारतमै पनि तीव्र विरोध गरिएको पञ्चेश्वरको डिपिआरको सन्दर्भमा पनि देउवा आलोचित भए ।  नेपालको पूर्वी तराईलाई मात्र नभएर पहाडी क्षेत्रलाई समेत पनि बाढीपहिरो र डुबानमा पार्ने  ‘कोशी उच्च बाँध’ का सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेर उनले राष्ट्रघातको अर्को अपराध गरेका छन् । भारतले धेरै पहिलेदेखि दबाब दिँदै आएको र उसको चाँजोपाँजोमा सरकार बनाउने सन्दर्भमा हरेकपल्ट सर्तमा राख्ने गरेको ‘कोसी उच्च बाँध’ को सन्दर्भले जनदबाबका कारण हस्ताक्षरको स्तर प्राप्त गर्न सकेको स्थिति थिएन । शेरबहादुर देउवाको मालिक रिझाउने दलाली र आत्मसमर्पणवादी प्रवृत्तिका कारण अहिले भारत यसमा पनि सफल भएको छ । यो भारतका लागि निकै ठूलो सफलता हो र नेपालका लागि राष्ट्रघातको अर्को शृङ्खला हो ।

भरतीय सत्ताधारीहरूका सामु शेरबहादुर देउवाले देखाएको लाजमर्दो व्यवहार र राष्ट्रघाती चरित्रलाई लिएर नेपालका वाम समूहरूका साथै सचेत नेपाली जनता तथा बौद्धिक समुदायले तीव्र निन्दा तथा भत्र्सना  गरेका छन् ।


भिडियो फिचरview all