menu

ताजा समाचार

कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा २३  वर्षअघि फासिवादी काङ्ग्रेसी सरकाकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  आजकै दिन भदौ २ गते धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो  । यस घडीमा हामी सबैभन्दा पहिले नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी अगुवाको भूमिका खेल्नुहुने कमरेड रामवृक्ष यादवप्रति क्रान्तिकारी श्रद्धान्जली अर्पण गर्दछौं ।

महान् दसबर्से जनयुद्धको तयारीको अगुवाइ गर्ने कमरेडहरूमध्येका एक कमरेड रामवृक्ष यादवप्रति हामीले जेजति सम्झना र सम्मान गर्नुपर्ने थियो, त्यसो गर्न सकेका छैनौं  । आफ्नो व्यक्तिगत स्वार्थका लागि तराईका जनता र बलिदानको  चिप्ला कुरा गर्ने,  तर बलिदानको सम्मान गर्नुपर्ने र मूल्यबोध गर्नुपर्ने बेलामा परिवारवाद र उपभोक्तावादमा फसेका पार्टी  र नेताहरूका लागि रामवृक्ष यादव अब सन्दर्भहीन बन्न पुग्नु कुनै आश्चर्यको विषय भएन । त्यसमा पनि  रामवृक्षका  हत्याराहरूसित घाँटी जोडेर राष्ट्रघात र जनघातको मतियार बनेका प्रचण्ड र उनको समूहका लागि कमरेड रामवृक्ष असान्दर्भिक बन्नु अनौठो कुरा भएन ।  तर राष्ट्रिय स्वाधीनता र जनतन्त्रका  पक्षमा लडिरहेका समग्र नेपाली जनताले आफ्नो अन्तिम लक्ष्य प्राप्त नगरुन्जेलसम्म वहाँलाई सम्झिरहनेछन् । हाम्रा सामु वहाँ सदैव  वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनु हुनेछ । वहाँ खास क्षेत्र वा समुदायका मात्र नेता नभई, मुक्तिका लागि लडिरहेका समग्र नेपालीका अगुवा नेता हुनुहुन्थ्यो । त्यसैले उहाँको  सम्झना गर्नु भनेको क्रान्तिप्रति प्रतिबद्धता जनाउनु हो, बलिदानको नयाँ बाटोमा अघि बढ्न तमतयार हुनु हो ।

यस घडीमा ढाँट-छल र अनेक परिपञ्चद्वारा नेपाली जनतालाई धोका दिने र महान् जनयुद्धका महान्  सहिदहरूको रगतसित खेलवाड गर्ने सबै प्रकारका अवसरवाद र पलायनवादका विरुद्ध जुध्न र  मार्क्सवाद- लेनिनवाद-माओवादद्वारा पथप्रदर्शित  नयाँ  जनवादी क्रान्तिको पक्षमा दृढताका साथ उभिन समग्र क्रान्तिकारी कमरेडहरू तथा जनसमुदायसित हामी हार्दिक अपिल गर्दछौं । कमरेड  रामवृक्ष यादवको वर्गचेत, भविष्यदृष्टि, समर्पणभाव र  बलिदानी मूल्यलाई आत्मसात गरेर अकर्मण्यतावाद, सारसङ्ग्रहवाद,  विसर्जनवाद लगायत सबै खाले अवसरवादका विरुद्ध नलडी माओवादी आन्दोलनलाई नयाँ किसिमले अघि बढाउन सकिँदैन ।
 
एकातिर राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न जटिल बन्दै जानु र अर्कोतिर नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरूबीच ध्रुवीकरण बढदै जानुले क्रान्तिकारी शक्तिहरूका सामु  नयाँ चुनौती उभिएको यथार्थप्रति  क्रान्तिका पक्षधरहरू  प्रस्ट हुनु आवश्यक छ । यस  यथार्थलाई आत्मसात गरी मार्क्सवाद- लेनिनवाद-माओवादप्रति प्रतिबद्ध नयाँ जनवादी क्रान्तिका पक्षधरहरू आआफ्ना कमीकमजोरी स्वीकार्दै र इतिहासको वैज्ञानिक समीक्षा गर्दै नयाँ  किसिमले  एकताबद्ध हुनु अहिलेको आश्यकता हो । अब मार्क्सवाद- लेनिनवाद-माओवाद र  नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीच व्यापक एकता निर्माण गर्दै नेपाली विशेषताको  जनयुद्धको दिशामा अघि बढ्नुको विकल्प छैन । यसैमा  नै कमरेड रामवृक्ष यादवको बलिदानी मूल्यलाई आत्मसात गर्नुको सार्थकता निहित छ ।

संयोजक
(कम्युनिस्ट न्युक्लिअस, नेपाल) 


 भदौ२, २०७४

भिडियो फिचरview all