menu

ताजा समाचार

विप्लव समूहका केन्द्रीय सदस्य 'जीवन' र बाँके इन्चार्ज 'संगम' द्वारा पार्टी परित्याग

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको ‘नेपाल कम्युनिस्ट पार्टी’ का केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ ले एक विज्ञप्ति जारी गरी  सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  करिब तीन वर्षअघि मोहन बैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी-माओवादीबाट सम्बन्ध विच्छेद गरेर नाम फेर्दै महाधिवेशनपछि नेपाल कम्युनिस्ट पार्टी नामाङ्कित गरेको विप्लव समूहबाट अलग हुनुपर्ने कारणका रूपमा उनले पार्टी वैचारिक अस्पष्टता, भ्रमपूर्ण कार्यदिशा र अकर्मण्यतामा फसेको र मार्क्सवादका आधारभूत सिद्धान्तबाट नेतृत्व विचलित भएको भन्ने धारणा राखेका छन् । पर्चाकै रूपमा प्रकाशित  वक्तव्यलाई योजनाबद्ध तयारीका रूपमा लिन सकिन्छ।

भर्खरै विप्लव समूहको केन्द्रीय समितिको बैठक सम्पन्न भएको भनेर समाचारहरू प्रकाशमा  आइरहेको सन्दर्भमा सो पार्टीको बैठकले गरेका निर्णयहरूबाट  कमरेड जीवनको वक्तव्य प्रभावित भएको हुनसक्ने आकलन पनि गर्न सकिन्छ ।

वक्तव्यले भन्छ :
 “निश्चितरूपमा कमरेड विप्लवले महान् सहिदका सपना साकार पार्न र अधुरो क्रान्तिलाई पूर्णता दिनुहुनेछ भन्ने कुरामा धेरै कमरेडहरू विश्वस्त बन्ने  स्थिति बन्यो । यद्यपि पार्टी निर्माणको प्रारम्भदेखि नै केही सन्देह र विवाद भने नभएको भने होइन । हाल आएर घटनाक्रमले पुष्टि गर्दै आइरहेका छन् क. प्रचण्ड हुँदै क. किरणसँगको सम्बन्ध विच्छेदको औचित्यता क. विप्लवले पुष्टि गर्ने स्थिति बनेन, अब सक्ने सम्भावना पनि छैन । किन कि नेकपा र यसको नेतृत्चमा केही वैचारिक अस्पष्टता र राजनीतिक रूपले अकर्मण्यतामा फसेको स्थिति छ ।”

त्यसैगरी उनले अगाडि भनेका छन् :

''पहिलो कुरा त विचारमा विकास गरियो भन्ने नाममा मार्क्सवादका आधारभूत सिद्धान्तबाट नेतृत्व विचलित भएको अवस्था छ । जसले गर्दा पार्टी निर्माण र परिचालन प्रक्रियामा कैयन समस्या पैदा भएका छन् । पार्टीभित्र विपरीतहरूको एकत्वको नियम लागु हुँदैन भनेर वकालत गर्दा पार्टी निर्माण र परिचालनमा मात्र होइन, रूपान्तरण समेत जटिलता पैदा भएको छ । दोस्रो कुरा, पार्टीको राजनीतिक कार्यदिशा अस्पष्ट र गन्जागोल छ अथवा पार्टी कुहिरोको काग बनेको स्थिति छ । तेस्रो कुरा सङ्घर्ष र सङ्गठनका सवालहरूमा क्रान्तिको नेतृत्व गर्नलायक पार्टीसङ्गठन बनाउने विधि नै छैन, व्यवस्थित र योजनाबद्ध सङ्घर्षबाट नै आन्दोलनको विकास गर्न सकिन्छ । मौसमी सङ्घर्षले न त कार्यनीतिकै तहमा विकास गर्न सकिन्छ,  न त रणनीतिहरूको सेवा गर्न सकिन्छ । सङ्घर्ष केवल पूर्वाग्रह साध्ने र अर्थसङ्कलनको साधन बन्नु खतरा छ । यो स्थितिबाट पार्टीभित्रका इमानदार कमरेडहरूमा निराशा, निष्क्रियता, पलायनताका समस्याहरू व्याप्त छन् भने पार्टीभित्रको आर्थिक, सांस्कृतिक अराजकताबाट पार्टीभित्रैबाट अर्को वर्ग पैदा हुने सम्भावनालाई नकार्न सक्ने स्थिति छैन । यसअर्थ सम्भावित क्रान्तिको नेतृत्व गर्ने भनिएको पार्टीमा मौलाएको गैरसर्वहारावादी चिन्तनपद्धतिबाट मुक्त गरी क्रान्तिको नेतृत्व गर्ने पार्टी निर्माणको सम्भावना क्षीण हुँदैगइरहेको छ । उपर्युक्त समस्याहरूबाट पार्टीलाई मुक्त गर्न पार्टीभित्रका क्रान्तिकारी कमरेडहरूद्वारा गरिएका अन्तर्सङ्घर्षहरू अर्थहीन बन्नपुगे । हामीजस्ता क्रान्तिकारी कमरेडहरू उक्त पार्टीमा रहन सक्ने स्थिति बनेन ।''
 
विप्लव समूहसित सम्बद्ध माथि उल्लेखित सैद्धान्तिक तथा वैचारिक कुराहरू यसअघि पनि उठेका हुन् र सच्चा मार्क्सवादी नेता-कार्यकर्ता तथा चिन्तकहरूले उठाउँदै आएका विषय हुन् । यसका बारेमा विवाद र बहसको आवश्यकता छैन ।  कमरेड जीवनको वक्तव्यको अन्तिम अनुच्छेदले भने केही प्रश्न उठाएको छ ।

वक्तव्यमा भनिएको छ :
''महान् जनयुद्धका उपलब्धीहरू गणतन्त्र, सङ्घीयत/समावेशिता र धर्मनिरपेक्षता संस्थागत गर्ने वा यिनको खारेजी ? यो सवाल नेपाली राजनीतिको केन्द्र भागमा निकै पेचिलो बन्दै गइरहेको छ । राष्ट्रिय स्वाधीनता रक्षाको चुनौती जब्बर बन्दैगइरहेको छ । सामन्तवाद जिउँदै छ, सामन्तवाद र यसका प्रतिनिधिहरू मुलुकलाई प्रतिगमनको दिशातिर लान सकिन्छ कि भनेर निकै ठूलो कसरतमा छन् । ठीक यहीँनेर प्रतिगमनकारीहरूका षड्यन्त्रहरूलाई नजरअन्दाज गर्न नसकिने निष्कर्षसहित सिङ्गो माओवादी आन्दोलनको पुनर्गठन र गठनका लागि आउनोस् । आम माओवादी क्रान्तिकारी माओवादीहरू एकताबद्ध बनौँ भन्ने कुराको अपिलसहित नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेको घोषणा गर्दछु ।''

माथिका दुईवटा अनुच्छेदमा जति क्रान्तिकारी कुरा गरे पनि पछिल्लो अनुच्छेदले भने कमरेड जीवनका वैचारिक ठम्याइं र क्रान्तिचेतप्रति प्रश्न उठ्ने/उठाउने स्थिति बनेको छ र कतै माकेप्रतिको आकर्षणले  उहाँलाई डोर्याएको त छैन भनेर आशंका उब्जाएको छ । “जनयुद्धका उपलब्धीहरू गणतन्त्र, सङ्घीयता/समावेशिता र धर्मनिरपेक्षता संस्थागत गर्ने” कुराले जनयुद्धको मर्मबोध र आधारभूत मूल्यलाई आत्मसात गर्दैन । यो भन्दा उच्च थियो जनयुद्धको लक्ष ।

राष्टिय स्वाधीनता पेचिलो बनेको कुरामा विवाद छैन,  तर अहिलेको स्थितिमा यो सामन्तवादका कारणले होइन, भारतीय विस्तारवाद र त्यसका नेपाली दलालहरूका कारणले हो र दलालीको यो कित्तामा कांग्रेस र माके प्रतिस्पर्धा गर्दै उभिएका  छन् । यो यथार्थप्रति पनि   प्रस्ट हुनु जरुरी छ ।

 क्रान्तिकारी  माओवादीहरू  एकताबद्ध हुने कुरामा विवाद छैन । कसैको  कोटरीमा गएर मिसिएर होइन,  नयाँ किसिमको  गठन/पुनर्गठनको अभियानद्वारा मात्र यो  आवश्यकता पूरा हुन्छ  । तर यो गठन/पुनर्गठनमा माकेको साइनो-सम्बन्ध जोडिने कुनै र कतै आधार छैन  । त्यसभित्र तल्लो तहमा एकाध  इमानदार र क्रान्तिकारी कार्यकर्ता होलन्, तर सिङ्गो पार्टी  र नेतृत्व अब नवप्रतिक्रियावदमा पतन भइसकेको छ ।

यसरी हेर्दा जीवन कमरेडले विप्लव समूहका बारेमा उठाएका कुरा सही हुँदाहुँदै  पनि पछिल्लो सन्दर्भले केही प्रश्न उठाएको छ, पलायनाताको संकेत गर्दछ  ।  यसमा कमरेड जीवनको थप प्रस्टता अपेक्षित छ ।

यसबारे विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको धारणा हालसम्म सार्वजनिक भएको नपाइए पनि पार्टी नजिकको प्रकाशन eratokhabar.com ले यस किसिमको समाचार प्रकाशित गरेको छ :

नेकपाका पूर्वी केन्द्रीय सदस्य गगनबहादुर खड्का ‘जीवन’ कारबाहीमा परेको ४ महिनापछि पार्टी छोडेको वक्तव्य जारी गरेको नेकपा स्रोतले दाबी गरेको छ । ४ महिना अघि नुवाकोटमा सम्पन्न आठौं केन्द्रीय समितिको तेस्रो बैठकले चुनावपरस्त, भ्रष्टाचार र शंकास्पद गतिविधीका कारण उनलाई भेरी ब्युरोबाट हटाएको थियो भने साउन ९-१३ को चौथो केन्द्रीय समिति बैठकले केन्द्रीय समितिबाट हटाएर पार्टी सदस्यमा झारेको थियो ।

यसैबीच सो समूहका बाँके जिल्ला इन्चार्ज अशोक पोख्रेल 'संगम' ले पनि पार्टीको कार्यदिशाप्रति असन्तुष्टि जाहेर गर्दै र  एकिकृत माओवादी आन्दोलन गर्ने भनेर पार्टी परित्यागको घोषणा गरेका छन् l


भिडियो फिचरview all