menu

ताजा समाचार

जेलबाट प्राध्यापक साइबाबाको चिठी

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरूले जनाएका छन् ।   उहाँ मुटुलगायत थुप्रै समस्याले ग्रस्त हुनुहुन्छ ।  यहाँ हामीले जेलबाट उहाँले आफ्नी जीवनसाथी वसन्था कुमारीलाई जन्मदिनको सन्दर्भमा लेखेको चिठी प्रकाशित गरेका छौं ।
 
प्रिय वसन्था,
म तिमीलाई तिम्रो जन्मदिनको शुभकामना दिन चाहन्छु । यो चिठी तिमीले तिम्रो जन्म दिनको दिन पाउने छौ भन्ने आशा गरेको छु । जन्म दिनको धेरैधेरै शुभकामना ।  जन्मदिनका दिन मेरो अनुपस्थिति तिमीलाई एकदमै नरमाइलो लाग्ने छ भन्ने मलाई थाहा छ ।  राज्यसत्ताले हामीलाई अलग गर्ने प्रतिज्ञा नै गरेको छ ।  यसले त हामीलाई सिध्याउन नै खोजेको छ ।  २६ बर्से हाम्रो बैबाहिक जीवनमा हामीले व्यक्तिगत सुखसुविधा र उन्नतीका बारेमा कहिल्यै सोचेनौँ । ३६ वर्षको हाम्रो मित्रतामा हामीले समाजका लागि सोच्यौँ र काम गर्यौं । यस सन्दर्भमा म यति मात्र भन्न सक्छु मेरो अनुपस्थितिमा तिमीले विश्वस्त भएर जनताको अधिकारका लागि निरन्तर लागिरहनु पर्छ । मेरो अनुपस्थिति र जेलनिर्वासनले तिमीलाई निरास पार्नु हुँदैन । जन्मदिनका सन्दर्भमा तिनीहरूले हामीलाई दिइएको यो कहर, यो अमानवीयताको सामना गर्ने अठोट गरे ।

यो मुद्दा, यस किसिमको न्याय, र यो जेलको मेरो बसाइ हाम्रा लागि  लज्जाको विषय होइन । राज्यले गरेको यो व्यवहार सही अर्थको  प्रजातन्त्र / समाजका लागि चाहिं सरमको विषय हो । हामीले सुन्दर समाजका लागि सपना देखेका थियोँ । हामीले उत्पीडित जनता, दलित, आदिवासीहरू, महिला, अपाङ्ग अल्पसङ्ख्यकको  मानवअधिकार, स्वतन्त्रता, नागरिक तथा प्रजातान्त्रिक अधिकारको उद्देयलाई लिएर लडेका  थियौँ । हामी यी मूल्यहरूलाई अगाडि बढाउन र सीमान्तकृत जनताका  जीवनलाई समुन्नत बनाउन र समाजमा सच्चा प्रजातन्त्र बहाली गर्न निरन्तर काम गरिरहनेछौँ ।

तिनीहरूले हाम्रा आशा, हाम्रा सपनामाथि प्रहार गर्ने प्रयास गर्नसक्छन्, तर तिनीहरूले सपना देख्नबाट हामीलाई वञ्चित गर्न सक्तैनन्, हाम्रो हृदयमा रहेको विश्वासलाई मार्न सक्तैनन् । यो मनगढन्ते  मुद्दा, बनिबनाउ फैसला,  र मलाई जसरी पनि जेलमा राख्ने उनीहरूको नियतबाट तिमी निरास हुनुहुन्न, तिमीले विश्वास गुमाउनु हुन्न । मेरो लागि तिम्रो जन्मदिन सदैव महत्त्वपूर्ण छ, यसले मलाई हर्षित तुल्याउँछ । यो दिन तिमीले हर्षानुभूति गर्नुपर्छ । निम्नस्तरका जनताको अधिकार  लागि सामान्य किसिमले काम गर्ने सामान्य मान्छे हौँ हामी । किन यत्रो शक्तिशाली राज्य हाम्रो प्रेम, हाम्रो विश्वास, हाम्रो र सपनादेखि  भयभित भएको होला ? हामीले के गल्ती गरेका छौँ र ? हामीले कसलाई नोक्सान पुर्याएका छौँ र ? किन यसरी हाम्रो जीवन विध्वंशा पार्न खोजेको होला ? किन तिनीहरूले हाम्रा सपनामाथि धावा बोलेका होलान् ? किन तिनीहरूले हाम्रा विश्वासमाथि प्रहार गरेका होलान् ?

के  हामीले हाम्रो आफनो संसार, हाम्रो सपनाको सानो संसार, हाम्रो आफनै संसारमा बाँच्न नपाउँने ? किन हाम्रा सपनामाथि यसरी अमानवीय किसिमले आक्रमण गरिएको होला  ? यस्तो हुदा पनि साँच्चै के कुराले तिमी र मलाई यस्तो शक्ति दिएको छ ?

यो वर्ष तिम्रो जन्मदिनमा म तिमीलाई के दिन सक्छु र ? मसित तिमीलाई दिने के छ  ? त्यही माया मात्र  । त्यही माया जुन हाम्रा स्कुले दिनमा पहिलोचोटि तिम्रो र मेरो भेटपछि  हुर्के थियो । मैले जीवनभरि दिन नसक्ने माया तिमीले मलाई दिएकी छौँ । हामीले हाम्रो प्रेमको प्रारम्भका दिनमा बाँडेका सपनाहरू नै अहिले म तिमीलाई दिन चाहन्छु ।

अब तिमी मेरो स्वतन्त्रताका लागि लडिरहेकी प्रेमयोद्धा हौ । उदास नबन । यी अँध्यारा दिनहरूमा हामीले हाम्रा विश्वास गुमाउनु हुन्न, सपना हराउनु हुन्न, अँध्यारोले सधैँभरि उज्यालोलाई ढाक्न सक्तैन । मेरा  यी खोक्रा शब्दहरू होइनन्, यी अलङ्कारयुक्त  पदावली पनि होइनन् ।  हाम्रा सपनाहरू, सपना मात्र होइनन् भनेर इतिहासले धेरैपल्ट पुष्टि गरिसकेको छ ।  हाम्रा  विश्वासहरू आदर्शवादी बकवास होइनन् । हामी जित्ने छौँ ।

यो वर्ष, तिम्रो जन्मदिनका दिन, म यो फलामेडन्डीभित्रबाट तिम्रो मायामा आफूलाई पुनःसमर्पित गर्छु । तिम्रो मायाकै कारणले त मेरो साहश, मेरो विश्वास, मेरा सपनाहरू टिकेका छन् । मैले जीवनमा जे-जति गरेँ, तिमी प्रकाश बनेर मेरा सामु समग्र प्रेमका साथ उभिएकाले नै गरेँ ।

तिम्रो जन्मदिनको शुभकामना !
धेरैधेरै माया,
तिम्रो,
साइ

२१ जुलाई, २०१७

 स्रोत : वासंथा - फेसबुक



भिडियो फिचरview all