menu

ताजा समाचार

‘नेकपा (क्रान्तिकारी माओवादी)’ का दृष्टिमा विप्लव, प्रचण्ड र मोहनविक्रम समूहहरू

(प्रस्तुत सामग्री हामीलाई मेलबाट प्राप्त भएको हो । स्क्यान गरिएको यो सामाग्रीको माथि “३. राजनीतिक शक्तिहरूको विश्लेषण ” लेखिएको छ । पृ. ८ लेखिएको यसमा पहिलो उपशीर्षक ‘सर्वहारा वर्गको प्रतिनिधि’ अन्तर्गत “नेपाली सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका रूपमा  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) रहेको छ”, लेखिएको छ  । यसका आधारमा यो  सामग्रीलाई ‘नेकपा (क्रान्तिकारी माओवादी)’ ले आगामी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न तयार पारेको दस्ताबेजको एउटा अंश रहेछ भन्न सकिन्छ । यसमा उल्लेखित कतिपय सन्दर्भ र बुझाइप्रति ‘जनमेल’ को विमति रहे पनि पाठकका लागि रोचक हुने ठानी यो सामग्री प्रस्तुत गरिएको छ  ।)

“विभिन्न ‘वाम’ राजनीतिक समूह” 

यीमध्ये मुख्यतः  नेपाल कम्युनिस्ट पार्टी  र नेकपा (मसाल) बारे चर्चा गर्न आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी नाम रहेका दुई समूह छन्—ती हुन्ः विप्लव समूह र कट्टेल समूह । विप्लव समूहले मार्क्सवाद-लेनिनवाद-माओवादलाई मान्दछ । यसले राजनीतिक कार्यक्रममा रूपमा नयाँ जनवाद-समाजवादलाई माने पनि क्रान्तिको चरणबारे अस्पष्ट रहेको देखिन्छ । एकीकृत जनक्रान्ति भनेको के हो, त्यो पनि शब्दाडम्बरयुक्त, अस्पष्ट र भ्रामक रहेको छ । यसले साम्राज्यवादलाई  उत्तर साम्राज्यवाद बताएर साम्राज्यवाद समाप्त भएको टुङ्गोमा पुगेको छ र यस प्रश्नमा उत्तर-मार्क्सवादसित साइनो जोडेको छ । यसले सत्ता साझेदारीको सिद्धान्त स्वीकार गर्दैआएको छ । यो समूह रूपमा वाम देखिए पनि सारमा दक्षिणपन्थी विचलनमा फँस्न पुगेको छ ।

कट्टेल समूहले मार्क्सवाद-लेनिनवाद  तथा माओ विचार र  नयाँ जनवादलाई स्वीकार गर्दछ । क्रान्तिका विभिन्न पक्षबारे यसको स्पष्ट धारणा देखिँदैन ।

नेकपा (मसाल)  समूहले मार्क्सवाद-लेनिनवाद तथा माओविचार र  नयाँ जनवादलाई मान्दछ । वर्तमान संविधानलाई यसले ठूलै उपलब्धि ठान्दछ र त्यसलाई स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छ । यसले रणनीतिमा नयाँ जनवादी क्रान्ति र कार्यनीतिमा लोकतान्त्रिक गणतन्त्रको बाटोलाई अबलम्बन गर्दछ । यो बल प्रयोगको मान्यताबारे अस्पष्ट छ । यस समूह दक्षिणपन्थी संशोधनवादी विचलनमा फस्तै प्रतिक्रियावादी राज्यसत्तालाई सघाउँदैआएको छ ।

दक्षिणपन्थी संशोधनवादी समूह

नेपालमा दक्षिणपन्थी संशोधनवादी शक्ति लामो समयदेखि अस्तित्वमा रहिआएको छ ।  यसअन्तर्गत विभिन्न समूह पर्दछन् । यसभित्र मुख्यतः नवसंशोधनवादी समूहका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) पर्दछ । यसले एकातिर मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेको अभिनय गर्दछ भने अर्कोतिर राजनीति रूपमा प्रतिगामी संबिधान र  वर्गीयरूपमा वर्तमान दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय  प्रतिक्रियावादी राज्यसत्तालाई स्वीकार गर्दछ । यसले नेपालमा जनवादी क्रान्ति पूरा भएको कुरा बताउँदै समाजवादलाई न्यूनतम कार्यक्रम मान्ने कुरा गर्न पुगेको छ । यसले साम्राज्यवाद र विस्तारवादसित  आत्मसमर्पण गर्दै तथा भूमण्डलीकृत साम्राज्यवादद्वारा अगाडि ल्याइएको उदारीकरण तथा खुला बजार अर्थतन्त्रको मान्यतालाई स्वीकार्दै आएको छ । यो प्रतिक्रियावादीकरणको दिशामा तीव्रतापूर्वक गइरहेको छ । साथै यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने नेतृत्वपङ्क्तिमा गम्भीर प्रकारका विचलन पैदा भए पनि यस समूहमा कयौँ इमानदार, क्रान्तिकारी र देशभक्तहरू पनि छन् ।

नव संशोधनवादी समूहको अर्को हिस्साले नयाँ शक्ति पार्टी, नेपालको गठन गरेको छ । यसले मार्क्सवाद-लेनिनवाद-माओवादको  खुलैरूपमा परित्याग गरेको छ । यो लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्थालाई अन्तिम उद्देश्य तथा आदर्श मानेर चल्दछ । यसले एकातिर वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवाद र अर्कोतिर उदारीकरण  र खुला बजार अर्थतन्त्रको बाटो पक्डेको छ ।

यी दुई समूहबीच  रूपमा केही अन्तर  देखिए पनि सारमा एकरूपता छ । नयाँ शक्ति पार्टीले आफ्ना कुरा खुलै  तथा स्पष्ट रूपमा राख्दछ भने नेकपा (माके) ले अत्यन्तै छद्म  तथा सन्ध्या भाषामा  कुरा गरेर आन्तरिक तथा बाह्य क्षेत्रमा ठूलो विभ्रम खडा गर्दछ ।  अन्ततः यी दुवै समूहको तीव्र वेगमा प्रतिक्रियावादीकरण भइरहेको छ ।
०००

भिडियो फिचरview all