menu

ताजा समाचार

पिसिपीद्वारा फिलिपिन्स सरकारलाई चुनौती

फिलिपिन्स कम्युनिस्ट पार्टीले एक वक्तव्य जारी गरी फिलिपिन्सको रोड्रिगो दुतेर्ते सरकारलाई मिन्डानाओ टापुमा मार्सल ल यथाशीघ्र हटाउन चेतावनी दिएको छ ।

युद्धविरामको समयमा तय गरिएका आर्थिक तथा सामाजिक मुद्दाहरू तथा राजबन्दी रिहाइसम्बन्धी मुद्दालाई फिलिपिन्सको दुतेर्ते सरकारले गम्भीरताका साथ नलिएर अनेक बहाना बनाउँदै आलटाल गरेको र  फिलिपिन्स कम्युनिस्ट पार्टीको वैधानिक मोर्चा ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट' सित वार्ता चलिरहेको अवस्थामा पार्टीका कमरेडहरूको हत्या भएपछि फिलिपिन्स कम्युनिस्ट पार्टी र फिपिन्सको दुतार्ते सरकाबीच गत वर्षदेखि चलेको शान्तिवार्ता फेब्रवरी १०, २०१७ मा भङ्ग भएको थियो  ।

त्यसपछिका दिनमा दुतेर्ते सरकार र फिलिपिन्स कम्युनिस्ट पार्टीबीच सुमधुर सम्बन्ध रहेन र ठाउँठाउँमा सैन्य भिडन्तहरू पनि भए । यसैबीच दुतेर्ते सरकारले  मोरो जातिका इस्लामिक स्टेटका सदस्यहरूको आतङ्कारी गतिविधिको हवाला दिएर मिन्डानाओ टापुमा मे २३ मा मार्सल ल लागु गर्यो  । यसलाई लिएर फिलिपिन्स कम्युनिस्ट पार्टीले मोरो जातिका गतिविधिमाथि नियन्त्रण गर्ने  नाममा जनसेनामाथि दमन गर्ने बहानाका रूपमा लियो र मार्सल ल हटाएर फेरि वार्ता आरम्भ गर्नका लागि आह्वान गर्यो ।

कहिले सेनाको हवाला दिएर र कहिले अनेक बहाना गरेर,  फिलिपिन्स कम्युनिस्ट पार्टीले अघि सारेका दुइटा सबैभन्दा महत्वपूर्ण प्रस्तावबाट भाग्दै आएको दुतेर्ते सरकारले मिन्डानाओ टापुमा डिसेम्बर महिनासम्म मार्सल लम्ब्याउने घोषणा गरेपछि फिलिपिन्स कम्युनिस्ट पार्टीले यसलाई दुतेर्तेको बदनियतपूर्ण व्यवहार भन्दै भ्रत्र्सनाका साथ हिजो १८ तारिखका दिन ‘इन्फर्मेसन ब्युरो, कम्युनिस्ट पार्टी अफ पिलिपिन्स’ का नाममा वक्तव्य जारी गरेको हो  ।

 ‘यो वर्षको अन्तसम्म मिन्डानाओ टापुमा मार्सल ल लम्ब्याउने सम्बन्धमा’ शीर्षकमा  जारी वक्तव्यमा यसरी मार्सल ल को समय बढाउँदा मुलुकको स्थिति झन् खराब हुनेछ, राजनीतिक स्वतन्त्रता, प्रजातान्त्रिक मूल्य, नागरिक हकअधिकार कुण्ठित हुनेछन् र यसले राज्यआतङ्कको वातावरण उत्पन्न गर्नेछ भनिएको छ । वक्तव्यमा मोरो जातिका जनतालाई लक्षित गर्दै लागु गरिएको मार्सल ल जनताको हकअधिकारमाथिको दमन हो भनिएको छ र यसलाई अविलम्ब हटाउन माग गरिएको छ ।
 
वक्तव्यमा भनिएको छ :

“मार्सल लको निसाना मोरो जनताका साथै मूलतः ‘न्यु पिपुल्स आर्मी’  तर्फ सोझिएको छ ।  जनसेना भएको स्थान उत्तरी कोटाबाटो र बुकिन्धोन, कम्पोस्तला उपत्यका लगायतका स्थानहरूमा दुतेर्तेका सेनाले निरन्तर माथिबाट बम प्रहार गरिरहेका छन् । वास्तवमा यो क्षेत्रमा लामो समयसम्म आफ्नो उपस्थिति राखेर पकड मजबुत पार्न दुतेर्ते सरकार अनेक किसिमका चाल गरिरहेको छ । पार्टी र फिलिपिन्सका जनता यस किसिमको षड्यन्त्रको तीव्र निन्दा गर्छन् । फिलिपिन्सका जनता मार्सल लका  विरुद्ध एकताबद्ध छन् र  ‘न्यु पिपुल्स आर्मी’ आफ्नो शक्ति सुदृढीकरणका साथ मार्सल ल का साथै जुनसुकै चुनौतीको सामना गर्न र सफलता प्राप्त गर्न सक्षम छ । ”

‘न्यु पिपुल्स आर्मी’ का छापामारद्वारा दुतार्तेको सुरक्षा दस्तामाथि आक्रमण

यसैबीच १९ जुलाईका दिन मिन्डानाओ टापुको दक्षिण चेकप्वाइन्टमा ‘प्रेसिडेन्टल सेक्युरिटी  ग्रुप”- दुतेर्तेको सुरक्षाको विशेष दस्तामाथि ‘न्यु पिपुल्स आर्मी’ का छापामारले गोली प्रहार गरी ६ जनालाई घाइते बनाएको कुरा अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । घटना बिहान ६ बजे भएको र करिब ५० जना कम्युनिस्ट विद्रोहीहरूले चेकपोइन्ट घेरेको कुरा समाचारमा उल्लेख छ l राष्ट्रपति दुतेर्ते त्यति बेला त्यहाँ नभए पनि चारवटा गाडीमध्ये दुइटा गाडीमाथि कम्ब्याट ड्रेस लगाएका ‘न्यु पिपुल्स आर्मी’ का विद्रोहीहरूले गोली चलाएको कुरा ‘प्रेसिडेन्टल सेक्युरिटी  ग्रुप” का कमान्डर ब्रिगेडियर जनरल लुइ दागोले जनाएका छन् ।पछिल्लो समाचार अनुसार घाइतेमध्ये १ जनाको मृत्यु भएको छ l

भिडियो फिचरview all