menu

ताजा समाचार

प्राध्यापक साइबाबाको स्वास्थ्यस्थिति नाजुक

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा गोलघरमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरूले जनाएका छन् ।   यस विषयलाई लिएर देशविदेशका बौद्धिक समुदाय लगायत मानवअधिकारवादी सङ्घसंस्थाहरूले  गम्भीर प्रश्न उठाएका छन् । उनी मुटुलगायत थुप्रै समस्याले ग्रस्त बिरामी हुन् र उनलाई औषधी उपचारबाट समेत वञ्चित गरिएको छ ।

नेस्नल हेराल्ड पत्रिकाले प्राध्यापक साइबाबाकी श्रीमती वसन्था कुमारीको स्रोत उल्लेख गर्दै उनको स्थिति एकदमै नाजुक बन्दैगएको र मानवअधिकारवादी संस्थाहरूले हस्तक्षेप गर्नु आवश्यक भएको कुरा उल्लेख गरेको छ ।

“हामी साइबाबाका लागि औषधी पठाउँछौँ, तर जेल प्रशासनले उपलब्ध गराउँदैन । यो कुरा उहाँले हामीलाई पठाएको चिठीबाट थाहा भयो । उहाँ यताउति पनि गर्न सक्नुहुन्न । लेखनपढन गर्न सक्ने स्थिति पनि छैन । धेरजसो समय उहाँ अर्धचेत अवस्थामा ओछ्यानमा पल्टिरहनुहुन्छ ।” वसन्थाले भक्कानो छोड्दै भनिन् भनेर पत्रिकाले जनाएको छ ।
 
यसैबीच प्रा.साइबाबाको स्थितिका बारेमा वसन्थाले फेसबुकमा लामो स्टाटस लेखेकी छन् :

आन्दा गोलभित्र जि.एन. साइबाबाको स्वास्थ्यस्थिति

“नागपुर आन्दा जेलको गोलभित्र निर्वासित प्रो. साइबाबाको स्वास्थ्यस्थिति एकदमै नाजुक अवस्थामा पुगेको छ । शारीरिक अपाङ्गता त छँदै छ, उहाँ प्यानक्रियाज र गालब्लडरको समस्याले पनि पीडित हुनुहुन्छ । उहाँको मुद्दाको फैसला हुनु एक हप्ताअघि नै डाक्टरको  सल्लाहअनुरुप नयाँ दिल्लीमा गालब्लडरको अपरेसन गर्न तयारी गरिएको  थियो ।

उहाँको अपरेसनको तयारी भइरहेको अवस्थामा अपरेसन पनि गर्न नदिई जेल पठाइयो । प्यानक्रियाजमा भएको घाउका कारण असाध्यै पीडा हुनेगरेको छ । प्रा. साइबाबाको आवश्यक औषधीउपचारको व्यवस्था प्रदान गर्नुको साटो जेल अधिकारीहरूले जेलको डाक्टरसित समेत भेट्न दिएका छैनन् । जेल अधिकारीहरू औषधीउपचार गराउने पक्षमा छैनन् । ब्लड प्रेसरसमेत असमान्य भएको अवस्था भए पनि जेल प्रशासनले सबै कुरा सामान्य भनेर रिपोर्ट बाहिर ल्याउँछ ।

पहिलेदेखि नै किडनीमा पत्थरी, छाती दुख्ने र सास फेर्न गारो हुने समस्या थियो र पछि आएर गालब्लडर र प्यानक्रियाजको समस्या पनि थपियो । प्रोस्टेटको समस्याले पिसाब फेर्नसमेत गारो हुन्छ । जेलमा उहाँको स्थिति एकदमै नाजुक हुँदा पनि जेल अधिकारीहरू केही वास्ता गर्दैनन् कुरै सुन्दैनन् ।

रकल्यान्ड अस्पतालले प्यानक्रियाजको समस्या जटिल बनेकाले औषधीको कोर्स बदन्न भनेर औषधी लेखिदिएको थियो । यसो गर्न पनि जेल प्रशासनले दिएन । मुटुको रोगका लागि हरेक दिन २ ट्याब्लेट खान भनेको थियो र प्यानक्रियाजको औषधी पनि निरन्तर खाने भनेको थियो । जेल प्रशासनले परिवार र वकिलहरूले पठाएको औषधीसमेत उपलब्ध गराउँदैन, उहाँ सम्म  पुर्याउँदैन ।

जुलाईको महिनामा उहाँ ४ पल्ट बेहोस हुनुभएको थियो र गएको महिना उहाँ जेलमा दुईपल्ट बेहोस भएर लड्नुभएको थियो । मुटु, छातीको गम्भीर समस्या र पेनक्रियाजको पीडाले उहाँको स्थिति एकदमै नाजुक हुँदा पनि न त महाराष्ट्र सरकार न त केन्द्रीय जेल प्रशासनले उहाँको स्थितिप्रति चासो राखेको छ । औषधीउपचारका अभावमा कुनै पनि बेला उहाँको जीवन समाप्त हुने स्थिति छ ।

जुन, १, २०१७ मा  'दिल्ली टिचर्स एसोसिएन' की अध्यक्ष नन्दिता नाराएन, नारीवादी संस्था (डब्लुएसएस) की कल्याणी मेनन,  अपाङ्गहरूका लागि काम गर्ने संस्था 'एनपिआरडी' का तर्फबाट मुरलीधरनसहितको प्रतिनिधि मण्डलले ‘नेस्नल हुमन राइट काउन्सिल’ का श्री अशोक कुमारलाई भेटेर सबै कुरा अवगत गराएको थियो । प्रतिनिधि मण्डलले प्रा. साइबाबाको समग्र अवस्थाको जानकारी गराएर उहाँमाथि भएको उपेक्षा र अपहेलना, मानसिक यातनाका साथै  औषधीसमेत उपलब्ध नगराएको कुरा उल्लेख गर्दै मानवीय पक्षप्रति बेवास्ता गरिएको कुराको जानकारी गराएको थियो ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले समेत प्रा. साइबाबाको स्थिति र औषधीउपचारको प्रश्नलाई लिएर आवाज उठाउँदा पनि बेवास्ता गरिएको छ । विभिन्न रोगले सताइएका र ९० प्रतिशतभन्दा बढी अपाङ्गको स्थितिमा रहेका, त्यसमा पनि गोलघरमा राखिएको पात्रलाई ओषधीउपचारको सुविधा प्रदान नगर्नु मानवताविरोधी कार्य हो । विभिन्न मानअधिकारवादी संस्थाहरूले उहाँको औषधीउपचारका लागि अस्पताल लगियोस् भनेर आवाव उठाउँदा समेत  जेल प्रशासन मौन छ ।

त्यसैले छिटोभन्दा छिटो उहाँको स्वास्थोपचार होस् भनेर उठाइएको आवाजलाई जेल प्रशासनले गम्भीरतापूर्वक लेओस् भन्ने चाहन्छु ।

ए एस वसन्ता कुमारी


भिडियो फिचरview all