menu

ताजा समाचार

उसलाई थाहा थियो

              पवित्रा लामा

जब ऊ हिँडेथ्यो आफ्नो घरबाट
आँखाभरि, मुटुभरि, छातिभरि
बोकेर सपना बासभूमिको
ऊ जान्दथ्यो,
यो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लडाइँ हो ।

उसले छोइराख्यो देउता थान
उसले खुवायो परेवालाई अन्नका दाना
उसले गोडीराख्यो मकैका ससाना बोट
ढोग्यो आमालाई,
हात हल्लाउँदै बिदा माग्यो गाउँघरकालाई
मिलायो पाइला सहोदरहरूसित
र हिँड़्यो अन्तिम लडाइँ लड़्न
निहत्था ।

उसलाई थाहा थियो,
ऊ आज पक्रा पर्न सक्छ
सत्ताको निर्मम लौरोले
ऊ आज रगतपच्छे हुनसक्छ
जेल हुनसक्छ, नेल हुनसक्छ
ऊ आज सहिद  पनि हुनसक्छ

उसलाई थाहा थियो,
वासभूमिको लड़ाइँमा सहिद हुनभन्दा
धेरैधेरै सजिलो थियो रमिते बन्न
धेरैधेरै सजिलो थियो मीरजाफर बन्न
अझ धेरै सजिलो थियो गद्दार बन्न

तर ऊ विश्वविजयी गोर्खाको सन्तान थियो
तर ऊ खाँटी योद्धाको सन्तान थियो
र त ऊ निस्क्यो तिरङ्गालाई अङ्गालेर
सहिदको सपना पूरा गर्न
सयबर्से निद्रालाई त्यागेर
ऊ उत्रियो मूल सड़कमा
र आँटकै भरमा लल्कार्यो सत्रु सत्तालाई
छात्तीमा थाप्यो तातो गोली
र ढल्यो पुर्लुक्क भन्दै आमा....!!!

उसलाई थाहा थियो
उसको हरेक पाइलाले तय गरेको दुरीले
साकार बनाउनेछ हजारौं सहिदहरूको सपना

पुर्खाहरूको पौरख र माटोको गौरव
फर्काइल्याउन जब निस्क्यो ऊ घरबाट
उसलाई थाहा थियो
यो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाइँ हो ... ।

०००

(गुराँस २३,  गोर्खाल्यान्ड अङ्कबाट)

भिडियो फिचरview all