menu

ताजा समाचार

नेवारबारे माणिक सरले उठान गर्नुभएको बहस

(प्रोफेसर माणिकलाल श्रेष्ठ मार्क्सवादी लेखक तथा चिन्तकका रूपमा परिचित हुनुहुन्छ । उहाँले  ‘नेपालमण्डल’ अन्तर्गतका नेवारहरूबारे धारणा राख्दै नेवारको स्थिति भनेको तामाङ, राईहरूको जस्तो स्थिति होइन र यो भाषाले मात्र ‘नेवार जाति’ हो भन्नुभएको छ । । सैद्धातिक तथा व्यावहारिक तहमा नेवारहरू आदिवासी र जनजाति होइनन् भन्ने उहाँको तर्क छ । उहाँको भनाइमा नेपालका बाहुन-छेत्री पनि आदिवासी हुन् । बाहुन-छेत्री पनि आदिवासी नै हुन् भन्ने कुरामा विवाद छैन ।  तर, आफ्नै तर्क अतिक्रमण गरेर यहाँको विशिष्टतामा नेवारहरूलाई आदिवासी र जनजाति मानुपर्ने हुन्छ भनेर उहाँले अन्त्यमा जुन तर्क राख्नुभएको छ, त्यो त्यति तर्कपूर्ण छैन, जबर्जस्ती नेवारहरूलाई आदिवासी र जनजाति बनाउन खोजिएको छ  । यहाँ बहसको खाँचो छ ।  प्रस्तुत रचना हामीले 'इमूल्याङ्कन डट कम' बाट लिएका हौँ ।)
---------------------------------------------------------------------------------------------


को हुन् नेवार ?

प्राध्यापक  माणिकलाल श्रेष्ठ
 
काठमाण्डौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी वा मुख्य बासिन्दा नेवारहरुको बारेमा युरोपेली तथा अन्य थुप्रैले  धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू  स्पष्टरूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

सरसरर्ती हेर्दा अरू जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो, तामाङ, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित जाति हुन् । तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरू सबैको एकै रगत छ र त्यस्तै अरूअरू पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरू पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भए तापनि उनीहरू सबै आर्य रगतका हुन् । तर नेवारहरूमा त्यस्तो छैन । कोही नेवारहरू आर्यन्, कोही नेवारहरू मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन् । संसारका तीनवटा नश्लहरू नेवारहरूमा छन् ।

हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो-बर्मन अथवा मङ्गोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती-बर्मी समूहका) हुन्, तर अरू आगन्तुकहरू पनि नेवार बनेका छन् ।

नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन् । धर्मका हिसाबले पनि अहिले नेवारहरू शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई ‘देश छाडेर जानू, नजानेहरूलाई मार्नू’ भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया सहरमा गएर बसे । नजानेहरू सबैलाई फाँसी दिइए र मारिए । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् । नेवार- मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरुसँग मिसिनगए ।

यसरी नेवारहरूको रगत, धर्म अलगअलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै जाति छैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक Ethnic समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा ethnic geo-linguistic community हो । जो नेपाल भाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरूले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो । नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरूको र तामाङहरूको एउटै भाषा थियो । तामाङहरूले पुरानै भाषा बोलिरहे । नेवारहरू भने नयाँ भाषा बोल्नथाले ।

नेवारको श्रमिक वर्ग, जस्तो : नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरू, ज्यापूहरू सबै तिब्बेतो-बर्मन वा मङ्गोल मूलका छन् । नेवारहरूमा यिनीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि, नेवारहरूमा श्रेष्ठहरू  छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । ७ सय वर्षसम्म मल्लहरूको राज्य चल्दा उनीहरूले सरकारको ठूलाठूला पदहरू अथवा भारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे । उनीहरू जुनजुन पदहरूमा नियुक्त भए, त्यही पदअनुसार उनीहरूको थर निर्धारण भयो । जस्तो ; मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो । उनीहरूका सन्तानहरूलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मङ्गोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।

एउटा उदाहरण लिऔँ । नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौन गढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ ।  आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए । तर तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरवारमा शरण लिए । उनीहरूको थर राजपूत थियो । नेवारीमा ‘रा’ लाई ला भनिन्छ । त्यसैले उनीहरूको  थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरू श्रेष्ठमा मिल्नगए ।

मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरू आएका थिए । उनीहरू दरवारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो । तिनीहरूसँगै आएका वैद्यहरू,  तर राजदरवार नपुगेकाहरू श्रेष्ठ नभई अरु जातमा विलिन भए । बाहुनहरूमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरू ६-७ सय वर्षपहिले नेपाल उपत्यकामा आएर बसेकाहरूले नेवारी बोले, उनीहरूलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ । त्यस्तै, तराईबाट पनि तिरहुते (झा, ओझा मिश्र थरका) बाहुनहरू पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने । यसरी ८-९ सय वर्षपहिले आएर काठमाण्डौँ उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो । यसरी नेवारहरूको संरचनाको हिसाबले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरु एकआपसमा विलय भएर बनेको जाति हो नेवार ।

संस्कृतिकै हिसाबले हेर्ने हो भने पनि नेवारहरूको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ । यहाँका कला र कलाकारका बारेमा रूसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरू बनाइसकेका थिए ।”

त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो । यो कुरा कोरियामा पनि उल्लेखित छ । ती पुस्तकहरूमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ । यसरी एकपटक मल्लकालमा नेवारहरू निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।

अब नेवारहरू आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं । मेरो विचारमा नेवारहरू आदिवासी नै हुन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरू आदिवासी नै हुन् । अरू बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ । आदिवासी भन्नेबित्तिकै नेवारहरू सुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा सुरुदेखि बसेका त कोही पनि छैनन् होला । मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ । उनीहरू नै संसारभरि फैलिएका हुन् । त्यसैले आदिवासी भनेर तिनीहरूलाई भनिन्छ, जुन जातिहरू शासक जातिभन्दा पहिला आएर बसेका हुन् । अहिले नेपालका शासक जाति (नेपाली वा खस भाषा बोल्ने बाहुन, क्षेत्री, ठकुरी) हुन् । उनीहरू ४-५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरू त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरूलाई आदिवासी भन्नुपर्छ ।

अर्को, नेवारहरू जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको 'नेपाली बृहद् शब्दकोष' मा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन् । यो परिभाषाअनुसार नेवारहरूलाई जनजाति भनियो भने नेवारहरूको बेइज्जत हुन्छ भन्न थालियो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनजातिको परिभाषा ''देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जानजाति भनिन्छ''  भनेर दिएको छ । किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरू जनजाति नै हुन् भन्ने मलाई लाग्छ । यदि नेवारहरू जनजाति हुन् भने मैथिलीहरू किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ । मैथिलीहरूको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन् । उनीहरूको धर्म र संस्कृति शासकहरूको धर्म र संस्कृतिसँग मिल्छ । त्यसैले उनीहरू जनजाति भएनन् । शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।

एकपटक शासक भइसकेका नेवारहरू कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ । तर नेवारहरू कहिले पनि शासक जाति भएका छैनन् । मल्ल राजाहरूलाई नेवार राजा भनिए तापनि उनीहरू नेवारहरू नै होइनन्, ठकुरीहरु हुन् । नेपाल भाषा बोलेर शासकहरू नेवार भएका थिए । उनीहरू शासक छँदा नेवारहरू अलग्गै थिए । पृथ्वीनारायण शाहले मल्लहरूको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्नगएका थिए ।



भिडियो फिचरview all