menu

ताजा समाचार

बैद्य समूहले सशस्त्र सङ्घर्षको बाटो त्याग्ने

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक चलिरहेको  कुरा समाचार माध्यमहरूले प्रकाशमा ल्याएका छन् । आगामी राष्ट्रिय सम्मेलनका लागि सो पार्टीका अध्यक्ष मोहन बैद्यले १४ पृष्ठको दस्ताबेज प्रस्तुत गरेको र “बैद्यले चुनाव बहिष्कारभन्दा उपयोग गारो  भएको” भनेर  दस्ताबेजमा उल्लेख गरेको भनेर पनि समाचार माध्यमहरूले प्रकाशमा ल्याएका छन् ।  बैद्यको दस्ताबेजको सारतत्त्व के-कस्तो छ र बैठकको निस्कर्ष के-कस्तो हुन्छ भन्ने कुराका लागि बैठकका निर्णयहरू पर्खिनुपर्ने हुन्छ तापनि सो पार्टीका बैद्यपछिका दोस्रो वरियताका नेता, सम्मेलन आयोजक समिति बन्नुअघिका उपाध्यक्ष तथा चुनाव उपयोगका लागि बनाइएको मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ का अध्यक्ष चन्द्रप्रसाद गजुरेल ‘गौरव’ ले हालै एउटा अनलाइन (reportersnepal.com)मार्फत बैठकका सम्भावित निर्णयहरूलाई बाहिर ल्याएका छन् ।

चुनावी राजनीतिप्रति अलि बढी नै मोह राख्ने र  मिलेरावादी चिन्तन भएको भनी  विगतमा पनि पार्टीमा निकै टीकाटिप्पणीको विषय बन्ने गरेका गजुरेलले मुलकमा अहिले द्वन्द्वको अवस्था नरहेको र आफूहरू पनि अब सशस्त्र सङ्घर्षमा नजाने अभिमत जाहेर गरेका छन् । 'रिपोर्टस क्लब नेपाल' का ऋषि धमलासितको कुराकानीमा  उनले भनेका छन् :

''जनता अहिले हतियार र द्वन्द्वको पक्षमा छैनन् भन्ने कुरा हामीले बुझेका छौँ । अब सशस्त्र द्वन्द्व हुने अवस्था पनि छैन ।अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।''

प्रतिक्रियावादीहरू वर्गअन्तर्विरोध र वर्गसङ्घर्ष पदावली प्रयोग गर्न मन पराउँदैनन्, उनीहरू गहन र महत्त्वपूर्ण सारतत्त्व बोकेको ‘वर्गसङ्घर्ष’ पदावलीलाई ‘द्वन्द्व’ मा सीमित गरेर न्यूनीकरण गर्दछन् । यो उनीहरूको चरित्र हो । क्रान्तिकारीहरूका लागि भने वर्गीय प्रश्न र वर्गसङ्घर्ष  पदावलीहरूले अहम् महत्व राख्दछन् । यहाँ गजुरेललाई पनि वर्गसङ्घर्षभन्दा “द्वन्द्व”  शब्दप्रति मोह जागेको देखिन्छ । सिङ्गो सम्बादमा जे-जस्ता धारणा आएका छन्, यसबाट यो पदावली र व्यक्त विचार नापीतौली, योजनाबद्ध रूपमा आएका हुन् भनेर बुझन् सकिन्छ ।

उनले जसरी जनता अब हतियार उठाउने स्थितिमा छैनन् भनेर ठोकुवासाथ भनेका छन् र  मुलुकमा “सशस्त्र द्वन्द्व”  हुने अवस्था पनि छैन र चुनावबाट नै जनतालाई बुझाउनुपर्छ भनेर जसरी चुनाव नै सबथोक हो भन्ने किसिमले विचार व्यक्त गरेका छन्, यसले गम्भीर प्रश्न उठाउनु स्वाभाविक छ । यसबाट सो पार्टीले अब सशस्त्र सङ्घर्षको बाटो परित्याग गर्न थालेछ भनेर  निष्कर्ष निकाल्नु पनि स्वाभाविक हुन्छ । यसै हो भने यो गम्भीर विचलनको द्योतक हो ।

पार्टीहरूको आत्मतग स्थिति कमजोर भए पनि सशस्त्र सङ्घर्षका लागि मुलुकको वस्तुगत स्थिति सकारात्मक छ भन्ने ठहर क्रान्तिकारीहरूको हो । आत्मगत स्थिति आफसेआफ नबनेर यसका लागि सचेतन प्रयास आवश्यक पर्छ भन्ने मार्क्सवादी बुझाइ हो । स्वस्फूर्ततावादीहरू स्थिति अनुकूल होला र क्रान्ति गरौंला भने कपाल फुलाउँछन्, क्रान्तिकारीहरू सचेतन प्रयासद्वारा प्रतिकूल परिस्थितिलाई अनुकूलतामा फेर्छन्/फेर्ने प्रयास गर्छन् । यहाँ  मुलुकको वस्तुगत स्थिति वर्गसङ्घर्षका लागि उपयुक्त छैन र जनता पनि यो चाहँदैनन् चुनावबाटै अहिलेको अन्तर्विरोध हल हुनसक्छ भनेर क्रान्तिको आवश्यकता र औचित्यलाई नै खारेज गर्दै भनिएको छ : ''अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ '' । यस  किसिमको निष्कर्षले बैद्य समूहले पनि एमाले र प्रचण्डले समातेको संसदीय बाटो लिने अठोट गरेछ भनेर निष्कर्ष निकाल्नु स्वाभाविक हुन्छ ।
 
पार्टीका वरिष्ठ नेताले भनेको कुरालाई केही  होइन भनेर अस्वीकार गर्न सकिने स्थिति छैन ।

भिडियो फिचरview all