menu

ताजा समाचार

अभाकियनवादको मनपरी चरण विभाजन

('अग्नेस्ट अभाकियनिज्म ' के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ अर्थात् 'रिम' को संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा त्यतिबेर उहाँ 'रिम' को सदस्य हुनुहुन्थ्यो । सन् २०१४ मा  भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडी र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) बीच एकता भएपछि उहाँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को शीर्ष नेताका रूपमा सक्रिय हुनुभयो । भारतको पुणेमा मुटुको उपचार गराइरहेको बेला सन् २०१५ मा उहाँ पक्राउ पर्नुभयो र अहिले बन्दी अवस्थामा हुनुहुन्छ ।

 प्रस्तुत पुस्तक 'अग्नेस्ट अभाकियनिज्म' सन् २०१४मा प्रकाशित भएको हो र यो बहुचर्चित पुस्तक हो । यस पुस्तकमा  क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन 'रिम' मा कहाँबाट बहस र विवाद आरम्भ भयो र 'आरसिपी, अमेरिका' का अध्यक्ष बब अभाकियनले 'रिम' लाई निष्क्रिय बनाउन के-कस्तो भूमिका खेले भन्ने सत्यतथ्यको विश्लेषण गरिएको छ । कमरेड अजिथले  ‘न्यु सिन्थेसिस’ मार्फत अभाकियनले अघि सारेको विचलनवादी चिन्तनलाई अभाकियनवादको संज्ञा दिनुभएको छ  । १५ अध्यायमा विभाजित यो पुस्तकको  पहिलो अध्याय ‘विशेष बैठक र आरसिपीको चिठी’ हामीले प्रकाशित गरिसकेका छौं र यहाँ  दोस्रो अध्याय  : 'अभाकियनवादको मनपरी चरण विभाजन' प्रस्तुत गरेका छौं  ।)


अभाकियनवादले कम्युनिस्ट क्रान्तिको चरण समाप्त भयो भनेर दाबी गर्छ । यसलाई पहिलो प्रवाह (वेभ) भनेर पनि भनिएको छ । यसले नयाँ चरण, दोस्रो प्रवाहका सैद्धान्तिक स्वरूपमा  आफैँलाई प्रस्तुत गर्छ । अभाकियनवादीहरूबीच यस विषयमा सम्झौता छ ।  तर केलाई तिनीहरूले ‘चरण’ भनेका हुन् भन्ने कुरामा चाहिँ समानता पाइँदैन । 'आरसिपी' र 'रिभोलुस्नरी कम्युनिस्ट अर्गनाइजेसन, मेक्सिको' (आरकम) ले जेलाई चरणहरू भनिरहेका छन्, कम्युनिस्ट विचारधाराको विकासको चरण तथा युगसित त्यसको कुनै   लिनुदिनु छैन । इरानको कम्युनिस्ट पार्टी (एमएलएम) (सिपिआई एमएलएम) को चाहिँ फरक विचार छ । कम्युनिस्ट आन्दोलनमा आएको सङ्कटले नयाँ सैद्धान्तिक रूपरेखाको आवश्यकता बोध गराएको छ....“निश्चय पनि यो एउटा युगको समाप्ति र अर्को युगको आरम्भको सङ्केत  हो ।” यसको टिप्पणी गर्नुअघि हामीले अरू थप विवरणलाई पर्खनुपर्छ । अहिलेलाई यसले नै प्रमुख असर पारेको कुरातर्फ नै ध्यान दिऔँ ।

चरण विभाजनका तर्कहरू के-कस्ता छन् त ? एउटा हो समाजवादको पराजय ।उनीहरूको भनाइमा  सोभियत रूसमा सन् ५० को दशकमा भएको घटनाको दुई दशकपछि चीनमा सन् १९७६ यता समाजवादको विस्थापनपछि समाजवादी क्रान्तिको पहिलो प्रवाह समाप्त भएको थियो र आज विश्व समाजवादी राज्यविहीन छ । निसन्देह, १९७६ मा भएको पुँजीवादी ‘कु’ का कारण चीनले खाएको धक्का र अल्बानिया लेबर पार्टीको गद्दारीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (आइसिएम) मा नयाँ गुणात्मक स्थिति पैदा भयो । एक अर्थमा यो अक्टोबर क्रान्तिपूर्वको स्थितिमा धकेलियो । तर केही सीमित सन्दर्भमा मात्र ।

 'आइसिएम' अहिले 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' ले दिएको  शिक्षा र मालेमाको विचारधारामा भएको विकासले समृद्ध भएको छ । माओले भन्नुभएको वस्तुगत स्थिति—“साम्राज्यवादले आफ्नै विनाशको स्थिति तयार पारेको छ”, यथावत छ । यो परिस्थितिले औपनिवेशिक तथा अर्धऔपनिवेशिक मुलुकका साथै साम्राज्यवादी मुलुकहरूमै पनि जनताको ठूलो हिस्सालाई जाग्रत गराएको छ । साम्राज्यवादले  विश्वभरिका जनताको ठूलो हिस्सालाई साम्राज्यवादको अन्त्यका लागि महान् सङ्घर्षको ऐतिहासिक युगमा धकेलेको छ । साम्राज्यवादले जनताको ठूलो हिस्सालाई सङ्घर्षका लागि सामग्री र वैचारिक  स्थिति तयार पारिदिएको छ । यद्यपि आन्दोलनले खाएको धक्कालाई अस्वीकार गर्न सकिँदैन । यसले विश्वसमाजवाद निर्माणका लागि विश्वकम्युनिस्ट आन्दोलनको समग्र सैद्धान्तिक र व्यावहारिक अनुभवहरूको निचोड, पुनर्अध्यन, परीक्षण र समग्र सैद्धान्तिक र व्यावहारिक विरासतको समीक्षाको माग गर्दछ । यसलाई माओवादीहरूले राम्रैसित बुझेका छन् र 'रिम'सित आबद्ध भएकाकाहरूले झन् बढी बुझेका छन् । यसको मात्रामा एकरूपता नहोला, आफ्नो क्षमताले भ्याएसम्म र कामको प्रकृतिअनुसार धेरजसो पार्टीहरू (कतिपय 'रिम' बाहिर रहेकाहरू) यसका सम्बन्धमा आफ्नो जिम्मेवारी बहन गरिरहेका छन् ।  उनीहरू यसो गरिरहने छन् । उनीहरूका प्रयासहरू र उनीहरूद्वारा व्यक्त दृष्टिकोणहरू उनीहरूले विभिन्न मञ्चहरूमा गरेका हस्तक्षेप र उनीहरूका लेखनबाट सहजै बोध गर्न सकिन्छ ।

अभिरेखाङ्कनको यो कामलाई विभिन्न कोणबाट सम्पन्न गरिएको थियो र छ । यो काम अझै जारी छ । प्राप्त गरिएको शिक्षाको  संश्लेषण गर्ने काम बाँकी नै छ । 'रिम' भित्र कामको महत्त्वका सम्बन्धमा उच्च तहको समझदारी थियो । 'आरसिपी' ले सन् १९९९ देखि नै चीनमा समाजवादले खाएको धक्काले चरणको अन्त्यको सङ्केत गर्छ भन्ने कुरा अगाडि सारिरहेको भए पनि यसलाई स्वीकार गरिएको थिएन । कारण प्रस्ट थियो —मार्क्सवादका वैज्ञानिक आवश्यकताहरू पूरा गर्ने काम निकै जटिल थियो ।
 
  सोभियत सङ्घ र चीनमा पुँजीवादको  पुनस्र्थापनाका कारण समाजवादले धक्का खाएको कुरालाई साक्षी मानेर चरण विभाजनको आधार निर्माण गरिएको हो भने किन सम्पूर्ण अवधि कम्युनिस्ट मेनिफेस्टो  (बब अभाकियनले पहिले सन् १९९०मा उल्लेख गरेअनुसार 'पहिलो अन्तर्राष्ट्रिय' देखि) चीनमा समाजवादले धक्का खाएको अवधिलाई  एउटा चरणका रूपमा लिने ? यो आधार अनुसार त अक्टोबर क्रान्तिदेखि चीनले खाएको धक्कासम्मको अवधिलाई एउटा चरण मान्नु बढी तर्कसङ्गत देखिन्छ ।  यो भन्दा अगाडि गएर 'कम्युनिस्ट मेनिफेस्टो' सम्म समयलाई विस्तार गर्नुको अर्थ छैन । तुलनात्मक रूपमा यो समयले स्थिर समाजवादी सामाजहरू र तिनको विनाशको स्थितिलाई  दर्शाउँछ । उसोभए, किन सिङ्गो कम्युनिस्ट आन्दोलनको इतिहासलाई तीन चरणहरूमा विभाजन नगर्ने ? पहिलो चरण, 'कम्युनिस्ट मेनिफेस्टो' देखि सन् १८७१  को 'पेरिस कम्युन' को असफलतासम्म । दोस्रो चरण, 'दोस्रो अन्तर्राष्ट्रिय' को निर्माणदेखि यसको विघटन सन् १९१४ सम्म (सर्वहारा आन्दोलनमा मार्क्सवादलाई संस्थागत गर्ने कार्यका दृष्टिले र  मास पार्टीहरूको सङ्ख्यामा वृद्धिका दृष्टिले यो अवधि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा विशिष्टताले भरिएको अवधि हो ।) अन्त्यमा, तेस्रो चाहिँ साम्राज्यवादी युगमा स्थापित पहिलो समाजवादी सत्तादेखि १९७६ सम्म—कतै पनि समाजवादी मुलुक नभएको अवस्थालाई लिन सकिन्छ ।  अझ यसलाई पनि दुइटामा विभाजन गर्न सकिन्छ : पहिलो सोभियत रूसमा १९५६ मा पुँजीवादको पुनस्र्थापनासँगै सकिन्छ, जसले समाजवादी क्याम्पको अस्तित्वको समाप्तीलाई देखाउँछ । यदि विश्वक्रान्तिमा देखिएका विश्वका महत्त्वपूर्ण घटनाहरू विजय, हार,  अग्रगमन,  धक्का आदिलाई चरण विभाजनको आधारका रूपमा लिने हो भने माथि उल्लेख गरिएका हरेकलाई  सही मान्न सकिन्छ । तिनीहरूमध्ये हार अथवा अग्रगमन दुवैले विश्वको विकासमा सही अर्थमा ऐतिहासिक महत्त्वको चरित्रलाई दर्शाउँछन् ।

'माओवादी कम्युनिस्ट पार्टी अफ्गानिस्तान' ले 'आरसिपी अमेरिका' को चरण विभाजन सम्बन्धी  स्वेच्छाचारी प्रवृत्तिलाई राम्रोसित नङ्ग्याएको छ । अब हामी अभाकियनवादीहरूले गरेको प्रतिरक्षाको अध्ययनलाई अगाडि बढाउने छौँ । 'आरकम' (रिभोलुस्नरी  कम्युनिस्ट अर्गनाइजेसन, मेक्सिको) प्रश्न गर्छ : “यो सत्य हो कि होइन, माथि उल्लेखित समाजवादको अस्थायी पराजयले कम्युनिस्ट आन्दोलनको स्थितिमा महत्त्वपूर्ण गुणात्मक परिवर्तनलाई प्रस्तुत गर्छ, जसले एउटा प्रक्रियाबाट अर्को प्रक्रियालाई छुट्याउँछ ? अफ्गान माओवादी पार्टी यसको उत्तर दिनुसट्टा यसबाट भागेको छ । वास्तवमा यो भनाइ अचम्मलाग्दो छ ।  को चाहिँ यो प्रश्नबाट भागिरहेको छ ?  यस अवधिलाई एउटा मात्र चरणका रूपमा लिनुपर्ने कारणको व्याख्याको आशा अभाकियनवादीहरूबाट गरिएको थिएन र ? चीनमा भएको पुँजीवादी ‘कु’ गुणात्मक परिवर्तन भएको कुराप्रति कसैको पनि विमति छैन, तर यतिले मात्रै आरम्भदेखि अहिलेसम्मको सबै अबधिलाई कसरी एउटै चरणमा समावेश गर्न सकिन्छ ? 'आरकम' ले गरेको एउटै मात्रै विश्लेषण के हो भने ...“ यी तीन दशकहरूभन्दा बढी अवधिमा भएको सही कुरा के हो भने यतिखेर कुनै पनि समाजवादी मुलुकहरू र कम्युनिस्ट अन्तर्राष्ट्रिय  छैन । विगतका विजयहरूको कुरा गरेर मात्रै यो ठूलो धक्काले एउटा चरणको अन्त्य भयो-भएन भन्ने प्रश्नको उत्तर दिँदैन ।” उसोभए ठूलो धक्का खाएर ‘तीन दशकभन्दा बढी’  विश्वमा एउटा मात्र पनि समाजवादी मुलुक नहुनुले मात्र चरणको आधार बन्छ त ? परन्तु, जस्तो अफ्गान माओवादी पार्टीले प्रस्ट पारेको छ, एउटा लामो अवधि, 'पेरिस कम्युन' को  पराजयदेखि  अक्टोबर क्रान्तिको विजयबीच ठीक ४६ वर्ष बितेको थियो । र यो एउटा पनि सर्वहारा क्रान्ति नभएको अवधि हो । यसका विपरीत चिनियाँ क्रान्तिले धक्का खाएपछिको अवधि जनयुद्ध र क्रान्तिकारी सङ्घर्षले भरिएको ऊर्जाशील अवधि हो ।

 आरोहअवरोह भए पनि माओवादी पार्टीहरूको नेतृत्वमा भएका क्रान्तिकारी सङ्घर्षहरू यस अवधिका अविच्छिन्न वैशिष्ट्य भएका छन् । यी निरन्तर रूपमा भइ नै रहेका छन् । यस अर्थमा अभाकियनवादीहरूले गरेको चरण विभाजनलाई सतही सैद्धान्तीकरण भनेर खारेज गर्न सकिन्छ, यो अर्थहीन छ । साम्यवादी क्रान्तिको गति-प्रक्रियालाई यसरी मनपरी चरणहरूमा काटकुट गरिएको छ,  जसबाट मालेमाको चरणलाई एउटा तथाकथित पहिलो चरणको सैद्धान्तिक स्वरूपमा मात्र सीमित गर्न सकियोस् । यो नयाँ चरणले नयाँ सैद्धान्तिक स्वरूपको माग गर्छ भन्ने तर्कका रूपमा यसो गरिएको छ । अभाकियनवादको चरण विभाजन एउटा यस्तो उपकरण हो, जसले मालेमाको महत्त्वलाई  काम नलाग्ने भनेर सदाका लागि ताला लगाउँछ । यसो हुँदा सन् १९७६ यताको जनयुद्ध लगायतका क्रान्तिकारी सङ्घर्षहरूमार्फत कम्युनिस्ट आन्दोलनका सबै महत्वपूर्ण योगदानहरू विसर्जन हुन्छन् ।

'पेरिस कम्युन' को पराजय र समाजवादी मुलुकहरूमा पुँजीवादको पुनस्र्थापना सबै सर्वहाराले भोगेको पराजय हो ।  र पनि विश्वक्रान्तिको प्रक्रियालाई अगाडि बढाउन भविष्यका लागि सबै ऐतिहासिक महत्त्वका छन् । खासगरेर रूस र चीनले खाएको  धक्का अरूभन्दा बढी नै गुणात्मक असर पार्ने खालका छन् । पहिलोले अन्त्यमा एउटा स्थायी समाजवादी मुलुक निर्माण गर्ने प्रतिज्ञालाई रोक्यो ।  दोस्रोले, सोभियत रूसमा समाजवादी निर्माण पुँजीवादको स्थापनाले उत्पन्न गरेको समस्याको अनुभवबाट मुख्यतः सांस्कृतिक क्रान्तिमार्फत केही उत्तर प्रदान गर्यो । त्यसैले यी दुवै धक्काले केही महत्त्व पनि थपेका छन् । मूलतः  चीनमा सर्वहारा अधिनायकत्वका सम्बन्धमा वर्गसङघर्षको महत्त्वको शिक्षा समाजवादी निर्माण र पराजय,  यी सबैको एकैसाथ फरकफरक किसिमको गुणात्मक महत्त्व छ । वर्गसङ्घर्षको अजङ्गकै जटिलता, यसका विविध आयाम र असरलाई प्रमुख पक्षका रूपमा, माओको योगदानमार्फत  विश्वकम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो चोटि  अनुभूत र आत्मसात गरिएको थियो । यस सिद्धान्तको उँचाइ र अभ्यास माओवाद, मालेमाको पछिल्लो स्वरूपमा केन्द्रीकृत भएको छ । यसले सिद्धान्त र व्यवहार दुवै क्षेत्रमा कम्युनिस्टहरूका लागि पुनर्परीक्षण, पुनर्मूल्याङ्कन कार्य गर्न हिजोदेखि अहिलेसम्म गरिएका कम्युनिस्ट प्रयासहरू सबैलाई समेट्छ । यो अन्तिम कुरा त होइन । तर यो जारी बाँकी रहेका कार्यभार पूरा गर्ने सन्दर्भबिन्दुको आधार चाहिँ हो ।

अभाकियनवादसितको समस्या भनेको स्थितिको फाइदा लिनका लागि यस आधारप्रति विमति जनाउने प्रयासमा मात्र सीमित नहुनु हो । विचारधारात्मक क्षेत्रमा यसको गम्भीर पक्ष भनेको यसले माओवादमार्फत प्राप्त गरेका महत्त्वपूर्ण अग्रगामी मार्गदर्शन र महत्त्वपूर्ण सच्चाइबाट अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई धेरै पछाडि धकेल्छ । अब हामी यिनीहरूमध्ये केहीको विस्तृत अध्ययन गर्नेछौँ । मालेमावादी  विचारधाराबाट नै यसको आरम्भ गरौँ ।

पाद टिप्पणी
१. “मार्क्स  र एङ्गेल्सले 'कम्युनिस्ट मेनिफेस्टो' मार्फत सिद्धान्त र दृष्टिकोणलाई अगाडि बढाएपछि सन् १८४८ मा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन आरम्भ हुन्छ । यसको पहिलो चरणमा तीनवटा महागाथात्मक क्रान्ति समाविष्ट छन् : पेरिस कम्युन, सोभियत क्रान्ति र चिनियाँ क्रान्ति, जसमा उच्च बिन्दुका रूपमा 'महान् सर्वहारा सांस्कृतिक क्रान्ति' रहेको छ ।” ('आरसिपी अमेरिका' को संविधान : http://revcom.us/Constitution/constitution.html>
२. सिपिआई (एमएलएम) दस्ताबेज, ‘कल फर अल इरानियन कम्युनिस्ट्स् : टु रोड्स फर कम्युनिज्म’ सि (एम) पिएद्वारा उधृत् गरिएको ।
३.यदि युगपरिवर्तनजस्तो निर्णायक मुद्दाको आकस्मिक उपचारमा सिपिआइ (एमएलएम) सिद्धान्त कसरी ‘अघि  बढ्छ’ भन्ने कुराको नमुना हो भने यसले अन्त्यमा व्यवहारलाई कसरी अघि बढाउला भन्ने कुराले हामीलाई काम ज्वरो छुटाउँछ ।
४. 'कम्युनिज्मऐज ए साइन्स’, आरसिपी अमेरिकाको संविधानमा समाविष्ट ‘अपेन्डिक्स’, पूर्ववत्
५.‘कास्ट अवे इल्युजन्स, प्रिपेयर फर स्ट्रगल, एमएसडब्ल्यु : ४ ।
http://marxists.org/reference/archive/mao/selected-works/volume-4/mswv4_66.htm>
६. “दि कम्युनिस्ट पार्टी अफ इरान (एमएलएम), ह्याज फलेन इन्टु दि लस्ट रोड अफ  ‘पोस्ट-एमएलएम’” पूर्ववत्
७.‘रेसिड्युज’ पूर्ववत्
८. ऐजन
९. चरणसित सम्बद्ध विषयमा फरक किसिमले अध्ययन गर्नु राम्रो होला, तर यो भनाइ फ्रान्सेली दार्शनिक एलेन बेदुको लेख ‘दि मिनिङ अफ सार्कोजी’ को तर्कसित बढी मेल खान्छ । (अनु. डेभिड फर्नबाक, भर्सो,  लन्डन, २००८, पृ.१०६–१०७) । उनी प्रायगरेर सुनेकै विचार, अहिलेसम्मका विद्यमान समाजवादी राज्यका मोडलहरूका बारेमा पार्टीको संस्थागत भूमिका नै कम्युनिस्ट आन्दोलन पछि पर्नुको मूल कारण हो भन्ने कुरा दोहोर्याउँछन् । यसलाई कम्युनिस्ट आन्दोलनलाई दुई चरण : 'पेरिस कम्युन' को अन्त्य र चीनले खाएको धक्कालाई विभाजनको आधारका रूपमा ग्रहण गरिएको छ । छुट्याउने आधार राज्यव्यवस्थालाई मानिएको छ । कम्युनको असफलतालाई दुस्मनको आक्रमण (केन्द्रीकरणको अभाव) मानिएको छ भने दोस्रोको कारण चाहिँ पार्टीको संस्थागत भूमिकाले सम्बोधन गर्न नसक्नुमा खोजिएको छ । यसले चरणलाई छुट्याउँछ ।  सम्भावित समाधानमा बेदु, क्रान्तिकारी पार्टी नै भए पनि, पार्टीको संस्थागत भूमिकाको अन्त्य गर्नुपर्ने कुराको जिद्दी गर्छन् । यद्यपि उनी टोनी नेग्रीको ‘बहुसङ्ख्यक’ प्रस्थापना भन्दा फरक हो भन्ने दाबी गर्छन् तापनि उनी क्रान्तिकारी पार्टी र उसको संस्थागत आवश्यक भूमिकामार्फत  तीव्र वर्गसङ्घर्षको वस्तुगत यथार्थलाई सम्बोधन गर्न सक्षम छैनन् । यसरी “कम्युनिस्ट प्राक्कल्पनाको पुर्नस्थापना” को प्रस्ट इच्छा भए पनि बेदुका काल्पनिक समाधानहरूले बुर्जुवा प्रजातान्त्रिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्छन् । अन्ततः ‘चरण-विभाजन’ मा यी र यस्तै खालका तर्कहरूमार्फत कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन हामीलाई मालेमा भन्दा अरू केहीको आवश्यक छ भन्ने विचारलाई उनले  अघि सारेका छन् । (मालेमाको विकास होइन, अरू केही चिज) । अझ बेदुको पृथकीकरण त अहिलेसम्मका राज्यव्यवस्थाको प्रयासमा आधारित छ, जसले प्रत्यक्षरूपमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सामना गर्नुपरेको चुनौतीलाई छुन्छ । अभाकियनको मनपर्दी चरण विभाजन भन्दा यो ‘चरण-विभाजन’ को आधारसित केही
तर्क छ ।


भिडियो फिचरview all