menu

ताजा समाचार

“विशेष स्वार्थसमूह” को पक्षमा सि जिपिङ

भारतीय विस्तारवादले जसरी नेपालमाथि हस्तक्षेप गरिरहेको छ, लिपुलेक प्रकरणबाहेक देखिने गरी चीनले नेपालमाथि हस्तक्षेप गरेको पाइंदैन ।  नेपालको माओवादी आन्दोलन अथवा यहाँ हुने आमूल परिवर्तनप्रति पनि उसको कुनै रुचि र चासो छैन । उसको स्वार्थ भनेको आर्थिक र सुरक्षा मात्र हो । आफ्नो  आर्थिक स्वार्थको विस्तार र उसको दक्षिण सीमाको सुरक्षा नै उसको नेपालप्रतिको मूल चासो हो । भारतसितको सङ्घर्षमा उसले नेपाललाई प्रयोग गनै चाहेझैँ भारतसितको हाम्रो लडाइँमा नेपालले पनि आफ्नो स्वार्थमा उसलाई प्रयोग गर्न सके राम्रो कुरा हो ।

भारतको हाराहारीमा उसलाई राख्न नमिले पनि बनियाँ  प्रवृत्तिलाई जोड दिने अहिलेको चीनको नेपालप्रति निस्वार्थ सद्भाव छ भनेर अलिकति पनि सोच्न सकिँदैन l साथै एक थरी “कम्युनिस्टहरू” ले दस्ताबेजीकरण गरेझैँ चीनमा साम्यवाद पनि छैन । चीनलाई 'आफ्नै किसिमको साम्यवादी' मुलुक भन्ने हो भन्ने प्रचण्डको पार्टीलाई समाजवादी कार्यदिशा बोकेको आफ्नै किसिमको कम्युनिस्ट पार्टी भने हुन्छ, गाली गर्नुको तुक छैन l चीन पुगेर चिनियाँ सरकारको  मेजमानी खाएपछि  धेरैजसोले चीनलाई साम्यवादी ठहर्याउना उसको प्रशंसामा  आकाश-पाताल जोडेर ‘हनुमान चालिसा’ लेखे पनि आन्तरिक रूपमा चीनमा वर्गविभेद उच्च तहमा पुगेको छ ।

चीनमा माओको निधनपछि प्रतिक्रान्ति भयो र त्यहाँ अहिले बजार समाजवादको हालीमुहाली छ । अरूभन्दा फरक देखिन खोज्नु अहिलेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रपति सि जिपिङको बाध्यता हो । सन् ८० देखिको करिब ४ दशकमा पार्टीका एक थरी नेताहरू विश्वका उच्च सम्पतिवानमा दरिएका कुरा समाचारहरूले नै प्रकाशित गरेका छन् । २०११ को रिपोर्टअनुसार विश्वका ४०० धनाढ्यमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका १४६ जना नेता नवधनाढ्यको सूचीमा थिए । अहिले पनि पार्टीमा आधारभूत रूपमा उनीहरूकै हालीमुहाली छ ।

त्यहाँ बढ्दो वर्गअन्तर्विरोधका कारण उब्जेको असन्तुष्टि र विरोधको आवाज मत्थर पार्न सि जिपिङ एकातिर वारम्बार माओको नाम लिन बाध्य छन् भने अर्कातिर आक्रामक सुरक्षा नीति र विदेश नीति अँगाल्न बाध्य छन् । सि जिपिङकै भनाइमा चीनमा आर्थिक-राजनीतिक क्षेत्रमा “विशेष स्वार्थ समूह” हाबी छ र चीनको राजनीतिमा त्यसलाई नाघेर जाने स्थति छैन । वास्तवमा आधारभूत रूपमा पार्टी र सरकार उसैको स्वार्थमा चल्छ ।

कसैले पनि क्रान्तिकारी विचार राख्यो र त्यो दिशातिर पार्टी र सरकारलाई  अघि बढाउन खोज्यो भने उसलाई पार्टीबाट विस्तारै पन्छाइन्छ । अझ ऊ प्रभावशाली नेता छ र भोलि पार्टीको शीर्ष तह र सरकारको प्रमुख हुने लाइनमा छ भने उसलाई भ्रष्टाचार अथवा यस्तै परिपञ्च मिलाएर पन्छाउने काम गरिन्छ, उदाहरणका “बो सिलाइ सागा” का रूपमा चीनमा बहुचर्चित प्रकरणलाई लिन सकिन्छ ।
 
बो सिलाई माओ र माओवादका सच्चा अनुयायी थिए । सि जिपिङपछि पार्टीको प्रमुख र राष्ट्रपतिको पनि प्रमुख दावेदार थिए । उनी चिनियाँ जनतामाझ निकै लोकप्रिय थिए । उनले अगाडि सारेका नीत र योजना सोझै जन हितसित गाँसिएका थिए । तर, नवधनाढ्य नेता तथा ''विशेष स्वार्थ समूह''को स्वार्थमा धक्का पुग्न थालेपछि उनकी श्रमतीलाई हत्या अभियोग लगाएर र बो सिलाइलाई भष्टाचारमा फसाएर सन् २०१३ मा आजीवन कारावासको सजाय दिइयो ।

 वास्तवामा योजनाबद्ध किसिमले उनलाई फसाइएको हो । सिजि पिङले बेलाबेलामा माओको नाम लिने र माओको बाटोको कुरा गरे पनि  उनले चाहेर पनि “विशेष स्वार्थ समूह” को घेरा नाघ्न  सक्ने स्थिति छैन । उनी अरूभन्दा फरक देखिन खोज्नु उनको बाध्यता हो । साँच्चै उनी माओको पक्षमा छन् भने बो सिलाइलाई जेल मुक्त गरेर उनको मुद्दालाई नयाँ किसिमले अघि बढाउनुपर्ने हुन्छ । यसो गर्नेबित्तिकै “विशेष स्वार्थ समूह” ले आपत्ति त गर्ने छ नै,साम्राज्यवादी शक्तिहरूसितको व्यापारिक र आर्थिक सम्बन्धमा पनि असर पर्ने छ l उनले  त्यसो गर्न सक्तैनन् । बो सिलाइलाई आजीवन कारावासको सजाय  दिँदा सबैभन्दा बढी “विशेष स्वार्थ समूहहरू” र आइएनजिओहरू खुसी भएका थिए भन्ने कुरा त्यतिबेलाको समाचार शैलीबाट प्रस्ट हुन्छ ।

वस्तवमा सि जिपिङ परीक्षाको घडीमा छन् । यसपल्ट चीनका विभिन्न क्षेत्रमा माओ दिवस मनाउँदा ''बो सिलाइ निर्दोष छन्, उसको रिहाइ गर''  को नारा गुन्जेको कुरा सि जिपिङलाई पनि थाहा छ । तर चिनियाँ जनताको आवाज सुन्ने कि साम्राज्यवादी शक्तिहरूसित राम्रो सम्बन्ध भएको ‘विशेष स्वार्थ समूह”को स्वार्थ पूरा गर्ने भन्ने  प्रश्न उनका सामु छ । माओका अनुयायी बो सिलाइप्रति सि जिपिङले न्याय गर्लान् ? भनेर प्रश्न गर्न सकिए पनि “विशेष स्वार्थ समूह” घेरा तोड्न सक्ने उनको स्थिति छैन । 

कतिपयलाई  बो सिलाई को हुन् र उनलाई जेलमा किन राखियो भन्ने कुरा थहा नहुन सक्छ । कतिपयले सरकारी समाचार पढेर उनका बारे सरकारी धारणा बनाएका पनि हुन सक्छन् । यसको पूर्ण विवरणका लागि  युझी झाओको  'चीनमा समाजवादका लागि सङ्घर्ष : बो सिलाइ प्रकरणको अर्को पाटो' धैर्यतापूर्वक पढ्नु आवश्यक छ l यसलाई अर्को पोस्टमा  समावेश गरिनेछ l
 


भिडियो फिचरview all