menu

ताजा समाचार

टिप्पणी : विसर्जनवादीहरूको नाङ्गो नाच

मार्क्सवादमा विश्वास गर्नेहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर समाजको विकास र विनासका आधारहरू  खोज्छन् l उनीहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर हरेक वस्तुको मूल्यांकन गर्छन् l जब कोही मार्क्सवादका आधारभूत मान्यताबाट च्युत हुन्छ, वैचारिक र सांगठनिक विसर्जनका कारण तीव्र गतिमा पतनको दिशामा हुन्छ,उसमा हिनत्वभाव र कुण्ठा चुली भएको हुन्छ l यसले उसलाई तनाव, आक्रोस र बेचैनीको स्थितिमा पुर्याउँछ l अनि उसले तर्क, विवेक र विचार गुमाउँछ l विचारको तहबाट नभएर उसका अभिव्यक्तिहरू आक्रोस, कुण्ठा र  पराजित मानसिकताका  अभिव्यक्तिहरू बन्छन् l सुन्दर विचारहरू उसबाट भागिसकेका हुन्छन्, उसलाई छाडेर l त्यस्तो बेला उसले गाली, झूट, भ्रम / चरित्र हत्याको सहारा लिन्छ l अनि चरित्र हत्याका लागि  अमुक व्यक्तिको बिम्ब विद्रूपीकरण गर्न भएनभएको  कथा बुन्छ l आफ्नो कुण्ठाग्रस्त मानसिकतालाई  चित्त बुझाउन, अरस्तुको भनाइमा मनोविरेचन गर्न चरित्र हत्याको राजनीतिको सहारा लिन्छ l

 बिम्ब विद्रूपीकरणको यो शैली साम्राज्यवादले  गरेको र सिकाएको शैली हो, यो  उसको अन्तिम हतियार हो l साम्राज्यवादले सबैभन्दा पहिले स्टालिन र माओका विरुद्ध यसको प्रयोग गरेको थियो l  यो भनेको विचारसित लड्न नसकेपछि उत्पन्न छटपटी, आक्रोस, पीडा र कुण्ठा व्यक्त गर्ने अन्तिम  हतियार हो l यसबाट उसको यात्राको दसा  र दिशा प्रस्ट हुन्छ l यस्तो बेला ऊ होस हराएको आवस्थामा हुन्छ र विजय प्राप्त गर्न सर्वांग नाङ्गो बन्छ l अहिले पातलो प्लास्टिकको आवरणमा क्रान्तिकारी लेखेर आफ्नो नाङ्गो रूप ढाक्न खोज्ने ''गजेंडी''हरू यही काम गरिरहेका छन् l

हामी वैचारिक बहस-छलफलका लागि आव्हान गर्छौं l हामी वैचारिक चुनौतीको  सामनाका  लागि आव्हान गर्छौं l तर गजेंडीहरू, शिखण्डीहरूलाई अघि सारेर चरित्र हत्याको निकृष्ट व्यवहारमा उत्रेका छन् l आफू नाङ्गो भएको यथार्थ बिर्सेर ती गजेंडी नशामा रमाइरहेका छन् l  व्यक्तिगत चरित्र हत्याको सहारा लिने हो भने ''पोष्य पुत्रहरू'' र  शिखण्डीहरू मात्र नभए, प्रमुख कमान्डर र प्रवक्ताका पनि थुप्रै कथा र गाथा छन् l थुप्रै उदाहरणबाट एउटा उदाहरण, ''जाँडले लट्ठ भएर पाटनढोका  अनि ....l '' लिन सकिन्छ l  हामी त्यति तल झर्न चाहँदैनौं l हामी रेबिज लागेको कुकुरझैं जथाभावी टोकेर हिंड्ने चरित्र प्रस्तुत गर्न चाहदैनौं  l व्यक्तिका केही न केही कमीकमजोरी हुन्छन् तापनि  प्रमुख कुरा विचार हो, उसको नियत हो, कुन लक्ष्य र उदेश्यका साथ ऊ हिंडेको छ भन्ने हो l त्यसैले जाँडले लट्ठ भएर पाटनढोकामा आर्काकी श्रीमती समातेवापत रामधुलाइ खाएर प्रहरी चौकीमा बास बसेकालाई पनि हामीले नेता मान्यौं l
 
कम्युनिस्ट आन्दोलनमा लामो अनुभव भए पनि,   शास्त्रीय  ज्ञान भए पनि व्यवहारमा जान नसक्ने, नेतृत्त्व दिन नसक्ने र संगठन चलाउन नसक्ने भनेर माओवादी आन्दोलनमा स्थापित चरित्रलाई हामीले अवसर पनि दिएका हौं र परख पनि गरेका हौं l तर अनुभवले मात्र हुँदो रहेनछ, क्षमता पनि चाहिने रहेछ l अमुक नेताका बारेमा भन्दै आएको कुरा पछिल्ला दिनमा व्यवहारबाटै पुस्टि भएपछि उनको मूर्तिस्वरूपको पूजा गरेर बस्ने स्थिति रहेन l    एकपछि अर्को गरेर उनका पुराना मित्रहरू सबैले छोड्दै जाने स्थिति बन्यो l अब जनयुद्ध कालमा जनयुद्धका विरुद्ध लागेका तत्त्वहरूलाई पार्टीमा हुलेर नेता बन्नुबाहेक उनका लागि अर्को बाटो रहेन l यसले जनस्तरबाटै प्रस्न  उठ्नु/उठाउनु  स्वाभाविक थियो l त्यसपछि पहिरो जाने क्रम तीव्र बन्नु पनि स्वाभाविक थियो l इमान्दार र सापेक्षित क्रान्तिकारी कार्यकर्ता र नेताहरूले पार्टी छाड्दै जानुको पीडा त छँदै थियो,  प्रचण्डले समेत उचित काम र स्थान नदिने  बुझेपछि  क्रान्तिकारी देखिनुको आडम्बर र स्वांग रचेर  बुद्धनगरमा थन्किनुको विकल्प थिएन l सडकमा सय जना निकाल्न नसक्नुको थप पीडा थियो l

यस किसिमको पीडाग्रस्त र कुण्ठाग्रस्त स्थिति र हीनत्वभावले छटपटिएको मानसिकताबीच स्थानीय चुनावमा ''क्रान्तिकारी उपयोग' का नाममा  बेहाल र बेइज्जतीको जुन स्थिति  देखियो,  रक्तचापले  अनियन्त्रित चरित्र देखाउनु स्वाभाविक थियो l रातारात देखिएका पार्टीले काठमाडौँमा २१ हजार मत  ल्याउँदा क्रान्तिकारी भनिएको पार्टीले २१ भोट पनि ल्याउन नसक्नु र नेता भनौंदाको  गृह जिल्लामा  समेत जमानत जफ्त  हुनुले होस गुम्नु स्वाभाविक थियो l  '' सत्रु हराएको  सूचना आउनु'' यसै बेहोसीको उपज थियो l '' सत्रु हराएको  सूचना'' प्रति चौतर्फी प्रतिक्रिया भएपछि कुख्यात बनेका  ''पोष्यपुत्रहरू'' कुबाटो समातेको 'मूलबाटो', मार्फत  'जनमेल' तथा  ऋषिराज बरालका विरुद्ध लागेको कुरा दिनको घाम जत्तिकै प्रस्ट भएको छ l यो उनीहरूको वैचारिक विसर्जन,  कुण्ठा,  आक्रोस, पराजित र असन्तुलित  मानसिकताको परिचायक हो l आर्थिक भ्रष्टाचारमा बद्नाम भएका र 'इच्छुक' का नाममा दुई नम्बरी धन्दा गरेर घरको तला थप्ने कुतत्त्वहरूले अरूमाथि हिलो छ्यापेर आफूलाई शुद्ध पार्न खोज्नु भनेको टुकुचामा मुख जोतेर सगरमाथाको टुप्पोतिर थुक्नु मात्र हो l यस्ता भ्रष्ट्रहरूलाई वरिपरि राखेर क्रान्तिको डिंग हाक्ने कमान्डरहरूबाट केही हुन्छ भनेर आशा गर्नु पनि मूर्खता सिबाय केही होइन l कुखुराले चीलको उडान भर्न सक्तैन

वास्तवमा 'मूलबाटो' मा जे आयो यो, वैचारिक र सांगठनिक विसर्जनको स्थितिमा पुगेको एउटा समूहले आफ्नो विसर्जनोन्मुख प्रवृत्तिलाई ढाकछोप गर्न गरेको चरित्र हत्याको घीन लाग्दो राजनीति हो  l यस किसिमको पाखण्डपनको  उत्तर भनेको निन्दा र भर्त्सना हो l यसलाई वैचारिक र नैतिक पतनको पराकाष्ठा भन्न सकिन्छ l जब मान्छेसित विचार र तर्क हुँदैन अनि ऊ गाली र चरित्र हत्याको सहारा लिन्छ भनेर  एंगेल्सले भनेको कुरा यस मामिलामा सही साबित भएछको छ  l प्रस्ट छ, टुकुचामा मुख जोतेर केही फ्याउराहरू सगरमाथाको चुचुरोमा थुक्ने दुस्साहस गर्न थालेका छन् l माओले भन्नुभएको छ: ''प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही भएको पुष्टि हुन्छ l'' यसैमा मिलाएर हामी भन्छौं : विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन, यसले आफू सही हुनुको आधार दिन्छ  l

 वैचारिक बहस-छलफललाई हामी  प्रोत्साहित गर्छौं l तर असुन्तलित मानसिकताका साथ कोही चरित्र हत्याको  हतियार लिएर आउँछ भने क-कसका  कथा र गाथाको पोको खोल्नुपर्ने हो, त्यो हामीलाई पनि थाहा छ l   असन्तुलित मानसिकता बोकेकाहरू विरुद्ध कसरी जानुपर्छ, त्यो हामीलाई राम्रोसित थाहा छ l बाँकी युद्धकै मैदानमा l मालेमा जिन्दाबाद ! विसर्जनवाद मुर्दाबाद !


भिडियो फिचरview all