menu

ताजा समाचार

क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध होऔँ

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतीय जनताले चलाएको क्रान्तिकारी सङ्घर्षको ठूलो अन्तर्राष्ट्रिय महत्त्व छ । सर्वहाराको विचारधारा मार्क्सवाद-लेनिनवाद-माओवादको नेतृत्वमा सङ्घर्षको उच्च रूप जनयुद्धका साथ अघि बढिरहेको भारतमा चलिरहेको अहिलेको सङ्घर्ष विश्व सर्वहारा क्रान्तिको तुफानी केन्द्रमध्येको एउटा केन्द्रका रूपमा रहेको छ ।  त्यसैले भारतमा चलिरहेको जनयुद्धप्रतिको ऐक्यबद्धताले माओवादको रक्षा तथा आआफ्नो मुलुकमा यसको प्रयोग र विकासका दृष्टिले पनि अहम् महत्त्व राख्दछ ।

महान् नक्सलवाडी जनविद्रोहको ५० औँ वार्षिकोत्सवले क्रान्तिकारीहरू र कम्युनिस्ट अन्तर्राष्ट्रियलाई ऐक्यबद्धता पहलको विकासका लागि आह्वान गर्छ, यसले भारतमा चलिरहेको जनयुद्धको समर्थनका लागि पहिलेका शक्तिहरूबीचको एकतालाई मजबुत बनाउन तथा नयाँ शक्तिहरूलाई सक्रिय बनाउन दरिलो वैचारिक तथा राजनीतिक सिद्धान्तको दरिलो आधार प्रदान  गर्छ ।

भारतमा वर्गसङ्घर्षका माध्यमबाट खासगरेर दुई लाइन सङ्घर्षका बीचबाट विकसित मालेमालाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्धलाई केन्द्रमा राखेर  अघि बढाएको छ । यसको प्रमुख आधार सन् १९६७ को नक्सलवाडी जनविद्रोह हो । यो जनविद्रोहमा जनता साम्राज्यवाद र त्यसका सहयोगी शक्तिका विरुद्ध सङ्घर्षमा उत्रिएर र यसले कम्युनिस्टहरूबीच वैचारिक सङ्घर्षलाई प्रोत्साहित गर्यो । यो विद्रोहलाई निर्ममतापूर्वक दबाइए पनि नयाँ किसिमको कम्युनिस्ट पार्टी  निर्माण र आन्दोलनको गठन प्रक्रियालाई यसले अघि बढायो । यसका साथै यो सङ्घर्षले चारु मजुमदारलाई पनि भारतीय क्रान्तिका नेताका रूपमा अगाडि ल्यायो । उहाँका राजनीतिक तथा वैचारिक शिक्षाहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । चारु मजुमदारले नै ठोस परिस्थितिका नाममा राजनीतिलाई चुनावमा सीमित गर्ने कार्यबाट पहिलोपल्ट चुनावको बहिष्कारको नारा दिनुभएको थियो, जुन पछि गएर सबै क्रान्तिकारी शक्तिहरूको नारा बन्यो । यो आफ्नो मुलुकमा माओवाद लागु गर्न खोज्नेहरूका लागि एउटा साझा आधार बन्यो ।

भारतमा हिन्दू फासिवाद र साम्राज्यवादले जनतामाथि आतङ्क र युद्ध लादेको छ । माओवादलाई ग्रहण गर्दै सबै प्रतिक्रियावादीरू कागजी बाघ हुन् र उनीहरूको अन्त्य हुने छ  भन्ने कुरालाई मान्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनता र जनमुक्ति छापामार सेनाले जनयुद्धलाई अगाडि बढाएर यस किसिमको आतङ्का विरुद्ध लडिरहेका छन् । यस किसिमको सन्देश साम्राज्यवादी मुलुकमा पुर्याउने कुराले अहम्  महत्त्व राख्दछ, जहाँ “बुर्जुवा लोकतन्त्र” का नाममा घरीघरी संशोधनवादको प्रवेशद्वारा कम्युनिस्टहरू र क्रान्तिकारीहरूका विरुद्ध धावा बोलिने गरिएको छ ।

प्रतिक्रियावादीद्वारा पक्राउ परी जेलमा यातना खपिरहनुभएको कमरेड अजिथ सर्वहारावादी अन्तर्राष्ट्रियतावादको महान् उदाहरण हुनुहुन्छ ।  उहाँले दुर्इ लाइन सङ्घर्षलाई दरिलो गरी ग्रहण गर्नुभयो र वैचारिक बहसमा सहभागी हुँदै साम्राज्यवादका साथै अन्तर्राष्ट्रिय सर्वहारा र उत्पीडित जनता र राष्ट्रका दुइटा प्रमुख दुस्मन संशोधनवादका विरुद्धको सङ्घर्षमा  पनि नेतृत्वदायी भूमिका खेल्नुभयो । उहाँले साम्राज्यवाद विरोधी तथा साम्यवादी क्रान्तिकारी आन्दोलनका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएकाले उहाँ कम्युनिस्टहरूबाट मात्र नभई आम जनताका लागि समेत श्रद्धाका पात्र हुनुहुन्छ । उहाँको जेलनिर्वासनले विश्वव्यापी प्रभाव पारेको छ । उहाँको रिहाइका लागि 'इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया' ले  गरेको ऐक्यबद्धताको आह्वान महत्त्वपूर्ण पहल थियो, जसलाई लिएर विभिन्न मुलुकमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्  ।
'इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया' ले सङ्घर्षरत भारतीय जनता र कमरेडहरूप्रति मात्र ऐक्यबद्धता प्रकट नगरी अन्तर्राष्ट्रिय शक्तिहरूको विकासका दृष्टिले पनि यताका वर्षहरूमा  निकै महत्त्वपूर्ण कामहरूलाई अघि बढाएर यस क्षेत्रमा सक्तो  योगदान पुर्याएको छ । यसका सन्दर्भमा भारतीय जनयुद्धको समर्थनका लागि  ह्याम्बर्गमा सन् २०१२ मा भएको सम्मेलनको विशेष  महत्त्व राख्दछ । यो सर्वहारावादी अन्तर्राष्ट्रियतावादको दरिलो अभिव्यक्ति थियो र यसले अन्य मुलुकलाई पनि क्रियाशील गरायो । त्यसैको फलस्वरूप, मूलतः ह्याम्बर्गमा भएको सम्मेलनका साथै  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) स्थापनाको दशौँ वार्षिकोत्सवका सन्दर्भमा आयोजित सम्मेलनका कारण नै यस्तो भएको हो,  जसमा भारतमा चलेको आन्दोलनलाई सर्वहारावादी अन्तर्राष्ट्रियतावादसित जोडेर हेरिएको थियो । ह्यामबर्गमा भएको सम्मेलनले भारतमा चलिरहेको जनयुद्धलाई साम्राज्यवादका विरुद्ध सर्वहारावादी अन्तर्राष्ट्रियतावादी आन्दोलनको क्षेत्रमा प्राप्त उपलब्धिका रूपमा अगाडि बढाउने घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनको अंशका रूपमा लिएर हरेक मुलुकको आन्दोलनसित जोड्न आह्वान गरिएको थियो ।  “त्यसैले संसारभरिका कम्युनिस्टहरूले नगरी नहुने काम के हो भने हरेक मुलुकको वस्तुगत स्थितिअनुसार उत्पीडित जनतालाई सङ्गठित गर्दै र राजनीतिक परिचालन गर्दै आत्मगत स्थितिलाई मजबुत बनाउदै लानुपर्छ, किनभने एउटा मजबुत सर्वहारावादी पार्टी र सङ्गठित जनसमुदायले मात्र क्रान्तिलाई सफलतामा पुर्याउन सक्छ,” यसरी ह्यामबर्ग सम्मेलनमा भारतीय कम्युनिस्ट पार्टी माओवादीले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।
 
हामी हाम्रो सहयोग र समर्थनलाई घोषणामा मात्र सीमित राख्दैनौँ, बरू सही वस्तुगत स्थितिको उपयोग गर्दै, साम्राज्यवादका विरुद्ध सर्वोत्तम उपायको बाटो अँगाल्दै हरेक देशमा क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन साझा गतिविधिहरू चलाउँछौँ । भारतीय जनयुद्ध साम्राज्यवाद विरोधी क्रान्तिकारी आन्दोलनका सन्दर्भमा एउटा महत्त्वपूर्ण उदाहरण हो । यो हरेक देशका जनतालाई सङ्गठित गर्दै राजनीतिक परिचालनमार्फत सङ्घर्षलाई अघि बढाउनका लागि महत्त्वपूर्ण सन्दर्भ हो, यो भारतीय जनताको मात्रै सङ्घर्ष नभएर विश्व सर्वहारा आन्दोलनसित जोडिएको  आन्दोलन हो र यसको सफलता पनि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को मात्रै होइन र हुँदैन । त्यसैले यसले सही अर्थका सर्वहारावादी अन्तर्राष्ट्रियतावादी शक्तिहरूको सहयोग र सक्रिय समर्थनको माग गर्दछ, साथै क्रान्तिकारी तप्का र साम्राज्यवाद विरोधी र साम्यवादी आन्दोलनभित्र पनि  बहस र वैचारिक सङ्घर्षको माग गर्दछ । महान् नक्सलबाडी जनविद्रोहको ५० औँ वार्षिकोत्सवका लागि सर्वहारावादी अन्तर्राष्ट्रियतावादी झण्डामुनि गोलबद्ध भएर हाम्रो क्रियाशीलतालाई तीव्र पारौँ, जनपरिचालन र  गतिविधिहरूलाई अघि बढाऔँ !

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) :  जिन्दावाद !
मोर्चाहरूमा शहादत प्राप्त गर्ने कमरेडहरूप्रति श्रद्धासुमन !
नक्सलवाडी किसान आन्दोलनले दिएको शिक्षाको रक्षा गरौँ !
फासिवाद र साम्राज्यवादको अन्त्य निश्चित छ !
 जनताको विजय जिन्दावाद !
 
इन्टरनेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन्डिया
अनु : ऋषिराज बराल

भिडियो फिचरview all