menu

ताजा समाचार

माओवादी कमजोर होलान्, समाप्त हुँदैनन् : भियस सिरपुरकार

भारतको छत्तिसगढ राज्यको सुक्मामा भएको घटनापछि भारतमा चलिरहेको जनयुद्धलाई दबाउन सूचनाभ्रम, आर्थिक लगानी,  राजनीतिक पहल र सशस्त्र शक्तिको प्रयोग सबै उपाय लागु गर्ने भनेर भारतीय फासिवादले निर्णय गरेअनुसार त्यहाँको सरकारले अहिले विभिन्न किसिमका कार्यक्रमहरू चलाइरहेको छ । मान्छे पक्राउ गरेर आत्मसमर्पण गर्यो  भन्ने, आदिवासी बस्तीमा आफूले आगो लगाएर माओवादीले आगो लगाए भन्ने, एक जना पनि नमरेको स्थानमा १६ जना माओवादी मारिए भन्ने, माओवादीले कलिला बच्चा अपहरण गरेर सेनामा भर्ति गरे भन्ने लगायत विभिन्न गोष्ठी र सभा गरेर जनतामा निराशा र भ्रम उत्पन्न गर्ने काम उसले गरिरहेको छ । यसका  साथै सशस्त्र दमनलाई पनि  सँगै लैजान छत्तिसगढमा मात्र उसले २८ हजार विशेष कमान्डो कोब्रा फोर्स तैनाथ गरेको छ ।

काङ्ग्रेस सरकारकै पालामा गाउँका माओवादीहरूभन्दा माओवादीहरूलाई समर्थन गर्ने सहरका बुद्धिजीवीहरू बढी खतरनाक छन् भनेर “चिन्ता” जाहेर गर्ने भारतीय फासिवादले पछिल्ला दिनमा यो निष्कर्षलाई व्यवहारमा लागू गर्नथालेको  छ । पहिले माओवादी आन्दोलनका लागि सानो ठाउँ पनि नदिने पत्रपत्रिकाहरूमा माओवादीहरूका गतिविधि मुख्य समाचार बन्नु, बनाउन बाध्य हुनु र पाकिस्तानसित जोडिएका राज्यहरूमा माओवादी गतिविधि बढ्नुले अहिले भारतीय प्रतिक्रियावाद निकै आत्तिएको देखिन्छ ।

यसैक्रममा सरकारकै आन्तरिक योजनामा केही दिनअघि नागपुरमा ‘अर्बन माओइस्ट नेटवर्क’ नामको विचारगोष्ठीको आयोजना गरिएको थियो ।  माओवादीहरू राज्यका लागि खतरनाक भएकाले कसरी दबाउन सकिन्छ भनेर सुझाव र विचार लिनु सो कार्यक्रमको उद्देश्य थियो । तर त्यहाँ जेजस्ता विचार र धारणाहरू आए, उल्टै त्यो कार्यक्रम सरकारी पक्षमा लागि प्रत्युत्पादक बन्यो ।

सो कार्यक्रम एकहिसाबले सरकारको विरुद्धमा र माओवादीका पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम जस्तो भयो । प्रमुख वक्ताका रूपमा रहेका उत्तराखण्डका पूर्व प्रमुख न्यायधीश भियस.सिरपुरकारले माओवादी राज्यका लागि खतरा होलान् तर त्योभन्दा खतरनाक छन् “गौ-रक्षकहरू”  भनेर अभिमत दिए । उनले दमन र आतङ्कले माओवादीहरू कमजोर होलान्, तर समाप्त हुने छैनन् पनि भने ।

उनले भने :

“मुलुकको वर्तमान समाजिक-राजनीतिक स्थिति नै यस्तो छ, जसले माओवादी आन्दोलनका लागि उपयुक्त वातावरण निर्माण गरेको छ र उनीहरूको उपस्थिति मात्र होइन, उनीहरूले पखेटा फिँजाउनु स्वाभाविक छ ।”

उनले भने :

 ''माओवादीले आफ्ना दस्ताबेजमा आदिवासी, दलित, अल्पसङ्ख्यक जनतामाथि शोषणदमन भएको कुरा उठाएका छन् । उनीहरूले यो सरकारलाई उत्पीडनकारी, साम्राज्यवादमुखी, सामन्ती ब्राम्हणवादी  भनेका छन् l यो कुरा दलित र अन्य समुदायमाथि भएको दमनले प्रस्ट पारेको छ । जेएनयुबाट विद्यार्थीहरू गायब हुनु, बुद्धिजीवीहरूलाई माओवादी बनाएर जेल पठाउनु र विचार व्यक्त गर्नबाट वञ्चित गर्नु सबै कुराले उनीहरूले भन्दै आएका कुरा प्रमाणित हुन्छन् ।”

उनले यो सरकारले न्याय दिँदैन र  उत्पीडन गर्छ भने उनीहरूले सहाराका लागि माओवादीतिर नहेरेर  के गरून् त पनि भनेका छन् । सामाजिक विभेद, अन्याय र बढ्दो वर्गविभेद नै माओवादी फैलिनुको कारणा हो ।   माओवादीहरू बढे भनेर चिन्ता गर्नु भन्दा किन बढे भनेर खोजी गर्नु आवश्यक छ भन्ने भनाइ पनि उनको थियो ।

उनले भनेका छन् :

'' माओवादीका हिंसात्मक गतिविधि, न्यायका नाममा गरिने कामकारबाहीप्रति सहमत हुन नसकिएला,  तर माओवादी भन्दा कथित ‘हिन्दू युवा बाहिनी', ‘गौ-रक्षकहरू’ धेरै खराब छन् । यस्ता घटनाहरूले प्रजातन्त्र भनिने व्यवस्थाप्रति विश्वास घट्नु स्वाभाविक छ ।

अन्त्यमा उनले भने : “भनिरहनु आवश्यक छैन, आउँदा दिनमा माओवादीहरूको विस्तार झन् द्रूत गतिमा हुनेछ ।”


भिडियो फिचरview all