menu

ताजा समाचार

“नक्सलबाडी जिन्दावाद !” अर्थात् “विद्रोह गर्नु अधिकार हो !”

(प्रस्तुत रचना माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ 'रिम'को प्रकाशन 'अवल्र्ड टु विन'  २३, १९९९ मा प्रकाशित रचना हो । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको वैचारिक तथा  ऐतिहासिक महत्व दर्शाउने यस रचनामा त्यतिबेलाको अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको स्थितिका साथै क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध हुनुपर्ने आवश्यकता र औचित्यप्रति जोड दिइएको छ । )


“नक्सलबाडी जिन्दावाद !” अर्थात् “विद्रोह गर्नु अधिकार हो !”

तीस वर्षअघि पश्चिम बङ्गालको एउटा गाउँ नक्सलबाडीका किसानहरूको  सशस्त्र विद्रोहले भारतमा क्रान्तिकारी अग्निज्वालाको विस्फोट गराएको थियो । शोषण र  दमनका वर्षौँ पुराना साङ्लाहरूमाथि आक्रमण गरिएको  थियो । आज्ञाकारी दासझैँ रहन संशोधनवादीहरूले गरेको आह्वानलाई तिरस्कारका साथ अस्वीकार  गरिएको थियो । गरिब र उत्पीडित किसानहरूले राजनीतिक सत्तालाई कब्जामा लिने अभियानलाई अघि बढाउन घृणाका पात्र जमिनदारहरूबाट आफ्नो मेहनतको फल आफ्नो कब्जामा लिने आँट गरेका थिए ।

साँच्चै नै नक्सलबाडीले सिङ्गै देशलाई हल्लाइदियो । भारतीय समाजका एकदमै तल्लो तहका आदिवासी र दलितहरूका मनमा  दबिएर बसेको आक्रोसको ज्वाला फुट्नुका साथै गरिब र सुकुम्बासी किसानहरू लगायत देशका विभिन्न स्थानमा क्रान्तिकारी आँधीबेहरी शक्तिशाली रूपमा विस्फोट भयो । नक्सलबाडीको वेगवान हावाको प्रवाहले दशकौँ पुरानो संशोधनवादी दुर्गन्धलाई उडाइदियो र सिपिआइ र सिपिआइएम१ मा जकडिएका सयौँ कार्यकर्ताहरू विद्रोहमा उत्रिए । कलकत्ता र साना औद्योगिक केन्द्रहरूमा रहेका मजदुरहरूका सबै शाखाहरू र सहरिया गरिबहरू अर्थवादी (ट्रेड युनियनवादी) ढोका फोरेर बाहिर निस्किए । वर्गसचेत सर्वहाराका रूपमा सशस्त्र कृषिक्रान्तिको लडाइँमा अग्रपङ्क्तिमा उभिएर थुप्रैले आफूलाई त्यस लडाइँमा होमे । समाजका  सबै तप्काबाट जागिरेहरू, प्राध्यापकहरू र अन्य तप्का  जनताको क्रान्तिकारी उत्सवमा सामेल भयो । नक्सलबाडीले युवा तथा विद्यार्थीहरूको समग्र पुस्तामा नयाँ विचारधारा प्रवाहित गर्दै र क्रान्तिकारी ऊर्जाको सञ्चार गर्दै, कम्युनिस्ट आदर्शले सुसज्जित पारेर  क्रान्तिका लागि जनसेवा र आत्मबलिदानको बाटोमा अग्रसर गरायो ।

नक्सलबाडी आन्दोलनअघि संशोधनवादी वर्चस्वले ढलिमली गरेको भए पनि भारतीय कम्युनिस्ट आन्दोलनसित क्रान्तिकारी सङ्घर्षको प्रेररणादायी इतिहास पनि थियो । सबैभन्दा महत्वपूर्ण कुरा सन् ४० को दशकमा चलेको तेलङ्गाना सशस्त्र सङ्घर्ष थियो । सङ्घर्षले उच्च रूप लिएको बेला आन्दोलनले सयौँ गाउँहरूमा लालसत्ता स्थापना गर्न सफल भएको थियो र पछि भारतीय कम्युनिस्ट पार्टीको नेतृत्वले ५ वर्षको यस लामो सङ्घर्षप्रति गद्दारी गर्यो  ।  क्रान्तिकारीहरू चाहिँ माओ त्सेतुङ विचारधाराप्रति प्रतिबद्ध रहँदै सोभियत संशोधनवादका विरुद्ध उभिए । नक्सलबाडीले फड्को मार्यो  । यो मार्क्सवाद-लेनिनवादको नयाँ चरण माओ विचारधारालाई सचेततापूर्वक आत्मसात गरेर भारतीय वस्तुगत स्थितिमा  लागु गरेर अगाडि बढाइएको जनताको सशस्त्र क्रान्तिकारी सङ्घर्ष थियो । यो नै विशिष्ट र प्रमुख पक्ष थियो, जसले नक्सलबाडी आन्दोलनलाई केन्द्रीय भूमिकामा राख्न सफलता प्राप्त गर्यो ।

दार्जलिङ जिल्लामा चारु मजुमदारको नेतृत्वमा सिपिएमभित्रको क्रान्तिकारी समूहले संशोधनवाद र केन्द्रवादका विरुद्ध सचेततापूर्वक सङ्घर्षलाई सघन बनाएको थियो । क्रुस्चेववादी संशोधनवादका विरुद्ध माओले लडेको लडाइँ र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट  शिक्षा लिँदै चारु मजुमदार संशोधनवादीहरूसित (सोभियत संशोधनवादीहरूको नेतृत्वमा रहेको सोभियत सङ्घ पक्षधरहरूलाई जनताको सत्रुका रूपमा बुझ्दै) सम्बन्ध विच्छेद गर्न सफल हुनुभयो र दीर्घकालीन जनयुद्धको बाटोबाट क्रमिक रूपमा राजनीतिक सत्ता प्राप्त गर्न सशस्त्र कृषि क्रान्तिलाई अगाडि बढाउनुभयो । नक्सलबाडीलाई विश्व सर्वहारा क्रान्तिको एउटा अङ्गका रूपमा हेरिएको थियो । यसले यस क्षेत्रका अन्य मुलुकहरूमा क्रान्तिकारी सङ्घर्ष आरम्भ गर्न ऊर्जाको काम गर्यो । यसले चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वभरिका सर्वहारावादी क्रान्तिकारीहरूको प्रेरणादायी समर्थन प्राप्त गरेको थियो ।

 नक्सलबाडीले संशोधनवादीहरूसित सम्बन्ध विच्छेद गर्ने र सही कम्युनिस्ट अग्रदस्ता निर्माण गर्ने प्रक्रियालाई नयाँ र उच्च तहमा उठायो । सन् १९६९ मा कमरेड चारु मजुमदारको नेतृत्वमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) निर्माण गर्ने दरिलो कदम लिइयो । सिपिआइ (एमएल)  को  पहिलो महाधिवेशन सशस्त्र सङ्घर्ष चलिरहेकै  बेला सन् १९७० मा भएको थियो, भारतीय समाजलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक समाजका रूपमा विश्लेषण गर्दै सामन्तवाद, दलाल-नोकरसाही पुँजीवाद, साम्राज्यवाद र सामाजिक साम्राज्यवाद (त्यतिबेरको सोभियत पक्षधरहरूप्रति लक्षित गर्दै) विरुद्ध क्रान्तिको निसाना हुने कुरा महाधिवेशनले किटान गर्यो  ।  यसले नयाँ जनवादी क्रान्ति र दीर्घकालीन जनयुद्धको कार्यभारलाई अघि सार्यो   ।

माओले भन्नुभएझैँ क्रान्ति भोजभतेर होइन, यो एउटा हिँसात्मक कामकारबाही हो,  जसमा एउटा वर्गले अर्को वर्गमाथि आधिपत्य कायम गर्छ । नयाँ क्रान्तिकारी नेतृत्वले भारतको ठूलो हिस्सामा तीव्र क्रान्तिकारी उभार र उथलपुथलमार्फत अगाडि बढ्नु थियो । गहिरोसँग जरा गाडेको संशोधनवादी विचार र कार्यशैलीका विरुद्ध निरन्तर लड्नु थियो, हजारौँ युवाहरूलाई सर्वहारा लडाकु र नेताका रूपमा प्रशिक्षित र परिष्कृत गर्नु थियो, रगतको मूल्य चुकाएर आर्जित अनुभवलाई संश्लेषण  गरेर पार्टीको लाइन र कामका लागि विकसित गर्नुथियो— र यी सबै कार्यहरू दुस्मनको नृशंस दमन विरुद्धको सशस्त्र सङ्घर्ष र लडाइँलाई अघि बढाउने कामका लागि गर्नु थियो । प्रारम्भिक दिनहरूमा नै अनुभवी कार्यकर्ताहरू गुमेका कारण भर्खरै स्थापित पार्टीका सामु यी कामहरू सम्पन्न गर्ने कुरामा निकै ठूलो असर पर्यो  । यसरी धक्का खानुबाट उत्पन्न कठिनाइहरूका बीच पार्टीमा  देखापर्न थालेको दक्षिणपन्थी हावाले पार्टीको लाइन र व्यवहारमा देखापरेका केही कमजोरीहरूलाई समातेर पार्टीको सही दिशालाई उल्टाउने प्रयास गर्नथाल्यो ।

चारु मजुमदारमा निहित  कथित “फूटवाद” र “दुस्साहसवाद” ले पार्टीलाई आम जनताबाट “अलगथलग” पारेर ठूलो नोक्सान पुर्यायो पनि भन्ने गरिएको छ । हो,चारु मजुमदारका महत्वपूर्ण पक्ष मार्क्सवाद-लेनिनवाद-माओवादप्रतिको  अडान, दृष्टिकोण र पद्धतिहरूसँगै एकलकाटेपन, स्वस्फुर्तता र व्यक्तिवाद जस्ता केही प्रवृत्तिहरू नभएका होइनन् । तर, सबै कुराको अध्ययन गर्दा संशोधनवाद र संशोधनवादीहरूको  निर्मम आलोचना, सत्ता प्राप्तिसम्बन्धी मूल प्रश्नमा सही बुझाइ, जनताप्रति अगाध विश्वास र आस्था तथा उच्च क्रान्तिकारी आशावाद जस्ता पक्षहरू उहाँमा विद्यमान रहेको कुरा जोडदार रूपमा हाम्रो सामु देखापर्छन् । वास्तवमा फूटपरस्तता र एकलकाटेपनका विपरीत उहाँको नेतृत्वमा पार्टी गहिरोसित आम जनतामा भिजेको थियो र यसले पार्टीमा जनताको समर्थनको जलासय निर्माण गर्न सहयोग पुर्याएको थियो, जसबाट अहिले पनि सच्चा क्रान्तिकारीहरूले ऊर्जा प्राप्त गरिरहेका छन् । उहाँको नामले सत्ताधारी वर्ग आतङ्कित हुन्छ र क्रान्तिकारीहरूलाई उत्साहित पार्छ ।

सिपिआइ-सिपिएम जस्ता संशोधनवादीहरूको मिलोमतोमा भारतीय प्रतिक्रियावादले १९७२ मा चारु मजुमदारको षड्यन्त्रपूर्ण किसिमले  हत्या गरेपछि सिपिआइ (एमएल) एउटै एकीकृत पार्टीका रूपमा अघि बढ्न सफल हुन सकेन । त्यसपछि त्यहाँ अनुभवहरूको अभिरेखाङ्कन  गर्दै एकताबद्ध हुने थुप्रै प्रयासहरू भए । १९७६ मा चीनमा पुँजीवादपन्थीहरूले ‘कु’ गरेपछि नयाँ विभाजनहरू देखापरे र सिपिआइ (एमएल) मा पनि विस्तारै दक्षिणपन्थी प्रवृत्ति हाबी हुनथाल्यो र यसले थप जटिलता थप्यो । साथसाथै यसले विचारको महत्वलाई बुझ्ने काममा नयाँ  जिम्मेवारी र अवसर पनि सिर्जना गर्यो, यसले सङ्घर्षका लागि ऊर्जा र एकताका लागि सही संश्लेषण दिन सक्षम भयो । दुर्भाग्यवस यी अवसरहरूप्रति कि त बेवास्ता गरियो कि त जहाँबाट यसको आन्तरिक थालनी गरिएको थियो, त्यहीँबाटै यसको दुरुपयोग भयो । माओले मार्क्सवाद-लेनिनवादमा गर्नुभएको गुणात्मक विकास र सिङ्गो नयाँ चरणको रक्षा र हुवा को-फेङ र देङ सियाओ पेङले चीनमा थालनी गरेको पुँजीवादी अभियान र होक्जावादी संशोधानवादी आक्रमणका विरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको अर्थ र महत्वलाई बितेका वर्षहरूमा सच्चा क्रान्तिकारी शक्तिहरूले राम्रोसित बुझेर विकसित गरेका छन् । र पनि यो प्रश्नले सबै क्रान्तिकारी शक्तिहरूलाई एउटै केन्द्रमा सफलतापूर्व एकताबद्ध गर्ने कार्यभार पूरा गर्नुसित सरोकार राख्छ, त्यसलाई पूर्णता दिन अझै बाँकी छ ।

सिङ्गो यस अवधिभर, एक समय सिपिआइ (एमएल) मा सहभागी क्रान्तिकारी शक्तिहरूका साथै अन्यहरूले पनि विरत्वपूर्ण किसिमले नक्सलबाडीको रातो झण्डालाई माथि उचालिरहेका छन् । आन्ध्र, बिहार र दण्डकारण्य२ को सशस्त्र सङ्घर्ष उल्लेखनीय ढङ्गले अघि बढिरहेको छ र यसले आम जनताको सहयोग हासिल गर्न सक्षम हुनुका साथै आन्दोलनका लागि अनुभवमा पनि वृद्धि गरेको छ ।
 
३० वर्षअघि नक्सलबाडीले थालनी गरेको सशस्त्र कृषि क्रान्ति सम्भव छ  र अझ यो आवश्यक मात्रामा परिपक्व भएको छ । अर्थतन्त्रको हरेक क्षेत्रमा चर्को साम्राज्यवादी प्रवेशसँगै भारतीय साशक वर्गको शोषण र दमन दोब्बर भएका कारण आम जनतामाथि चौतर्फीरूपमा पीडा र आक्रोस व्याप्त छ । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यसले समाजका विभन्न तह र तप्का साथै विविध क्षेत्रमा सशस्त्र सङ्घर्षका साथै प्रतिरोध र सङ्घर्षका विविध रूपहरूलाई अगाडि ल्याउन आह्वान गरिरहेको छ । सत्ताधारी वर्गहरूबीचको विभाजनमा वृद्धि भएको छ । अझ हाम्रो छिमेकी मुलुक नेपालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को अगुवाइमा चलेको जनयुद्धले भारतभित्र क्रान्तिकारी उथलपुथल ल्याउन प्रत्यक्ष रूपले नै गति र तीव्रता प्रदान गरिरहेको छ ।

यस किसिमको परिस्थितिले प्रस्टताका साथ कम्युनिस्ट क्रान्तिकारीहरूलाई सही मार्क्सवादी-लेनिनवादी-माओवादी लाइनमा आधारित भएर सक्षम नेतृत्व प्रदान गर्दै विद्रोह र सर्ङघर्षका सबै छाँगाछहराहरूलाई जनयुद्धको शक्तिशाली प्रवाहमा समाहित गर्न एउटै झण्डामुनि गोलबद्ध हुने साहशिलो र जोडदार माग अघि सारेको छ  । निश्चय पनि यो लक्ष हासिल गर्ने सङ्घर्षमा बितेका ३० वर्षको समृद्ध अनुभवको संश्लेषणको आवश्यकता छ र खास गरेर मार्क्सवाद-लेनिनवाद-माओवादको उच्च र केन्द्रीकृत बुझाइका साथ  भारतका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूले अन्तर्राष्ट्रिय वर्ग स्तरमै  यो अनुभवबाट शक्ति र सामथ्र्य ग्रहण गर्न सक्नुपर्ने हुन्छ र गर्नुपर्छ ।  ठोसरूपमा भन्नुपर्दा यो भनेको ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ सित गाँसिएको एउटै क्रान्तिकारी जुधारु पार्टी निर्माणका लागि गरिएको सङ्घर्ष हो ।

विश्वभरिका सर्वहारा क्रान्तिकारीहरू भारतमा क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने क्रममा  देखिएका कठिनाइहरूप्रतिको बेवास्तालाई  रत्तिभर सहन गर्न सक्तैनन् । यसै पत्रिकाको पहिलो अङ्कमा हामीले औँल्याएका थियौँ : “तपाईँले विश्वक्रान्तिको कुरा गरिरहनुभएको छ भने, तपाईँले भारतीय क्रान्तिको पनि कुरा गरिरहनुभएको छ ।” भारतका विभिन्न भाषाहरूमा , “नक्सलवाडी जिन्दाबाद !” को अर्थ हुन्छ “नक्सलबाडीको दीर्घायु होस् !” तर भारत र बाहिरका उत्पीडितहरूका लागि यसको अर्थ यस्तो हुन्छ ,“विद्रोह गर्नु अधिकार हो !”

...............................................................................................................
१. भारतीय कम्युनिस्ट पार्टी, सिपिआइ, सोभियत संशोधनवादपरस्त भारतीय पार्टी हो । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), सिपिएम सिपिआइबाट १९६३ मा अलग भएको मध्यपन्थी पार्टी हो, जसले सिपिआइ र क्रुस्चेवलाई संशोधनवादी भनेर आलोचना गरे पनि कहिले पनि सही क्रान्तिकारी लाइन र कार्यक्रमलाई अबलम्बन गरेन ।
२. मध्यभारतका चारओटा राज्यका विभिन्न भाग मिलाएर बनाइएको घनाजङ्लयुक्त क्षेत्र ।

अनु. ऋषिराज बराल


भिडियो फिचरview all