menu

ताजा समाचार

सम्पादकीय : नक्सलबाडी विद्रोहको ५० वर्ष

नक्सलबाडी एउटा गाउँको  मात्र नाम होइन

“जो सपना देख्दैन र अरूलाई पनि सपना देख्न सक्ने बनाउँदैन, ऊ कहिल्यै पनि क्रान्तिकारी हुन सक्तैन ।”
 चार मजुमदार ।

 
आजभन्दा ५० वर्षअघि सन् १९६७ मे २३ का दिन भारतको पश्चिम बङ्गालस्थित नेपालको पूर्वी सिमाना काँकडभिट्टासित जोडिएको गाउँ नक्सलबाडीमा कमरेड चारु मजुमदारको नेतृत्वमा उठेको किसान विद्रोह नक्सलबाडी सशस्त्र किसान विद्रोहका नामले परिचित र स्थापित छ । नक्सलबाडी गाउँबाट आरम्भ भएको यो किसान विद्रोह अग्निपुन्ज बनेर भारतभरि नै फैलियो । भारत मात्र होइन, यसले सिङ्गो यस क्षेत्रलाई प्रभावित पार्यो ।
 
नक्सलबाडी गाउँबाट आरम्भ भएकाले यसले नक्सलबाडी किसान विद्रोहको नाम पायो ।। “एउटै बाटो एउटै बाटो , नक्सलबाडी एउटै बाटो” जनमनको गीत बन्यो l वास्तवमा नक्सलबाडी अब एउटा गाउँको नाम मात्र रहेन । नक्सलबाडी नाम, विचार, विद्रोह र आन्दोलनमा फेरियो । विरोधीहरूले यसलाई नक्सलवाद र यसका अनुयायीहरूलाई नक्सली पनि भन्ने गरेका छन् । यो उनीहरूमा निहित फासिवादी चिन्तन र कायर मानसिकताको उपज हो l

नक्सलबाडी आन्दोलन भारतमा माओवादी आन्दोलनको पहिलो विस्फोट थियो । त्यसैले भारतमा चलेको यस आन्दोलनलाई चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिुपुल्स डेली’ ले “भारतीय आकाशमा बसन्ते गर्जन’ शीर्षक दिएर सम्पादकीय समेत लेख्यो ।
 
नक्सलबाडी आन्दोलन विगत मात्र होइन,वर्तमान पनि हो । अहिले यसैको विरासतका रूपमा भारतका माओवादी क्रान्तिकारीहरूले भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) को झण्डामुनि गोलबद्ध भएर भारतीय फासिवादी सत्ताका हरेक दमन र आतंकको प्रतिरोध गर्दै, नयाँ जनवादी सत्ता स्थापनार्थ दीर्घकालीन  जनयुद्धलाई अघि बढाइरहेका छन् l

नक्सलबाडी सशस्त्र किसान आन्दोलन ५० वर्ष पुगेको सन्दर्भमा त्यस आन्दोलनका अगुवा नेता कमरेड चारु मजुमदारसहित अन्य  सहिद कमरेडहरू, आन्दोलनका महान् योद्धाहरूप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दै  नक्सलबाडी आन्दोलनले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गरौँ । नक्सलबाडी बिद्रोहले देखाएको बाटो भनेको मार्क्सवाद-लेनिनवाद- माओवादको बाटो हो l  त्याग, बलिदान र समर्पणको बाटो हो l सबै किसिमका अवसरवाद र संसोधनवाद विरुद्ध सङ्घर्षको बाटो हो l नयाँ जनवादी क्रान्ति र जनयुद्धको बाटो हो l

यस सन्दर्भमा हामीले यो हप्ता विशेष सामग्री प्रस्तुत गरेका छौँ ।

क. कमरेड चारु मजुमदारका दुई आलेख,
ख. पिपुल्स डेलीको सम्पादकीय,
ग. समर्थन कमिटीको घोषणापत्र
घ. नक्सलबाडीसम्बन्धी रिमको धारणा
ङ. अन्य विविध


भिडियो फिचरview all