menu

ताजा समाचार

मे दिवश, वैशाख १७, २०७२

ऋषिराज बराल
आजकै दिन २ वर्षअघि  २०७२ साल वैशाख १७ गते मे दिवशका दिन 'विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा' सहित  तत्कालीन नेपाल कम्युनिस्ट पार्टी-माओवादी, अहिलेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित मैले सम्बन्ध विच्छेदको घोषणा गरेको थिएँ । सम्बन्ध विच्छेद गरेपछि मेरा सामु दुइटा विकल्प थिए : एउटा नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण गरेर अघि बढ्नु र अर्को थियो भएका पार्टीहरूमध्येबाट तुलनात्मक रूपमा राम्रो पार्टीमा सामेल हुनु ।

पहिलो विकल्प मेरो प्राथमितामा परेको  भए पनि त्यति बेला नयाँ पार्टी गठन गरेर जाने अवस्था थिएन र स्थिति पनि त्यस अनुकूल थिएन । माओवाद नाम जोडिएका अन्य पार्टीहरू मैले सम्बन्ध विच्छेद गरेको पार्टीभन्दा पनि झुर भएकाले अन्यत्र सामेल भएर जाने स्थिति पनि थिएन । एकीकृत माओवादी पार्टीमा छँदै निर्माण गरेको बौद्धिक-सांस्कृतिक मञ्च ‘क्रान्तिकारी बौद्धिक-सांस्कृतिक मञ्च’ मार्फत मैले आफ्नो विचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमहरूबाट सम्बहन र सम्प्रेषण गर्दैगएँ ।

यसैक्रममा हामी केही साथीहरूले ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ गठन गर्यौं । यसले राम्रो प्रतिक्रिया पनि पाएको थियो । यसलाई न्युक्लिअसकै रूपमा विकास गर्ने, भरिसक्के क्रान्तिकारीहरूबीच एकताको वातावरण तयार पार्ने नभए यसको साङ्गठनिक गतिविधिहरूलाई अघि बढाउने भन्ने हाम्रो बुझाइ थियो । तर केही साथीहरूमा निहित आत्मविश्वासको कमी र कतै गएर विलीन हुने तीव्र आकङ्क्षाका कारण, अझ गठनदेखि नै क्रियाशील यो प्रवृत्तिका कारण न्युक्लिअससित सम्बद्ध केही साथीहरू आआफ्नो अनुकूलतामा विभिन्न समूहमा विलीन हुनुभयो ।

प्रचण्ड समूह प्रतिक्रियावादमा परिणत भएकाले माओवादी भनेर त्यसका बारेमा कुरा गर्नुको अर्थ छैन  । अर्का थरी साथीहरू मालेमाका आधारभूत मूल्य र नयाँ जनवादी क्रान्तिको बाटो परित्याग गर्दै विचलनको  नयाँ शैली र रुपको अभ्यास गर्दै   'उत्तरसाम्राज्यवाद' अर्थात् साम्राज्यवादको अन्त्य भयो भन्दै 'समाजवाद' को 'नयाँ' बाटोमा असाध्यै गतिका साथ कुदेका छन् । नेपालको क्रान्ति सम्बन्धी बुझाइ र कुदाइको गति र शैली यस्तै रह्यो भने प्रचण्डलाई भेट्न उहाँहरूलाई धेरै समय लाग्ने छैन भन्ने मेरो ठहर छ ।

मैले सम्बन्ध विच्छेद गरेको पार्टीसितका मेरा मतभेदहरू वैचारिक रूपमा पहिलेभन्दा झन् विस्तारित भएका छन्  र यसका पछिल्ला गतिबिधि त झन् उदेकलाग्दा छन् । विगतको वैज्ञानिक समीक्षा गर्दै आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्नुको सट्टा वैचारिक अन्योल र सङ्गठनात्मक अराजकताका कारण यसले विसर्जनको  गुणात्मक स्थिति नलेला भन्न सकिन्न । अकर्मण्यता र पुच्छरवादले पुर्याउने  ठाउँ त्यहीं नै हो ।

अहिले न्युक्लिअसको संस्थापक सदस्यका नाताले  केही साथीहरूसहित हामीले  ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ को पुनर्गठन अभियान चलाएका छौँ  । अहिलेको मूल चिन्ता नेपालमा माओवादी आन्दोलनको रक्षा र विकास नै हो र, हुनुपर्छ  । यो काम नेपालको माओवादी आन्दोलनलाई नयाँ  किसिमले पुनर्गठन नगरी सम्भव छैन  । यसै अर्थमा महान् जनयुद्धको इतिहाससित जोडिएको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई पुनर्जीवित गर्दै  माओवादी आन्दोलनलाई पुनर्गठित गर्नुको विकल्प छैन  । त्यसैले विचार मिल्ने साथीहरू यस अभियानमा  दृढताका साथ लाग्नुपर्ने आवश्कता र औचित्यप्रति पनि म ध्यानाकर्षण गराउँछु ।

मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तिन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र  नेपाली विशिष्टताको जनयुद्धको बाटो अबलम्बन गर्ने दृढता नै हामीलाई सङ्गठित गर्ने, हामी एकताबद्ध हुने आधारहरू हुन् भन्ने कुरा पनि म प्रस्ट पार्न चाहन्छु  ।

यसै क्रममा त्यतिबेर मैले नेपाल कम्युनिस्ट पार्टी-माओवादीसित सम्बन्ध विच्छेद गर्दा सार्वजनिक गरेको वक्तव्य पाठकहरूका लागि उपयोगी होला भनेर यहाँ प्रस्तुत गर्नु आवश्यक ठानेको छु ।


विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा

सर्वप्रथम, मोहन वैद्य ‘किरण’ ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी-माओवादीसित मैले आजका मितिदेखि सम्बन्ध विच्छेद गरेको कुरा सार्वजनिक गर्दछु ।

 माओवादी आन्दोलनलाई गलत दिशा दिने बैठकका रूपमा प्रमाणित भएको चुनवाङ बैठकको निर्णयलाई आधार मानेर पार्टी ‘शान्तिप्रक्रिया’ आयो र यसको नेतृत्व तहले एकपछि अर्को गरेर शान्तिसम्झौताका नाममा महान् जनयुद्धका समग्र प्राप्तिहरू जनविरोधीहरू तथा प्रतिक्रियावादीहरूलाई सुम्पदै गयो । जनसेनाप्रतिको अति उपेक्षापूर्ण व्यवहार र विघटन यसको अन्तिम परिणति थियो । जनयुद्धका सम्पूर्ण उपलब्धिहरू गुमाउनु, क्रान्तिकारी कार्यदिशा पूर्णरूपमा परित्याग गर्नुका साथै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका सामु आत्मसमर्पण गरेर मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेपछि त्यहाँभित्र रहेका क्रान्तिकारीहरूले विद्रोह गर्नु आवश्यक थियो । यही नै मालमाले देखाएको वैज्ञानिक बाटो थियो ।

 त्यसपछि हामीले कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा काठमाडौँमा राष्ट्रिय भेला गरी नयाँ पार्टी नेकपा–माओवादीको निर्माण गर्यौं । पार्टी निर्माणसँगै जुन किसिमको उत्साहको निर्माण हुनुपर्थ्यो, भेलापछि पार्टी क्रान्तिकारी आशावादका साथ जसरी जानुपर्थ्यो, त्यसो हुनसकेन । भेलापछि नै पार्टीमा दुई लाइन सङ्घर्षका सङ्केतहरू देखिनथाले । पार्टी चुनाव आयोगमा दर्ता गर्ने र सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर सरकारमा जाने कुराहरू बहस र छलफलका विषय बन्नथाले । वैचारिक तथा साङ्गठनिक क्षेत्रमा भेलाले खासै केही नयाँ गर्न नसकेको सन्दर्भमा पार्टीको सातौँ महाधिवेशनबाट सबै समस्याको हल गर्ने भनियो । तर विशिष्ट परिस्थितिका नाममा महाधिवेशनमा पनि कार्यदिशाका क्षेत्रमा गुणात्मक निष्कर्ष प्रदान गर्न नेतृत्वपङ्क्ति असफल रह्यो । महाधिवेशनमा प्रस्तुत दस्ताबेजप्रति चित्त नबुझेर मैले ४५ बुँदामा करिब १२ पृष्ठको फरक मत दर्ज गरेको थिएँ । खासगरेर सबैभन्दा बहसको विषय बनेको विषय नेपाली क्रान्तिको कार्यदिशालगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, आत्मनिर्णयको अधिकार तथा जातीय पहिचानजस्ता विषयमा मेरा फरक मत थिए ।

 महाधिवेशनले समस्या समाधान गर्दै पार्टीलाई नयाँ गतिका साथ अघि बढाउने अपेक्षाविपरीत झन् नयाँ किसिमले समस्याहरू देखापरे । मूलतः कार्यदिशाका सम्बन्धमा दुई लाइन सङघर्ष तीव्र बन्यो । पोखरा बैठकसम्म पुग्दा कार्यदिशासम्बन्धी बहसले नयाँ मोड लियो र दोस्रो संविधान सभाको निर्वाचन बहिष्कार कार्यक्रमपछि बसेको बैठकले पार्टीको राष्ट्रिय भेला गर्ने र कार्यदिशालाई समृद्ध पार्ने निर्णय गर्यो । तर कमरेड विप्लवबाट फरक मतको दस्ताबेज प्रस्तुत गरिएपछि एकएक बहाना बनाएर बहसछलफल नगराउने मात्र होइन, विशेष महाधिवेशन गर्ने भन्ने नाममा भेलालाई स्थगित गरियो र विशेष महाधिवेशनलाई पनि अनिश्चित कालको विषय बनाइयो । कमरेड विप्लवबाट प्रस्तुत दस्ताबेज अर्थ न वार्थको थियो तापनि यसलाई तलसम्म जान दिने प्रयास गरिएन । यसबाट पार्टीको नेतृत्वपङ्क्ति भेला-सम्मेलन तथा विशेष महाधिवेशन गरेर वैचारिक समस्या हल गर्नेतिर भन्दा पनि जसरीतसरी समय बिताउने यथार्थ खुलेर आयो । त्यति मात्र नभएर पार्टीको नेतृत्वपङ्क्ति नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डसित एकता गरेर पार्टीलाई दक्षिणपन्थी विचलन र विसर्जनतर्फ प्रवृत्त गराउने वातारण बनाउन भित्रैदेखि लागेको रहेछ भन्ने कुरा पनि प्रस्ट भयो ।

 यसैबीच कमरेड विप्लव र उहाँको समूहले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्यो । सम्बन्ध विच्छेद नियतमाथि नै प्रश्न उठाउनु पर्ने खालको भए पनि यसबाट नेतृत्वले शिक्षा लिनु आवश्यक ठानेन । त्यसपछि पार्टीलाई अघि बढाउन जुन किसिमको गम्भीरताको प्रदर्शन हुनुपर्थ्यो त्यसो भएन । उल्टै नेतृत्वपङ्क्तिले बाटाको काँढो हटेजसो गरी हाइसन्चो बोध गरेको व्यवहार देखायो र फरक मत राख्नेहरूप्रति असहिंष्णु भएर प्रस्तुत हुन थाल्यो ।

 पार्टीमा पहिलेदेखि नै मेरा फरक मत थिए । त्यसमा पनि पछिल्लो समयमा कमरेड किरणले महाधिवेशनले अघि सारेको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्दा पनि पछि हटेर ‘मूलतः विद्रोह’ भनेर दस्ताबेज प्रस्तुत गरेपछि त्यसप्रति मेरो विमति र विरोध रहनु स्वाभाविक थियो । मूलतः नेपाली क्रान्तिको कार्यदिशा, नेपाली समाजको संरचना र अन्तर्विरोधको स्वरूप, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गति र दिशा, जातीय पहिचान र आत्मनिर्णयको अधिकारका सम्बन्धमा देखिएको भ्रमपूर्ण चिन्तनका साथै फरक मत राख्नेहरूप्रति असहिंष्णुताको प्रदर्शन गर्दै जिम्बेवारीविहीन बनाउने प्रवृत्तिप्रति मेरो तीव्र मतभेद रह्यो । सङ्गठनात्मक क्षेत्रमा अस्तव्यस्तता, वैचारिक तहमा सारसङ्ग्रहवाद, अकर्मण्यता र अन्योल र नेतृत्वक्षमताको ह्रासले पार्टी विसर्जनको दिशामा जान लागेको बोध भइरहेको अवस्थामा जाली शब्द र भाषाखेलको तारतम्यमार्फत नवप्रतिक्रियावादी चरित्र बोकेको प्रचण्ड समूहसित जसरी पनि एकता गर्ने जुन परिपञ्च देखियो, यो इमानदार र क्रान्तिप्रति समर्पित कार्यकर्ताका लागि पीडा र आक्रोस उत्पन्न गर्ने विषय थियो ।

 माथि उल्लेखित सन्दर्भहरूका विषयमा पार्टीमा आफूले बराबर प्रश्न उठाउँदा गम्भीरतापूर्वक नलिने मात्र होइन, प्रताडित गर्ने तथा अनेक नाम दिएर कारबाहीको डण्डा चलाएर बहसछलफल र वैचारिक सङ्घर्षबाट वञ्चित गराउने प्रायोजित वातावरण बनाउने काम नेतृत्वपङ्क्तिबाट भएपछि गलत कुरालाई सही भनेर आत्मसमर्पण गर्ने अथवा त्यससित सम्बन्ध विच्छेद गरेर मालेमाको पक्षमा दृढतासाथ उभिने भन्ने प्रश्न मेरा सामु उपस्थित हुनु स्वाभाविक थियो । यस्तो अवस्थामा गलत प्रवृत्तिबाट सम्बन्ध विच्छेद गर्नु नै मार्क्सवादी बुझाइ हुन्छ भन्ने मान्यतालाई अगाडि राखेर नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हुँ ।

 चौतर्फी रूपमा माओवादी आन्दोलनमाथि प्रहार भइरहेको अवस्थामा माओवादको झण्डाको रक्षार्थ त्यहीँ बसेर सङ्घर्ष गर्दैजानु उचित हुन्छ भन्ने लागे पनि थोरै समयको अनुभवले मात्र पनि मलाई यस किसिमको निर्णय गर्नुपर्ने स्थितिमा पुर्यायो । त्यहाँ बहस छलफलको कुनै अर्थ छैन भन्ने मेरो ठहर रह्यो । वास्तवमा नेकपा-माओवादीको नेतृत्वपङ्क्तिमा क्रान्तिसम्बन्धी न त कुनै भिजन छ, न त कुनै योजना नै, यो एक हिसाबले गोलचक्करमा घुमिरहेको छ । चिन्तनमा सारसङ्ग्रहवाद, व्यवहारमा अकर्मण्यतावाद र कामकारबाहीमा इच्छाशक्तिको अभाव भएको नेतृत्वपङ्क्तिबाट नेपाली क्रान्ति अघि बढ्छ भन्ने कुरामा आफूलाई विश्वास नभएपछि त्यहाँ रहिरहनु आवश्यकता र सान्दर्भिकता दुवै लागेन । सपना मरिसकेकाहरूबाट आँधी, हुरी र चट्टानका बीचमा फसेको आन्दोलनको डुङ्गा पार लाग्छ भन्ने विश्वास रत्तिभर पनि मलाई भएन । नेपाली क्रान्तिप्रति गद्दारी गरेको निष्कर्षसाथ प्रचण्ड समूहसित विद्रोह गरेको र प्रचण्ड समूह एकपछि अर्को गरेर निरन्तर रूपमा नाङ्गिदै गएको अवस्थामा अनेक ताल र चाल मिलाएर प्रचण्डलाई क्रान्तिकारी कित्ताकै ठान्दै जसरी “क्रान्तिकारीबीच पार्टी एकता” भनेर संयुक्त हस्ताक्षर गरियो, यो वैचारिक स्खलनको नाङ्गो उदाहरणका साथै आम कार्यकर्ता तथा उत्पीडित नेपाली जनताप्रतिको धोका पनि हो । माओवादको खोल ओढेर साम्राज्यवाद र विस्तारवादको सेवा गर्ने प्रचण्ड–बाबुराम समूहसित एकता गर्नु भनेको सारतः साम्राज्यवाद र विस्तारवादको सेवामा आफूलाई लगाउनु हो ।

मार्क्सवादका आधारभूत मान्यताबाट धेरै पर पुगेको प्रचण्ड समूहसित अब देशीविदेशी प्रतिक्रियावादलाई रिझाएर आफ्नो अस्तित्व जोगाउने उपायबाहेक अरू केही छैन । क्रान्तिको कुरा गर्ने, तर यसका लागि व्यवहारमा जान अलिकति पनि तत्परता नदेखाउने किरण समूहका सामु वैचारिक तथा साङ्गठनिक विसर्जन अथवा प्रचण्डसामु आत्मसमर्पणबाहेक अर्को विकल्प छैन । यस्तो सङ्गठनसित टाँसिइरहनु भनेको सारतः आफूले आफैँलाई ध्वस्त पार्नु मात्र हो । यसका साथै विप्लव समूहको क्रान्तिकारी उत्साहको सह्राहना गर्न  सकिए पनि कार्यदिशा लगायत अन्य आधारभूत पक्षप्रति आफ्नो असहमति रहेको कुरा मैले पहिले नै प्रस्ट पारिसकेको हुँ ।

 अन्त्यमा,
मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर बौद्धिक-सांस्कृतिक क्षेत्रमा सक्रिय रहने प्रतिवद्धता जाहेर गर्छु । राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका लागि वर्गसङ्घर्षको बाटोमा दृढताका साथ अघि बढेका शक्तिहरूप्रति कलम र विचारको माध्यमबाट सहयोग र समर्थन निरन्तर रहने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु । साथै नेकपा-माओवादीभित्र रहेका क्रान्तिकारी साथीहरूलाई पनि अब त्यहाँ बसेर केही हुन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि म हार्दिक आह्वान गर्दछु ।

 ऋषिराज बराल
केन्द्रीय सदस्य, नेकपा-माओवादी
वैशाख १७, २०७२

भिडियो फिचरview all