menu

ताजा समाचार

माओवादी पार्टी मणिपुरका नेतासितको कुराकानी

भारतमा नेपालका झैँ माओ विचारधारा मान्ने साना कम्युनिस्ट पार्टीहरू  थुप्रै छन् तापनि माओवादलाई आधार बनाएर भारतीय सत्ताधारीहरूलाई बेचैन बनाउने पार्टी भनेको चाहिँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्रै हो । स्थानीय तहमा मात्र सीमित र सानो पार्टी भए पनि बर्मासित जोडिएको भारतको पूर्वोत्तर राज्य मणिपुरमा स्थापित ‘माओवादी कम्युनिस्ट पार्टी मणिपुर’ वर्गसङ्घर्षका गतिविधिका कारण आम जनताबीच स्थापित र क्रियाशील पार्टीका रूपमा परिचित छ ।
 
अहिले भारतको पूर्वोत्तर राज्यमा सशस्त्र सङ्घर्ष चलाइरहेका कतिपय समूहहरूले ले भारतीय सत्ताका सामु आत्मसमर्पण गरे पनि कतिपय समूहहरू अहिले पनि सशस्त्र सङ्घर्ष चलाइरहेका छन् । सशस्त्र सङ्घर्षको बाटो लिए पनि ती पार्टीहरू मूलतः जातिगत, क्षेत्रगत मान्यतामा सीमित छन् । मणिपुर माओवादी पार्टीले मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर दीर्घकालीन जनयुद्धलाई आफ्नो आधारभूत कार्यदिशा बनाएको छ । विभिन्न मुद्दामा यसको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सहकार्य पनि हुने गरेको छ । बेलबेलामा दुई पार्टीको संयुक्त वक्तव्य पनि प्रकाशमा आएको पाइन्छ ।

पुनर्गठित माओवादी पार्टीको स्थापना २०११ मा भएको थियो । यसले जन सेनाको निर्माण पनि गरेको छ । यसले  भूमिगत किसिमले आफ्ना गतिविधिहरू सञ्चालन गरेको छ ।

हालै मणिपुरको राजधानी इम्फालबाट प्रकाशित हुने ‘इम्फाल टाइम्स’ ले सो पत्रिकाका प्रतिनिधिहरू र मणिपुर माओवादी पार्टीका संस्थापक नेता चिरङ्लेन सम्पाचबीच आसाम-मणिपुरको सीमास्थित एउटा गाउँमा भएको कुराकानी प्रकाशित गरेको छ । सो भेटमा पार्टीका नेताले सामूहिक फोटो खिच्न नमानेर पछाडिबाट  मात्र फोटो खिच्न दिएको कुरा उल्लेख गरिएको छ । पत्रिकाले मणिपुरमा माओवादी आन्दोलन आरम्भ भएको धेरै भएको छैन तापनि यसले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र अन्तर्राष्ट्रिय माओवादी नेटवर्कसित राम्रो सम्बन्ध  बनाएको छ, भनेको  छ ।
 
“मणिपुरमा सशस्त्र समूह थुप्रै भए पनि उनीहरूको राजनीति प्रस्ट नभएकाले आफूहरू मालेमा र जनयुद्धको कार्यदिशा मान्नेहरूसित मात्रै एकता गर्ने अथवा उनीहरूका गतिविधिहरूलाई समर्थन गर्ने” भनेर माओवादी पार्टीका नेताले  उल्लेख गरेको भनेर पनि  पत्रिकाले लेखेको छ ।
तपाईँहरू सबै हतियारबद्ध सङ्घर्ष चलाइरहनुभएको छ, तपाईँहरूबीच एकता चाहिँ किन नभएको होला भनेर पत्रिकाले सोधेको प्रश्नमा माओवादी नेता चिरङ्लेनले : “विचारको आधारमा नगरिएको एकता लामो अवधिसम्म टिक्न सक्तैन” भनेर जवाफ दिएको कुरा पनि पत्रिकाले  उल्लेख गरेको छ ।

‘इम्फाल टाइम्स’ ले भनेको छ, चिरङ्लेनले भने — “दुई किसिमका सहकार्य हुन्छन्, एउटा कार्यनीतिगत र अर्को रणनीतिगत । आफूले अहिलेसम्म देखेको गठबन्धनमा फिलिपिन्स कम्युनिस्ट  पार्टीले सन् १९९४मा अँगालेको सहकार्यको नीति सही हो भन्ने लाग्छ ।”

पत्रिका लेख्छ : 'माओवादीहरूको अन्तर्राष्ट्रिय सम्बन्धलाई केन्द्रमा राखेर गरिने सहकार्यप्रति मात्र आफनो विश्वास भएको कुरा पनि उनले उल्लेख गरे । आफू त्यस्तै किसिमको सहकार्यको पक्षमा रहेको र यहाँका विद्रोही समूहसित पनि त्यस्तै खालको गठबन्धन गर्न चाहेको रहेको कुरा पनि उनले उल्लेख गरे । उनी भन्छन्  “फिलिपिन्स कम्युनिस्ट पार्टीले अँगालेको संयुक्त मोर्चाको विषय टिप्पणीको विषय भएको छ, यसका दुवै पक्ष छन्, तर हामीले यसमा सकारात्मक पक्ष धेरै देखेका छौँ । हामी त्यही मोडेलमा एकता तथा सहकार्य गर्न चाहन्छौँ ।”

मालेमाको विश्वव्यापी मूल्यमान्यताका आधारमा मणिपुरको विशिष्टतामा कार्यदिशा तय गर्दै सामूहिक नेतृत्वको मान्यतालाई  अबलम्बन गर्दे क्रान्ति गर्ने कुराप्रति आफूहरू प्रतिबद्ध रहेको कुरा पनि चिरङ्लेनले भने भनेर पत्रिकाले उल्लेख गरेको छ ।

पत्रिका लेख्छ, उनका भनाइमा “औपनिवेशिक र अर्धसामन्ती सत्ताका विरुद्ध नयाँ जनवादी क्रान्ति गर्ने हो, प्रमुख निसाना उपनिवेशवाद, साम्राज्यवाद, दलाल नोकरसाही पुँजीवाद हो ।”

पत्रिका लेख्छ, उनले भने : “ दीर्घकालीन जनयुद्धको बाटो अँगाल्दै गाउँबाट सहर घेर्ने नीतिअनुसार क्रान्तिलाई अघि बढाइनेछ र अन्त्यमा सत्ता कब्जा गरिनेछ । यसरी ग्रामिण क्षेत्र र दीर्घकालीन जनयुद्ध आरम्भमा पार्टीकामका केन्द्रबिन्दु हुनेछन् । यो समग्र प्रक्रियामा पार्टी , सेना र संयुक्त मोर्चाले तिन जादुगरी हतियारका रूपमा काम गर्नेछन् । पार्टीले प्रधान भूमिका खेल्ने छ र सेना र मोर्चा  क्रान्तिका महत्वपूर्ण हतियार हुनेछन् । सशस्त्र सङ्घर्ष, सङ्घर्षको उच्च रूप हुने छ र सङ्गठनको प्रधान रूप सैन्य  हुनेछ । सशस्त्र सङ्घर्ष बढाउँदैजाँदा संयुक्त मोर्चाको निर्माण  पनि त्यसैअनुरूप हुनेछ । जनसङ्गठन र जनसङ्घर्षलाई पनि महत्व दिइनेछ, तर यसको मूल उद्देश्य युद्धको सेवा गर्नुहुनेछ । पार्टीले अहिले तत्कालै नगरी नहुने कामका रूपमा छापामार क्षेत्र र  इलाकालाई जनसेना र आधार क्षेत्रका रूपमा पूर्णता दिनु रहेको छ ।”

भिडियो फिचरview all