menu

ताजा समाचार

छिमेकी मुलुकहरूमा ‘र’ को भूमिकाबारे पाकिस्तानी टिप्पणीकारको खुलासा

पाकिस्तानी अनलाइन ‘इन्टनेसनल दि न्युज’ को अप्रिल १६, २०१७ को संस्करणमा ‘अन्डरस्ट्यान्डिङ इन्डिया’ शीर्षकमा पाकिस्तानी टिप्पणीकार फारुख सलिमको भारतको उसका छिमेकीहरूप्रतिको व्यवहारलाई लिएर एउटा टिप्पणी छापिएको छ । यसमा नेपालको माओवादी आन्दोलनको साइनोसम्बन्धबारे पनि केही टिप्पणी गरिएको छ र यसले अवश्य पनि केही प्रश्न उठाएको छ । अहिलेलाई सो लेखको नेपाली अनुवाद :

 

भारतप्रतिको बुझाइ
फारुख सलिम


भारत गणराज्य अथवा भारतीय गणतन्त्रको वरिपरि ६ ओटा देशहरू बङ्लादेश, भुटान, बर्मा चीन, नेपाल र पाकिस्तान छिमेकीका रूपमा रहेका छन् । यस टिप्पणीमा भारतको उसका छिमेकीहरूसितको सम्बन्धबारे लेखाजोखा गरिएको छ ।

बङ्लादेश-भारत सम्बन्ध : ‘र’ ले यस क्षेत्रमा ‘मुक्तिबाहिनी’ र ‘शान्तिबाहिनी’ जत्था तयार पारेको छ । ‘बङ्ग सेना’ नामको एउटा हिन्दूवादी आतङ्कवादी सङ्गठन ‘बङ्गाली हिन्दूहरू’का लागि अलग्गै भूमि चाहिन्छ भनेर बङ्गलादेशमा आतङ्कवादी गतिविधि गरिरहेको छ । बङ्गलादेशका सेनाका तीनतारे लेफ्टिनेन्ट जनरल तथा बङ्गलादेश राइफलका पूर्व महानिर्देशक जाँगिर आलमका अनुसार भारतीय सेनाले बङ्ग सेनाको गठन गरेको हो, जुनचाहिँ “भारतको पश्चिम बङ्गालमा अवस्थित छ ।” भारत बङ्लादेशमा कठपुतली सरकार चाहन्छ ।

भारत र बङ्गालदेशसित ५४ नदीहरू जोडिएका छन् र भारतले कलकत्ताको ‘फरक्का बाँध’ बाट गङ्गाको  पानी मनपरी ढङ्गले प्रयोग गर्न ‘पानी आतङ्क’ मच्चाइरहेको छ ।  बङ्गलादेशले बारम्बार आपत्ति जनाउने गरेको छ :  “सुख्खा मौसममा भारतले बङ्गलादेशका लागि आवश्यक पर्ने पानी छोड्दैन र वर्षा याममा अत्यधिक पानी छाडेर बङ्लादेशलाई जलमग्न बनाउँछ ।” 

भारतीय सीमा सुरक्षा बल (बिएसएफ)ले  भारत-बङ्लादेश सीमामा भारतले बङ्गलादेशी नागरिक देख्नेबित्तिकै ‘गोली ठोकेर मार्ने’ नीति तय गरेको छ ( ह्युमान राइट वाचका अनुसार २००१ देखि २०११ सम्ममा १,००० बङ्गलादेशीको हत्या भएको छ ।) भारत-बङ्गलादेशबीच ४४ वर्षदेखि सीमा विवाद छ । अप्रिल २००१ मा भारतीय सीमा सुरक्षा बल र बङ्गलादेश सीमा रक्षक (बिजिबी) बीच १९७१ पछिको सबैभन्दा ठूलो भिडन्त परेको थियो । भारतले बङ्गालको खाडीको मारिटिम क्षेत्रलाई आफ्नो भनेकाले त्यहाँ सदैव भिडन्त भइरहन्छ  ।

भुटान-भारत सम्बन्ध : भारत भुटानमा आफ्नो कठपुतलीबाहेक अर्को सरकार  देखी सहँदैन । १९७५ मा भारतले १००,००० (एक लाख) सेना सिक्किममा पठाएर आफ्नो कब्जामा लियो र भारतको २२ औं राज्यका रूपमा त्यसको घोषणा गरेको थियो ।

चीन-भारत सम्बन्ध : ‘र’ ले पूर्वी तुर्किस्तानमा पृथकतावादी अभियानमा साथै चीनको सिनजाङका पृथकतावादीहरूका लागि लगानी गरिरहेको छ । ‘र’ ले पूर्वी तुर्किस्तानमा पृथकतावादी आन्दोलन र उज्बेकिस्तान, तेरेके–तालिवान पाकिस्तानका बीच त्रिपक्षीय मध्यस्थकर्ताको भूमिका पनि खेलिरहेको छ ।

चीन र भारतबीच चारओटा प्रमुख सीमा विवाद छन् : भारतको अधीनमा रहेको अरुणाञ्चल प्रदेश र तवाङ जिल्लालाई चीनले आफ्नो भनेको छ र चीनको अधीनमा रहेको अक्साइ चीन र सक्सगाम उपत्यकालाई भारतले आफ्नो भनेको छ ।

नेपाल-भारत सम्बन्ध : नेपालको माओवादी विद्रोहको ‘भारतसित बहुआयामिक सम्बन्ध’  थियो भनिन्छ । नेपालको माओवादी पार्टीको जनसेना (पिएलए) लाई “केही भारतीय भूतपूर्वसेना  तथा पूर्व गोर्खा सिपाहीहरूले तालिम दिएको” डकुमेन्ट्री प्रमाणले यसो भन्छ ।
 
नेपालका प्रतिपक्षी पार्टीहरूले भारतले “नेपालको आन्तरिक मामिलामा भारतले निरन्तर हस्तक्षेप” गरेको कुरामा आपत्ति गरिरहेका छन् । २००१ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका  अन्य आठ सदस्यहरूको हत्या भयो । नेपाली माओवादी पार्टीका अध्यक्ष पुष्प प्रचण्डले त्यो हत्या “भारतीय जासुसी एजेन्सी ‘र’ को योजनामा भएको थियो'' भनेका छन् । भारतले  नेपालमा आफ्नो कठपुतली सरकारबाहेक अर्को सरकारलाई  देखी सहँदैन ।

भारत-तिब्बत सीमास्थित नेपालको भूभाग कालापानीलाई भारतले सन् १९६२मा आफ्नो अधीनमा लियो र नेपालले आफ्नो भनेर यसमा निरन्तर आवाज उठाइरहेको छ । नेपालको ३५००० एकड जमिन सुस्तामाथि पनि भारतले विवाद गरिरहेको छ । भारत आफ्नो आदेशपालक नेपाल चाहन्छ ।

पाकिस्तान-भारत सम्बन्ध : सन् १९८४ देखि २००४ सम्म सुन्दरजी डक्ट्रिनमार्फत भारतले  ‘पाकिस्तानको भूमिमाथि गहिराइका साथ प्रवेश’ को योजनाका साथ ‘बज्रमुक्का प्रहारहरू” गरेर ‘पाकिस्तानलाई दुई फ्याक पार्ने  उद्देश्य राख्यो । सुन्दरजी डक्ट्रिनको असफलतापछि भारतीय जनरलहरू ‘कोल्ड स्टार्ट को योजना लिएर आए, जसको उद्देश्य पाकिस्तानलाई विस्तारैविस्तारै निल्नु थियो । ‘कोल्ड स्टार्ट को योजना पनि असफल भएपछि मोदी-डोभाल डक्ट्रिनले अहिले ‘बेलुचिस्तान लिबरेसन आर्मी’, बेलुचिस्तान रिपब्लिकन आर्मी, दि टिटिपी र लेजका गतिविधिहरूलाई आर्थिक लगायत विभिन्न किसिमले सहयोग गरिरहेको छ ।

भारत पाकिस्तानमा पनि आफ्नो कठपुतली सरकार चाहन्छ । भारत, पाकिस्तान आफनो आदेशपालक बनोस् भन्ने चाहन्छ ।  भारत, पाकिस्तान आफूले भनेअनुसार चलोस् भन्ने चाहन्छ ।

कम्तीमा पनि आफ्ना ६ ओटा छिमेकी मुलुकमा भारतले ती मुलुकका जनजाती समुदायहरू तथा राजनीतिक प्रतिपक्षीहरूलाई आर्थिक सहयोग तथा परिचालन गरिरहेको छ । ‘र’ ले कम्तीमा पनि ५ ओटा छिमेकी मुलुकमा सैन्य सहयोग र विद्रोहका नाममा आतङ्कवादको वीजारोपण गरेको लामो इतिहास छ ।

 श्रीलङ्काको गृह युद्धमा भारतले ‘लिबरेसन टाइगर्स अफ तामिल इलम’ लाई प्रशिक्षण दियो, जसमा २३, ३२७ जनाको हत्या भयो र ६०,००० घाइते भएका थिए । बङ्गलादेशका विरुद्ध ‘र’ ले मुक्तिबाहिनी र शान्तिबाहिनीलाई  तयार पार्यो  । तिब्बतमा भारतले खम्पा विद्रोहीलाई तालिम दियो ।

यस्तो छ भारतको यस क्षेत्रलाई आफ्नो अधीनमा लिने तरिका ।
अनुवाद : ऋषिराज बराल

भिडियो फिचरview all