menu

ताजा समाचार

सर्वत्र “याङ्की गो होम” को नारा

हालै  अमेरिकी साम्राज्यवादले सिरियामाथि गरेको आक्रमणको चौतर्फी निन्दा तथा भ्रत्र्सना भइरहेको छ । कहिले के र कहिले के बहानामा अमेरिकी साम्राज्यवादले आफ्नो जासुसी संयन्त्रको कार्ययोजनामा कहिले सोझै आक्रमण गर्ने र कहिले खास देशको दलाल शक्तिसित मिलेर सैन्य ‘कु’ गर्ने  अमेरिकी व्यवहार नयाँ होइन । उसको यस किसिमको व्यवहार धेरै पहिलेदेखि अफ्रिका, ल्याटिन अमेरिका र एसियाका मुलुकहरूले भोग्दै आएका छन् । अहिले पनि सैँन्य सम्झौताका नाममा थुप्रै मुलुकहरूमा अमेरिकी तथा नेटो सेना तैनाथ छन् ।

अमेरिकी साम्रज्यवादको सबैभन्दा बढी निसाना न्यायप्रेमी समुदाय बनेको छ र यसले सबैभन्दा बढी प्रहार कम्युनिस्ट आन्दोलनमाथि गरेको छ l उदाहरणका रुपमा क्युबा, भियतनाम , इन्डोनेसिया, चिली,  पेरु लगायतका मुलुकहरूको  इतिहास हेर्न सकिन्छ l यसै प्रतिरोधका क्रममा नै “याङ्की गो होम” को नारा विकसित भएको हो ।

 प्रस्ट र घोषित रूपमा मात्रै उसले ६० वर्ष यता गरेको सैन्य आक्रमणको इतिहास यस किसिमको छ ।
 
कोरिया : १९५०-१९५३ मा अमेरिकाले गरेको आक्रमणमा ५ लाख कोरियाली मारिएका थिए–यसमा ठूलाठूला बमहरू खसालिएका थिए र उत्तर  कोरियामा अग्ला घरहरू एउटा पनि बाँकिरहेका थिएनन् । आम जनताका विरुद्ध रासायनिक हतियारको प्रयोग गरिएको थियो र असङ्ख्य महिलामाथि बलात्कार गरिएको थियो ।

भियतनाम : १९६० को दशकको मध्यदेखि १९७० को दशकसम्म २ लाखभन्दा बढी भियतनामी नागरिक मारिएका थिए, त्यहाँ न्यु मेक्सिकोको  आकारका सबै देशहरूमा दोस्रो विश्वयुद्धका बेला प्रयोग गरिएको बमको मात्रा बराबर बमहरू खसालिएका थिए, नपलम र एजेन्ट अरेन्जजस्ता रासायनिक हतियारको प्रयोग गरिएको थियो र केटाकेटी, महिला तथा वृद्धहरूको हत्या गरिएको थियो । कतिपय गाउँ नै शून्य भएका  थिए ।

इन्डोनेसिया : १९६५ सिआइएको योजनामा जनरल सुहार्तोको सैन्यशासनले कम्तीमा पनि ५००,००० (पाँच लाख) जनताको हत्या गरेको थियो र दश लाखभन्दा बढी जनतालाई कम्युनिस्ट भएको आरोप लगाएर गायब पारिएको थियो । कतिपयलाई हत्या गरेर नदीमा फ्यालिएको थियो  ।
ग्वाटेमाला : १९८० को दशकमा सिआइएले जनरल रिओस माटअन्तर्गतको सेनालाई प्रशिक्षित गर्यो र योजनाबद्ध रूपले ६०० ओटा विद्रोही गाउँहरूलाई नष्ट गर्यो  र ७५,००० मान्छेको हत्या गर्यो  ।

लेबनान : १९८२ मा अमेरिकाले  लेबनानमा “शान्ति” का नाममा बेरुतमा १२०० भन्दा बढी जल सेना पठायो, वास्तवमा त्यो अमेरिकी हितका लागि पठाइएको थियो, त्यतिबेला  लेबनानमाथि इजराइलले  गरेको भिषण  आक्रमणलाई अमेरिकाको समर्थन थियो, यसको उद्देश्य प्यालेस्टिनी शक्तिमाथि दमन गर्नु थियो जसमा २०, ००० प्यालेस्टिनी तथा लेबनानीहरूको हत्या भएको थियो ।

एल्सल्वाडोर : १९८० को दशकमा अमेरिकी सेना “सल्लाहकारहरू’”ले सल्वाडोरका सेनालाई ट्रेनिङ दिए र नेतृत्व गरे, अनि सत्ताविरोधी शक्तिका लागि यसको प्रयोग गर्दै थुप्रैको हत्या गरे तथा थुप्रैलाई गायब पारे । यसरी हत्या गरिएको सङ्ख्या कम्तीमा पनि ७५,००० थियो । देशको समग्र आवादीको पाँच हिस्सा घर छोडेर हिँड्न बाध्य पारिएको थियो ।

पानामा : १९८९ त्यहाँका राष्ट्र प्रमुख म्यानुअल नोरिगालाई हटाउन २९००० भन्दा पनि ज्यादा अमेरिकी सैनिकले पानामामाथि  आक्रमण गरेका  थिए,  यो पनि सिआइएकै योजनामा गरिएको थियो । यस आक्रमणमा सबैभन्दा बढी निर्धानिमुखाहरू मारिए र हजारौँ बेघरबार भए । यो घटना “सानो हिरोसिमा” नामले परिचित भयो ।

इराक : १९९१ मा अमेरिका र उसलाई सहयोग गर्ने राष्ट्रहरूका सैनिकले ४२ दिनसम्म बमवारी गरे । त्यसपछि स्थल आक्रमणमा १,००,००० देखि २००,००० इराकीहरूको मृत्यु भयो । यस आक्रमणले इराकको प्राकृतिक स्रोत, पानी, वातारण सबै कुरा विनाश भएका कारण पछिल्ला वर्षहरूमा पनि इराकी जनताको जीवन कष्टकर रहिरह्यो ।

हाइटी : १९९१ मा सिआइएले स्थानीय सैन्यबलसित मिलेर निर्वाचित राष्ट्रपति अरिस्टाइडलाई पदच्युत गर्यो  र राष्ट्रिपति अरिस्टाइडका हजारौँ समर्थकहरूको हत्या गर्यो  । यो घटनामा ६०,००० हाइटी नागरिक रातारात पानी जहाज र डुँगाबाट भाग्न बाध्य भएका थिए ।
सोमालिया : १९९२ मा अमेरिकाले आफ्नो शुभचिन्तक दलाललाई जोगाउने नाममा मोगादिसुमा आक्रमण गर्यो, जसमा १००० जति सोमाली जनता सिकार बनेका थिए  ।
 
अफ्गानिस्तान : २००१ को ९/११ पछि अमेरिकाले अफ्गानिस्तानमाथि आक्रमण गर्यो  र अहिलेसम्म उसको उपस्थिति त्यहाँ छ । कतिको हत्या भयो टुङ्गो छैन । अस्पताल, बिहेको जमघट लगायत अलिकति पनि मान्छेको जमघटलाई आतङ्ककारीको जमघट भन्दै अमेरिकाले ड्रोनको प्रयोगद्वारा हजारौँ जनताको हत्या गरिरहेको  छ र ५ लाख भन्दा बढी जनतालाई बेघरबार हुन बाध्य पारेको छ ।

इराक : २००३ मा “ठूलो मात्रमा विनाशकारी हतियार रहेको” भन्ने बहाना बनाएर इराकमाथि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले भीषण आक्रमण गरे । हजारौं नागरिकको हत्या भयो र हजारौँ घाइते बने । यो ठाडो इराकमाथि हस्तक्षेप थियो र यसले इराकमा मात्र नभई सिङ्गो त्यस क्षेत्रमा  आतङ्क र भयको वातावरण बन्यो ।  अहिले पनि इराक,  अकेरिका र आइएसआइको दोहोरो आतङ्मा छ ।

लिबिया : २०११ मा अमेरिकाले गद्दाफीको शासन हटाउन ठाडो हवाइ आक्रमण र बम विष्फोट गरेर सयौँ नागरिकको हत्या साथै गद्दाफीको समेत हत्या गर्यो  । शासनबाट हटाइसकेपछि पनि अहिले त्यहाँ अमेरिका र इस्लामिक आतंककारीहरूको त्यतिकै आतङ्क छ ।
 
यमन:  कट्टरपन्थी इस्लामिक आतङ्ककारीलाई दबाउने नाममा अमेरिकाले कहिले ड्रोनबाट, कहिले सोझै बमबाट जताततै बमबारी गरेर हज्जारौँ एमनी नागरिकको हत्या गरेको छ । पछिल्लो समयमा जनवरी १, २०१७  मा आतङ्ककारीको अड्डा ध्वस्त पार्ने नाममा १३ वर्षमुनिका ९ जना केटाकेटीसहित एकै गाउँमा २३ जना निर्दोष नागरिकको हत्या गरेको थियो ।


 सिरिया : २०१७,अनेक बहाना बनाएर अर्सादको सत्ता पल्टाउन उसका कठपुतलीहरूलाई अमेरिकाले विगतदेखि नै सहयोग गरिरहेको छ । अमेरिकाले त्यहाँ कहिले  क्रुज मिसाइलबाट र कहिले  ड्रोनबाट आक्रमणलाई निरन्तरता  दिइरहेको छ । ५०० पाउन्डको बम मस्जिदमा  खसालेर ४६ जनाको हत्या गरेको घटना सेलाउन नपाउँदै अहिले “रासायनिक हतियारको प्रयोग” को बहाना बनाएर  सिरियाको सैन्य अड्डामा क्रुज मिसाइलबाट ठाडै हमला गरेको छ र यसको सर्वत्र निन्दा भैरहेको छ l
 
अहिले अमेरिकी दादागिरीको  विरोध गर्ने तथा उसले गरेका सैन्य अपराधलाई सहयोग नगर्ने सार्वभौम सम्पन्न मुलुकहरूमाथि अमेरिकाले सैन्य आक्रमणको धम्की दिएको छ र पछिल्लो समयमा यसले उत्तर कोरियालाई आफ्नो निसाना बनाउन खोजेको छ ।

हालै सिरियामा भएको आक्रमण तथा उत्तर कोरियामाथिको धम्कीका विरुद्ध व्यापक जनमत बनिरहेको अवस्थामा इटालीको माओवादी पार्टीलगायतका माओवादी पार्टीहरूले “याङ्की गो होम” को नारासहित यसको घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् ।
 


भिडियो फिचरview all