menu

ताजा समाचार

मोहनविक्रमद्वारा संविधानको नयाँ संसोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको बिरोध

नेपाल कम्युनिस्ट  पार्टी (मसाल), केन्द्रीय कार्यालयका तर्फबाट  महामन्त्री मोहनविक्रम सिंहले यही चैत २९ गते एक वक्तव्य जारी गरी हालै प्रचण्ड सरकारले संसोधनका लागि संसदमा प्रस्तुत गर्न थालेको संबिधान  संशोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको विरोध गरेका छन् । वक्तव्यमा भनिएको छ:

''सरकारले नयाँ प्रस्तुत गर्ने संशोधन प्रस्तावमा सीमाङ्कनको प्रश्नलाई अधिकार सम्पन्न सङ्घीय आयोगलाई दिने मात्र होइन, संविधानको २७४ नं.को धारालाई पनि संशोधन गर्ने प्रस्तावहरूलाई प्रस्तुत गर्ने कुरा बताइएको छ । संविधानको त्यो धारा अनुसार संसदको सीमानासम्बन्धी प्रस्तावलाई संसदको दुईतिहाई बहुमतले पारित गरे पनि बहुमत प्रदेशहरूले अनुमोदन नगर्दासम्म त्यो संशोधन कार्यान्वयन हुन सक्दैनथ्यो । सर्वोच्च अदालतको फैसलामा पनि त्यो कुरा स्पष्ट गरिएको छ । २७४ धारामा संशोधन गरेपछि सिमाङ्कनको प्रश्नमा संविधानले लगाएको बाधा हट्ने छ । तर अहिले प्रदेशहरू नभएको अवस्थामा संसदको निर्णयद्वारा नै सिमाङ्कन गर्न सकिने व्यवस्था त्यो विधेयकले गरेको बताइएको छ ।

मधेशवादीहरूले संविधानको २७४ धारा बाट उनीहरूको सिमाङ्कनको उद्देश्य पूरा गर्न बाधा पुग्ने भएकाले त्यसमा संशोधन गर्ने माग गरेका थिए । उनीहरूको मागलाई सम्बोधन गर्न नै सरकारले संविधानको २७४ धारालाई संशोधन गर्न विधेयक ल्याउने निर्णय गरेको छ । सरकारको त्यो प्रस्तावबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर कुठाराघात पुग्ने कुरा स्पष्ट छ ।

मधेशवादीहरूको मागलाई सम्बोधन गर्न नै सरकारले स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकारमा पनि कटौती गर्ने प्रयत्न गर्दै छ । त्यस अनुसार राष्ट्रिय सभाका प्रतिनिधिहरूको चुनावमा गाउँपालिका वा नगरपालिकाहरूलाई दिइएको अधिकारमा कटौती गरिने छ ।

त्यसका साथै त्यो संविधान संशोधन विधेयकले नागरिकतालाई अरू उदार वा खुकुलो बनाउने, हिन्दी भाषालाई पनि सरकारी काम काजीको भाषा बनाउन मार्ग प्रसस्त गर्ने आदि प्रावधानहरू पनि सामेल गर्ने कुरा थाहा भएको छ । सरकारका त्यस प्रकारका सबै प्रयत्नहरू राष्ट्रघाती हुन् भन्ने हाम्रो पार्टीको स्पष्ट र दृढ मत छ र सरकारले त्यस प्रकारको संशोधन विधेयक प्रस्तुत गरेमा त्यसलाई पराजित गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।''


त्यसैगरी सिरियामाथि अमेरिकी आक्रमणको पनि निन्दा गरेको छ । वक्तव्यमा भनिएको छ:

''सिरिया सरकारले रासायनिक हतियारको प्रयोग गरेर ठूलो सङ्ख्यामा नरसंहार गरेको समाचार समाचार माध्यमहरूले बाहिर ल्याएका छन् । हाम्रो पार्टीले त्यो प्रश्नमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउने आवश्यकतामा जोड दिन्छ । तर त्यो कुराको निहुँमा अमेरिकी साम्राज्यवादले त्यहाँ गरेको आक्रमणलाई हामीले गलत मान्दछौँ र तीव्र शब्दमा भत्र्सना गर्दछौँ । त्यसका साथै अमेरिकाले उत्तर कोरियामा आक्रमण गर्न दिएको धम्की तथा त्यसको नजिकै समुन्द्र तटमा युद्धपोत पठाएको घटनालाई पनि हाम्रो पार्टीले गम्भीर रूपमा लिन्छ । अमेरिकाको त्यस प्रकारको नीतिबाट विश्वमा शान्ति भङ्ग हुने र युद्धको स्थिति तयार हुने खतरा बढेको छ । त्यसैले अमेरिकाको त्यस प्रकारको युद्ध नीतिका विरुद्ध व्यापक आवाज उठाउनुपर्ने आवश्यकतामा ने.क.पा. (मसाल)ले जोड दिन्छ ।''


भिडियो फिचरview all