menu

ताजा समाचार

जेलबाट कमरेड कोबाद गान्धीले लेखेको चिठी

(जम्मुकास्मिरमा जन्मेका महमद अफजल गुरुलाई सन् २००१मा भारतको संसद् भवनमा भएको आक्रमणसित जोडेर भारतीय अदालतले सन् २००६मा मृत्यु दण्डको फैसला सुनायो र त्यसैका आधारमा  सन् २०१३ मा तिहाड जेलमा फाँसीको सजाय दिइयो । अर्थशास्त्रमा स्नातकोत्तर गरेका अफजल बौद्धिक व्यक्तिका रूपमा चिनिन्थे । सजायलाई आजीवन कारावासमा फेर्न राष्ट्रपति समक्ष निवेदन दिए पनि सजाय माफी भएन । । भारतीय सरकारले अफजललाई आतङ्ककारी भनेर फाँसीको सजाय दिएको विषय एकदमै विवादको विषय बन्यो । बिना वैज्ञानिक प्रमाण उनलाई फाँसीको सजाय दिइयो  भनेर अहिले पनि त्यो  घटना चर्चाको विषय बनेको छ ।

सन् २००९ मा ‘अनलफुल एक्टिभिटिज (प्रिभेन्टिभ) एक्ट’ अन्तर्ग मुद्दा चलाएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड कोबाद गान्धीलाई पनि तिहाड जेलमा ल्याइयो । उमेरले फरक भए पनि उनीहरूबीच गहिरो सम्बन्ध बन्यो ।
भर्खरै पत्रकार सुनेत्र चोधरीको जेलमा बसेका विभिन्न विचारसित सम्बद्ध राजनीतिक व्यक्तिहरूबारे लेखिएको पुस्तक ‘बिहाइन्ड बार्स’ प्रकाशित भएको छ । यसमा अफलजलसित जेलमा भेट भएदेखि फाँसीको समयसम्मको अनुभवलाई लिपिबद्ध गरेको कोबाद गान्धीले लेखेको चिठी पनि प्रकाशित छ । यसले थुप्रै सत्यतथ्यमाथि प्रकाश पार्छ । यहाँ पुस्तकका लेखकको टिप्पणीसहित ‘लेखकलाई सन् २०१६ सेप्टेम्बरमा कोबाद गान्धीले पठाएको चिठीको अंश’ उपशीर्षकको सामग्री प्रस्तुत गरिएको छ )

२०१६ को वसन्तमा जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) को प्राङ्गणमा राष्ट्रियतासम्बन्धी बहसलाई लिएर एउटा कार्यक्रम गर्ने निणय गरेसँगै विद्यार्थीको एउटा समूह फाँसीमा झुन्ड्याइएका अफजल गुरुको वार्षिकोत्सवको तयारी गरिरहेको थियो, र ६९ वर्षीय कोबाद गान्धी यस सन्दर्भलाई बडो गम्भीरता  र होसियारीका साथ नियालिरहेका थिए, उनी जो जेएनयुमा फेब्रवरीको राती भएको घटनासित सम्बद्ध समाचारलाई हरेक बिहान स्क्यानिङ गरिरहेका हुन्थे । अफजल गुरुलाई दिएको फासीको सन्दर्भलाई लिएर गर्न लागिएको कार्यक्रममा राष्ट्रविरोधी पाकिस्तानपरस्त नारा लगाए भनेर तीन जना विद्यार्थीलाई जेल पठाइयो–यस्तो समाचारले त्यतिबेर उनलाई बेचैन गरायो । यो घटना मुलुकभरि नै बहसको विषय बन्यो । २००९ मा पक्राउ परी जेलमा राखिएका प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सदस्य कोबाद गान्धी जेलमा तीन वर्षदेखि निरन्तर अफजल गुरुसित सम्बन्धमा छन् र उनी मात्रै एक्ला त्यस्ता व्यक्ति हुन्, जो जेलभित्र के के भइरहेको थियो र अफजललाई कसरी फाँसि दिइयो भन्ने कुरा राम्रोसँग जान्दछ भन्ने कुराप्रति जेल अधिकारीहरूले त्यति ध्यान दिएका थिएनन् ।

२०१६ को अन्त्यतिर हैदरावादको चेरापल्ली जेलमा रहेका बेला उनले मलाई भनेका थिए, उनीहरू कसैले पनि अफजल गुरुलाई सही किसिमले बुझेका छैनन् । अफजल गुरुलाई राष्ट्रविरोधी भनेर धेरै कुरा गरियो । तर उनी त्यस्ता थिएनन् । जेलमा राखिएदेखि ९ फेब्रवरी २०१२ अफजललाई फाँसि दिने बेलासम्म उनीहरू दुई जना घनिष्ठ मित्रका रूपमा जेलमा रहेका थिए । “कुनै वैज्ञानिक प्रमाणबिना उनलाई फाँसि दिइएको थियो ।” यो अति जोखिमयुक्त जेल वार्डमा रहेका एउटा कैदीको अर्को कैदीप्रतिको धारणा थियो । एकजना माओवादी विचारकका रूपमा स्थापित थिए र अर्कालाई सन् २००१ को संसद् भवन आक्रमणका योजनाकार आतङ्कारीको अभियोग लगाइएको थियो
 
लेखकलाई सन् २०१६ सेप्टेम्बरमा कोबाद गान्धीले पठाएको चिठीको अंश

सेप्टेम्बर २१, २००९को साँझ ७ बजेको बेला मलाई पहिलो चोटी  तिहाड जेलमा लगिएको थियो । भारतीय जेलमा यो मेरो पहिलो प्रवेश थियो । दुईपल्ट हेपाहा खाले खानतलासीपछि म जेल नम्बर ३ को जोखिमयुक्त वार्डमा लगिएँ । त्यहाँ सेलमा बाहिरबाट ताला लगाइएका अन्य कैदीहरू पनि थिए । म ब्लक ‘ए’ को वार्डमा प्रवेश गरेँ (त्यहाँ दुइटा वार्ड थिए ।)  १ नम्बर गेटमा अफजल गुरुसित मेरो भेट भयो, मुस्कानसाथ उनले भने, “स्वागत छ, तिहाडमा, तपाईँलाई यहाँ ल्याउँछन् भन्ने लागेको थियो मलाई ।”
पत्रपत्रिकामा मेरा बारेमा पढिरहेको कुरा उनले मलाई भने र भोलि बिहान हामी भेटौँला  भने । मलाई ४ नम्बर सेलमा लगियो, जहाँ दिल्लीको नामुद डन किसन पहलमानसहित अन्य तीन जना थिए ।


भोलिपल्ट बिहान अरू दुई जना खालिस्तानीसहित मलाई आठ नम्बर सेलमा लगियो । मृत्यु दण्ड पाएका खालिस्तानी भुलर २ नम्बर सेलमा थिए । त्यो बिहान मैले अफजलसित चिया खाएँ, उनलाई फेब्रवरी ९, २०१६  का  दिन फांसी नदिउन्जेलसम्मको यो हाम्रो दैनिकी नै थियो ।  अफजलको एउटा मज्जको बानी थियो, उनले तिहाडको पानीजस्तो टुर्रे चियाले थर्मस भर्थे र क्यान्टिनबाट किनेर त्यसमा दूधको धुलो र चियाका साना ब्यागहरू हाल्थे र त्यसलाई स्वादिलो बनाउँथे । तीन वर्षसम्म हामीले हरेक दिन चिया र जेल अधिकारीले सप्लाइ गरेका पाउरोटीका दुई टुक्रा पाउरोटी यसैगरी खायौँ । हामी वार्डमा यताउता गर्दै खान्थ्यौँ । यो हाम्रो तीन वर्षको दैनिकी थियो ।  यो ‘फाँसिकोटी’ सँगै जोडिएको त्यही चौर थियो, जहाँ पछि उनलाई झुन्ड्याइएको थियो र गाडिएको थियो ।
यी वर्षहरूमा अफजललाई मैले मानवीयताले भरिएको, सहृदयी र सरल मान्छेका रूपमा पाएँ । यस्तो मान्छे, जो आफ्नी आमा, स्कुलकी शिक्षिका आफ्नी श्रीमती र छोरालाई असाध्यै माया गथ्र्यो । हरेक रक्षाबन्धनका दिन परिवारका सदस्यहरू उनलाई भेट्न आउँथे, जुन दिन परिवारका महिला सदस्यहरूलाई बन्दीसित भेट्न स्वीकृति थियो । उनका  आवश्यकताहरू सीमित थिए, आफ्नो कमाइबाट श्रीमतीले उनलाई हरेक महिना १००० पठाउने गर्थिन् ।

पत्रपत्रिकाले  कट्टर उग्रवादी भनेर चित्रित गरेभन्दा एकदमै भिन्न थिए अफजल गुरु । उनी इस्लामका कट्टर समर्थक हुन् भन्ने कुरामा दुविधा थिएन, उनी दिनमा ५ पल्ट नवाज पढ्थे र रोजा र अन्य इस्लाम रीतिरिवाजको पालना गर्थे । उनमा अर्को संसार जन्नतप्रति पनि  ठूलो विश्वास थियो–जसले उनलाई  अथाह उत्साही बनाउँथ्यो।
 
दार्शनिक तहमा मानवता, स्नेह र समानतामा जोड दिने इस्लामको सुफी परम्परामा अफजलको विश्वास थियो ।  उनी रुमी र इकवाल (प्रगतिशील कवि इकवाल कासिम : अनुवादक) का एकदमै प्रशंसक थिए । उर्दूमा उनीसित रुमीका ६ ओटा ठेली थिए, जुन उनका आत्मीय मित्रझैँ थिए, बिहानको चियामा उनी मलाई त्यसका कतिपय श्लोकहरू अनुवाद गरेर सुनाउँथे । अफजलमार्फत मैले इस्लामको मानवीय सारतत्त्वका बारेमा जान्ने अवसर पाएँ, जसलाई कट्टरतावादी मुल्लाहहरूले भ्रष्टीकरण गरेका थिए ।

जनतामाथि बम हान्ने र मार्ने अतिवादी तरिकालाई अफजलले एकदमै मन नपराउने मात्र नभएर पाकिस्तानी आइयसआइलाई पनि मन पराउँदैनथे । उनी बेलाबेलामा भन्ने गर्थे ‘र’ भन्दा पनि उनीहरू ‘खत्तम छन्, जो पाकिस्तानमा मिलाउन होइन कास्मिरको ‘आजादी’ को लागि लडेका थुप्रै बुद्धिजीवीहरूको हत्यामा जिम्मेवार छन् । खासगरेर ९० को दशकको जेकेएलएफको जनआन्दोलन, त्यो पाकिस्तानपरस्त आन्दोलन थिएन ।  भारतीय सरकारले मात्र होइन, आइयसआइले पनि  धेरैको हत्या गरेको छ भनेर उनले भने । उनले कसरी कास्मिर उपत्यकाको जीवन सेनाको नियन्त्रणमा रहेको छ र यो खुला कारागारमा परिणत भएको छ भनेर  मेरा सामु एउटा भिन्नै र ठोस तस्विर प्रस्तुत गरे । उनी घरीघरी कास्मिरी जनताको जीवनलाई प्यालेस्टिनी जनताको जीवनसित दाँज्दथे । कास्मिरका जनतालाई सहयोग गर्नुको सट्टा भारत विरोधी हतियारका रूपमा प्रयोग गरेर पाकिस्तानले उल्टै कास्मिरमा भारतले भन्दा बढी नोक्सान पुर्याएको भन्दै उनी कास्मिर दुई देशको द्वन्द्वमा बलीको बोको भएको विचार राख्दथे ।

कट्टरतावादीहरू भन्दा फरक, अफजलको कम्युनिज्मप्रति पनि एकदमै आदरभाव थियो र उनी घरीघरी इकवाललाई दोहोर्याउँथे : कम्युनिज्म +अल्लाह =इस्लाम । अफजलको ऊर्दू र अङ्ग्रेजी दुवैमा उत्तिकै दखल थियो । उनले नोम चोम्स्कीलगायत पश्चिमका अन्य प्रगतिशील बुद्धिजीवीहरूको पनि अध्ययन गरेका थिए । उनलाई गजल असाध्यै मन पथ्र्यो । जेलमा पनि उनले जेलका अधिकारीहरूलाई केही भन्ने ठाउँ दिएनन्, जब कि आरम्भका दिनमा उनले निकै अपमानित हुनुपरेको थियो ।

अफजललाई फाँसीको सजाय दिनु दुईदिनअघि हामी बसेको सेलमा रङ्रोगन गर्नुपर्ने भयो भनेर हामीलाई ‘बि ब्लक’ मा जान भनियो । तर जब हामी त्यहाँ गयौँ बाहिरको खुला चौर र ‘फाँसिकोटी’ देख्न नसक्ने गरी बन्द गरिएको पायौं  । तर ‘फाँसिकोटी’ मा केही हुँदैछ भनेर चाहिं हामीले छिटै थाहा पायौँ । कर्मचारीहरूले विदेशी प्रतिनिधि मण्डलले जेलको निरीक्षण गर्दैछन् भनेर हल्ला फिँजाएका थिए : मानसिक अस्पतालमा राखिएको भुलरलाई फासिदिन पनि हुन सक्छ—यस्तैयस्तै हल्ला थिए  ।
 
अफजलले भन्नेगर्थे भुलरलाई होइन, कसैलाई फासिदिने कुरा हुन्छ भने त्यो म नै हुनसक्छु । त्यो साँझ अरूको अनुहार मलिन भए पनि अफजल सदाझैँ हँसिलोखुसिलो थिए ।

भोलिपल्ट बिहान ६ बजे जेल कर्मचारी त्यहाँ आइपुगे । अनि उनीहरूले अफजलको सेलको ढोका खोले र भने— केही कुरा गर्नुछ भने पछि गर्नु, पहिले नमाज पढ्नु । उनीहरूले अफजललाई बाहिर लिएर गए र सेल बन्द गरिदिए, अरू सेलहरू खोलेनन् । अनि चाहिं के हुँदैछ भन्ने कुरा हामीले पनि अनुभव गर्नथाल्यौँ ।

उनलाई उनको मूल सेलमा लगियो, जहाँ सरकारी कानुन अधिकृत पनि थिए । कानुन अधिकृतले अहिले बिहान  ८ बजे अफजललाई फासि दिइनेछ भनेर सुनाए । अफजलले जहानपरिवारसित फोनमा कुरा गर्छु भने, तर यसलाई इन्कार गरियो । काङ्ग्रेस सरकारले सबै कानुनी मूल्य (नर्मस्हरू) लाई रछ्यानमा फालेको थियो । उनले नमाज पढे, उनलाई चिया बिस्कुट खान दिइयो, नुहाए र अन्तिम पटक फेरि नमाज पढे ।
 
आठ बज्न ५ मिनेट बाँकी छँदा उनलाई हामी सधैँ हिँड्ने ठाउँ हुँदै उता लगे, उनले उपस्थित सबै कर्मचारीसित शुभयात्रा भन्दै बिदा भने र आफूलाई धेरै पीडा नदिइयोस् है भने । उनले उपस्थित कर्मचारीतिर हेरेर सबैसित बिदा मागेर घाँटीमा फाँसिको फन्दा लगाएको बेला सबैका आँखा रसाएका थिए भनेर हामीले पछि थाहा पायौँ । जेलका अधिकारीहरूले उनको लुगाफाटाहरू, डायरी र उनको मृत शरीरसमेत परिवारलाई दिन इन्कार गरे । उनलाई अर्का कस्मिरी नेता मकबुल भाटलाई गाडेको ठाउँभन्दा दुई फिट उता गाडियो । विडम्बनाको विषय के छ भने मकबुल भाट पनि पाकिस्तान विरोधी नै रहेछन् भन्ने कुरा पाकिस्तान सरकारले उनको पुस्तकमाथि प्रतिबन्ध लगाउनुबाट प्रस्ट हुन्छ ।
 
यसरी तिहाड जेलको मेरो सातबर्से यात्रामा एउटा मानवतावादी, इमानदार, प्रस्ट र सरल मान्छेसितको मेरो सहयात्राको अन्त्य भयो । रफिकबाहेक सबै कस्मिरीहरूको व्यवहार अफजलको जस्तो हुने गर्दैन । तर अचम्म, किन काङ्ग्रेस सरकारले कास्मिरको यो बौद्धिक आवाजलाई यसरी सिध्याउन खोज्यो, फलस्वरूप, कास्मिरको आनन्दोलन कट्टरतावादी अतिवादीहरू र पाकिस्तानपरस्तहरूतिर धकेलियो...।

अनुवाद : डा. ऋषिराज बराल
भिडियो फिचरview all