menu

ताजा समाचार

भारतमा बसन्ते गर्जन : पिपुल्स डेली

(सन् साठीको दशकमा चलेको नक्सलबाडी सशस्त्र किसान आन्दोलनले यो वर्ष ५० वर्ष पूरा गर्दैछ । नक्सलबाडी सशस्त्र किसान आन्दोलनको महत्व भारतीय सन्दर्भमा मात्र सीमित छैन । यो विश्व सर्वहारावादी आन्दोलनको एउटा अंश हो । यो वर्ष विश्वका क्रान्तिकारी माओवादीहरूले यस सन्दर्भमा विश्वव्यापी रूपमा विशेष कार्यक्रमहरू तय गरेका छन् । यहाँ नक्सलबाडी किसान आन्दोलन आरम्भ भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपुल्स डेली' मा प्रकाशित रचना प्रस्तुत गरेका छौँ )

भारतीय भूमिमा बसन्ते गर्जन  गर्जिएको छ । दार्जलिङ क्षेत्रका क्रान्तिकारी किसानहरूले विद्रोह गरेका छन् । भारतीय कम्युनिस्ट पार्टीको क्रान्तिकारी हिस्साको नेतृत्वमा भारतमा ग्रामीण क्रान्तिकारी सशस्त्र सङ्घर्षको लाल इलाका काय गरिसकिएको छ । भारतीय जनताको क्रान्तिकारी सङ्घर्षका लागि यो विकास निकै महत्त्वको छ ।

बितेका केही महिनामा यो क्षेत्रमा किसान जनसमुदायले भारतीय कम्युनिस्ट पार्टीको एउटा क्रान्तिकारी हिस्साको नेतृत्वमा आधुनिक संशोधनवादको  साङ्लो चुँडालेको छ र उनीहरूलाई जुन बन्धनले बााधेर राखिउको थियो, त्यसलाई चकनाचुर पारेका छन् ।  उनीहरूले जमिनदार तथा बगान मालिकहरूबाट अनाज र हतियार कब्जा गरेका छन्, स्थानीय फटाहाहरू र कुख्यात ठूलाबडाहरूलाई सजाय दिएका छन् र उनीहरूमाथि दमन गर्न आएका प्रतिक्रान्तिकारी सेना र प्रहरी विरुद्ध एम्बुस थापेका छन् ।  यसरी उनीहरूले किसानको  क्रान्तिकारी सशस्त्र सङ्घर्षको प्रचण्ड शक्ति प्रदर्शन गरेका छन् । किसानहरूलाई सिध्याउन कम्मर कसेर लागेका सबै साम्राज्यवादी, संशोधनवादी, भ्रष्ट पदाधिकारी,  स्थानीय फटाहा, र खराब ठूलाठालुहरू तथा प्रतिक्रियावादी सेना र प्रहरीहरू, उनीहरूका नजरमा केही पनि होइनन् । भारतीय कम्युनिस्ट पार्टीको क्रान्तिकारी हिस्साद्वारा एकदमै ठीक काम भएको छ र यसलाई उनीहरूले सानदार ढङ्गले गरेका छन् । दार्जलिङ क्षेत्रका भारतीय किसानहरूको यस क्रान्तिकारी झञ्झावातलाई चिनियाँ जनता बडो हर्षका साथ अभिनन्दन गर्दछन्, जसरी संसारभरिका माक्र्सवादी–लेनिनवादी जनता  गर्दछन् ।

यो एउटा अकाट्य तथ्य हो, भारतका किसान विद्रोह गर्ने नै छन् र भारतीय जनता क्रान्त्ति गर्नेछन्, किनभने प्रतिक्रियावादी काङ्ग्रेस शासनले उनीहरूका सामु कुनै बाटो बाँकि राखेको छैन । काङ्ग्रेस शासनअन्तर्गत भारत नाममा मात्र स्वतन्त्र छ, वास्तवमा यो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशबाहेक अरू केही होइन । काङ्ग्रेस शासन भारतीय सामन्त राजकुमारहरू, ठूला जमिनदारहरू र दलाल नोकरसाह पुँजीपतिहरूको हितको प्रतिनिधित्व गर्दछ । देशभित्र एकातिर भारतीय जनतामाथि निर्ममतापूर्वक दमन गर्दछन् र रगतपसिना चुस्तछन्  भने अर्कातिर अन्तर्राष्ट्रिय स्तरमा उनीहरू आफ्नो पुरानो मालिक ब्रिटिस साम्राज्यवाद लगायत नयाँ मालिक अमेरिकी साम्राज्यवाद र उसको अब्बल दर्जाको साझेदार सोभियत संशोधनवादी शासक गुटको चाकरी गर्छन् र  ठूलो मात्रामा राष्ट्रिय हितको बेचबिखन गर्छन् । त्यसकारण, साम्राज्यवाद, सोभियत संशोधनवाद, सामन्तवाद र दलाल पुँजीवाद भारतीय जनता खासगरेर श्रमजीवी मजदुर किसान जनताको पिठ्यूँमा ठूलो पहाडझैँ लादिएका छन् ।
काङ्ग्रेश साशनले यताका केही वर्षहरूदेखि भारतीय जनतामाथिको शोषणा र दमनलाई थप तीव्र बनाएको छ  र राष्ट्रिय गद्दारीको नीति लिएको छ । हरेक साल अनिकालले घेर्ने गरेको छ । खेतहरू  अनिकाल र भाकमरीले मरेकाहरूको लासले भरिएका छन् । भारतीय जनता र सर्वोपरि भारतीय किसानका लागि बाँचन एकदमै गारो भएको छ । दार्जलिङ क्षेत्रका क्रान्तिकारी किसान अब विद्रोहका लागि उठेका छन्। हिंसापूर्ण क्रान्तिका लागि उठेका छन् ।  यो लाखौँ-करोडौँ जनताको भारतव्यापी हिंसापूर्ण आन्दोलनको प्रस्तावना हो । भारतीय जनता निश्चय पनि यी पहाडहरूलाई आफ्नो पिठ्यूबाट फ्याल्नेछन् र मुक्ति प्राप्त गर्नेछन् । यो भारतीय एतिहासको आम प्रवृत्ति हो, जसलाई पृथ्वीको कुनै पनि ताकतले रोक्न सक्तैन ।  न त बाधा नै पुर्याउन सक्छ ।

भारतीय क्रान्तिले कुनचाहिँ बाटो अँगाल्नु छ ? यो भारतीय क्रान्तिको सफलता र ५० करोड जनताको भाग्यलाई प्रभावित गर्ने एउटा आधारभूत प्रश्न हो । भारतीय क्रान्तिले किसानमाथि भरोसा गर्ने, ग्रामीण क्षेत्रमा आधार इलाका निर्माण गर्ने, दीर्घकालीन जनयुद्धमा डटिरहने, सहरहरूलाई गाउँबाट घेर्ने र अन्त्यमा तिनीहरूलाई कब्जा गर्ने बाटो अँगाल्नु पर्छ । यो माओत्सेतुङको बाटो हो, यो त्यो बाटो हो, जसले चिनियाँ क्रान्तिलाई विजयसम्म पुर्यायो,  यो तमाम उत्पीडित राष्ट्र र जनताको क्रान्तिको विजयको एक मात्र बाटो हो ।

हाम्रो महान् नेता अध्यक्ष माओत्सेतुङले ४० वर्ष पहिले भन्नुभएको थियो : “केही दिनभित्र नै चीनको मध्यवर्ती, दक्षिण र उत्तरी प्रान्तमा दसौँ करोड किसान एउटा प्रवल झञ्झावात अथवा प्रचण्ड आँधीका झैँ जुर्मुराउँनेछन्  । यो एउटा यस्तो अद्भूत वेगवान र विध्वंशकारी शक्ति हुने छ, ठूलोभन्दा ठूलो शक्तिले पनि त्यसलाई दबाउन सक्नेछैन ।  किसान, ती सबै बन्धन, जसले तिनीहरूलाई बाँधेर राखेका छन्, ती सबैलाई च्यातचुत पार्छन् र मुक्तिमार्गमा तीव्र गतिका साथ अघि बढ्छन् । ती सबै साम्राज्यवादीहरू, युद्धसरदारहरू, भ्रष्ट अधिकारीहरू, स्थानीय अत्याचारीहरू र खराब ठूलाठालुहरूलाई मसानघाटमा पु¥याउँनेछन् ।”

अध्यक्ष माओले धेरै पहिले  प्रस्ट रूपमा भन्नुभएको थियो, किसानको प्रश्नले जनक्रान्तिमा महत्त्वपूर्ण स्थान ओगट्छ । साम्रामज्यवाद र त्यसका भरौटेहरूका विरुद्ध राष्ट्रिय जनवादी क्रान्तिमा किसान मुख्य शक्ति हो, याचे सर्वहाराको  सबैभन्दा बढी विश्वसनीय  र ठूलो सङ्ख्यामा रहेको मित्र हो । भारत ५० करोड आवादी भएको एउटा अर्धऔपनिवेशिक तथा अर्धसामन्ती मुलुक हो, पूर्ण बहुमतमा रहेको किसानलाई, यदि एकपल्ट जाग्रित गराउन सकियो भने, उनीहरू भारतीय क्रान्तिको अजेय शक्ति बन्नेछन् । किसानका साथ एकाकार भएर भारतीय सर्वहारा भारतीय ग्रामीण क्षेत्रमा पृथ्वी हल्लाउने परिवर्तन  ल्याउने तथा कम्पन उत्पन्न गर्ने जनयुद्धमा कुनै पनि शक्तिशाली दुस्मनलाई परास्त गर्न समर्थ हुनेछ ।

हाम्रो महान् नेता अध्यक्ष माओले हामीलाई सिकाउनुभएको छ : “सशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु र युद्धद्वारा समस्याको फस्र्योट गर्नु क्रान्तिको केन्द्रीय अभिभारा र सर्वोच्च रूप हो । क्रान्ति सम्बन्धी यो मार्क्सवादी–लेनिनवादी सिद्धान्त सर्वव्यापी रूपले चीन र अरू सबै देशहरूमा लागू हुन्छ ।”

चिनियाँ क्रान्तिका झैँ भारतीय क्रान्तिको ठोस विशेषता पनि सशस्त्र प्रतिक्रान्तिका विरुद्ध सशस्त्र क्रान्तिको युद्ध हो । भारतीय क्रान्तिका लागि सशस्त्र सङ्घर्ष नै एक मात्र सही बाटो, अर्को कुनै बाटो छैन । ‘गान्धीवाद’, संसदीय मार्ग’ र यस्तै खाले अन्य जालहरू भारतीइ शासक वर्गद्वारा भारतीय जनतालाई पङ्गु बनाउनका लागि प्रयोग गरिने अफीम हो । हिंसापूर्ण क्रान्तिमा विश्वास गरेर र सशस्त्र सङ्घर्षका बाटो अवलम्बन गरेर मात्र भारतलाई बचाउन सकिन्छ र भारतीय जनताले पूर्ण मुक्ति प्राप्त गर्न सकिन्छ । खासगरेर किसान जनतालाई निर्भीक किसिमले जाग्रित गर्नु, क्रान्तिकारी सशस्त्र फोर्सको स्थापना र विस्तार गर्नु, अध्यक्ष माओ आफैँले तयार पार्नुभएको जनयुद्धका सबै रणनीति र कार्यनीतिको प्रयोग गरेर साम्राज्यवादीहरू तथा  प्रतिक्रियावादीहरूको सशस्त्र  दमनमाथि प्रहार गर्नु, जो अस्थाथी रूपमा क्रान्तिकारी शक्तिभन्दा बढी शक्तिशाली छ, र दीर्घकालीन सशस्त्र सङ्घषमा डटिरहनु  र पाइलापाइलामा जित हासिल गर्नुपर्ने छ  ।

 चिनियाँ क्रान्तिको विशेषताको आलोकमा हाम्रा महान् नेता अध्यक्ष  माओले ग्रामीण  क्रान्तिकारी आधार इलाका निर्माण गनुपर्ने महत्त्व बढाउनु भयो । अध्यक्ष  माओ हामीलाई सिकाउनुहुन्छ : दीर्घकालीन सशस्त्र सङ्घर्षमा डटिरहनु तथा साम्राज्यवाद र त्यसका मतियारहरूलाई हराउनका लागि, “क्रान्तिकारी कतारका लागि पछिपरेका गाउँलाई अगाडि बढेको सुसङ्गठित आधारक्षेत्रमा फेर्नु, क्रान्तिका सेना, राजनीतिक, आर्थिक र सांस्कृतिक गढमा परिणत गर्नु, जहाँबाट उनीहरू आफना दुष्ट सत्रुहरूसित लड्न सकून्, जसको ग्रामीण क्षेत्रमा हमला गर्न प्रयोग गरिरहेको छ र यस प्रकार अलिअलि गरेर दीर्घकालीन लडाइँको माध्यमबाट पूर्णरूपमा  विजय प्राप्त गर्नु अनिवार्य छ ।”

भारत विशाल भूभाग भएको देश हो । यसको ग्रामीक्ष क्षेत्र, जहाँ प्रतिक्रियावादी साशन कमजोर छ, एउटा विशाल क्षेत्र उपलब्ध गराउँछ, जहाँ क्रान्तिकारी स्वतन्त्र रूपले आफनो कौशलको प्रयोग गर्न सक्तछन् । जबसम्म सवृहारा क्रान्तिकारी माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको क्रान्तिकारी लाइनमा डटिरहन्छन् र आफ्ना महान् मित्र किसानहरूमाथि भरोसा राख्छन्, तबसम्म्म लागि पछि परेको विशाल ग्रामीण क्षेत्रमा एकपछि अर्को गरेर आधार इलाका कायम गर्न र नयाँ खाले सेनाको निर्माण गर्न उनीहरूका लागि एकदमै सम्भव छ । भारतीय क्रान्तिकारीहरूले यस्तो क्रान्तिकारी आधार इलाका कायम गर्ने सन्दर्भमा चाहे जस्तोसुकै कठिनाइहरू र आरोहअवरोहको सामना गर्नु परोस्, अन्ततोगत्वा उनीहरू अलगअलग बिन्दुबाट एउटा विशाल फैलावटमा, सानासाना इलाकाहरूबाट विस्तृत इलाकामा लहरहरूको तरङ्गको फैलावटजस्तै इलाकाहरूको विकास गर्नेछन्  यसरी सहर तथा नगरहरूमाथि अन्तिम रूपबाट कब्जा गर्ने र राष्ट्रव्यापी विजय प्राप्त गर्ने बाटो खुला गर्नका लागि, गाउँबाट सहर घेर्ने स्थिति भारतीय क्रान्तिमा विस्तारै ल्याउन सकिन्छ ।

दार्जलिङमा गमिण सशस्त्र सङ्घर्षको विकासले  भारतीय प्रतिक्रान्तिहरू आतङ्कित भएका छन् । उनीहरूले आसन्न विपत्तिको आकलन गरिसकेका छन् र आत्तिँदै दार्जिलिङका किसानहरूको विद्रोह ‘एउटा राष्ट्रिय विपत्ति’ मा फेरिने छ भनेर कराइरहेका छन् । साम्राज्यवाद र भारतीय प्रतिक्रियावादीहरू दार्जिलिङका किसानहरूको यो सशस्त्र सङ्घर्षलाई हजार किसिमले दमन गराएर कलिलै अवस्थामा मुन्टो निमोठ्ने  प्रयास गरिरहेका छन् । डाँगे गद्दार गुट र भारतीय कम्युनिस्ट पार्टीका संशोधनवादी लाउकेहरू क्रान्तिकारीहरूमाथि, दार्जलिङका क्रान्तिकारी किसानहरूमाथि, तिनीहरूका महान् उपलब्धिहरूका विरुद्ध भयङ्कर आक्रमण गरिरहेका छन्, दमन गरिरहेका छन् । पश्चिम बङ्गालको तथाकथित ‘गैरकाङ्ग्रेसी सरकार’  दार्जिलिङका क्रान्तिकारी किसानहरूमाथिको रक्तपातपूर्ण दमनमा खुलेआम भारतीय प्रतिक्रियावादी सरकारको पक्ष लिइरहेको छ । यो, यी गद्दार र संशोधनवादीहरू साम्राज्यवादका पाल्तु कुकुरहरू हुन् र भारतका ठूला जमिनदार र पुँजीपतिहरूका मतियार हुन् भन्ने कुराको थप प्रमाण हो । जसलाई उनीहरूले ‘गैर–काङ्ग्रेसी सरकार’ भन्दछन्, उनीहरू यी जमिनदारहरू र पुँजीपतिहरूका हतियार मात्र हुन् ।

परन्तु, साम्राज्यवादीहरू , भारतीय प्रतिक्रियावादीहरू र आधुनिक संशोधनवादीहरू विध्वंश र दमनका लागि एकअर्कालाई जतिसुकै सहयोग किन नगरून्,  भारतीय कम्युनिस्ट पार्टीका क्रान्तिकारीहरू तथा दार्जलिङका किसानहरूद्वारा प्रज्वलित  सशस्त्र सङ्घर्षको मशाल कहिल्यै पनि निभ्न सक्तैन । “एउटा झिल्कोले सारा जङ्गलमा आगो लाग्न सक्छ ।” दार्जलिङको  यो झिल्को दावानल बनेर फैलिनेछ र भारतको विशाल क्षेत्रलाई आफ्नो अँगालोमा लिनेछ । यो सत्य हो, क्रान्तिकारी सशस्त्र सङ्घर्षको प्रचण्ड आँधी अन्ततः भारतको कुनाकुनामा फैलिनेछ । भारतीय सङ्घर्षको बाटो लामो र कष्टकर हुनेछ तापनि मार्क्सवाद–लेनिनवाद-माओत्सेतुङ विचारधाराद्वारा निर्देशित भारतीय क्रान्ति अवश्य पनि विजयी हुनेछ ।

(भारतमा चलेको नक्सलबाडी सशस्त्र आन्दोलनले लिएको बाटोलाई थप ऊर्जा प्रदान गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेली मा ५ जुलाई १९६७ मा प्रकाशित लेखको अनुवाद) ।
भिडियो फिचरview all