menu

ताजा समाचार

दार्शनिक रचनाहरूको एउटा महत्त्वपूर्ण प्रकाशन

जागरण बुक हाउस, बागबजारले मार्क्सवादी दर्शनसित सम्बद्ध महत्त्वपूर्ण आलेखहरूको सङ्कलन दार्शनिक  रचनाहरू,  मार्क्सदेखि माओसम्म बजारमा ल्याएको छ । अनुवादक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, लेखिएको यस सङ्कलनमा मार्क्सदेखि माओसम्मका केही महत्त्वपूर्ण रचनाहरू सङ्कलित छन् । एकाध नेपालीमा अनुवाद भएका रचनाहरू समाविष्ट गरिएको भए तापनि अघिकांश रचनाहरू अङ्ग्रेजी तथा हिन्दीमा अनुवाद भएका, तर, नेपाली भाषाका पाठकका लागि सहजै उपलब्ध हुन नसकेका रचनाहरू यसमा समाविष्ट छन्  । यस अर्थमा यो निकै महत्त्वपूर्ण प्रकाशन हो ।

यसमा १५ ओटा अनूदित रचनाहरू छन् । पहिलो रचना ‘अखवारहरूमा धर्म र दर्शनको बहस’, हो र अन्तिम रचना ‘चीनको दार्शनिक फाँटमा तीन प्रमुख सङ्घर्ष’ हो । सबै रचनाहरू असाध्यै महत्त्वपूर्ण रचनाहरू हुन् तापनि केही रचनाहरू विशेष महत्त्वका छन् ।

‘हेगेलको कानुन दर्शनको आलोचनामा योगदान’, विशेष उल्लेखनीय रचना हो ।  मार्क्सको धर्मका सम्बन्धमा महत्त्वपूर्ण भनाइ— “धर्म जनताका लागि अफिम हो”, यसै रचनामा व्यक्त भनाइ हो । त्यसैगरी मार्क्सकै महत्त्वपूर्ण भनाइ, “जब विचारले मान्छेको मनमस्तिष्कमा घरजम गर्छ, त्यो भौतिक शक्तिमा फेरिन्छ” पनि यसै रचनाको अंश हो । यस भनाइलाई मार्क्सवादीहरूले निकै प्रयोग गरेको पाइन्छ । यसलाई कतै सिद्धान्त, कतै विचार भनेर उल्लेख गरेको पाइन्छ । अङ्ग्रेजीमा यसरी लेखिएको छ :
 ''..theory also becomes a material force as soon as it has gripped the masses."

यस पुस्तकमा गरिएको अनुवाद “सिद्धान्तले पनि जति छिटो जनताको हृदयमा ठाउँ लिन्छ, त्यति छिटो यो भौतिक शक्ति बन्दछ” , अनुवादका दृष्टिले ठीकै छ ।

यस सङ्कलनमा एङ्गेल्सको ‘द्वद्ववाद’ शीर्षको आलेख राखिएको छ ।

लेनिनले थुप्रै दार्शनिक रचनाहरू लेख्नुभएको भए पनि लेनिनका तीनओटा रचनाहरू ‘द्वन्द्ववादका तत्त्वहरू’  ‘कार्ल मार्क्स' र ‘द्वन्द्ववादको प्रश्नबारे' यसमा सङ्कलित गरिएको छ । छोटो भए पनि लेनिनको रचना ‘द्वन्द्ववादका तत्त्वहरू’ र ‘द्वन्द्ववादको प्रश्नबारे' निकै महत्त्वपूर्ण रचनाहरू हुन् ।

स्तालिनको ‘द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद’ नेपाली पाठकहरूबीच परिचित र महत्त्वपूर्ण आलेख हो ।

दर्शनको क्षेत्रमा माओको महत्त्वपूर्ण योगदान छ । वास्तवमा माओले मार्क्स-एंगेल्सले स्थापना गरेको र लेनिनले विकसित गरेको मार्क्सवादी दर्शनलाई थप समृद्ध पार्नुभएको छ । पदार्थ र चेतना, अन्तरर्विरोधको नियम, एकको दुईमा विभाजन र विपरीतहरूको एकत्व जस्ता विषयमा उहाँको उच्च योगदान छ । दर्शनको क्षेत्रमा गर्नुभएको विकासलाई माओले विचार र व्यवहारमा प्रयोग गरेर राजनीतिक क्षेत्र र वर्गसङ्घर्षमा प्रयोग गर्दै महत्त्वपूर्ण योगदान दिनुभयो  । माओले दर्शनका क्षेत्रमा गरेको विकास बाहिर मात्र नभएर भित्र र बाहिर दुवै क्षेत्रमा गरेको लडाइंको परिणाम हो l

उहाँका थुप्रै महत्त्वपूर्ण दार्शनिक आलेखहरूमध्ये यस पुस्तकमा ६ ओटा रचनाहरू समाविष्ट गरिएको छ । यसमा केही नयाँ साथै नेपाली पाठकका लागि सहजै उयलब्ध हुन नसकेका र हुन नसक्ने रचनाहरू पनि छन्  l यो यसको महत्चवपूर्ण पक्ष हो ।  यसमा माओको १९६४ को ‘दार्शनिक प्रश्न’ चाहिँ समाविष्ट गरिएको छैन । चीनमा मार्क्सवादी दर्शनमा भएको विकासलाई सहज ढङ्गले बुझन माओको १९५९ को रचना ‘द्वद्ववादका उदाहरणहरू’ निकै महत्त्वपूर्ण सामग्री हो । लि साउ चिसँगको दुई लाइन सङ्घर्षका क्रममा लेखिएको ‘सही विचार कहाँबाट आउँछ ?’ बहुचर्चित र सारगर्भित रचना हो । ‘ज्ञान, सिद्धान्त र विज्ञान–प्रविधिबारे’ अन्तर्विरोध र यसको निरन्तरतामा जोड दिएको महत्वपूर्ण रचना हो । यो मूलतः प्रवचन हो र यसको भ्रष्टीकरण गरेर संशोधनवादीहरूले आफूअनुकूल प्रयोग गरेको इतिहास पनि हामीले भोगेका छौं ।

चिनियाँ महान् सांस्कृतिक क्रान्ति आफैँमा एउटा दस्ताबेज हो । यसका बारेमा थप व्याख्या आवश्यक छैन । 'सांस्कृतिक क्रान्ति र विश्वदृष्टिकोण' मा दर्शन, बौद्धिक क्षेत्रका साथै चिनियाँ समाजमा वर्गसङ्घर्षका विभिन्न कडीलाई जोडिएको छ ।

‘चीनको दार्शनिक मोर्चामा तीन प्रमुख सङ्घर्ष’ माओ मात्र नभएर सिङ्गको चिनियाँ कम्युनिस्ट पार्टी र नयाँ जनवादी क्रान्तिले दार्शनिक फाँटमा वैचारिक-राजीतिक तथा व्यावहारिक मोर्चामा लडेको लडाइँको अभिलेख हो । यसमा एउटा पात्र अगाडि आए पनि यो सारतः चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दुईलाइन सङ्घर्षको अभिलेख हो । माओको नेतृत्वमा पार्टी स्कुलिङका विज्ञहरूले तयार पारेको यो दस्ताबेज पहिले चिनियाँ भाषामा र पछि अंग्रेजी र हिन्दीमा प्रकाशित भएको थियो ।

थ्रि मेजर स्ट्रगल्स अन चाइनाज फिलोसफिकल फ्रन्ट नामले प्रकाशित यो आलेखको  नेपाली भाषामा सबैभन्दा पहिले इन्द्रमोहन सिग्देल 'वसन्त' को  अनुवाद  ‘प्रवर्तक’ ले प्रकाशित गरेको थियो । ओलीले यसमा  ‘मोर्चा’ भनेर अनुवाद गर्नुभएको छ भने सिग्देलले ‘फाँट’ भनेर । यहाँ मोर्चाभन्दा फाँट  नै उपयुक्त देखिन्छ l तर, समग्रमा सिग्देलको भन्दा ओलीको अनुवाद परिष्कृत छ ।

यस पुस्तकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लवको छोटो ‘मन्तव्य’ पनि रहेको छ । सो ‘मन्तव्य’ मा उठाइएका सन्दर्भहरूको लामै चर्चा आवश्यक भए पनि यहाँ त्यो सम्भव र  सान्दर्भिक छैन ।  र पनि “विपरीतहरूको एकत्व र गलत विचारसँगको सङघर्ष एक नभई फरक हो भन्ने साबित हुँदैछ, ” भन्ने मंतव्यकारको भनाइ विवादास्पद र त्रुटिपूर्ण छ–लि साउचीको लाइनसित मेल खान्छ  । यो भनाइ एकता-सङ्घर्ष-रूपान्तरण सम्बन्धी, दुई लाइन सङ्घर्षसम्बन्धी, विपरीतहरूको एकत्व र एकको दुईमा  विभाजन सम्बन्धी माओवादी धारणाको विपक्षमा छ । अझ भनौं सो भनाइ यसमा सङ्कलित रचनाहरूकै विपक्षमा छ ।

यस पुस्तकमा ‘दार्शनिक रचनाहरू : मार्क्सदेखि माओसम्मबारे अनुवादक’ शीर्षकमा अनुवादकको पनि मन्तव्य छ l  यसमा पनि टिप्पणी गर्नुपर्ने केही सन्दर्भहरू भए पनि निम्न भनाइप्रति भने पूर्ण समर्थन जाहेर गर्नु आवश्यक छ :

“नेपालमा आजभोलिका विभिन्न कम्युनिस्ट घटकका केन्द्रीय सदस्यहरूले मालेमावादको मूल पाठ पढेकै हुँदैनन् । कतै प्रशिक्षण वा स्कुलिङ भयो भने जाँगर नलगाईनलगाई  सुन्दछन् र कतै पत्रिकामा आएका वा प्रसङ्गवस उल्लेख  भएका उक्तिहरू कण्ठ गरेका हुन्छन् । स्थायी समिति सदस्यले समेत लेनिनको उद्धरणलाई माओको भनेर भाषण गर्दछन् भने माओको उद्धरणलाई लेनिनको भनेर । अहिले माओवादी समूहहरूका धेरैजसो स्थायी समितिका सदस्यहरूले राम्रोसँग मालेमावादको अध्ययन गरेको भए संसद्वादी आहालमा डुबिरहने खतरा कम हुन्थ्यो कि ?”

माथि उल्लेखित बुझाइ एकदमै सही बुझाइ हो भन्ने कुरामा विवाद छैन । यस टिप्पणीकारको बुझाइमा अनुवादकको झटारो उहाँकै पार्टीका नेता त्यसमा पनि टाउकामै पनि हो ।  प्रश्न छ :  के तलदेखि माथिसम्म ‘फेसबुक क्रान्ति’  र ‘आर्थिक उत्प्रेरणा’ मा कुदेको आफ्नै पार्टीभित्रको बगाललाई अनुवादकले ‘अध्ययन अभियान’  तर्फ प्रवृत्त गराउन सक्ब्नुहोला ?

अन्त्यमा,
दर्शनको क्षेत्रमा छिपछिपे ज्ञान भएका खास पार्टीको नेताको मन्तव्य र अमुकले अनुवाद गरेको कारण पाठकीय दृष्टिले यस पुस्तकको आयाम साँघुरो भएको छ भनेर टिप्पणी पनि आउँन सक्छ । तर, यो कसले अनुवाद गर्यो र कुन पार्टीको नेताले यसमा ‘मन्तव्य’ लेख्यो भन्दा पनि यसमा के अनुवाद गरिएको छ भन्ने कुरालाई केन्द्रमा राखेर अध्ययन गर्नु जरुरी छ  ।

यो पुस्तकको 'मन्तव्य' का आधारमा  ‘जागरण पुस्तक हाउस’ को साइनो-सम्बन्धबारे पनि कतिपयले प्रश्न उठाउन सक्छन्, यो पनि हामीकहाँ विकसित भएको संस्कृति  हो । यसरी पनि यसलाई हेर्नु हुँदैन । यसमा के छापिएको छ भन्ने कुरा प्रधान हो ।

समग्रमा भन्दा यो पुस्तक समसामयिक र सारगर्भित छ । सामान्य पाठकका साथै नेतादेखि (मूलतः नेता) कार्यकर्ता सबैले यसको पढ्ने मात्र होइन, गम्भीर अध्ययन गर्नु जरुरी छ । महत्त्वपूर्ण पुस्तक पाठकसम्म पुर्याएकोमा जागरण बुक हाउस लाई धन्यवाद l

ऋषिराज बराल
भिडियो फिचरview all