menu

ताजा समाचार

जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको अपिल

२०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्त्व र आम उत्पीडित जनताको सहभागितामा महान जनयुद्धको आरम्भ भएको थियो l २१ वर्ष पूरा गरेर अब २२ यो २२ औं वर्षमा प्रवेश गरेको छ l सो अवसरमा जनयुद्धसित जोडिएका विभिन्न माओवादी घटक तथा व्यक्तिहरूले आफ्नै किसिमले २२औं जनयुद्ध दिवस मनाइरहेका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य‘किरण’द्वारा एक प्रेस वक्तव्य जारी गरिएको छ ।

वक्तव्यमा सहिद, घाइते, अपाङ्ग तथा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दै भनिएको छ :

''बाइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्दछौं । त्यसैगरी, घाइते अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दछौं । यसै क्रममा हामी सहिद तथा वेपत्ता योद्धका परिवारजनहरुप्रति पनि सम्मान व्यक्त गर्दछौं । साथै, हामी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सबै शुभेच्छुक, समर्थक तथा सहयोगी जनसमुदाय र भाइचारा पार्टीहरुसहित सम्पूर्ण पार्टी कमरेडहरुप्रति हार्दिक शुभकामना तथा क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।"

त्यसैगरी क्रान्तिको दिशामा अघि बढ्न आव्हान गर्दै भनिएको छ :

''यस स्थितिमा बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो । यस प्रकारको उद्देश्य प्राप्त गर्नका निम्ति हामीले माक्र्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा पार्टीको कार्यदिशा, नीति तथा कार्यक्रमलाई अझै समृद्ध तथा जुझारु तुल्याउँदै जान र विगतका गल्ती, कमी तथा कमजोरीहरुको वैज्ञानिक समीक्षा गर्दै आगामी दिनमा क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न आवश्यक छ ।"

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

“आजको बाइस वर्ष अघि २०५२ फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा महान् जनयुद्धको ऐतिहासिक उद्घोष गरिएको थियो । सो जनयुद्धको उद्देश्य देशलाई अर्ध सामन्ती, अर्ध औपनिवेशिक तथा नवउपनिवेशिक अवस्थाबाट मुक्त तुल्याउँदै नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु थियो । दशवर्षसम्मको अवधिमा रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको दिशामा विकसित हुँदै गएको जनयुद्धले पार्टीको मूल नेतृत्वमा दक्षिणपन्थी अवसरवादी विचलन पैदा हुनुको कारण गम्भीर प्रकारको धक्का खान पुग्यो । हामी त्यस प्रकारको विचलनका विरुद्ध विद्रोह तथा सम्बन्ध–विच्छेद् गरी नयाँ ढंगले अगाडि बढिरहेका छौं ।

नेपालमा सञ्चालित महान् जनयुद्धको प्रक्रियामा जनताका चौध हजार जति छोराछोरी, जनमुक्ति सेनाका वीर योद्धा र पार्टीका कैयौं नेता तथा कार्यकर्ताहरुले त्याग, वीरता र बलिदानका अद्भूत कीर्तिमान् कायम गरे । बाइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुप्रति विशेष सम्मान जाहेर गर्दछौं । त्यसैगरी, घाइते अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दछौं । यसै क्रममा हामी सहिद तथा वेपत्ता योद्धका परिवारजनहरुप्रति पनि सम्मान व्यक्त गर्दछौं । साथै, हामी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सबै शुभेच्छुक, समर्थक तथा सहयोगी जनसमुदाय र भाइचारा पार्टीहरुसहित सम्पूर्ण पार्टी कमरेडहरुप्रति हार्दिक शुभकामना तथा क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं ।

आज विश्वमा र नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति कमजोर रहेको छ । नेपालमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ताकोे शोषण, उत्पीडन र हैकम बढ्दै जानुको साथै साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप पनि तीव्र बन्दै गैरहेको छ । यो बेला नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको खतरा उत्कर्षमा पुगेको छ । यस स्थितिमा यस स्थितिमा बाइसौं जनयुद्ध दिवस मनाउनुको अर्थ तथा औचित्य प्रतिक्रियावादी राज्यसत्ताको विरोध तथा विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि क्रान्तिको तयारीका कामलाई अगाडि बढाउनु, दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्नु र सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउनु हो । यस प्रकारको उद्देश्य प्राप्त गर्नका निम्ति हामीले मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा पार्टीको कार्यदिशा, नीति तथा कार्यक्रमलाई अझै समृद्ध तथा जुझारु तुल्याउँदै जान र विगतका गल्ती, कमी तथा कमजोरीहरुको वैज्ञानिक समीक्षा गर्दै आगामी दिनमा क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढ्न आवश्यक छ ।

क्रान्ति आवश्यक र संभव दुवै छ । विचारधारात्मक, राजनीतिक तथा सांगठनिक रुपमा क्रान्तिको तयारीको दिशामा सिङ्गो पार्टीपङ्क्तिलाई अनुशासित, जुझारु तथा कृयाशील तुल्याउँदै अगाडि बढौं । बाइसौं महान् जनयुद्धको यस ऐतिहासिक अवसरमा सम्पूर्ण कमरेडहरु तथा जनसमुदायमा हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन तथा लाल सलाम !”


फागुन १,२०७३
भिडियो फिचरview all