menu

ताजा समाचार

दसबर्से जनयुद्ध : गम्भीर आत्मसमीक्षाको माग

           डा. ऋषिराज बराल
२५ वर्ष पूरा भएछ—नेपाली जनयुद्ध आरम्भ भएको  । असाध्यै हलक्क बढेको, तर समय नपुग्दै आँधी, हुरी र बतासले लछारपछार पारेको वासनादार कुनै फूलको बिरुवाको कथाझैँ भएको छ यसको इतिहास । आकाश छुन तछाडमछाड गर्दै अग्लिन खोजेको, तर तुषाराले कठ्याङ्ग्रिएर  भुइँमै कतै हराएको हिमाली भेकमा उम्रेको धुपीको कुनै विरुवाका झै भएको छ हाम्रो जनयुद्ध—महान् जनयुद्ध ।
 
त्यसबेला जन्मेको कुनै मान्छे पात्र अब लक्का जवान भइुसकेको छ । जो २०६३ पछि जन्म्यो, उसले विगतका घटनाहरूमा,  इतिहासका पानाहरूमा अथवा बा–आमाका कथाहरूमा  सुन्नेछ हाम्रो महान् जनयुद्धको महागाथा । ती देखिजान्नेहरू र सुनीजान्नेहरूले  कथा हाल्ने छन् एकादेशमा ...।

यतिबेर केही भावुकताले छाएको छ । केही पीडा र विद्रोहभाव छ । हामीले त्यति सारो केही गुमाएनौँ । बरु थुप्रै कुरा आर्जन ग¥यौँ । हामी त अनुभवले समृद्ध भयौँ । सुन्थ्यौँ, पढ्थ्यौँ, रूसमा यस्तो भयो चीनमा यस्तो भयो भनेर । भोग्यौँ हामीले । मान्छेहरू प्राणको आहुति दिन  कति सारो तँछाडमछाड गर्दा रहेछन् । मान्छेहरू बलिदानका लागि कतिसारो प्रतिस्पद्र्धा गर्दा रहेछन् । सबैभन्दा  प्यारो भनेको आफ्नो जीवन न हो । त्यही जीवन बलिदान गर्न मान्छे भुँइँमा बन्दुक खस्न नपाउँदै कसरी लामबद्ध हुँदो रहेछ । कहाँबाट आउँदो रहेछ त्यो त्याग, त्यो उत्सर्गभाव ! साथी ढलेको देख्दा कसरी तात्तो रहेछ, बीर योद्धा ।  कसरी हाँसीहाँसी पठाउन सक्ता रहेछन् बाआमाहरू छोराहरूलाई बन्दुक समाउन । मुटुको टुक्रा न हो, कसरी पो गर्वका साथ भन्न सक्छन्— देश र जनताको मुक्तिका लागि मेरो  सन्तान सहिद भयो भनेर । तर सक्ता रहेछन्, यस्तै रह्यो हाम्रो जनयुद्ध ।

त्यसै आएको छैन यो उदात्तभाव । एउटा सन्दर सपना छ त्यहाँ । एउटा नयाँ संसार, शोषण र दमन र उत्पीडन  नभएको संसारको आकाङ्क्षा छ त्यहाँ । वर्षौँदेखिको उत्पीडनबाट मुक्त हुने उत्कण्ठा छ त्यहाँ । मन रमाउने हरियो धरती र सुनौलो आकासका लागि, बिहान खाए बेलुका के खाउँ भन्ने संसारबाट मुक्त हुनका लागि त बोको थियौँ हामीले बन्दुक—मरे सहिद, जिते संसार । तर त्यसो भएन । उज्यालो हुनहुन लाग्दा फेरि साँझ पर्यो— कुनै दन्त्यकथाका झैँ भयो । कता हिँडेको मान्छे कता पुगियो । रात परेर जङ्गलमा बाटो हराएको मान्छेको कथाझैँ भयो ।
 
ढेका थियौँ हामीले  इतिहासमा—“क्रान्ति मुखमुख त प्रतिक्रान्ति घाँटीघाँटी” भनेर । पढेका थियौँ हामीले अमुक देशमा अमुक नेताले क्रान्तिप्रति यस्तो गर्यो तर हामीले आफ्नै आँखा अगाडि देख्यौँ,  भोग्यौँ— चुलिएको त्यत्रो पहाड कसरी गल्र्यामगुर्लुम हुँदो रहेछ  । आदर्शहरू कसरी भत्किँदा रहेछन् र नायकहरू कसरी खलनायकमा पतन हुँदा रहेछन् । बलिदानमाथि खेलवाड गरियो,  सहिदको रगतमाथि महलहरू ठडिए । कसैका परिवारको अझैसम्म अत्तोपत्तो छैन । कसैका परिवारका सदस्यहरू नव राजकुमारमा परिणत भएका छन् । ती महिनैपिच्छे श्रीमती फेर्छन् ।  कोही भोकको कारण कर्णालीमा हाम फालेर मृत्यु रोज्न बाध्य छ र कोही राजमहलमा विराजमान छ । गम्छु, केका लागि जान फ्याल्यौ बाबै ! कसका लागि ज्यान फ्याल्यौ !

गजबको भएको छ हाम्रो इतिहास— कसरी एक कालखण्डको नेता अर्को कालखण्डमा गद्दारमा परिणत हुँदो रहेछ । कसरी क्रान्न्तिकारी पार्टीको इतिहासलाई एकाध गद्दारहरूले फोहोरको डङ्गुरमा परिणत गर्दा रहेछन् । कसरी सिङ्गो पार्टी नेतृत्वमा रहेका एकाधकै कारणा सिद्धिँदो रहेछ । सिङ्गो सङ्गठन कसरी एकाध नेताहरूले डोर्याएको मृत्युपथको सिकार बन्दो रहेछ ।  यो अनुभव पनि चानचुने अनुभव होइन÷छैन ।  बलिदान र त्यागको इतिहासजस्तै धोका र गद्दारीको इतिहास पनि चानचुने खालको  छैन । यो नकारात्मक शिक्षा पनि साँच्चिकै घतलाग्दो छ । अलिअलि त युद्धकालमै  पनि देखिन्थ्यो,   अचम्म पनि लाग्थ्यो, यस्तै हो युद्धको विशिष्ट अवस्थामा भन्ने बुझिन्थ्यो ।  स्थिति त अर्कै पो  भइसकेको रहेछ ।

कुरा त अर्को कोणबाट पनि सोच्नु आवश्यक छ । स्थिति एकैचोटि यस्तो भएको होइन । धोका र गद्दारीको यो गुणात्मक चरित्र, पार्टीभित्रको नवसामन्तको यो घिनलाग्दो स्वरूप एकैचोटि  आएको होइन÷थिएन ।  पक्कै पनि एकैचोटि पार्टीमा नवसामन्तहरूको विकास भएको होइन । यसको बिउ त युद्धकालमै थियो । युद्धको आवरणमा लुकेर बसेको रहेछ सामन्तवाद । हाम्रो साम्यवादी आदर्श  पनि सामन्ती श्रद्धाभावमा रूपान्तरित भएछ । अति विश्वास,  अति श्रद्धा र वीरपूजक प्रवृति पनि दोषी थियो —नयाँ सामन्तहरूको विकासमा । कहिलेकाहीँ जनयुद्धका नाममा हामीले साम्यवादी आन्दोलभित्रै सामन्तवादको अभ्यास गरिरहेका त थिएनौँ  भनेर आफ्नै चेतलाई चिमोट्न मन लाग्छ । 

प्रचण्ड–बाबुरामजस्ता गद्दारहरू रातारात जन्मेका नभएर हामीले तिनको निर्माण गरेका होइनौँ र  ! कम्युनिस्ट आन्दोलनमा सारै छोटो इतिहास बोकेको बाबुराम नामधारी पात्र कतैबाट प्रायोजित पात्र थियो र प्रचण्ड साम्यवादी आवरणभित्र लुकेको नवसामन्तवादको विकासे (हाइब्रिड)  स्वरूप थियो भन्ने कुरलाई हामीले समयमै बुझ्न सकेनौँ । हामी यहीँनेर चुक्यौँ । अहिले हाम्रा लागि यो शिक्षा र समीक्षाको विषय भएको छ । हामीले विद्रोह त गर्यौं, तर यो ढिलो भइसकेको थियो । अब महान् जनयुद्धसित  गाँसिएको एउटा टोलीले ‘महान् गद्दारी’ को बाटो समातेको छ । आन्तरिक रूपमा विचारबाट पतन भइसकेको छ र बाह्य रूपबाट अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद मूलतः भारतीय विस्तारवादको दलालमा परिणत भइसकेको छ ।

हामी जो आफूलाई क्रान्तिकारी भनिरहेका छौँ, प्रश्न हाम्रा सामु पनि उभिएको छ । प्रश्नहरूले हामीबाट पनि उत्तर खोजेका छन् । कहाँ र के पुगेन हामी क्रान्तिकारी भनिएकाहरूको पनि  । हिजोको इतिहासको पनि नयाँ किसिमले समीक्षा गर्नु जरुरी छ । यो क्रम मूलतः पार्टीको चौथो विस्तारित बैठकबाट आरम्भ गरेर दोस्रो राष्ट्रिय सम्मेलन, ‘प्रचण्डपथ’ को घोषणा र चुनवाङ बैठक हुँदै अघि बढुनुपर्छ । विचलन र गद्दारीका बिउहरू यहीँभित्र छन् । यी सन्दर्भहरूलाई पर सारेर यिनको चिरफारबिना प्रचण्ड–बाबुरामलाई गाली गरेर मात्र पुग्दो हुँदैन । यी सबै  सन्दर्भसित गाँसिएका प्रक्रियाहरूमा  हामी क्रान्तिकारी  भनिएकाहरू कहाँनेरी उभियौँ,  हाम्रो इतिहासलाई कसरी बुझ्ने र हाम्रो भूमिकालाई कसरी विश्लेषण गर्ने भन्ने प्रश्नहरू पनि हामीसित जोडिएका छन् । हामी किनारका साक्षी मात्र भयौँ भन्छौँ भने कम्युनिस्ट पार्टी हिटलरी शैलीमा चल्दो रहेछ भनेर हामीले खुलस्त पार्नुपर्छ ।
 
इतिहासको कठघरामा थेरथोर हामी सबै उभिनैपर्ने हुन्छ ।  पहिले आफैँबाट आत्मसमीक्षा गररे अघि बढ्नु आवश्यक छ । विचार, नेतृत्व, कार्यदिशा र दुईलाइन सङ्घर्षमा चुक हुँदा केसम्म हुँदो रहेछ भन्ने कुरा हामीले भोगेका छौँ । विदेशी प्रभुहरूलाई रिझाउन प्रचण्ड-बाबुरामले क्रान्तिप्रति गद्दारी गरे भन्ने कुरामा अब कुनै भ्रम छैन । नयाँ सामन्त, दलाल र गद्दारहरू जन्माउन हामी पनि केही मात्रामा जिम्मेवार छौँ भन्ने कुरालाई  हामीले प्रस्ट रूपमा भन्नैपर्ने हुन्छ । पहिले कमरेड गौरव र पछि  कमरेड किरण योजनाबद्ध ढङ्गले प्रचण्ड–बाबुरामकै सहमतिमा पक्राउ परेका हुन् भन्ने कुरा पनि खुलस्त पार्नुपर्ने हुन्छ । सत्य के हो भने, चुनवाङ बैठकका निर्णयहरूसित कमरेड किरण र गौरवको गिरफ्तारीसित घनिष्ठ सम्बन्ध छ ।  अहिले क्रान्तिका ठूलाठूला कुरा गर्ने क्रान्तिकारी भनाउँदाहरूको भूमिका चुनवाङ बैठकको सेरोफेरोमा के–कस्तो रह्यो भन्ने कुराले पनि उत्तर मागिरहेको छ ।
 

जनयुद्धकालका छद्म प्रकृतिका विचलनहरू ‘शान्तिप्रक्रिया’ म विस्तारित हुनु स्वाभाविक थियो । यसको फैलावटमा एकताका नाममा भए/गरेका कामहरू सबैभन्दा खतरनाक थिए । एकताकेद्रसितको ‘एकताप्रक्रिया’ नै गलत थियो । यसबाट पनि क्रान्तिकारी भनिएका हामीहरू भाग्न मिल्दैन । प्रचण्ड एक्लैले भित्र्याएका होइनन, फूलमाला लगाएर नाच्नेमा हामी पनि थियौँ र हौँ । गौर हत्या काण्डमा हाम्रै प्रतिवेदनमा हत्यारा किटान गरेका अपराधीहरूलाई हामीले कामरेड बनाएर भिœयाएका थियौँ र यसमा रातो टीका लगाइदिन क्रान्तिकारी भनिएकाहरू हामीहरू सबै लामबद्ध थियौं । जनवादी केन्द्रीयताका नाममा ‘माथिकाहरू’ ले गरेका हरेक गलत कामलाई “ठीक छ कमरेड” भनेर ताली पिट्ने संस्कृतिको विकासमा धेरथोर हामी पनि जिम्मेवार छौँ । कम्युनिस्ट आन्दोलनमा ‘माथि’ काले पनि गल्ती गर्छन् र त्यसको आलोचना गर्ने पनि वैज्ञानिक नियम र पद्धति छ भनेर पढेका थियौँ । तर व्यवहारमा त्यस्तो हुँदो रहेनछ । सबै चल्दो रहेछ ।
 
जे होस्, जनयुद्धले थुप्रै कुराको शिक्षा दियो । अरू देशको कुरा होइन, सबै कुरा हामी आफैँले भोग्यौँ । लिपपोत नगरी इतिहासको सही र वैज्ञानिक समीक्षा गरे मात्र प्रस्ट देखिन्छ । अनि मात्र यहाँयहाँ  कमजोरी भयो भनेर सच्याउन सकिन्छ । हामीले विचलनका बिउ हामीसितै लिएर आएका छौँ भन्ने कुरामा पनि हामी प्रस्ट हुनुपर्छ । नयाँ पार्टी बन्नुको अर्थ शिक्षा हो । कम्युनिस्ट पार्टी  दलाल, सामन्त र सुविधाभोगी वर्ग जन्माउने कारखाना नबनोस् भन्ने संचेतना हो ।

अब शब्दजालले पुग्दो छैन ।  इतिहासबाट शिक्षा लिएर प्रस्टताका साथ अघि नबढ्ने हो भने क्रान्तिका कुराहरू उमेर बुढ्याउने गफभन्दा बढी साबित हुने छैनन् । जब वर्ग हराउँछ र जातीयतावादी अतिबाद हाबी हुन्छ, जब सर्वहारा वर्गको पार्टी जात, क्षेत्र, लिङ्गको कोटावादको परिपञ्चमा फस्छ,  विसर्जनको ‘श्रीगणेश’  पनि त्यहीँबाट हुन्छ । यस यथार्थलाई पनि आफूलाई क्रान्तिकारी भन्ने हामी सबैले गम्भीरताका साथ आत्मसात गर्नु जरूरी छ ।
 
जनयुद्ध इतिहास भयो, तर यो अनुभव मात्रै होइन, यो वर्तमान पनि हो र भविष्य पनि । बिनावलिदान, बिनात्या नयाँ जनवाद आउँथ्यो भने १३ हजारसित बलिदानको इतिहास गाँसिँदैनथ्यो । हिजोको प्रचण्ड–बाबुरामहरू अब प्रचण्ड–बादलमा फेरिएका छन् र मार्क्सवाद काम लाग्दैन भन्दै बाबुराम ‘उत्तर-मार्क्सवाद’ को झोला भिरेर ‘तीर्थाटन’ तिर लागेका छन् । वैचारिक सारतत्वका दृष्टिले प्रचण्ड-बादल-बाबुराम एउटै घाटका पानी पिउने ''उत्तर-मार्क्सवादी' हुन्—भाँडो मात्रै फरक हो ।

दक्षिणपन्थी कोणबाट मात्र विसजर्नवाद आउँदैन । यसले क्रान्तिकारी-रूपवादी आवरण धारणा गरेर भ्रम दिन्छ र यो अझ बढी खतरनाक हुन्छ । यसको स्वरूप पनि हाम्रा सामु मिहिन पाराले उदाङ्गिदैछ । “बुढाहरूबाट क्रान्ति हुँदैन” भनेर ठूल्ठूला कुरा गर्नेले पहिले मार्क्सदेखि माओसम्मको इतिहास खारेज गरे र अब आएर माओवाद नै त्यागेर ‘उत्तर-साम्राज्यवाद’ भन्दै साम्राज्यवादको अन्त्यको वकालत गरिरहेका छन् । दार्शनिक तथा वैचारिक दृष्टिले ‘उत्तर-मार्क्सवाद’ र ‘उत्तर-साम्राज्यवाद’ को मिलनबिन्दु एउटै हो—शून्यवाद  । मार्क्सवादका नाममा मध्यमवर्गीय आहालमा मुन्टो जोत्ने ठाउँ भनेको अन्ततः प्रचण्ड-बाबुराम पथ नै हो ।

यस अर्थमा अहिलेको समय निकै जटिल छ । साम्राज्यवादका विरुद्ध मात्र नभएर माओवादका नाममा थरीथरीका साइनबोर्ड टाँगेर व्यापार गरिरहेकाहरूसित पनि लड्नु/भिड्नुपर्ने स्थिति अहिलेको स्थिति हो । यसका लागि छरिएर रहेका क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको इमानदारीपूर्वक पहल गर्नु अहिलेको आवश्यकता हो । यसले गम्भीर आत्मसमीक्षाको माग गर्दछ ।  यही नै महान् जनयुद्धले दिएको शिक्षा हो ।
०००

भिडियो फिचरview all