menu

ताजा समाचार

मानवधिकारका नाममा राष्ट्र विखण्डनको वकालत

डा. ऋषिराज बराल
दोस्रो विश्वयुद्धपछि, खासगरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि साम्राज्यवादले अन्य मुलुकहरूमा आफ्नो प्रभुत्व कायम गर्न लाल झण्डाको विरुद्ध लाल झण्डाको प्रयोग, एनजिओ/आइएनजिओहरूको स्थापना र परिचालन तथा भूमण्डलीकरण जस्ता उपायहरू अघि  सार्यो । वर्तमानमा सक्रिय थरीथरीका अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ-संस्थाहरू यसै योजनाबद्धताका उपज हुन् । यिनको प्रमुख काम सबैभन्दा बढी कम्युनिस्ट आन्दोलनको विरोध गर्नु र मानवअधिकारका नाममा यथास्थितिवाद र साम्राज्यवादको सेवा गर्नु हो । यस्ता संस्थाहरू विभिन्न मुलुकमा विभिन्न नामले सक्रिय भएका छन् र तिनले खास मुलुकको ‘आवश्यकता’ अनुसार आफूलाई परिचालित गर्छन् ।
नेपालमा लिङ्ग, जात र क्षेत्र आदिको ‘अधिकार र पहिचान’ लगायत  विकास निर्माण र मानव सेवाका नाममा थुप्रै एनजिओ/आइएनजिओहरू-मानवअधिकारवादी संस्थाहरू परिचालित छन् ।  यस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गर्नेगरेका बहादुरीपूर्ण कामका लागि पश्चिमा शक्ति राष्ट्रहरूले ठूलो लगानी गरेको कुरा पनि सबैलाई थाहा भएको कुरा हो ।

नेपालमा आइएनजिओहरू तथा मानअधिकारवादी भनिने संस्थाहरूले देखाउने गरेको काम  तथा डलर आर्जनको प्रमुख श्रोत चीनको विरोध र दलाइ लामाको समर्थनका साथै क्रिश्चियन धर्मको प्रभारप्रसार पनि हो । विगतको  मात्र कुरा नभएर वर्तमानमा पनि नेपाली काङ्ग्रेसका नेतादेखि सभासदहरूसमेत दलाइ लामासित सम्बद्ध कार्यक्रममा पुगेर ‘फ्रि तिब्बत’ को पक्षमा बोलेका कुराहरू प्रकाशमा आएका छन् । पूर्व प्रधानमन्त्री सेरबहादुर देउबाको गोवा प्रकरण ताजै छ । कपिल श्रेष्ठदेखि कनकमणिसम्मका ‘मानवअधिकारवादीहरू’ को चीन विरोधी गतिविधि र नेपालको माओवादी आन्दोलनलाई बदनाम गर्न गरिएका प्रकरणहरू निरन्तर प्रकाशमा आइरहेका सन्दर्भहरू हुन् ।
यसको कोर्स पनि देशकाल परिस्थितिअनुसार फेरिने गरेको छ । पछिल्ला दिनमा नेपालमा सङ्घीयता र पहिचानका नाममा राजनीतिले नयाँ कोर्स लिन थालेपछि आइएनजिओहरूको ओइरो लागेको छ र मानअधिकारवादीहरूलाई भ्याइनभ्याइ भएको छ । आइएनजिओका मालिकहरू हरेक राजनीतिक पार्टीमा आफ्ना प्रतिनिधि तयार पार्न तथा प्रवेश गराउन सफल भएका छन् । त्यस्ता प्रतिनिधिहरू पार्टीको भाषा होइन, आइएनजिओहरूको भाषा बोल्छन् र मुलुकलाई वैदेशिक शक्तिकेन्द्रहरूको स्वार्थ पूरा गर्ने साधन बनाउन कम्मर कसेर लागेका हुन्छन् ।

भूगोल र ‘सेवा क्षेत्रहरू’ को पनि भागबण्डा हुन्छ । पहाडमा एकथरी अनुहारहरू सक्रिय हुन्छन् र  तराईमा अर्का थरी अनुहारहरू । पहिचान र अधिकारका नाममा साम्राज्यवादी-विस्तारवादी एजेन्डालाई अल्पकालीन र दीर्घकालीन योजनामा रूपान्तरित गरिन्छ । मानव अधिकार र पहिचानवादी राजनीतिका नाममा मुलुक टुक्र्याउने, सार्वभौम सत्ता विखण्डन गर्ने कुरालाई न्यायोचित ठानिन्छ ।  भाषणमा मात्र नभएर व्यवहार पनि यसका प्रारूपहरू देखापर्न थाल्छन् र यस्ता कुकृत्यहरूलाई मानवअधिकारको खोल ओढाएर सही साबित गर्ने दुस्प्रयासहरू हुनथाल्छन् ।

कुनै पनि मुलुको सबैभन्दा गम्भीर प्रश्न भनेको सार्वभौम सत्ताको प्रश्न  हो । आफ्नै माटोमा टेकेर मुलुक टुक्र्याउने कुरा सबैभन्दा ठूलो अपराध हो । साम्राज्यवादीहरू तथा विस्तारवादीहरूको जुठोपुरो खाएकाहरूले मात्र आफूलाई यति तल्लो स्तरमा पुर्याउँछन् । तर, यतिखेर नेपाल यस्तो मुलुक भएको छ, जहाँ मुलुक विखण्डनको वकालत  गर्ने/गराउने कार्यलाई  बहादुरी ठहर गरिन्छ र त्यसको समर्थन गर्नुलाई जिम्मेवारी ठानिन्छ । नेपालका एक थरी मानवअधिकारवादीहरूले यस्तै बहादुरी गरेर भर्खरै इतिहासमा आफ्नो नाम दर्ज गरेका छन् । यो भन्दा विडम्बनाको विषय अरू हुन सक्तैन ।

२००७ सालको सेरोफेरोदेखि नै सके सिङ्गै एकैचोटि नभए टुक्राटुक्रा पारेर नेपाललाई निल्ने भारतीय योजना सिंहदरवारमा बहुमत निर्माण गरेर साथै चुरेदक्षिण अलग पार्ने बृहत् योजनाका रूपमा सक्रिय भयो र भइरहेको छ । यो योजनाले उत्पन्न गरेको पछिल्लो पीडा नेपालीले नाकाबन्दीका रूपमा भोगे । दक्षिणको पीडा त छँदै थियो, पछिल्ला दिनमा युरो-अमेरिकीहरू ‘ककस’ र ‘पहिचानवाद’ को नयाँ बाइबल बोकेर नेपाल प्रवेश गरे । पहाडी र हिमाली क्षेत्रमा विभिन्न किसिमका आइएनजिओहरू  सक्रिय छँदैथिए, फाउन्डेसन आदिको नाम दिएर तराईमा पनि आइएनजिओहरू सलह बनेर प्रवेश गरे । डलरखेतीका लागि निकै उर्बर देखिएको तराईमा प्रवेश गर्नका लागि पढेलेखेका लोभीपापीहरू नै सबैभन्दा बढी सहज हुनु स्वाभाविक थियो । नाम लिनु आवश्यक छैन, यस्ता फाउन्डेसनसित तराई-मधेसका बुद्धिजीवी भनाउँदाहरू को को सम्बद्ध छन् र उनीहरूका ‘बौद्धिक क्रियाकलापहरू’ केकस्ता छन् भन्ने कुरा पनि सबै सतहमा आइसकेका छन् ।
 
नेपालको सार्वभौम सत्ता विरुद्ध हिजो इन्दिरागान्धीले तयार पारेको योजनालाई नयाँ किसिमले पूरा गर्न तयार पारिएका थरीथरीका पात्रहरू देशकालअनुसार सिंहदरवारको कुर्सीमा पनि सक्रिय बनेको कुरा  सबैलाई थाहा छ । कोही सोझै यो मुलुक टुक्रयाएर भारतीय झण्डा गाड्छु भन्छन् र कोही  संविधान संशोधन गरेर यो मुलुक विखण्डित पार्छु भन्छन्, फरक यत्ति मात्र हो— एउटै सिक्काको दुई पाटाजस्तो । मुलुक टुक्र्याउँने भाषण गर्दै हिँड्ने मान्छेलाई पक्राउ गर्न पनि जनदबाब दिनुपर्ने दुखद स्थिति हामी भोगिरहेका छौँ । जब जनदबाबका कारण सरकार राष्ट्रद्रोही अपराधीलाई पक्राउ गर्न बाध्य हुन्छ, त्यतिबेर मानवअधिकारको खोल ओढेका राष्ट्र विखण्डनकारीका मतियारहरू कोकोहालो मच्चाउँदै नाङ्गेझार हुन्छन् । मानवअधिकारको गजबको परिभाषा व्यक्त हुन्छ त्यहाँ । वास्तवमा मानवअधिकारको आवरणमा राष्ट्र विखण्डनकारीको वकालत गर्नेहरू त्यो पात्रभन्दा पनि महाअपराधी पात्र हुन् । मुलुकको राष्ट्रिय अखण्डता र स्वाधीनताको विपक्षमा उभिएकाहरूको पक्षमा उभिनु भनेको सारतः राष्ट्रद्रोहको पक्षमा उभिनु हो । यही काम अहिले ‘नेपाल मानवअधिकार सङ्गठन’ का ‘अधिकारवादीहरू’ ले गरेका छन् ।

‘नेपाल मानवअधिकार सङ्गठन’ त्यही संस्था हो, जोसित ऋषिकेश शाह, कपिल श्रेष्ठ मात्र होइन, इतिहास खोतल्दै जाँदा पारिजात र बाबुराम भट्टराई पनि भेट्न सकिन्छ । पछिल्ला दिनमा यस संस्थाको मूल विशेषता चीनको विरोध र दलाइ लामा तथा ‘फ्रि तिबेत’ को समर्थन गर्नु रहेको छ । अब आएर यो संस्था राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै विखण्डनको लागि क्रियाशील बन्ने राष्ट्रद्रोहीहरूको वकालत गर्ने, तिनका पक्षमा उभिने संस्थाका रूपमा पनि परिचित भएको छ ।

नेपालको विखण्डन गर्ने/गराउने योजनालाई आकार दिने अभियानको थालनीका रूपमा भारतीय विस्तारवादद्वारा अघि सारिएको पात्र सिके राउतलाई पक्राउ गरेपछि मानवअधिकारका  नाममा विदेशी संस्था, पात्र र प्रकाशनहरू समर्थनमा आाउनु बुझेकै कुरा थियो । यो नेपाल र नेपाली जनताका विरुद्ध उनीहरूले हिजोका दिनदेखि गर्दैआएको कार्य थियो । परन्तु, नेपाली नागरिकता बोकेका केही पात्र तथा संस्थाहरू त्यसमा पनि मानवअधिकारको कुरा गर्नेहरू जसरी खुलेर विखण्डनकारीको पक्षमा उभिए, यसले साँच्चिकै गम्भीर हुनुपर्ने अवस्था उत्पन्न गरेको छ । यसबाट विदेशी सञ्जालसित जोडिएका मानवअधिकारवादी संस्थाहरूको नाम नेपालसित जोडिए पनि यिनले सेवा गर्ने वर्ग र मुलुक  अर्कै रहेछ छ भन्ने कुरा सबैले बुझ्ने गरी प्रस्टिएको छ

मानवअधिकारवादीहरू तथा आइएनजिओहरू लगायतका आफ्ना दलालहरूलाई अग्रपङ्क्तिमा उभ्याएर हस्तक्षेपको वातावरण बनाउने र पछि सैन्य दस्ता प्रयोग गर्ने साम्राज्यवादी–विस्तारवादी शक्तिहरूको पछिल्लो नीति हो ।  नेपाललाई यसैको प्रयोगशाला बनाउन खोजिएको छ । यस नकारात्मक घटनाले केही सकारात्मक शिक्षा पनि दिएको छ । यसले राष्ट्र विखण्डनको अभियानमा के-कस्ता पात्र तथा संस्थाहरू सक्रिय रहेछन् भन्ने जानकारी  भएको छ ।  दक्षिण निर्मित र परिचालित यो सरकार, उसैको योजनामा चलेका आयोजनाहरूको विरुद्ध जाने स्थितिमा नभएकाले अबका दिनमा पनि महन्थ ठाकुरहरू र सिके राउतहरूले ‘मानवअधिकारको भरपूर प्रयोग’ गर्नेछन् र आइएनजिओहरू र मानवअधिकारवादीहरूले पनि ‘लोकतन्त्र’ को सुन्दर उपयोग गर्नेछन् ।

राष्ट्रिय  अखण्डता र स्वाधीनताको पक्षमा उभिनेहरूलाई हत्कडी लगाउने र हाकाहाकी, मुलुक टुक्र्याएर भारतीय झण्डा गाड्छु भन्नेहरूलाई ‘ज्वाइँ’ को सुविधा दिएर हिरासतमा राखेजस्तो गर्ने अचम्मको स्थिति नेपालबाहेक संसारका कुनै पनि मुलुकमा देख्न पाइँदैन । भारतको केरलामा राष्ट्रगान गाउँदा उठेन भनेर अमुक पात्रलाई जेल हालेको घटना ताजै छ । तर नेपालमा सबै कुरा चल्छ । वास्तवमा कतै यो सरकार नै विदेशीले चलाएको आइएनजिओमा परिणत त भएको छैन भनेर प्रश्न उठ्नु/उठाउनु पर्ने स्थिति उत्पन्न भएको छ । यस्तो बेला,  राष्ट्रिय स्वाधीनता र जनपक्षीय मूल्यको रक्षाका लागि बोली र कलम अपुग ठानेर कसैले बन्दुकको विकल्प खोज्यो भने अन्यथा ठान्नु हुँदैन । यो पनि उसको मानवअधिकारको कुरा हो ।
भिडियो फिचरview all